बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी रेणु, ती रेणु

आइतबार, २२ साउन २०७४, १० : १२
आइतबार, २२ साउन २०७४


भरतपुर महानगरपालिकाको मेयर बनेपछि रेणु दाहाल अहिले चर्चामा छिन् । उनको जीत माओवादी अध्यक्ष प्रचण्डको छोरीको साइनोसँग बढी जोडियो । खासमा रेणु कस्ती छिन् ? गत वर्ष रातोपाटीले रेणुको जीवनको पाटामाथि फिचर स्टोरी गरेको थियो । हाम्रा पाठकका लागि यो स्टोरी रातोपाटीको अर्काइभबाट तानिएको हो । 
 

बबरमहलबाट दक्षिण लागेर केही गल्ली छिचोलिसकेपछि भेटिन्छ– सहयोग मार्ग । त्यसको ४२ नम्बर घरको पहिलो तल्लामा बस्छिन् रेणु दाहाल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी ।

सामान्य काँटका चार कोठामध्ये दायाँतिरको कोठामा बेडका साथै एकसेट सोफा र टी–टेबल छन्, आएका मानिसलाई भेट्ने र कुराकानी गर्ने प्रयोजनका लागि छुट्याइएको । त्यहीँ बसेर नियाल्नु थियो प्रचण्ड परिवारमा हुर्किरहेको दोस्रो पुस्ताको जीवनशैली । सुन्नु थियो कुरा र बुझ्नु थियो त्यहाँ हुर्किरहेको चिन्तन । तर ती सबै गर्नलाई समय चाहिन्थ्यो प्रशस्तै । सोचेजति समयको चाँजो मिलाउन सजिलो थिएन । बल्ल मिलेको समयमा पनि रेणु आफैं महासचिव रहेको अखिल नेपाल महिला संघको एकता सम्मेलनको चटारोमा थिइन् । उसै त खाली नबस्ने उनको मोबाइल, बजेको बज्यै थियो । केही महत्वपूर्ण ‘कल’ सकिएपछि उनले फोनलाई ‘साइलेन्स मोड’ दिइन् । त्यसपछि हाम्रो समय सुरु भयो । रेणुको सम्झनामार्फत हामी समय र सम्झनाको विभिन्न रेखामा पुग्यौं ।

 बुबाको बालुवाटार यात्राअघि नै रेणु डेरा खोज्दै बबरमहलको सहयोग मार्ग पुगेकी थिइन् । तन्नामा बेरिएका केही पोकापन्तुरासहित रेणु डेरामा आइपुग्दा वर्तिर–पर्तिर खासखुस चलिसकेको थियो– प्रचण्डकी छोरी यहाँ आउँदैछिन् रे !

पोको पन्तुरो बोकेर बबरमहल

०६५ सालको कुरा हो, यो समय–रेखामा रेणु सभासद् थिइन् । उनका बुबा प्रचण्ड प्रधानमन्त्रीको पालो पर्खिरहेका थिए । बुबाको बालुवाटार यात्राअघि नै रेणु डेरा खोज्दै बबरमहलको सहयोग मार्ग पुगेकी थिइन् । तन्नामा बेरिएका केही पोकापन्तुरासहित रेणु डेरामा आइपुग्दा वर्तिर–पर्तिर खासखुस चलिसकेको थियो– प्रचण्डकी छोरी यहाँ आउँदैछिन् रे !

अवश्य पनि केही तामझामको अपेक्षा पनि थियो खासखुस टोलीसँग । तर उनको पोकापन्तुराको रूपरंग र चालढाल देखेपछि खिस्रिक्क भए । अर्को खासखुस चल्यो, ‘यस्तो पनि प्रचण्डकी छोरी हुन्छ ? होइन होला ।’

आखिर ती प्रचण्डकी छोरी नै थिइन् । छिमेकीले थाहा पाउँदै गए, प्रचण्डकी छोरी हुनुको अर्थ कुनै ‘राजकुमारी’ तौरतरिकाको जीवन बिताउनु रहेनछ । उनी त सांसद पनि थिइन् त्यतिबेला । सांसद हुनुको अर्थ पजेरोको सयर पनि रहेनछ । केही दुविधा पारिदिइन् रेणुले, केही विस्वास जगाइन् ।

त्यो डेरामा सरिसकेपछि उनका बुबा दुई पटक प्रधानमन्त्री भए । तर रेणु दाहालको जीवनशैलीमा उत्ताउलो रंग देखिएन । उनका बुबा निरन्तर पार्टीको शक्तिशाली अध्यक्षमा छन्, उनमा त्यो पदको उत्ताउलो रंग पनि सरेको छैन ।

सोफालगायत केही सामान थपिए होलान्, नत्र कोठाको रौनकमा पनि खासै परिवर्तन आएको छैन । जीवनको वास्तविक रंगजस्तै सादा छ ।

क्रान्तिको लागि बिहे
०५२ साल । यो समय–रेखामा आइपुग्दा रेणुले भर्खरै एसएलसी सकेकी थिइन्, उमेरले १८ बर्ष लागेकी । उनी सानैदेखि मामाघर बसेकी थिइन् । घरको आर्थिक अवस्था ठिकै थियो, त्यति नाजुक पनि होइन, सम्पन्न पनि होइन । दुःख गरेर खान पुग्ने खालको । उनी मामाघर बस्नुको पृष्ठभूमि सम्झन्छिन्, ‘हामी चार सन्तान, जेठी दिदी, म, बहिनी र भाइ । सबैको उमेरको फरक दुई–दुई वर्षको छ । त्यसैले ममीलाई हुर्काउन समस्या भयो । बहिनी जन्मिसकेपछि मलाईचाहिँ मामाघर पठाउनुभएको थियो ।’

घर चितवन शिवनगरबाट मामाघर पटियानी, सुन्दरवस्ती पुग्न झण्डै एकघन्टा लाग्थ्यो । उनी विदा वा चाडबाडमा घर पुग्थिन् । त्यसैबेला बुबाको राजनीतिक कुरा सुन्थिन् । उनले एसएलसीको तयारी गर्दा बुबा प्रचण्ड भने जनयुद्धको तयारीमा लागेका थिए । त्यसअघिदेखि राजनीतिमा पूर्णकालीन भएका उनी भन्थे, ‘धनी र गरिबबीच विभेदको अन्त्य गर्न क्रान्ति गर्नुपर्छ । त्यसो भयो भनेमात्रै सबै जनतालाई एकछाक खान र एकसरो लाउन सक्ने बनाउन सकिन्छ ।’

रेणुमा पनि राजनीतिक चेतना बलियो बनिसकेको थियो । स्कुलमै छँदा ०४६ सालको जनआन्दोलनलाई नजिकबाट हेरेकी थिइन्, सहभागी भएकी थिइन् । त्यसमा पनि उनी बुबालाई आदर्श मान्थिन्मा/न्छिन् । युवाअवस्थामै परिवर्तनका लागि सक्रिय बुबा उनको नजरमा ‘हिरो’ हुन् । बुबालाई साथ दिनुपर्छ भन्ने भावनाले उनी त्यतिबेलैदेखि ओतप्रोत थिइन् । त्यसैले उनले बुबाले जे जिम्मेवारी दिए, त्यसलाई विनाप्रश्न स्वीकारिन् ।

एकहप्तामै फर्किने योजनामा सिलगुढी पुगेकी उनलाई बुबाममीले बिहे गरिदिने योजना पो सुनाए । ‘मैले बिहेबारे सोचेकी पनि थिइनँ । मैले बुबालाई बिहे गर्दिनँ, बरू अरू नै हिसाबले भाइबहिनीलाई व्यवस्थापन गर्छु भनेँ । तर उहाँहरूले निर्णय लिइसक्नुभएको रहेछ ।

जनयुद्ध सुरु हुनुअघि नै उनले महिला संगठनको सदस्यता लिएकी थिइन् । ‘पार्टी जनयुद्धमा जाने भन्ने निर्णय भयो । त्यतिबेला पार्टी सानो थियो । त्यसैले नेतृत्वका परिवारका सबैलाई संगठित गर्ने अभियान चल्यो । त्यसै क्रममा मलाई पनि महिला संगठनमा संगठित गरियो । त्यतिबेला हिसिला यमीले महिला संगठनको नेतृत्व गर्नुहुन्थ्यो । उहाँले मलाई महिला संगठनको सदस्यता दिनुभएको थियो’, उनले सम्झिन् । तथापि जनयुद्ध सुरु भएपछिको पहिलो चरणमा राजनीतिक होइन, पारिवारिक जिम्मेवारी बढी बहन गर्नुपर्यो उनले । बुबाआमा दुवै भूमिगत भइसकेपछि स्कुल तहमा पढिरहेका भाइबहिनी स्याहार्ने जिम्मेवारी उनलाई आइपर्यो । ‘त्यतिबेलासम्म दिदीको बिहे भइसकेको थियो । बुबाममी सिलगुढीमा हुनुहुन्थ्यो । काठमाडौंको नयाँ बजार बसपार्कनेर डेरा थियो हाम्रो । त्यहाँ मचाहिँ भाइबहिनी लिएर बस्थेँ’, उनको मस्तिष्कमा त्यो समयको सम्झना ताजै छ ।

०५२ फागुन १ गते जनयुद्ध सुरु भयो । ०५३ को भदौसम्म उनी नयाँबजारमै थिइन् । एकातिर, बुबाआमालाई नभेटेको छ महिना नाघिसकेको थियो, अर्कातिर भाइबहिनी पढ्ने स्कुलमा प्रशासनको निगरानी हुन थालेको सूचना आयो । त्यसैले बुबाआमा पनि भेट्ने र नयाँ योजना बनाउने सोचसहित पार्टी नेता दण्डपाणि न्यौपाने (जो अहिलेसम्म बेपत्ता छन्)का साथ रेणु भाइबहिनी लिएर सिलगुढी पुगिन् ।

एकहप्तामै फर्किने योजनामा सिलगुढी पुगेकी उनलाई बुबाममीले बिहे गरिदिने योजना पो सुनाए । ‘मैले बिहेबारे सोचेकी पनि थिइनँ । मैले बुबालाई बिहे गर्दिनँ, बरू अरू नै हिसाबले भाइबहिनीलाई व्यवस्थापन गर्छु भनेँ । तर उहाँहरूले निर्णय लिइसक्नुभएको रहेछ । सुरक्षा र व्यवस्थापन दुवै हिसाबले बिहे गर्नु नै उपयुक्त हो भन्ने बुबाममीलगायत पार्टी नेता बादल, पम्फा भुसाल, बाबुराम भट्टराईलगायतको निष्कर्ष थियो । उहाँहरूले बिहेको निर्णय क्रान्तिको लागि आवश्यकता हो भनेर सम्झाउनुभयो’, उनी सिलगुढी सम्झना सुनाइन् । उनी यो सोचेर बिहे गर्न तयार भइन्, ‘क्रान्तिकै लागि यत्रा मान्छे मर्न तयार भइरहेका छन् । बिहे त ढिलो–चाँडो न हो, एकदिन त गर्नैपर्ने हो । त्यसो गर्दा क्रान्तिलाई सहयोग पुग्छ भने मैले किन अस्वीकार गर्नु ?’

उनको स्वीकारोक्तिसँगै प्रवासका नेता टिबी पाठकका छोरा अर्जुन पाठकसँग बुबाआमा र नेताहरूले कुरा चलाए । विवाह भयो । भाइ प्रकाश रेणुसँगै बस्न थाले । उनी प्रवासको पार्टी र महिला संगठनमा जोडिएर राजनीति गर्न थालिन् । ०६२ सालसम्म भारत बस्दा उनले प्रवास कमाण्डअन्तर्गत जिल्लाको इन्चार्जसीपदेखि अखिल भारत नेपाली महिला संघको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिन् ।

०६२ मा नेपाल
०६२ सालमा उनको पार्टी नेकपा (माओवादी)ले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना ल्यायो । त्यसपछि उनी नेपाल फर्किन्, राप्ती क्षेत्रमा सक्रिय भइन् । त्यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ त्यस क्षेत्रको नेतृत्वमा थिए । उनी रोल्पा जिल्लाको सह–इन्चार्ज भइन् । भण्डै एकवर्ष त्यता बस्दा उनको स्वास्थ्यमा समस्या देखियो । उपचारको क्रममा काठमाडौं आएकी उनले लामो समय बस्नुपर्ने देखिएपछि जिम्मेवारी पनि यतैको लिइन् । काठमाडौं जिल्लाको सह–सचिव भइन्, अहिले सचिव छिन् । पछिल्लो समय महिला संघमा पनि जिम्मेवारी सम्हाल्नुपरेको छ उनलाई, अहिले महासचिव छिन् ।

राजनीतिमा उनले अहिलेसम्म जति पनि जिम्मेवारी पाएकी छिन्, ती सबै आफ्नो कामको निरन्तरता र इमान्दारिताबाट प्राप्त भएको दावी छ उनको । ‘मलाई यो बन्छु भन्ने महत्वाकांक्षा कहिल्यै भएन । काम गर्दै गएँ, जिम्मेवारी थपिँदै गयो । अहिले पनि मेरो चाल उस्तै छ’, उनले आफैंलाई गरेको मूल्यांकन हो यो । भन्छिन्, ‘अरूभन्दा एक्लै अघि लागौं, पदकै लागि चलखेल गरौं भन्ने कहिल्यै पनि मनमा आएन । कुनै नेता वा बुबालाई मैले यो पद दिनुपर्यो भनेर कहिल्यै भनिनँ । आफू इमान्दार होऊ, प्रतिबद्ध होऊ, मूल्यांकन त ढिलो–चाँडो भइहाल्छ नि भन्ने लाग्छ । जनता र कार्यकर्ताको विस्वासमा सर्वसम्मत भएर कुनै जिम्मेवारी लिनुको आत्मसन्तुष्टि नै अर्कै हुन्छ । पदलाई आफूले होइन, आफूलाई पदले पछ्याओस् न ।’

उनको जीवनशैलीमा जुन साधारणपन र आदर्श देखिन्छ, राजनीतिक यात्रा पनि उत्तिकै सादा छ भन्ने लाग्छ यो अभिव्यक्ति सुन्दा । तर चाहे पहिलो संविधानसभामा समानुपातिक सभासद् बन्दा होस्, चाहे दोस्रोमा उम्मेदवार । चाहे महिला संघको महासचिव बन्दा होस्, चाहे अन्य कुनै पदमा दावेदारी प्रस्तुत गर्दा, उनलाई आरोप त लाग्ने गरेको छ, ‘प्रचण्डको छोरी भएर !’ भन्ने । आरोप सुनेर उनी आक्रोशित हुन्नन् । शान्त पाराले भन्छिन, ‘हुँ त प्रचण्डकै छोरी । यो मेरो लागि कुनै दुःखको कुरा होइन, गर्वको कुरा हो । तर मैले कुनै पनि जिम्मेवारीमा आउन वा पाउन प्रचण्डको दुरुपयोग गरेकी छैन, यसमा पनि मलाई उत्तिकै गर्व छ । त्यसैले आरोपको तीर जताबाट आउँछ, समयक्रममा उतै फर्किगएको छ । यहाँसम्म आउँदा मैले न त बुबाबाट राजनीतिक संरक्षणको अपेक्षा गरेँ, न उहाँले नै त्यसो गर्नुभयो । भएको भए लुकेर लुक्ने कुरा होइन, छर्लंगै हुन्थ्यो नि अहिलेसम्म ।’

आफैंलाई मूल्यांकन गर्छिन् र भन्छिन्, ‘बुबाले क्रान्ति र परिवर्तनको नेतृत्व गरिरहनुभएको छ । त्यसैले क्रान्तिकारीहरू सबैको आदर्श हुनुहुन्छ । त्यसैले मलाई कता–कता दवाव अनुभूति हुन्छ । तर म सामान्य कार्यकर्ता हुँ ।’

प्रचण्डपुत्री हुनुको दवाव
त्यसो त रेणु दाहाल आफूलाई नेता दावी गर्दिनन् । आफैंलाई मूल्यांकन गर्छिन् र भन्छिन्, ‘बुबाले क्रान्ति र परिवर्तनको नेतृत्व गरिरहनुभएको छ । त्यसैले क्रान्तिकारीहरू सबैको आदर्श हुनुहुन्छ । त्यसैले मलाई कता–कता दवाव अनुभूति हुन्छ । तर म सामान्य कार्यकर्ता हुँ ।’

राजनीतिमा पारिवारिक ‘लिगेसी’लाई धान्दै वा त्यही आधारमा तान्दै नेतृत्व निर्माण गर्ने प्रचलन पनि नभएको होइन । ‘तर त्यस्तो प्रचलन त राजतन्त्रसँगै मृत भइसकेको छ, अब पनि त्यस्तै सोच्नुको के तुक ?’, रेणुको जवाफ छ ।

‘हामी सामन्तवादसँग लडेर आएका मान्छे, त्यो संस्कृतिभन्दा पृथक रहनैपर्छ । मलाई त लाग्छ, जनताको नेता पनि होइन, विस्वासिलो कार्यकर्ता बनूँ, त्यसैमा आनन्द छ ।’, उनी ढुक्कको कुरा गर्छिन् । तर प्रचण्डकी छोरीसँग कुनै महत्वकांक्षा छैन भनेर पत्याउने आधारचाहिँ के ? ‘त्यो त छैन । राजनीति गरिसकेपछि नेता नै बन्दिनँ भनेर भन्यो कसैले भने त्यो पनि सत्य कुरा होइन । म त्यसरी भन्दिनँ । तर साँच्चै नै हो, ममा महत्वकांक्षाचाहिँ पटक्कै छैन । त्योभन्दा बरू बुबाको आदर्शलाई पछ्याउनुपर्छ भन्ने जिम्मेवारीबोधचाहिँ छ । नेतृत्व बन्ने कुराचाहिँ कसैलाई धम्क्याएर वा घुक्र्याएर हुने कुरा पनि होइन । सबैको विश्वास जित्दै गइयो भने त्यो मञ्जिल पनि त भेटिएला कतै ।’, उनको जवाफ एउटा आधारचाहिँ पक्कै हो ।

प्रचण्डको छोरी हुनुको दवाव भने रेणुलाई प्रशस्तै छ । प्रचण्डसँग सामान्य चिनजान भएको व्यक्तिले पनि ‘देश मेरै हो’ भनेजस्तो गर्ने समय देखे–भोगेकै हो सबैले । उनी त प्रचण्डकै छोरी, बाबु र छोरीको भावनात्मक सम्बन्धलाई कोमल सम्बन्ध मानिन्छ । त्यसैले छोरीलाई भन्न लगाउन पाए त प्रचण्ड यसै त भावुक, उसै त पग्लिहाल्लान् भन्ने सोच धेरैमा पाउँछिन् उनी । त्यसैले उनको फोन बजेको बज्यै हुन्छ, भेट्न आउनेको ताँती लागेकै हुन्छ । कहिले त मोबाइल नम्बर पनि परिवर्तन गरूँ किझैं पनि लाग्छ उनलाई ।

‘सोचेजस्तो सजिलो त छैन नि । मैले पनि कहाँ भन्नेबित्तिकै बुबाको समय पाउँछु र ? त्यसमाथि उहाँलाई परेको दवाव देख्छु, मैले पनि दवाव दिने हो भने के हाल होला भन्ने लाग्छ ।’, उनी पनि भावुक हुन्छिन्, ‘त्यसैले बुबाको पदीय दुरुपयोग त परै जाओस्, सदुपयोग पनि गर्न सकेकी छैनजस्तो लाग्छ कहिलेकाहीँ ।’

उनलाई दवावमात्रै अनुभूति हुँदैन, जिम्मेवारीबोध पनि हुन्छ । यस्तो दवावमा कति कार्यकर्ता र जनताको ‘जेन्युअन’ कुरा पनि हुन्छन् । कार्यकर्ता र जनताको आशा र मायाले उनलाई पुलकित बनाउँछ र सोच्छिन्, ‘आखिर मलाई पुलको रूपमा लिनु स्वाभाविक नै त हो ।’ त्यस्तो बेला उनी आफूले सकेको गर्ने प्रयत्न गर्छिन् । तर झोंकचाहिँ त्यतिबेला चल्छ, जो गलत काम गराउन खोज्छन्, अनधिकृत लाभ लिन खोज्छन् । कतिले त ‘यो काम गरेबापत यति’ भनेर नभन्ने होइनन् । तर उनको दावी छ, त्यस्तो ‘बावत’वाला काम अहिलेसम्म गरेको छैन ।

‘लो प्रोफाइल’ आदर्श

अरूलाई अनधिकृत लाभ हुने काम त अर्कै कुरा भो, आफैंले पनि केही लाभ लिइनँ भन्नु अहिलेको समयमा पत्याइनसक्नुकै कुरा हो । तर उनको जीवनशैली हेर्दा नपत्याइ धर पनि छैन । तैपनि शंका त लाग्छ, कि यस्तो जीवनशैली बनाउँछु भन्ने ‘डिजाइन’ नै हो ?

‘छ्या ! त्यस्तो डिजाइन त हुनै सक्दैन । एकदिन होला, दुई दिन होला, ढोंग हो भने बर्षौं वर्ष कसैले छिपाउन सक्छ र ?’ उनी नै प्रश्न गर्छिन् । उत्तर पनि उनीसँगै छ, ‘सक्दैन नि । हो, सकेसम्म सुखै काटौं, ऐस आराम गरौं भन्ने सबैलाई लाग्छ । गाडी नै चढौं, आफ्नै घर बनाएर बसौं भन्ने पनि लाग्छ । तर त्यसका लागि मैले पद वा शक्तिको दुरुपयोग गर्न त भएन नि । मैले चाहेको भए रोएर–कराएर पनि गराउन सक्थें । तर मलाई त्यस्तो सुख–सुविधाले आत्मसन्तुष्टि दिँदैन । आत्मसन्तुष्टि नै नदिने सुख–सुविधा के काम !’ कुरा चित्त बुझ्दो नै छ उनको । व्यवहार हेर्दा झन् चित्त बुझाउन मन लाग्ने । सभासद् हुँदा पनि लुरुलुरु हिँड्ने र चोकमा पुगेर टेम्पो समात्ने । दश वर्षमा दुई पटक बाबु प्रधानमन्त्री हुँदा पनि डेरा नफेर्ने । अवसर नपाएर ‘लो प्रोफाइल’मा बस्ने त हुन्छन् नै, अत्यन्तै उच्च अवसर पाएर पनिे आदर्श कायम राख्ने असाध्यै कम राजनीतिकर्मीमा पर्छिन् रेणु आजसम्म । भोलिको कुरा त को जानोस् ! कामना गर्न सकिन्छ, उनको आदर्श कायम रहिरहोस् । उनी आफैं पनि त्यस्तै कामना गर्छिन् । भन्छिन्, ‘जोसँग भेट हुँदा पनि प्रचण्डको छोरी भएर कति सिम्पल, घमण्ड–तडकभडक छैन भन्छन् । त्यो सुन्दा सारा सुख–सुुविधाले दिएको आनन्दभन्दा बढी आनन्द लाग्छ । यही आदर्शलाई कायम राखिराख्न सकूँ भन्ने लाग्छ ।’

०६५ सालमा सञ्चारकर्मीहरूले अन्तर्वार्ता लिएपछि भनेको प्रसंग पनि सम्झिन्छिन् उनी । ‘एभिन्यूज टेलिभिजन’बाट अन्तर्वार्ता लिन आएका पत्रकारले उनको जीवनशैली र कोठाको ढाँचाकाँचा देखेर प्रभावित हुँदै भनेछन्, ‘दिदी, यो जीवनशैलीबाट विचलित नहुनुस् ।’

राजनीतिमा त उनले बाँच्न खोजेको जस्तो आदर्श देखिँदैन अहिले । उनलाई पनि थाहा छ । अनि उनलाई यो पनि थाहा छ कि उनी एकजनाले मात्रै आदर्श बचाउन सक्दिनन् । आफ्नै पार्टीमा देखिएको आत्मकेन्द्रित व्यक्तिवादले आदर्शलाई उहिल्यै खाल्डोमा पुरिसकेको तथ्यलाई पनि उनले आँखा चिम्लिएकी छैनन् । तर पनि उनी चाहन्छिन्, ‘तर पनि जुन आदर्शका लागि हामीले लड्यौं, त्यही आदर्शलाई जोगाउनु अहिलेको आवश्यकता र चुनौती हो । यस्तो सोच राख्ने धेरै हुनुहन्छ, उहाँहरूको साथ म छु ।’

छोरीचाहिँ यसो भन्छिन्, उता बाबु प्रचण्डको भने जुँगाकै मेकअपमा कत्रो खर्च छ भन्ने खबर आइरहन्छ । घडीदेखि घँडेरीसम्म, बेडदेखि बैंकसम्म उनको जति लगानी छ भन्ने प्रचार गरिन्छ, जनतासँग जिब्रो टोक्दै अचम्मित हुनुको विकल्प छैन । कस्तो अमिल्दो ! ‘मेरो आदर्श उहाँ नै हो । यदि उहाँको जीवनशैली नै भ्रष्ट हुन्थ्यो भने म पनि यो आदर्शलाई जोगाउन सक्दिनथेँ । त्यसैले ती सबै आरोप मिथ्या हुन् । नत्र त एउटाको पनि प्रमाणचाहिँ किन सार्वजनिक भएन ? राजनीतिक रूपमा कमजोर पार्न नसकेपछि जीवनशैली र आर्थिक विषय उठाएर भावनात्मक रूपमा भ्रम छर्न खोजिएको मात्रै हो ।’, रेणुको जवाफले चाहिँ अमिल्दो मान्दैन ।

‘बुबामा कुनै सुखसुविधा भोग गरूँ भन्ने भावना नै छैन । तर कतिपय बेलामा अनावश्यक उदारता देखाउँदा र सामान्य कुरा हो भनेर नजरअन्दाज गर्दा उहाँलाई फसाउन खोज्नेका तर्कले पुट पाएको देख्छु । त्यो कमजोरीमा मैले सचेत पनि गराएको छु बुबालाई ।’, उनले थपिन् ।

तर किन–किन त्यसतिर आफ्नो पुस्ता उद्दत नभइरहेको यथार्थबाट तर्सिरहेकी पनि छिन् । दोस्रो पुस्तामा देखिएको राजनीतिक लाभको होडबाजी, व्यक्तिगत लाभको लडाइँ, क्षणिक स्वार्थको रोमान्स उनले देखिरहेकी छिन् ।

हारको भन्दा कार्यभारको चिन्ता

दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नं. १ बाट एकीकृत माओवादीकी उम्मेदवार थिइन् उनी । उनको सोच त चितवनबाट उम्मेदवार बन्ने थियो, तर काठमाडौंमा सक्रिय मान्छे चितवन जाँदा गलत सन्देश जाने भन्दै पार्टीले काठमाडौंमै उठायो । उनलाई जितुँला भन्ने त लागेको थिएन, तर पनि पार्टीको माहौल देख्दा निराश पनि थिइनन् । तर चुनावसम्म पुग्दा माहौलको अनुमान फेल खायो, देशैभर अनपेक्षित परिणाम आयो । उनी पनि हारिन् । आफ्नो कमजोर संगठन भएको क्षेत्रमा प्रभावशाली नेता प्रकाशमान सिंहसँग हार्नुलाई उनले कुनै हार मानेकी छैनन् । त्यसमा पनि काठमाडौं जिल्लाभर माओवादीको दोस्रो हुने उनी नै थिइन् । त्यसैले उनलाई हारले कुनै तनाव दिएन । तर बिस्तारै उनलाई आफ्नो पुस्ताको कार्यभारलेचाहिँ तनाव दिइरहेको छ ।

‘पहिलो पुस्ताले जे गर्यो, दायित्व पूरा गर्यो । राजतन्त्रको अन्त्य गर्यो, समानताको लागि लड्यो, संघीयता, धर्म निरपेक्षतालाई स्थापित गर्यो । हामीभन्दा अघिल्लो पुस्ताले आन्दोलन नगरेको भए, जनयुद्ध नगरेको भए यो सम्भव थिएन । अबको पुस्ताले बाँकी कार्यभार पूरा गर्नुपर्ने हो’, उनी आफ्नो पुस्ताको उत्तरदायित्वबारे प्रष्ट छिन् । तर किन–किन त्यसतिर आफ्नो पुस्ता उद्दत नभइरहेको यथार्थबाट तर्सिरहेकी पनि छिन् । दोस्रो पुस्तामा देखिएको राजनीतिक लाभको होडबाजी, व्यक्तिगत लाभको लडाइँ, क्षणिक स्वार्थको रोमान्स उनले देखिरहेकी छिन् । ‘अहिले पनि अगुवाइ पहिलो पुस्ताले नै गरिरहेको छ, दोस्रो पुस्ताले जिम्मेवारीपूर्वक नेतृत्व सम्हाल्न सकेको छैन । केवल सहयोगीको भूमिकामा मात्रै देखिन्छ । अबको पुस्ता यसमा गम्भीर हुनुपर्छ’, उनलाई लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप