शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुन बच्चा १ सय ३ दिन एनआईसीयूमै बस्यो, अनि...

शुक्रबार, २७ वैशाख २०७६, १६ : ४८
शुक्रबार, २७ वैशाख २०७६

बुटवल– कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ८ की विमला पन्थीलाई गत माघ ८ गते एक्कासि पेट दुख्यो । पेट दुखेपछि अस्पताल पुगिन् । डाक्टरसँग सल्लाह हुँदा उनलाई प्रसव व्यथाले च्यापेको थाहा भयो ।

गर्भ रहेको २४ साता अर्थात् ६ महिनामै विमलालाई प्रसव पीडा सहनुपर्ला भन्ने कल्पना हुने कुरै भएन ।

अझ चिकित्सकले पाठेघरमा पानीको मात्रा कम भएको बताएपछि उनलाई के होला भन्ने चिन्ता थपिनु स्वाभाविक भयो । तर अस्पताल गएको २ दिनपछि माघ १० गते ७ सय ५० ग्राम तौलको बच्चा जन्मियो । डेलिभरी सामान्य भयो ।

सुरुका दिनमा आफन्त र स्वास्थ्यकर्मीहरुले छोटो समयमा त्यसमाथि कम तौलमा जन्मेको बच्चा बचाउन कठिन हुने आँकलन गरेका थिए । अर्कोतिर घरपरिवार उपचारको खर्च र बच्चाको स्वास्थ्यका लागि चिन्ता छँदैथियो ।

चिकित्सकको सुझावअनुसार उक्त बच्चालाई लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयूमा राखेर एक सय तीन दिन उपचार गरियो । तीन महिना १३ दिनमा बच्चाको तौल वृद्धि १८ सय ५० ग्राम पुगेपछि अस्पतालले डिस्चार्ज गर्यो ।

जुन बच्चाको हिन्दु संस्कारअनुसार न्वारान गर्न समेत बाँकी रहेको एक आफन्तले रातोपाटीलाई बताए । उनले भने, ‘बल्ल अस्पतालबाट ल्याइएको छ । अहिले सबै खुसी छौँ । अब हिन्दू प्रचलन अनुसार सबै विधि अपनाइन्छ ।’

हाल बच्चा स्वस्थ्य रहेको उपचारमा संलग्न डा. नेत्र रानाले बताए । डा. रानाका अनुसार यति कम तौल र कम समयमा जन्मिएको बच्चाको उपचार नगन्य रूपमा मात्रै सफल हुन्छ । 

‘कम तौल भएको बच्चालाई बचाउने आशा कम थियो । आफन्त आमाबुबा खुसी छन्’, अस्पतालका सामाजिक सेवा इकाई प्रमुख दयासागर पन्थीले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन वर्षदेखि एनआईसीयू अर्थात् नवजात शिशु उपचार केन्द्र सञ्चालन छ । सरकारकोे नीतिअनुसार केन्द्रमा उपचार निःशुल्क गरिन्छ ।

अस्पतालका बालरोग विशेषज्ञ डा. नेत्र रानाले २०७४।०७५ मा ८ सय १२ जना नवजात शिशुको उपचार भएको जानकारी दिए ।

‘तीन वर्षको अवधिमा सबैभन्दा कम तौल भएको बच्चा यही हो । सायद ५ नम्बर प्रदेशमा पहिलो घटना हुनपर्छ’, डा. रानाले सुनाए ।

प्रभावकारी बन्दै एनआईसीयू सेवा

लुम्बिनी प्रादेशिक अस्पतलमा तीन वर्षको अवधिमा ८ सय १२ जना बच्चाहरुको उपचार भएको अस्पतालको रेकर्ड छ । जहाँ ८ सय १२ बच्चाको उपचार भएको छ । एनईसीयूबाट यति तौल र छोटो समय जन्मिएको बच्चाको  उपचार भई सफल भएको पहिलो घटना भन्दै रानाले साधनस्रोत हौसला र समूहगत कामबाट यस्ता जटिल कार्यहरु पनि सहज रूपमा पार लगाउन सकिने हिम्मत बढेको बताए । 

केन्द्रमा नेपाल सरकारले २९ दिनभित्रका शिशुहरुको उपचारमा सम्पूर्ण निःशुल्क गरेको छ । अस्पतालले एनआईसीयूमा भर्ना गरेका नवजात शिशुका आमाहरुलाई समेत अस्पतालमै भर्ना गरेर बस्नका लागि बेडको व्यवस्था गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले २०३० सम्म विश्वबाट नवजात शिशुको मृत्युदर १८ बाट १४ मा झार्ने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप