बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको पीडा : साउदीमा तातो हावा, नेपालमा घरभित्रै आँधी...

शुक्रबार, २७ वैशाख २०७६, ०९ : ४३
शुक्रबार, २७ वैशाख २०७६

बुटवल– कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वीरपुरका कृष्णप्रसाद भुसालले साउदी अरबमा तातो हावा खाँदै लामो समय गाडी चलाए ।

गाडी चलाउँदा पैसा पनि राम्रै कमाउँथे । मासिक ८० हजारदेखि १ लाख १० हजारसम्म उनको आम्दानी हुन्थ्यो ।

‘मिहिनेत गरी कमाएको पैसाले घरपरिवारसँग रमाइलो जीवन चलाइन्छ, नेपाल फर्किएपछि जिगन्दी अझ रामैसँग चल्छ’, साउदीमा होम डेलभेरी गर्ने कम्पनीको गाडी चलाउँदै यस्तो सपना देख्ने गर्थे कृष्ण ।  

२४ वर्षको उमेरमा २०५४ सालमा विदेश पुगेका कृष्ण वर्षमा एक पटक घर आउँथे । उहाँ (साउदी अरब)मा कमाएको पैसा श्रीमतीको नाममा पठाउने गर्थे ।

यस्तै मिठा सपना बुन्दै १९ वर्षसम्म साउदीमा विताएका कृष्णले दुःख गरेर कमाएको पैसाले नेपालमा विभिन्न स्थानमा जमिन किनेका छन् । घर बनाएका छन् ।

लामो बिदा नभए पनि ‘फ्री भिसा’ भएकाले प्रत्येक वर्ष जस्तो घरपरिवार भेट्न उनी नेपाल आउँथे । नेपाल आएका बेला १५, २० दिन बसेर उनी पुनः काममा फर्कन्थे ।

घरतिर सबैसँग ठिकठाक र राम्रो सम्बन्ध नै थियो कृष्णको । आमबाबु नभएका कृष्णले आफूले विदेशमा कमाएको सबै सम्पत्ति र नगदको जिम्मा श्रीमतीलाई नै दिएका थिए । श्रीमतीले छोराछोरीलाई राम्रैसँग शिक्षादीक्षा पनि दिएकी थिइन् । यतिकैमा लामो समय विदेश बस्नुभन्दा स्वदेशमै केही गर्ने सोचले कृष्ण २०७३ सालमा नेपालमै केही गर्ने उद्देश्यले स्वदेश फर्किए । ‘केही सम्पत्ति पनि कमाएकाले अब घर परिवारसँगै बसेर नेपालमै केही गर्ने सोचले घर फर्किए’ उनले तीन वर्षअघिको कहानी सुनाए । 

साउदीमा तातो हावा, नेपालमा घरभित्रै आँधी....

कपिलवस्तुको बुद्धभूमि वीरपुर सन्धिखर्क गोरुसिङे सडक छेउमा कृष्णको पक्की घर छ । साउदीको तातो हावाभन्दा त्यो घर धेरै शीतल पनि छ तर त्यही घरमा बस्ने परिवारभित्र भने हावा होइन एक किसिमको आँधी नै चलेको छ ।

भुसाल स्वदेश फर्किएको केही दिनमै श्रीमतीले फेरि उतै जान दबाब दिइन् । ‘कि फेरि उतै जानूस्, नभए भारत जानुहोस् । कमाउनुपर्छ,’ श्रीमतीको कुरा सुनेका कृष्णले कतै नजाने नेपालमै केही गर्ने भन्दै अड्डी कस्नु स्वाभाविक थियो र त्यसै गरे । श्रीमान श्रीमतीको यसै विषयमा भनाभन चल्न थालेबाटै कृष्णले साउदीमा सोचेको सपना घरमा आएको केही दिनबाटै पूरा नहुने सङ्केत देखिन थाल्यो । हाल उनी भाडाको गाडी चलाउने गर्छन् ।

२४ वर्षमा विदेश गएका कृष्ण अहिले ४३ वर्ष पुगेका छन् । श्रीमती लक्ष्मी ३५ वर्षकी भइन् । २०५४ देखि ७३ सालसम्म कृष्णको कमाइले कपिलवस्तुको गरुसिङे, भैरहवा र वीरपुरलगायतका स्थानमा घडेरी जोडेका थिए । पाट्नरसिपमा एउटा ट्रिपर पनि खरिद गरेका थिए । कमाएको अधिकांश सम्पत्ति श्रीमतीको नाममा थियो ।

यसरी सुरु भयो मुद्दामामिला

श्रीमती लक्ष्मी श्रीमान कृष्णलाई पुनः विदेश पठाउने सोचमा थिइन् । तर कृष्णले उनको कुरा मानेन् । कृष्ण नेपाल फर्किएको केही महिनामै यसबारेमा उनीहरुबीच सामान्य भनाभन सुरु भयो । श्रीमती लक्ष्मीले कृष्णमा कतै नजाने अडान देखिएपछि सँगै बस्न नसक्ने भन्दै प्रहरी, गाउँपालिका लगायतका निकायमा छोडपत्रका लागि निवेदन नै दिइन् । तर कृष्णले आफू नेपालमै बस्ने र छोडपत्र नगर्ने भन्दै सम्झाउने बुझाउने प्रयास गरे । यसै विषयमा उनीहरुबीच विवाद थप बढ्दै गयो ।

अति भएपछि अहिले कृष्णले पनि अदालतमा छोडपत्रका लागि मुद्दा हालेका छन् । अदालतले जेठ १४ गते दुवै पक्षलाई बोलाएको छ ।

हिनामिना र एबोर्सन

कृष्णले १९ वर्षसम्म कमाएको ५० लाखभन्दा बढी रकम श्रीमतीले हिनामिना गर्दा आफू अहिले अलपत्र परेको दाबी गरेका छन् । ‘श्रीमतीका नाममा गोरुसिङे र बुद्धभूमिमा किनेको जग्गा छ । एउटा ट्रिप्पर पनि पाट्नरका नाममा किनेको छ । त्यो ट्रिप्पर आफ्नै नाममा नामसारी गरौँ भन्दा अशुभ हुने भन्दै श्रीमती आफैले खोजेको पाट्नरका नाममा बनाइदिइन् । त्यो कहाँ छ ? खुलाउदिनन्’, कष्णले आफ्नो पीडा यसरी सुनाए । 

‘अहिले मरो नाममा भैरहवामा एउटा घडेरी मात्रै छ । अरू कमाएको सबै सम्पत्ति पनि उनकै नाममा छ । अहिले म सडकको बासमा पुगेको छु’ कृष्णको गुनासो छ ।    

वीरपुरमा भएको दाइभाइको सम्पत्तिमा समेत लक्ष्मीले आँखा गाडेको उनको भनाइ छ । ‘सबै सम्पत्ति लगेर अर्कैसँग जाने सुरसार भएकाले लक्ष्मीले मसँग छोडपत्र मागेको हुनसक्छ’, कृष्णको आशङ्का छ ।

कृष्णको परिवार अर्घाखाँचीको गोखुङा पात्ले भन्ने गाउँबाट कपिलवस्तुको वीरपुरमा बसाइँसराइ गरेको हो । कपिलवस्तु बसाइँ सरेपछि स्थानीय लक्ष्मीसँग कृष्णले २०५७ मा मागी विवाह गरेका हुन् ।

 तर कृष्णको दाबीलाई श्रीमती लक्ष्मी स्वीकार गर्दिनन् । लक्ष्मीले केही घडेरी आफ्ना नाममा रहे पनि अरू सम्पत्ति कृष्णले नै लुकाएर राखेको बताइन् । ‘हो मेरो नाममा गोरुसिङेमा घेडेरी छ । अरू पनि केही सम्पत्ति छ तर उसले कमाएको सबै मेरो नाममा छैन’, लक्ष्मीले भनिन् ।

विवाद बढ्दै गएपछि लक्ष्मीको एभोर्सन भएको छ । लक्ष्मीको गर्भमा रहेको बच्चा कृष्णले आफ्नो नभएको मिडियासामु दाबी गरेका छन् । ‘बोलचाल नै बन्द भएको र आफू घरमै नबसेका बेलामा रहेको गर्भ आफ्नो कसरी हुन्छ ?’ कृष्णको दाबी छ । अहिले पनि श्रीमान् श्रीमती छुट्टाछुट्टै बस्ने गर्छन् ।

तर लक्ष्मीको दाबी अर्कैै छ । श्रीमानसँग बोलचाल नभए पनि राति मदिरा सेवन गरेर जबरजस्त शारीरक सम्बध राखेकाले गर्भ रहेको लक्ष्मीको भनाइ छ ।

यसो भन्छिन् लक्ष्मी

लक्ष्मी अब कृष्णसँग मिल्न सक्ने अवस्था नरहेको बताउँछिन् । ‘मिल्ने सक्ने अवस्था रहन्थ्यो, अब रहेन । सुरुमा मैले डिभोर्स माग्दा दिएनन् । अहिले उनले मुद्दा हालेका छन्’, लक्ष्मी भन्छिन्, ‘सम्पत्ति हिनामिनाको आरोपमा सधैँ कचकच भएपछि सँगै बस्न सकिँदैन ।’

उनले सुरुमा गोरुसिङेमा किनेको घडेरी कृष्णले नै बिक्री गरेको दाबी गरिन् ।

‘मेरो नाममा पनि एउटा घडेरी छ । ट्रिप्पर किन्नका लागि २ लाख रुपैयाँ दिएको हो । भाका राखेर किनेको ट्रिप्परको पूरै पैसा पनि दिन सकिएन । त्यो बेला ऊ विदेशमै थियो’, लक्ष्मीले बेलिविस्तार लगाइन् ।

लक्ष्मीले घरअगाडि पसल सञ्चालन गर्दै आएकी छन् । ‘म मरो बाटो लाग्छु । छुट्न चाहन्छु । छोराछोरी म आफै पढाउँछु’ लक्ष्मीको निर्णय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप