शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यङ्ग्यः नेपालमा नेतागिरी

शनिबार, २८ वैशाख २०७६, १० : ४७
शनिबार, २८ वैशाख २०७६

-माधव पोखरेल ‘गोज्याङ्ग्रे’

उहिल्यै भगवानका पालामा नेपालमा कस्ता कस्ता नेताहरु थिए, त्यो कुरा अहिले आएर गौण भए पनि यतिबेला उहिल्यैको झलक देखाउने गरी आफूलाई भगवानकै रूपमा ऐतिहासिक र आदर्शवादी नेता ठान्नेहरुको लर्को लागेको देखिन्छ । जनताका अगाडि आफूलाई कति न बरदानै पाएर आएझैँ गरी नेतागिरी गर्ने दही चिउरे स्वभावका बज्रस्वाँठहरु कञ्चनरूपका मतदाताहरुका सामु ङिच्च दाँत देखाउँदै जम्लाहात पार्दै थोत्रो, मैलो, फाँटेको झोला काँधमा भिरेर आँगनमा फटौरा चुट्न थालिहाल्छन् । 

नेपाल अर्थात् नेतालाई जनताले पाल्नुपर्ने देश हो भन्दा सोह्रै आना सत्य ठहरिन्छ । यो कुरामा नेताहरुको समेत दुईमत हुँदैन भन्ने कुरामा म सत्यतामा अडिग भएको छु । कस्तो उल्टो जमाना आएको जनतालाई नेताले पाल्नुपर्नेमा जनताले नेतालाई धारेहात पारेर पाल्नुपर्ने अवस्था आएको छ । आफूलाई भगवानको रूपठान्ने धसिङ्ग्रेहरुलाई विनासितीमा किन जम्ला हात पार्नु ? व्यहोरा हेर्दा त धारेहात लाउनु नै सबैभन्दा उत्तम ठानेर जनताले पनि दर्जा तोकेका होलान नि ।

चैत महिना र कात्तिकमा गाउँघरमा फेरि लाउँदै हिँड्ने जस्ता स्वरूपका नेता भनाउँदा जातका खैरातीहरु चाहिँ निर्वाचनका समयबाहेक अरू समयमा हिँडेको देखिँदैन । व्यहोरा हेर्दा सो प्रवृत्ति देखिए पनि इमान र जमान चाहिँ घरको रक्षक जतिको पनि पाइँदैन । बरु घरको रक्षकलाई निर्वाचनमा उमेद्वार बनाएका खण्डमा आजकलका नेताले भन्दा बढी मत पाएर हाम्रो उच्च सुरक्षा गर्न सक्ने कुरामा म विश्वस्त छु ।

जनताका नाममा राजनीति गरेर जनतालाई नै कुल्चिएर हिँड्दै गरेका पत्रुहरुलाई जनताले जिउँदै खाल्डोमा हालेर पुर्ने दिन पनि सायद आउँछ होला । ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घर छेउमै पहिरो छ’ भनेझैँ हुन्छ बुझ्नेका लागि यो कुरा । हामी नेपालीका लागि पनि नेतागिरी गर्ने मान्छे निकै ठूलै ठाउँमा पुगेको झैँ भान हुने गरेको छ । हामी भनेका नेतागिरी गर्नेहरुको निर्णायक हौँ भन्ने कुरा सधैँ दिमागमा तातो पारेर राख्नुपर्छ । निर्वाचनका समयमा हामी सधैँ नेताभन्दा पछिपर्नुका कारण पनि हामी चिसो भएर हो । अरूको लहैलहै र हो हो रेमा लागेका कारण नेताले हामी मतदाताहरुलाई चिसो छिँडीमा सुताएर आफूहरु सधैँ तातोमा बस्ने प्रवृत्तिलाई निरन्तरता दिइरहेका छन् । हामी भने यो रमिता हेरेर रमाइरहेका छौँ । को असल को कमसल भन्ने गुण दोष छुट्याउन सकिरहेका छैनौँ ।  

नेपालमा राजनीति गर्न भित्रिएका केही पागधारी वा दागधारीहरुको कुरा गरौँ वा स्वच्छ नेपालीकै कुरा गरौँ राजनीति देशको र जनताको मुहार फेर्न होइन व्यक्तिगत स्वार्थका लागि मात्र अपनाएको कुरा अहिले घाम जतिकै छर्लङ्ग भएको छ । विश्व राजनीतिका तुलनामा लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीति ताते गरिरहेको अवस्थामा छ । त्यसैले नेपालमा नेतागिरी निरक्षर हली, गोठाला, घाँसे दाउरे सबैले गर्न थालेका छन् । ढोके, हुक्के, चिलिमेहरु त राजनीतिमा निकै अघि हिँड्न थालेका छन् । लामो धोती कुर्ता लाएर, काँधमा गम्छा भिरेर नेपालमा नेतागिरी गर्नेहरु भनेका आफ्नो राजनीतिक पृष्ठभूमि र नैतिकता आफै बिर्सनेहरु हुन् भन्दा सबैलाई चित्त बुझ्छ । फेरि यिनीहरु कस्ता छन् भने दुई पैसेदेखि सय रुपियाँमा पाइने, पर्नेसम्मका छन् । भनौँ एउटा बच्चाले समेत उसको कुरा पत्याउँदैनन् र उसलाई उल्ली विल्ली पार्छन् । नेपालमा केटाकेटीले समेत नेतालाई हेपाहा दृष्टिले हेर्न र जिस्क्याउन थालेभने अबको नेतागिरीको औचित्य मतदाताले बुझिसकेका छन् । 

अरूले नेतागिरी गरेको देखेर सिको गर्नेहरुले पहिले आफ्नो अनुहार ऐनामा नहेरी अरूलाई कालो भन्ने संस्कारलाई समेत वंशवृद्धिको दृष्टिले स्वीकार गरेका छन् । बुद्धि न शुद्धि पकाबूढी सेल भनेझैँ नेपालको नेतागिरी भगवान भरोसे चलेको छ भन्दा कुनै फरक पर्दैन । अस्तिको राजनीति सिपाहीले हातमा लौरो लिएर चलाएको थियो । हिजोको राजनीति पनि झण्डै त्यही रूपको थियो तर केही कुरामा भने फरक रह्यो । आज देशमा भएको व्यवस्था गणतन्त्र हो कि दलहरुको गलगाँड तन्त्र हो, कसैले बुझ्नै सकेको छैन । जनताका प्रतिनिधिहरुले जनतालाई यो देशको शासन व्यवस्थाका बारेमा सही कुरा बताउन सकेको सुनिएको छैन र पाइँदैन पनि । नेतागिरी गर्नेहरु आफूलाई सधैँ सगरमाथाभन्दा अग्लो भएको महशुस गर्छन् । चाहे ती गाउँतहका हुन्, जिल्ला तहका हुन् वा केन्द्रीय तहका हुन् । जनताले नेतागिरी गर्न अधिकार दिएर पठाए पनि जनताको भावना अनुकूल काम गर्न नसक्दा कतिपय नेतागिरी गर्नेहरु आफै सङ्कटमा परेको कुरा पनि घाम जतिकै छर्लङ भएको छ । सङ्क्षेपमा भन्नुपर्दा नेपालमा नेतागिरी मौलाउनका लागि माटो सुहाउँदो वातावरण अझै तयार भएको छैन । अर्को कुरा कतिपय नेतागिरी गर्नेहरू यो माटोमा नजन्मिएका कारण पनि माटो सुहाउँदो नभएको हो कि जस्तो पनि लाग्छ ।

नेपालमा नेतागिरी गर्नेहरु एक नम्बरी पाराले होइन दुई नम्बरी पाराले काम गर्ने गरेका कारण पनि उनीहरुको भाउ पहिलेको तुलनामा निकै खस्केको छ । भनौँ योक्रमले सधैँ निरन्तरता पाइरहने छ भन्दा कुनै फरक पर्दैन । गाउँका जनताले समेत अब नेताको नाम लिने बित्तिकै ओठ लेप्रयाउन थालिसके भने नेतागिरी सहज रूपमा गर्ने अवस्थामा समेत प्रश्नचिन्ह लाग्न थालेको अवस्था छ । बिहारी नेतागिरीबाट प्रभावित नेपालको नेतागिरी २०४६ सालअघि फरक ढङ्गको थियो भने सो समयपछि फरक ढङ्गले चल्दै आएको छ । हुबहु बिहारको नक्कलका रूपमा देखिएको नेपालको नेतागिरीको चुरीफुरी हेर्ने हो भने ‘कही नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँको छ । जात्रा भनेको कुनै उत्सव मनाउनु हो । भनौँ कुनै जात्रामा देखाइने कुनै बुख्याँचा जस्ता छन्, नेपालमा यतिबेला नेतागिरी गर्नेहरु । जसलाई बुख्याँचा भनेको के हो ? जानकारीसम्म पनि छैन, त्यस्ताहरु अहिले आफै बुख्याँचा भएर गाउँगाउँमा दौडिरहेका छन् । 

कसैले तपाईं भनोस् कि नभनोस् आफैँ मपाइँत्व देखाएर अरूका अगाडि सो प्रदर्शन गर्ने र बकमफुसे गफ गरेर जनता आकर्षित गर्ने मेलोबाहेक केही भा छैन आजको नेतागिरीमा । मेवाका लागि सेवा आजको दुनियाँमा सबैले गर्छन् तर सेवा अनिवार्य र ग्यारन्टी हुन्छ । नेपालको नेतागिरीको सेवा भनेको पहिले मेवा अनि बाध्यता छैन, सेवाको काम । मेवा पाएपछि टीएपी टाप । कति वर्ष हराउने हो, कुन दुलोमा लुकेर बस्छ नेतागिरी गर्ने मान्छे कसैले पत्तो पाउँदैनन् । भनौँ नेपाली नेतागिरी गर्नेहरुले आफ्नो पुस्ता मात्र होइन भावी पुस्तालाई समेत पाल्ने गरी र आफूले नेतागिरी गर्दा लागेको खर्चको साँवा व्याजको दसबर हुने गरी असुलेर बसेका छन् । जनताका नाममा जनताले नै तिरेको करबाट पारिश्रमिक खाएर जनतालाई नै ऋणमा पारेर आफूहरु पानीमाथिको ओभानो हुने संस्कारलाई पुरानै विर्ता ठानेर नेतागिरी गर्नेहरुले देशको दोहन गरेका छन् । 

निर्वाचनमा अरू समयमा भन्दा बढी नै नेतागिरी गर्नेहरुको तामझाम र ढाडस देख्ने गरिन्छ । तर अब ती ढाडस देखाएर र जनताको आँखामा छारो हाल्ने काम गरेर भोटको पोको पारेर हिँडेपछि गाउँ नफर्कने दिन फेरि आउला भनेर औँलो नभाचे पनि हुन्छ । अब नेतागिरीकै भरमा कटेरोलाई दरबारमा रूपान्तरण गरौँला भनेर सोच्दै अघि बढेका खण्डमा भविष्यका लागि नेतागिरी पुनः आमाकै गर्भमा फर्काइदिए सबैभन्दा उपयुक्त हुन्छ । चुनावमा नेतागिरी, दादागिरी होइन इमान, जमान र निष्ठागिरी बन्न सक्नु पर्दछ । आमाले सिकाएको भन्दा बढता जान्ने भएका कारण हिजोका नेतागिरी गर्नेहरु आफैले खनेको खाल्डोमा आफैँ परेको उदाहरणहरु पनि हाम्रासामु घाम जतिकै छर्लङ्ग भएको छ । नेतागिरी जन्म दिने आमालाई र आफ्ना दाजुभाइ, दिदीबहिनी, छरछिमेकी, इष्टमित्र, नाताकुटुम्ब रुवाएर आफू हास्नका लागि हो भने यसले नेपाल देश नाम रहेसम्म बाचुञ्जेल निरन्तरता पाइरहोस् । 

आफ्नै छरछिमेकी, दाजुभाइ, दिदी, बहिनी, सन्तान र आमा बाबुलाई रुवाएर गरेको नेतागिरी देशका लागि हो भन्नेहरु अब मुसाको दुलोमा पस्नेकी सर्पको दुलामा वा किरा फट्याङ्ग्राको बासस्थानतिर जाने हो, आफैले सोचे हुन्छ । यदि यसको निर्णय गर्ने जिम्मा जनतालाई दिने हो भने उचित समयमा उचित निर्णय आउन सक्छ । नेतागिरी गर्नेहरुमा उचित निर्णय गर्ने क्षमता छ भन्न सकिने अवस्था आजसम्म देखिएको छैन । समाजका आलाकाँचाहरु नेतागिरीमा गएर गिरेका छन् ।

कतिपय काजी भनाउँदाहरु नेतागिरी गर्दा जनताले पाजी बनाएको देश पनि यही हो । कतिपय मुखियाहरु जनताकै कारण दुखिया भएर हिँडेको देश पनि यही हो । कतिपय जिम्वालहरु सामन्तीका सिम्बल भएर हिँडेको देश पनि यही हो । नेपालका नेता नपढे पनि आफूलाई कानुन बेत्ता ठान्छन् । भनौँ उनीहरु लाटो देशको गाँडो तन्नेरी बनेर सिङ्गो मुलुकलाई नै मुठ्ठीमा लिएर हिँडेका छन् । यस्ता उदाहरण खोज्ने हो भने समयले देखाएको, सिकाएको, भए गरेको धेरै पाइन्छन् । अब यी नेतागिरी गर्नेहरु भविष्यमा कमन्डलगिरी वा साधुगिरी बन्न सक्दैनन् भनेर भन्न सकिने अवस्था नआउला भन्न सकिन्न । 

नेतागिरी गर्नेहरुबाट जनताले गरेको अपेक्षा पूरा नहुँदा र मेवाका पछि लागेकाले सेवालाई ओझेलमा पारेर जुन गलतबाटोमा हिँडिरहेका छन् त्यो बाटो नै भोलि गएर एउटा विशाल खाल्डोमा परिणत हुनेछ भन्ने कुरा नेतागिरी गर्नेहरुले अहिले बुझ्नु पर्दछ । तर अहिले उनीहरु कम्बल ओढेर घिउ खानेकाम गरिरहेका छन् भन्दा कुनै अत्युक्ति हुँदैन ।

जनताले एकढिको नुन नपाएको बेलामा नेतागिरी गर्नेहरु भने कम्बल ओढेर घिउ खानु कति महान कार्य हो र न्यायसङ्गत हो भन्ने कुराको भेउ लेउ लागेको नेताहरुको दिमागले बुझेको छ । नबुझेको भए यस्ता काम कुराबाट उनीहरु टाढै हुने थिए । भनाँै नेताहरु राजनीतिलाई आफ्नो छोटो बुद्धिको उचाइ बढाउन बुद्धिको भाँडोमा बिर्को लाएर मिष्ठान्न मेवातिर ध्यानाकृष्ट भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप