शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्टेस्वरीका नाममा मनपरी : न शुल्कमा नियन्त्रण, न त न्यूनतम पूर्वाधार नै

महानगर भन्छ : अनुगमनका लागि जनशक्ति छैन
शुक्रबार, २७ वैशाख २०७६, ११ : ४१
शुक्रबार, २७ वैशाख २०७६

पछिल्लो समय साना बालबालिकाको पढाइका लागि भन्दै ज्यादै प्रयोग भएको एउटा विधि हो मन्टेस्वरी । बालबालिकालाई खेल सामग्रीका माध्यमबाट अध्ययन तथा अध्यापन गराउने यो विधिलाई पछिल्लो समय व्यापारको राम्रै हतियारका रूपमा प्रयोग गर्न थालिएको छ ।

अहिले पूर्वप्राथमिक कक्षा वा प्रिस्कुल जानेभन्दा पनि मन्टेस्वरी कक्षा जाने भन्दै पूर्वप्राथमिक शिक्षाको पर्याय नै मन्टेस्वरी शिक्षा बनेको छ ।

हरेक पूर्वप्राथमिक विद्यालयले आफ्नो स्कुललाई मन्टेस्वरी स्कुल भनेर दाबी गरिरहेका छन्, जबकि मन्टेस्वरी स्कुल के हो भनेर भने अधिकांश शिक्षक तथा कर्मचारीहरुलाई थाहा नै हुँदैन ।

के हो मन्टेस्वरी शिक्षा ?

आजभन्दा झन्डै १ सय वर्ष अगाडि इटालीमा नयाँ पद्धतिको पढाइको सुरुवात भयो । विद्यार्थीहरुलाई किताबका पाना मात्रै घोकाएर पढाउने विधि होइन, बालबालिकाले खेल्दै सिक्नुपर्छ भन्दै इटालीमा एकजना डाक्टरले विद्यार्थीलाई पढाउने नयाँ विधिको प्रयोग गरिन् ।

मारिया मन्टेस्वरी इटालीको पहिलो महिला डाक्टर थिइन्, जसले पुरुषले मात्रै पढ्ने स्वास्थ्य शिक्षा लिएर डाक्टर बनेकी थिइन् ।

प्रत्येक व्यक्तिको क्षमता फरकफरक हुन्छ र सिक्ने तरिका पनि फरक हुन्छ भन्ने उनको सिद्धान्त थियो । बालबालिकाहरुले खेलकै माध्यमबाट सिक्न सक्छन् र कक्षाकोठा पनि खेल मैदानजस्तै हुनुपर्छ भन्ने उनको सिद्धान्त थियो ।

यो पनि

निजी विद्यालयमा लुट : उपशीर्षक बनाएर अतिरिक्त शुल्क असुली

नेपालको शिक्षा : शिक्षा मन्त्रालय नै विदेशी डोनरहरुको प्रभावमा छ

चित्र, कला तथा आकर्षक वस्तुको माध्यमबाट विद्यार्थीलाई सिकाउन सकिन्छ भन्ने उनको सिद्धान्त थियो ।

परम्परागत शिक्षणपद्धतिले सबैलाई समेट्न नसकेको भन्दै उनले आफैँ खेल्दै पढ्न सकिने गरी शिक्षणवस्तु तथा पद्धतिको विकास गरिन् । उनले विद्यार्थीलाई ए सिकाउनका लागि कापीमा ए लेखेर देखाइनन्, बरु ए को आकार आउने चित्र बनाइन्, ए लाई रङ लगाएर आकर्षक बनाइन् र बच्चाहरुलाई आकर्षण दिलाउन सकिन् ।

यसैगरी उनले आफ्नो शिक्षण कलामा विद्यार्थीलाई घोकाउने भन्दा पनि खेल सामग्रीका माध्यमबाट पढाउन र सिकाउन सकिन्छ भन्दै त्यही पद्धतिको विकास गराइन् ।

मारिया मन्टेस्वरीले प्रयोग गरेको विधिले बालबालिकाको सर्वाङ्गीण विकास गर्नमा सहयोग पुरायो । बालबालिकाले अन्य विद्यालयमा पढ्नेभन्दा चाँडो सिक्न थाले । बालबालिकामा आत्मविश्वास बढ्यो र उनीहरु दैनिक स्कुल जान चाहना गर्ने भए ।

विद्यालयमा प्रकृतिमा पाइने वस्तुहरुबाट नै सिक्ने र सिकाउने कलाको सुरु भयो । त्यस मात्रै होइन, विद्यालयमा पढ्ने मात्रै होइन, खेल्ने र खेलबाटै सिक्ने विधिको प्रयोग भयो । तत्कालीन समयमा यसले ज्यादै ठूलो परिवर्तन ल्याउन सक्यो ।

पछि मारिया मन्टेस्वरीले प्रयोग गरेको यही शिक्षण विधि नै मन्टेस्वरी पद्धति बन्यो र यो विश्वभर नै उत्तिकै चर्चित छ ।

पछिल्लो समय यही शिक्षण विधि नेपालमा पनि उत्तिकै प्रख्यात बनेको छ । मन्टेस्वरी विधि के हो भन्ने पूर्ण थाहा नभएकाहरुले पनि मन्टेस्वरी शिक्षा भन्दै साना बालबालिकालाई विद्यालयमा ल्याएर पढाउने गरेका छन् । विद्यालयमा शिक्षणपद्धति जेसुकै होस्, अभिभावकलाई मन्टेस्वरीको ‘ललिपप’ देखाएर उनीहरुले ‘मनी मेकिङ’ भने गरिरहेकै छन् ।

अभिभावकमा पनि मन्टेस्वरी शिक्षणपद्धति के हो भन्ने धेरैलाई थाहा छैन तर अधिकांश अभिभावकको दिमागमा साना बालबालिकालाई मन्टेस्वरी शिक्षा नै दिनुपर्छ भन्ने भ्रम भने अवश्य पनि छ । त्यसैले उनीहरुको बालबालिका २८ महिना नलाग्दै उनीहरु आफ्ना बालबालिकालाई मन्टेस्वरीमा भर्ना गर्न आतुर हुन्छन् ।

नेपालमा २०६० को दशकबाट बल्ल मन्टेस्वरी शिक्षाको बारेमा चर्चा र बहस हुन थालेको हो । तर यतिबेला उपत्यकाका प्रत्येक टोलमा दुई वा दुईभन्दा बढी मन्टेस्वरी स्कुल स्थापना भएका छन् भने उपत्यका बाहिर पनि मन्टेस्वरी स्थापना सुरु भएको छ । यद्यपि यस्ता मन्टेस्वरीलाई नियमन तथा नियन्त्रण गर्ने संयन्त्र भने अहिलेसम्म पनि बन्न सकेको छैन ।

२०७३ सालमा शिक्षा विभागले ईसीडी अर्थात् पूर्वप्राथमिक कक्षालाई नियमन तथा नियन्त्रण गर्ने भन्दै कार्याविधि र निर्देशिका तयार गरेको थियो । तर देश सङ्घीयतामा गइसकेपछि शिक्षा हेर्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइयो, जसको कारण शिक्षा विभागले तयार पारेको निर्देशिकाले कुनै काम गर्न पाएन ।

यद्यपि शिक्षा विभागले तयार पारेको निर्देशिकालाई आधार मान्दै कतिपय स्थानीय तहले आफ्नै निर्देशिका पनि तयार गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले पनि आफ्नै निर्देशिका तयार पारेर मन्टेस्वरी विद्यालयलाई कानुनी दायरामा ल्याउने कोशिस त गरेको छ, यद्यपि महानगरको ‘कोशिस’ कागजमा मात्रै सीमित बनेको छ ।

काठमाडौँ महानगरपालिकाले २०७३ साल पुस २५ गते आफ्नो २९औँ नगर सभाबाट ‘पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका, २०७३’ जारी त गरेको छ तर महानगरले जारी गरेको निर्देशिकाको पालना कुनै पनि पूर्वप्राथमिक विद्यालयले पूरा गरेका छैनन् ।

नियामक निकाय नै छैन प्रि स्कुलको

महानगरले जारी गरेको निर्देशिकाले मन्टेस्वरी स्कुललाई नियमन गर्ने र कानुनी दायरामा ल्याउने कोशिस त गरेको छ तर वडा कार्यालयले सेटिङ गर्ने र कानुनी दायरामा नल्याउने हुँदा न मन्टेस्वरीको शुल्क नियन्त्रणमा लिन सकिएको छ न त न्यूनतम पूर्वाधार नै पूरा भएको छ ।

महानगरले जारी गरेको निर्देशिकाअनुसार मन्टेस्वरी स्कुल वा पूर्वप्राथमिक विद्यालय सञ्चालनका लागि महानगरपालिकाको वडा कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर वडा कार्यालयबाट स्वीकृति पाउनका लागि पनि वडा कार्यालयमा सिफरिस दिई त्यस सिफारिसमाथि महानगरको शिक्षा शाखा वा विभागबाट अनुगमन गराई स्वीकृति लिएर मात्रै सञ्चालन गर्ने कानुनी व्यवस्था छ ।

महानगरले बनाएको निर्देशिकामा न्यूनतम मापदण्ड तोकिएका विभिन्न विषय पनि अधिकांश विद्यालयले पालना गरेका छैनन् । तर पनि महानगरले अनुगमन नगर्दा उनीहरुले मनपरी गरिरहेका छन् ।

महानगरले तोकेका केही न्यूनतम मापदण्ड यस्ता छन् :

– बालमैत्री पूर्वाधार सूचकहरुको विवरण, न्यूनतम मापदण्ड, विद्यालय सञ्चालन गरिने भवन तथा अन्य संरचनाहरु सुरक्षित रहेको व्यहोराको इन्जिनियर वा इन्जिनियरिङ परामर्श सेवा प्रदायक संस्थाको सिफारिस पत्र तथा सो व्यहोरा झल्काउने फोटाहरु वडामा निवेदन दिई कामनपाको शिक्षा विभागबाट अनुगमन गराई स्वीकृति लिनुपर्ने ।

– विद्यालय बालबालिकाको घरबाट १५ देखि २० मिनेटको पहँुचमा हुनुपर्ने ।

– कम्तीमा प्रतिबालबालिकाका लागि २.०० वर्गमिटर क्षेत्रफलको कोठा र ८ फिट उचाइ, उज्यालो ढोका भएको ताला लगाउन मिल्ने कोठा हुनुपर्ने ।

– कोठा बालबालिकाको स्वास्थ्य अनुकूल तापक्रम भएको हुनुपर्ने साथै विद्यालय सञ्चालन गर्ने भवनको चारैतर्फ खुला र अन्य घर नजोडिएको शान्त, उज्यालो तथा दोहोरो हावा बहन गर्न सक्ने हुनुपर्ने । झ्यालमा ग्रिल राखेको हुनुपर्ने ।

– कोठाको क्षेत्रफल बालबालिकाका लागि स्वतन्त्र रूपले बस्न, चल्न, खेल्न तथा सुत्न पुग्ने हुनुका साथै भवनमा पर्याप्त पार्किङ सुविधा, स्थानीय मानिसका लागि सहज तरिकाले आवत जावत गर्न मार्ग भएको हुनु पर्नेछ । विद्यालय भवन आसपासमा पेट्रोल पम्प, मुख्य सडक, बसपार्क, खुलामञ्च, वाचनालय, कलकारखाना तथा ट्राफिक जोखिम नभएको स्थलमा हुनुपर्ने ।

– विद्यालय परिसर खुला इनार, पोखरी, भीर, खोला, फोहोर सङ्कलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषक उद्योगधन्दा, हवाइ मैदानबाट ५०० मिटर बाहिर हुनका साथै भवनमा अग्नि नियन्त्रक उपकरण समेत हुनुपर्ने ।

–  भवनले ओगटेको जमिनको भागको कम्तीमा दुई तिहाइ खालि जमिन खेलमैदानका रूपमा हुनुपर्ने ।

–   महानगरबाट सेवा सुविधा तथा शुल्कका लागि स्वीकृति गराएर मात्रै शुल्क लिन पाउने ।

– कामपा क्षेत्रभित्र सञ्चालन हुने पूर्वप्राथमिक विद्यालयले समितिको सिफारिस अनुरूप अति विपन्न, पिछडिएका, अपाङ्ग वा टुहुरा बालबालिकालाई सिफारिस अनुसारको सहयोग उपलब्ध गराई आफ्नो शैक्षिक कार्यक्रममा सहभागी गराउनुपर्ने । सामान्यतः कूल बालबालिकाको ५ प्रतिशत बालबालिकालाई यस प्रकृतिको छात्रवृत्ति उपलब्ध गराउनुपर्ने ।

काठमाडौँ महानगरपालिकाले न्यूनतम मापदण्ड भने पनि अधिकांश पूर्वप्राथमिक विद्यालयले महानगरको यो कानुनको खिल्ली उडाएका छन् । महानगरका सञ्चालित कुनै पनि प्रि स्कुलले महानगरबाट शुल्क उठाउनेसम्बन्धी स्वीकृति लिएका छैनन् ।

छात्रवृत्ति दिने सम्बन्धमा ‘मन्टेस्वरी’लाई यस्तो कुनै नियम नै नभएको भन्दै उनीहरुले छात्रवृत्ति दिने गरेका छैनन् भने अधिकांश विद्यालयमा न्यूनतम मापदन्ड नै पूरा भएको छैन ।

शुल्कमा मनपरी

काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्दै यस वर्ष कुनै पनि विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गर्यो । तर महानगरका सञ्चालित सबैजसो पूर्वप्राथमिक विद्यालयले यस वर्ष १० देखि ३० प्रतिशतसम्म शुल्क बढाएका छन् । अभिभावकले कारण सोध्दा शिक्षक तथा कर्मचारीको तलब बढाउनुपरेको र महँगी बढेको छ, जबकि अहिले नै मन्टेस्वरी शिक्षा अत्यन्तै महँगो छ ।

उपत्यकामा नाम चलेको मन्टेस्वरी शिक्षा युरो किड्समा प्ले ग्रुपमा एकजना विद्यार्थी भर्ना गर्नुपरेमा सुरुमै ५५ हजार रूपैयाँ बुझाउनुपर्छ ।

त्यसपछि प्रत्येक महिनाको शुल्क ११ हजार २ सय ५० रूपैयाँ रहेको छ । जसमा तीन पटक खानेकुरा खान दिइन्छ ।

बालबालिकालाई दिइने खानेकुरा सबैजसो पूर्वप्राथमिक विद्यालयमा एउटै हुन्छ र त्यसको लागि सबै खर्च जोड्दा पनि मासिक २ हजार ५ सयभन्दा बढी नहुने विद्यालय सञ्चालकहरु बताउँछन् । तर युरो किड्समा भर्ना गर्दा ५५ हजार तिर्नुपर्छ भने मासिक शुल्क नै ११ हजार २ सय ५० रूपैयाँ रहेको छ ।

हेर्नुहोस्, युरो किड्समा तिर्नुपर्ने रकमको फेहरिस्त ।

सामाखुसीमा रहेको युरो किड्सको प्रि स्कुलमा रातोपाटीको टिम पुग्दा सुरुमा आफैँ अभिभावक बनेर पुग्यौँ । किनभने पत्रकार बनेर जाँदा हामीलाई चाहिने सूचना पाउन मुस्किल नै थियो । हामीले विद्यालयको शुल्क तथा सेवा र सुविधाबारे जानकारी माग्यौँ । तर उनीहरु सबै जानकारी दिन तयार नै भएनन् । यतिसम्म कि अभिभावकले किचन हेर्न चाहेमा देखाउन सक्नुहुन्छ ? भन्दा किचन देखाउन नमिल्ने भन्दै उनीहरु पन्छिन खोजे ।

युरो किड्स सामाखुसीकी प्रशासन प्रमुख सिल्की पुर्बेलाई अहिलेसम्म महानगरले प्रि स्कुल सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको जानकारी नै छैन । त्यसकारण उनीहरुले न महानगरबाट शुल्क स्वीकृत गराएका छन् न त अन्य सेवा र सर्त नै मानेका छन् ।

यस पटक पनि उनीहरुले १५ प्रतिशतले शुल्क बढाएका छन् भने उनीहरुले कुनै पनि विद्यार्थीलाई छात्रवृत्ति दिएका छैनन् ।

भाडाको घरमा विद्यालय सञ्चालन गरेकाले कोठाको चौडाइ लगायतको न्यूनतम मापदण्ड पनि पूरा भएको छैन ।

अधिकांशलाई अग्नि नियन्त्रक चलाउन आउँदैन

युरो किड्सले आफ्नो विद्यालयमा फायर इक्स्टिङ्ग्युसर त राखेको छ तर उनीहरुमध्ये अधिकांशलाई यो चलाउन आउँदैन । यदि आगो लागिहालेमा कसरी यो चलाउने र आगो निभाउने हो भन्ने विषयको जानकारीसमेत छैन ।

आगो कसरी निभाउने हो जानकारी छ भन्ने रातोपाटीको प्रश्नमा प्रशासन प्रमुख पुर्बेले गार्डलाई आउँछ भन्ने जवाफ दिइन् ।

यो समस्या युरो किड्सको मात्रै होइन, अधिकांश पूर्वप्राथमिक विद्यालयमा काम गर्नेलाई यसबारे जानकारी नै छैन । अधिकांश विद्यालयमा फायर इक्स्टिङग्युसर नै छैन भने भएका विद्यालयमा पनि सबैलाई यो चलाउनै आउँदैन ।

युरो किड्स मात्रै होइन, नाम चलेका ब्रान्डहरु मिल्स बेरी, सेमरक आदि सबै प्रि स्कुलको अवस्था यही छ । मात्र उनीहरुले मासिकरूपमा कसरी शुल्क उठाउने मात्रै सोचेका छन् ।

महानगरले कानुन बनाए पनि अधिकांश मन्टेस्वरीले सामान्य कानुनसमेत मानेका छैनन् ।

हामी नाम चलेका मात्रै होइन, सामान्य भनिएका केही पूर्वप्राथमिक विद्यालयमा पनि पुगेका थियौँ । उनीहरुले पनि न महानपरपालिकामा आफ्नो विद्यालयलाई दर्ता गराएका छन् न त शुल्क र सेवा तथा सुविधा महानगरपालिकाबाट स्वीकृत नै गराएका छन् ।

ज्ञानेश्वरमा रहेको किड्जी मन्टेस्वरीको यो शुल्क पनि हेरौँ ।

यहाँ प्ले ग्रुपमा भर्ना हुनका लागि २० हजार रूपैयाँ बुझाउनुपर्छ भने वार्षिक शुल्क १५ हजार बुझाउनुपर्छ ।

त्यसैगरी बिहान पाउरोटी, जाम र दूध, १२ बजे खाना र २ बजे खाजा खुवाउँदा मासिक ८ हजार ५ सय रूपैयाँ लिने गरेको छ ।

सामान्य भनिएका अधिकांश मन्टेस्वरी विद्यालयको मासिक शुल्क ६ देखि ७ हजारको हाराहारीमा छ भने भर्ना, वार्षिक शुल्क गरी करिब ३० हजारको हाराहारीमा बुझाउनुपर्छ । केही विद्यालयले त प्रत्येक थप कार्यक्रमका लागि अभिभावकलाई बिल पठाउने गरेका छन् ।

अधिकांशलाई कानुन बनेकै थाहा छैन

पूर्वप्राथमिक विद्यालयलाई नियमन तथा नियन्त्रण गर्नका लागि भन्दै शिक्षा विभागले निर्देशिकाको नमुना बनायो । त्यही नमुनालाई आधार मान्दै अधिकांश स्थानीय तहले आफ्नै ऐन तथा निर्देशिका पनि बनाएका छन् । तर धेरै मन्टेस्वरी स्कुलका सञ्चालकलाई कानुन बनेको बारे नै थाहा छैन ।

युरो किड्स सामाखुसीकी प्रशासन प्रमुख शिल्की पुर्बेलाई महानगरमा दर्ता हुनुपर्ने बारेसमेत जानकारी रहेनछ । मात्र महानगरमा व्यावसय दर्ता गरे पुग्ने भन्दै उनले महानगरको शिक्षा विभागबाट कुनै स्वीकृति नलिएको बताइएन् । उनले भनिन्, ‘हामीले महानगरमा व्यावसाय दर्ता गराएका छौँ तर शिक्षाको थप अरू केही गर्नुपर्ने बारे भने हामीलाई जानकारी छैन ।’

खाना र पानीको ल्याब टेस्ट नै हुँदैन

साना बालबालिकाको प्रतिरक्षा प्रणाली वयस्कको तुलनामा कमजोर हुन्छ । उनीहरुलाई बढी हेरचाह गर्नुपर्छ र खानेकुरामा पनि विशेष ध्यान दिनुपर्छ ।

तर रातोपाटी पुगेको अधिकांश मन्टेस्वरी स्कुलले पानी तथा खानाको ल्याब टेस्ट कहिल्यै नगरेको बताएको छ ।

मन्टेस्वरी सञ्चालन गर्ने विद्यालयले बेलाबेलामा खाना तथा पानीको ल्याब टेस्ट गराउनुपर्ने हुन्छ । तर कुनै पनि विद्यालयले अहिलेसम्म खाना तथा पानीको ल्याब टेस्ट गराएको छैन ।

महानगरमै सञ्चालित एक मन्टेस्वरीका सञ्चालकले भने ‘हामी जारकै पानी प्रयोग गर्छौं । जारको पानीमा पहिल्यै ल्याब टेस्ट गरिएको हुन्छ र थप टेस्ट गरिरहनु जरुरी हुँदैन ।’

ती सञ्चालकका अनुसार खानाको पनि कहिल्यै ल्याब टेस्ट नगरिएको र टेस्ट गरेमा तरकारीमा हुने विषादीका कारण त्यस्तो तरकारी खान योग्य नै नहुने बताए । यद्यपि अभिभावकले माग गरेका बेला बेलामा ल्याब टेस्ट गर्न सकिने उनले बताए ।

महानगर भन्छ : अनुगमनका लागि कर्मचारी छैनन्

पूर्वप्राथमिक विद्यालय अर्थात् प्रि स्कुल सञ्चालनको मापदण्ड र निर्देशिका बने पनि त्यसको प्रभावकारी कार्यान्वयन भए नभएको बारे अहिलेसम्म कुनै अनुगमन नै भएको छैन ।

काठमाडौँ महानगरको शिक्षा विभाग प्रमुख निर्मला केसीलाई रातोपाटीले प्रि स्कुलको कहिल्यै अनुगमन गर्नुभएको छ भनेर सोधेको थियो । जवाफमा उनले महानगरमा जम्मा ३ जना अधिकृत रहेको भन्दै यथाअवस्थामा यस्ता विद्यालयको अनुगमन गर्न नसकिने जवाफ दिइन् ।

हालसम्म कति प्रि स्कुलले शुल्क लिनेसम्बन्धी स्वीकृति लिए भन्ने हाम्रो प्रश्नमा कुनै पनि विद्यालयले यस्तो स्वीकृति नलिएको जवाफ दिइन् । ‘त्यसो भए तपाईंहरुको काम के हो र के अनुगमन गरिरहनुभएको छ त’ भन्ने प्रश्न गर्दा मिडियाको काम नै यस्तै लेख्दै हिँड्ने हो भन्दै फोन काटिन् ।

यता महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले भने कुनै पनि विद्यालयले आफूखुशी शुल्क बढाउन नपाउने बताए । पूर्वप्राथमिक तथा अन्य सबै विद्यालयले यस वर्ष कुनै पनि शीर्षकमा शुल्क बढाउन नपाउने भन्दै अब तत्कालै अनुगमन थाल्ने र स्वीकृत शुल्कभन्दा बढी लिएको भए अभिभावकलाई उक्त पैसा फिर्ता गराउँदै कारबाही गर्ने बताए ।

अहिले वडा कार्यालयहरुले पनि विद्यालयको अनुगमन गरिरहेको भन्दै कैफियत भेटिए कारबाहीको दायरमा ल्याइने उनले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप