केन्द्रीय संस्करण

दृष्टिविहीन सन्त

person explore access_timeबैशाख २८, २०७६ chat_bubble_outline0

स्वामी आनन्द अरुण

प्रवासको तेस्रो दिन अपरान्ह आचार्यश्री आफ्नो कोठामा आराम गरिरहनुभएको थियो । जनवरीको मध्य दिन हल्का चिसोले वातावरणमा सूर्यको न्यानोपनको कमी महसुस गराइरहेको थियो । हामी बाल्कोनीमा बसिरहेको थियौं । एक युवक रिक्साबाट ढोकाको सामुन्ने उत्रिए र आचार्यश्री यही बस्नु हुन्छ भनेर सोधे । मैले बाल्कोनीबाटै उनलाई हो भन्ने संकेत गरें । ती युवकले हल्का चिच्याउदै भने, ‘मेरो गुरु जो समस्तीपुर कबीरपन्थी आश्रमको मुखिया हुनुहुन्छ आचार्यश्रीलाई भेट्न आउनुभएको छ ।’

त्यो बेला आचार्यश्री आफ्नो जीवनको रजस शिखरमा हुनुहन्थ्यो । धेरै यात्रा गर्नुहुन्थ्यो । म आचार्यश्रीको आरामको समयमा बाधा नपरोस् भन्ने कुरामा संवेदनशील थिएँ । मैले आचार्यश्रीले सिन्हा पुस्तकालयमा बेलुका प्रवचन दिनुहुन्छ भन्दै उनलाई आफ्ना गुरुसँग त्यही आउन आग्रह गरें । तर ती व्यक्तिले पनि आचार्यश्रीलाई भेटेरै जाने ढिपी गरे । म पनि आचार्यश्रीको आराममा बाधा नपरोस् भन्ने चाहान्थे तर दुर्भाग्यवश हाम्रो उचो स्वरको बार्तालाप सुनेर आचार्यश्रीको विश्राम भंग भएछ र उहाँले मलाई बोलाउनुभयो र हल्लाको कारण सोध्नुभयो । मैले सबै कुरा बताएँ । आचार्यश्रीले भेट्ने व्यवस्था मिलाउन भन्नुभयो ।  

उत्तरी भारतका शोषित, पीडित जातिमा सन्त कबीरको निकै प्रभाव छ । त्यहाँका केही कबीरआश्रममा सीमान्त जातिका व्यक्तिलाई पनि महन्त र पुजारीका रूपमा भेट्न सकिन्छ । उनीहरूको मुखियालाई प्रेमले साहेबजी भनेर पुकारिन्छ । ती साहेबजी होचा कद र कालो वर्णका थिए । उनका ती शिष्यले उनलाई विस्तारै भित्रसम्म ल्याए । उनले जन्मैदेखि आँखाको ज्योति गुमाएका रहेछन् । आचार्यश्री र साहेबजीबीच बडो ह्दयस्पर्शी वार्तालाप भयो । साहेबजीले भने, ‘आचार्यश्री, म त अन्धो छु । म तपाईंका किताबहरू पढ्न सक्दिन तर शिष्यहरूले तपाईंका प्रवचन पढेर सुनाउँछन् । त्यो सुनेर मलाई पूर्ण विश्वास छ कि फेरि कबीर साहब यस पृथ्वीमा आउनुभयो किनभने कबीर साहबको हैसियत नभएको व्यक्तिले यस्तो साहसी, स्पष्ट र निर्भिक कुरा गर्नै सक्दैन ।’

आचार्यश्री हाँस्दै हुनुहुन्थ्यो । उनले भने, ‘मैले तपाईंका सुन्दर प्रवचनहरू सुन्दा तपाईं धेरै नै सुन्दर हुनुहुन्छ भन्ने महसुस गरेको छु । तर म तपाईंलाई आफ्नै हातले छोएर आश्वस्त हुन चाहान्छु । त्यसैले यो भेटको अनुपम क्षणमा मलाई यो अवसर प्रदान गरिदिनुस् ।’ आचार्यश्री साहेबजीको नजिकै आउनुभयो र उनको हात समात्नुभयो । साहेबजीले आचार्यश्रीको मुहारलाई धेरैबेरसम्म विस्तारै स्पर्श गरे । त्यसपछि उहाँको शरीरलाई खुट्टासम्म हातले स्पर्श गरे । साहेबजी गहन संवेदना र पूर्ण एकाग्रभावले आचार्यश्रीको भौतिक शरीरलाई महसुस गरिरहेको थिए । उनको त्यो स्पर्शमा एक भौतिक आयाम मात्र थिएन, एक प्रेमी र प्रेमिकाबीच उत्पन्न हुने सुक्ष्म संवेदना पनि थियो । उनी आफ्ना अन्तचेतनामा आचार्यश्रीको गहन उपस्थिति महसुस गरिरहेको थिए । 

म जन्मदेखि अन्धो छु । त्यसैले मेरा औंलाहरू नै मेरा आँखाहरू हुन् । तपाईं वास्तवमै अति सुन्दर हुनुहुन्छ ।’ भन्दै साहेबजी रुन थाले । हामी सबै द्रविभूत भयौं । त्यहाँ एक गहन निशब्दता छायो । तर साहेबजीले केही समयपछि मौनता तोड्दै भने, ‘आचार्यश्रीजी मेरो तपाईंप्रति एउटा गुनासो छ । तपाईंका कुराहरूमा यति उचाइ र विशिष्टता छ कि हामीजस्ता कम पढेलेखेका गाउँलेका लागि बुझ्नै गाह्रो छ । त्यसकारण तपाईं हामी जस्ता अज्ञानीले पनि बुझ्ने स्तरमा आएर पनि बोलिदिनुहोस् ।’ आचार्यश्रीले दिएको उत्तर म उहाँकै शब्दमा राख्न चाहन्छु ।

‘नही साहबजी, मैं आपके तल पर उतरकर कभी बात नहीं करुंगा । अगर मैं लोगों के तल पर उतरकर बोल्ने लगुं तो बहुत लोकप्रिय बन जाउंगा, पर फिर उनके किसी कामका नही रहुंंगा । मै आप के समझको चुनौती देना चाहता हुं । आपकी अन्तप्र्रज्ञा जगे यही मेरा एक मात्र ध्येय है । मै तो उचाइ से ही आपको पुकारुंगा ताकि आप उपर देखें और अपने पंख खोल मेरे साथ उड सके । हर व्यक्ति के अन्दर उपर उडनेके पंख होते है पर जब तक उन्हे कोइ आ≈वान न करे वे सोये पडे होते हैं ।’ 

(स्वामी आनन्द अरुणको शनिबार सार्वजनिक हुन लागेको पुस्तक ‘ओशो अचम्म जो मैले देखें’बाट)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...