केन्द्रीय संस्करण
कथा

स्वार्थी दुनियाँ

person explore access_timeबैशाख २७, २०७६ chat_bubble_outline0

बालशौरि रेड्डी

रातमाटे गाउँमा एक जना किसान थिए । उनको नाम उर्बरलाल थियो । उर्बरलालका एक छोरा थिए सम्पतलाल । सम्पत् बडो लाडप्यारमा हुर्केका थिए । हट्ठाकट्ठा थिए । पढाइमा भने धेरै नै कमजोर थिए । साथीहरुकोमा जान्थे र धेरैजसो समय साथीहरुसँग खेलेरै बिताउँथे । उर्बर र उनकी श्रीमती धरणी छोरा सम्पतलाई बारम्बार सम्झाइबुझाइ गरिरहन्थे । तर पनि सुधारको कुनै लक्षण देखिएको थिएन ।

एक दिन उर्बरले छोरा सम्पतलाई नजिकै बोलाएर बसाए र आदरपूर्वक भने, “बावु, मेरा त केवल दुई जना साथी छन् । तिमीले यति धेरै साथी कसरी बनायौ ?! कहिले त अचम्म पनि लाग्छ । तिम्रा साथीहरुले तिम्रो पढाइ बर्बाद गरेको देख्दा ती असल साथी होलान् जस्तोचाहिँ लाग्दैन । यस्ता साथीले अपठ्यारो पर्दा सहयोग पनि गर्दैनन् । तिनीहरुको लहैलहैमा लागेर तिमी आफ्नो भविष्य बर्बाद नगर !”

बाबाको कुरा सुनेर सम्पत झनक्क रिसाए र भने, “बाबा, तपाइँका त दुईजना मात्रै साथी छन् । मेरा त पचास साठी जना छन् । परिआए ती साथीहरुले मेरो लागि ज्यान पनि दिनसक्छन् । बुझ्नुभो ?”

छोराको मूर्खता देखेर बाबालाई हाँसो उठ्यो र पनि नहाँसिकन बाबाले भने, “ल ठीक छ त्यसो भए आज तिमी र म भएर तिम्रा र मेरा साथीहरुको जाँच लिएर हेरौं !”

यसपछि उर्बरले सम्पतलाई लिएर सम्पतका एक एक साथीकोमा गए र भने “बावु छोरा, तिमी मेरा छोराको प्राणप्रिय मित्र हौ । मेरो यो छोराले आज बिहान रिसको बेगमा आएर एकजना मानिसलाई लाठोले हान्यो । समस्या चर्कै होलाजस्तो छ । यसलाई बावुहरुले बचाइदिनपर्‍यो !”

यो सुनेर सम्पत्का केही साथीले भने, “सम्पत हाम्रो साथी होइन । साधारण चिनाजानी हुँदैमा साथी भइन्छ र ? उसले बदमासी गरेपछि त्यसको समाधान पनि उसैले गर्नुपर्छ । उसको निम्ति हामी किन टाउको दुखाउने ? टाउको दुखाएर हामीलाई के फाइदा हुन्छ ?”

सम्पतका कति साथीले त अझ टाढिएर भने, “एः को सम्पत ? हामी तपाइँको छोरो सम्पतलाई राम्ररी चिन्दापनि चिन्दैनौं । अलि अलि चिनाजानै भएछ भनेपनि कसैले अर्काका लागि ज्यान दिन सक्छ ? अहँ हामीलाई त यस्ता कुरामा वास्ता छैन । हामी तपाइँका छोराका लागि केही गर्न सक्दैनौं । तपाइँ जानुस् !”

यसरी सम्पत्का सबै साथीहरु कुरा बटार्दै एउटा एउटा बहाना बनाएर लाखापाखा लागे ।

यसपछि उर्बरलाल छोरा सम्पतलाई लिएर एक जना आफ्ना साथीको घर पुगे । साथीलाई सवै कुरा त्यसरी नै सुनाए । उर्बरका साथीले सम्पतलाई अँगालो हालेर आश्वासन दिँदै  उर्बरसित भने, “मित्र, तपाइँले डराउनु पर्दैन । मसित प्रशस्त सम्पत्ति छ । तपाइँको छोरो मेरो पनि छोरा हो । म मेरो भएजति सम्पत्ति दण्ड जरिबानामा खर्च गर्न परे पनि गरेर सम्पतलाई जोगाउँछु । चिन्ता नगर्नुस् !”

यसपछि उर्बरले छोरा सम्पतलाई आफ्नो अर्को साथीको घर लिएर गए । त्यस साथीलाई पनि समस्याका सवै कुरा भने र अनुरोध गरे, “साथी, मेरो छोरालाई बचाइदिनुहोस् !” ती साथील भने, “मित्र, तपाइँलाई आपत् पर्नु मलाई नै पर्नु होइन र ? तपाइँको एउटा छोरा छ मेरा तीन जना छोरा छन् । म मेरो एउटा छोरालाई अपराध सकार्न लाएर भएपनि यो बावुलाई बचाउँछु । मेरा छोराहरुले पनि मेरा मित्रहरुको अपठ्यारोमा मैले भनेपछि मलाई मद्दत गर्छन् । म तपाइँको मित्र हुँ । यस्तो आपत् विपतमा काम लाग्नसकिनँ भने म के मित्र ? हाम्रो मित्रताको के अर्थ ? नडराउनुहोस् साथी, म विभिन्न उपाय गर्छु र तपाइँको छोरालाई बचाउँछु ।  निर्धक्क हुनुहोस् । अब समस्या समाधान नभएसम्म यो छोरो मेरो जिम्मा ।”

मित्रबाट यसरी ढाढस पाएपछि उर्बर त्यहाँबाट बिदा भएर  छोरा सम्पतसँगै बाहिर निस्के ।

आजको यो सम्वाद घटनाबाट सम्पत आश्चर्यचकित भए । उनले के कुरा छर्लंग बुझे भने उनका बाबाका जस्ता मित्र नै सच्चा मित्र हुन् । उनका जस्ता मित्र सच्चा मित्र होइनन् । सवै मतलवी र स्वार्थी हुन् । यस्ता स्वार्थीहरुबाट सकभर टाढै रहनुपर्छ ।

साँच्चै त्यस दिनपछि सम्पतले ती साथीहरुको संगत् चटक्कै छाडे । पढ्दै र प्रगति गर्दै जाँदा कुनै दिन असल साथीहरु भेटिएलान्, अहिले मेरो पढ्ने बेला हो भन्ने सोच्दै तन मन लगाएर पढ्न थाले ।

प्रस्तुति— एसआरएन

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...