धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

person access_timeसाउन २२, २०७४ chat_bubble_outline0
SHARES
तस्विर : गुगलबाट

वकिल बन्ने सपना देखेका धावक वैकुण्ठ मानन्धरले आईएलसम्मको अध्ययन पार लगाए । लेखापढी राम्रै गर्न आउँथ्यो । तर, वकालत पेसासँग मोहभंग भयो । 
४९ वर्षदेखि दौडिँदै आएका ६५ वर्षीय धावक मानन्धरले दौडेरै तीन स्वर्णपदक पाएका छन् । सरकारले स्वर्णपदक विजेता खेलाडीलाई प्रतिस्वर्णपदक पाँच हजार रुपैयाँ दिँदै आएको छ । एक वर्षका लागि गरिएको सम्झौता आगामी मंसिरमा सकिँदै छ । तीन स्वर्णपदक विजेता मानन्धरले १५ हजार पाउँदै आएका छन् । दौडन थालेको ४९ वर्ष भयो । उनी पहिले दैनिक ७० किलोमिटर दौडिन्थे । हिजोआज पनि दैनिक आठ किलोमिटर दौडिने धावक वैकुण्ठ मानन्धरसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
दाल, भात, तरकारी नै मन पर्छ । बिहान उठ्नासाथ एक लिटर पानी पिउँछु । त्यसपछि ६÷७ वटा बिस्कुट र दूधचिया पिउँछु । हिजोआज चिल्लो पिरो र नुन कम खाने गर्छु । खानकै लागि रेष्टुरेन्ट कमै जान्छु । जाँदा भेजमात्रै खान्छु । पहिले÷पहिले पकाउँथें, बिहे गरेपछि छाडें । 

मेरो पोसाक
सामान्य पोसाक लगाउँछु । ट्र्याकसुट, सर्ट, पाइन्ट र विशेष समारोहमा दौरासुरुवाल पनि लगाउँछु । आफन्त, शुभचिन्तकले पोसाक उपहार दिन्छन् । त्योबाहेक एक हजार पाँच रुपैयाँको पोसाकले वर्ष दिन धान्छ । सेतो र रातो रङको पोसाक मन पर्छ । धेरैजसो कपडा किनेरै सिलाउने गरेको छु । तर, जुत्तामा धेरै खर्च हुन्छ । नौदेखि १२ सयको एक जोर छाला जुत्ताले वर्ष दिन धान्छ भने दौडन पाँचदेखि ६ हजार सम्मको स्पोर्टस् सुज लगाउँछु । त्यसले वर्ष दिन धान्छ । 

मेरो फिटनेस
दैनिक ट्याङ्लाफाँट कीर्तिपुरदेखि दशरथा रंगशाला त्रिपुरेश्वरसम्म दौडेरै पुग्छु । रंगशालामा दौडेरै १५ फन्को मार्छु । पहिले÷पहिले योगा पनि गर्थें । खानेकुरा सीमितमात्रै खाने गरेको छु । 

मेरो अध्ययन
पत्रपत्रिका नियमित पढ्छु । नेपालको इतिहास, चर्चित व्यक्तिका जीवनीसम्बन्धी किताब पढ्न जाँगर चल्छ । लक्ष्मीप्रसाद देवकोटा असाध्यै मन पर्छ । कसैले अनुरोध गरेपछि खेलकुदसम्बन्धी यदाकदा आलेख लेख्ने गरेको छु । 
किताब संकलन गरे पनि घरमा आउनेले लगेपछि फिर्ता गर्दैनन् । अहिले पनि मसँग पाँच सय बढी किताब छन् । 

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । हुम्ला, जुम्ला र रोल्पाबाहेक सबै जिल्ला पुगेको छु । २५ बढी देश घुमेको छु । घुमेकामध्ये एसियामा बैंकक मन पर्यो । नेपालको पोखरा मन पर्छ । पहिले गए पनि फेरि एकपटक अमेरिका जान पाए हुन्थ्यो लागेको छ । 

मेरो फुर्सद
जागिर नभए पनि फुर्सद छैन । दौडेको बेला आराम गर्छु । घरपरिवारलाई समय दिएको छु । परिवारसहित घुम्न, फिल्म हेर्न र रेष्टुरेन्टमा खान जाने बानी छैन । 

मेरो खेलकुद
धावक भए पनि मलाई फुटबल मन पर्छ । पहिले फुटबल खेले पनि छाडेको हुँ । फुटबल खेल्न ११ जना चाहिन्छ । खेल्न मन लागेपछि अर्कै टिममा मिसिनुपथ्र्यो । उनीहरूले पनि राम्रै खेलाडीमात्रै रोज्थे । नराम्रोले खेल्ने अवसर कमै पाउँथे । खेल्न टिम नपुगेपछि छाडेको हुँ । 
संवत् २०३०/०३१ सम्म फुटबल खेलें । एनआरटी क्लबबाट फुटबल खेलेको थिएँ । फुटबलमा ब्राजिलको समर्थक हुँ । 

मेरो मोबाइल
सामसुङको मोबाइल सेट प्रयोगमा ल्याएको छु । यसको १४ हजार रुपैयाँ परेको थियो । हराए, बिग्रेपछि मोबाइल फेर्छु । मोबाइलका एप्लिकेसन्स प्रयोग गर्न कन्जुस गर्दिनँ । 

मेरो टीभी
टीभी हेर्दा समाचारले प्राथमिकता पाउँछ । घरमा फिलिप्सको २१ इन्चको टीभी छ । फुर्सद भएको समय टीभी हेर्छु । 

मेरो चलचित्र
फिल्म नहेरेको धेरै भयो । पहिले÷पहिले फिल्म धेरै हेर्थें । सीडी, भिसिडीमा पनि फिल्म हेरेको थिएँ । अहिले त छैन । हेरेका सबै नेपाली फिल्म मन पर्यो । राजेश हमाल, मनीषा कोइरालाको अभिनय लोभलाग्दो छ ।

मेरो रोग
हिजोआज स्वस्थ छु । १४ वर्षअघि भारतमा मुटुको उपचार गरें । उच्च रक्तचापले समातेको छ । दौडिने, हिँडडुल गर्ने र शारीरिक अभ्यासले स्वस्थ रहन सघाउ पुर्याउँछ । 

मेरो भाषणशैली
भाषण गर्न नआए पनि बाध्यताले गर्नैपर्छ । कतिपयले लेखेरै भाषण गर्छन् । तर, मलाई जे आउँछ त्यही बोल्छु । म प्रेरणादायी भाषण गर्छु ।

मेरो मापसे
नेवार भएकाले सगुन दिँदा जुठोमात्रै पार्छु । पहिले÷पहिलेचाहिँ खान्थें । २०÷२२ वर्षको छँदा मात्नेगरी खाएको थिएँ । 

मेरो संगीत
गीत/संगीत असाध्यै सुन्छु । नारायण गोपाल, योगेश वैद्य, प्रेमध्वज प्रधान, तारादेवी, अरूणा लामा, कोइलीदेवीका आवाज श्रवणीय लाग्छ । नआए पनि गीत गाउँछु । मैले गाएको सुन्नेले हाँसिदिन्छन् । 

मेरो भूल
मानिस हो, जान अन्जानमा भूल गरिन्छ । म त प्रस्ट मानिस, लागेको कुरा बोलिहाल्छु । देखेको कुरा भनिहाल्छु । त्यसले राम्रो नगर्दोरहेछ । भूल गरेबापत धेरैपटक सजाय पाएको थिएँ । 

मेरो घर
म बस्दै आएको घर ०४३ मा आफ्नै कमाइ (दौडेर) ले बनाएको हुँ । घरको डिजाइन सामान्य छ । ४० हजारमा घडेरी किनेको हुँ । त्यतिबेला झन्डै एक लाखमा घर ठड्याएको थिएँ । 

मेरो राशी
मेरो राशी वृश्चिक हो । अहिलेसम्म ग्रहदशा हेराएको छैन । ग्रहदशा नहेराएपछि ग्रहशान्ति गराउने कुरै भएन । तर, ग्रह नक्षत्रको फलप्रति विश्वास छ । 

मेरो सौन्दर्यचेत 
कपालमा केही लगाउँदिनँ । अनुहारमा क्रिम लगाउँदिनँ । आजसम्म फेसियल गरेको छैन । भोज जाँदा कहिलेकाहीं छोराहरूले पर्फ्युम छर्किदिने गर्छन् ।

मेरो प्रेम
मैले मागीबिहे गरेको हुँ । देखेको चिनेकोसँग बिहे गरें । बिहे गर्नअघि चार÷पाँचजनासँग प्रेम गरेको थिएँ । हिजोआज पनि उनीहरूको सम्झना आउँछ । उनीहरूले वैकुण्ठ मानन्धरको प्रगति देखेका छन् । मैले उनीहरूको देखेको छु । उनीहरूसँग बाटोमा देखभेट हुँदा बोलचाल हुन्छ । सबैसँग दोहोरो प्रेम रहे पनि परिवारले स्वीकार नगरेका कारण हाम्रो बिहे हुन सकेन ।

मेरो सपना
सन् १९७० मा कोरिया पुगेको थिएँ । त्यतिबेला कोरियामा ट्याक्सी नै थिएन । तर, नेपालमा थियो । त्यस्तो ठाउँ कहाँबाट कहाँ पुग्यो । 
भ्रष्टाचारमुक्त बनाउन पाए नेपाल संसारकै उदाहरणीय बनाउन सकिन्छ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपालीलाई यहीं काम गर्ने वातावरण सिर्जना गर्न पाए नेपाललाई कोरिया बनाउन समय लाग्दैनथ्यो ।

म जहाँ र जे छु, यही ठीक छ । त्योभन्दा बढी केही आस गरेको छैन । मैले कायम गरेको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । त्यो कीर्तिमान नेपालीले तोडोस् । नेपाली खेलाडीले धेरैभन्दा धेरै तालिम पाऊन् ।

त्यतिमात्रै होइन, नेपालमा दुई ओलम्पिक कमिटी छन् । एउटा रुक्मशमशेर र अर्को जीवनराम श्रेष्ठले नेतृत्व गरेका छन् । रुक्मशमशेर पनि हस्ती मानिन्छन् । उनलाई ससम्मान आजीवन सदस्य र उनका दुई/चारजनालाई समेटेर एउटै ओलम्पिक कमिटी बनाउँदा प्रभावकारी हुन्थ्यो । 
 

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नैपर्छ । मानिस जन्मँदै मृत्यु लिएर आएको हुन्छ । यो तारेर तार्न सकिँदैन । मृत्युसँग डर लाग्दैन तर निरोगी भएर धेरै वर्ष बाँच्न पाए हुन्थ्यो भन्ने लोभ लागिहाल्दोरहेछ ।

मृत्युको नजिक/नजिक धेरैपटक पुगेको छु । बाढी आउँदा बागमती तर्न खोज्दा धेरैपटक बगाएको छ । तिनाउ तर्न खोज्दा पनि त्यस्तै भयो । मेरोमात्रै होइन, संसारमा जोकोहीको मृत्यु हुँदा सहज होस् भन्ने कामना छ । 
 

यो जीवनकथा पनि पढ्नुहोस्

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

 

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

 

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ