शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित दुई युवक पक्राउ

शुक्रबार, २७ वैशाख २०७६, १२ : ४८
शुक्रबार, २७ वैशाख २०७६

काठमाडौं– प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।
 
पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बसबिसौनी नजिकैबाट लागुऔषधसहित लहान नगरपालिका–१९ निवासी २० वर्षीय अशोककुमार यादवलाई पक्राउ गरेको हो ।
 
यादवको साथबाट नाइट्रोजेपाम १६ ट्याब्लेट बरामद भएको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले सिरहाका विभिन्न स्थानबाट करीब रु डेढ लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । भन्सार छलेर अवैध रुपमा ल्याएको विभिन्न किसिमका कपडासहित बीआर३२जे ०२२७ नंको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद सबै सामान कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ । 

छुरा प्रहार गरेको आरोपमा दुई पक्राउ 

काम विशेषले सिरहाको लहान आएका धनुषाका एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहानका दुई युवालाई पक्राउ गरेको छ । लहान नगरपालिका–७ स्थित शिवचोक नजिकै धनुषाको जनकपुर उपमहानगरपालिका–२१ निवासी २१ वर्षीय राजुकुमार साहमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–८ निवासी २० वर्षीय राजु पासवान र १९ वर्षीय दिपेस यादवलाई पक्राउ गरेको हो ।
 
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय लहानमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप