केन्द्रीय संस्करण

कविता : लाहुरेनी

person explore access_timeबैशाख २८, २०७६ chat_bubble_outline0

-दिलबहादुर थापा

म आधुनिक लाहुरेको 
आधुनिक लाहुरेनी हुँ
लाहुरेसँग बिहे भएको दस वर्ष भो 
लाहुरे पारिलो घामझैँ 
अक्कल झुक्कल झुल्किन्छ
मेरो यौवन फुलेको नेपालमा 

लाहुरे जान्छ लाहुर
तर उसको यादले 
मेरो गुलाफको यौवनलाई 
मीठो पीडा दिन्छ 
ती मीठा पीडाहरूलाई 
जब म पर्खाइको पछ्यौरीमा 
बुट्टाहरु भरेर राख्छु  
उसको र मेरो मायाको इतिहास बल्झन्छ । 

कहिल्यै सन्चो नहुने दीर्घरोग बनेर  
मनको डायरीमा खोप्न कोशिस गर्छु 
मायाका स्वर्णिम अक्षरहरुलाई 
हरक्षण मलाई सताइरहने 
यादहरुको धारिला खिपहरुले
जिन्दगीका पानाहरुलाई दुखाई दुखाई

देशले मेरो श्रीमानलाई लाहुरेको तक्मा भिराएर बेच्यो 
राजधानीले मेरो श्रीमानलाई यसरी निर्यात गर्यो  
जहाजका जहाज लोड गरेर । 
तातो घाम फुल्ने देशहरुमा 
कुनै महान् पर्वको अवसर पारेर 
निश्चित समयका लागि छुट दिएर 
क्षेत्रीयताको उत्पीडनमा परेको डिपोहरुबाट 
पुराना शताब्दीको झल्को दिलाउने गरी 

मेरो लाहुरेबारे राज्यलाई नै थाहा छैन
मलाई कसरी थाहा हुन्छ ?
मेरो लाहुरे भोलि बाकसभरि 
सपना नै सपना बोकेर आउँछ कि ?
स्वयम् आफू नै रातो बाकसभरि 
मलाई सपनाजस्तै बनाएर आउँछ कि ? 
यो देशको राजधानीलाई थाहा छैन भने
मलाई कसरी थाहा हुन्छ ? 

उसलाई मैले मेरो देशलाई जितेको 
राजनेताहरुलाई जस्तै 
खादा ओढाएर कैयौँ पटक बिदाइ गरेँ 
शक्तिफोबियाले ग्रस्त राजधानीबाट 
मजस्तै लाहुरीनीहरुको लाहुरेहरु 
रातो बाकसभरि 
भरिएर आइरहेको श्रव्यदृश्य मञ्चन भइरहँदा

मृत्युदर्ताजस्तै लाग्ने राहादानी थमाएर ।


राजधानीको मसानघाटले देशको सपना पोल्छ 
मजस्ता हजारौँ रातो गुलाफलाई सेतै बनाउँछ 
भाग्यको मुढाहरुलाई ठोस्याएर
धुवाँलाई गगनसम्म पुर्याई 
फेरि अर्को लाहुरेलाई बिदाइ गर्ने शुभ साइतमा ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...