शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन बैंकमा पाइन्छ सस्तो ब्याजदरमा ऋण ?

बिहीबार, २६ वैशाख २०७६, १४ : ५४
बिहीबार, २६ वैशाख २०७६

काठमाडौं–बैंकहरुले नाफामा छलाङ मारेको प्रतिवेदन सार्वजनिक गरिरहँदा बैंकहरुको ब्याजदर घट्ने संकेत भने देखिएको छैन । 

ऋण लिन महंगो ब्याजदर चार्ज गर्ने बैंकहरुसँग उद्योगी व्यवसायी रुष्ट बन्दै आएका छन् । उनीहरुले उत्पादनमुलक उद्योगमा एकल अंकको ब्याजदर कायम गराउन लबिङ गरिरहे पनि अधिकांश बैंकहरुको आधार दर नै  दोहोरो अंकमा रहेको छ । 

चालू आर्थिक वर्ष (२०७५÷०७६) को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका २० वटा बाणिज्य बैंकमा अझै ११ बैंकको आधारदर १० प्रतिशत भन्दा माथि छ । बाँकी नौ बैंकको आधारदर एकल अंकमा रहेको छ । 

यसमा सबैभन्दा कम आधार दर नेपाल बैंकको देखिएको छ । यस आधारमा अन्य बैंकको तुलनामा यो बैंकको ऋणको ब्याजदर तुलनात्मक रुपमा कम हुने देखिन्छ । नेपाल बैंकको आधारदर ६.९२ प्रतिशत रहेको छ ।

 यसै गरी स्ट्याण्डर्ड चार्टड बैंक र नबिल बैंक पनि अन्य बैंकको तुलनामा कम आधारदर भएको बैंकमा दरिएका छन् । यद्यपि, अघिल्लो त्रैमास (दोस्रो त्रैमास) को तुलनामा भने आधारदर केही बढेको छ । अहिले नबिल बैंकको आधारदर ७.९९ प्रतिशत छ जबकी अघिल्लो त्रैमासमा यसको आधारदर ७.९४ प्रतिशत थियो । यता स्ट्याण्डर्ड चार्टड बैंकको पनि आधारदर ७.७४ प्रतिशत छ जबकी अघिल्लो त्रैमासमा ७.५५ प्रतिशत थियो । यस्तै नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ बैंकको पनि १० प्रतिशत भन्दा कम आधारदर छ । 

कृषि विकास बैंकको सबैभन्दा महंगो आधारदर 

अहिले बैंकहरुमा सबैभन्दा  बढी आधारदर कृषि विकास बैंकको छ । यसको आधारदर ११.१६ प्रतिशत छ । तर अन्यको तुलनामा यसको आधारदर बढी हुनुमा सबै गाउँघर सम्म कृषि विकास बैंक पुगेको र यसले सञ्चालन खर्च उच्च हुन गइ आधारदर बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको तर्क छ ।

यद्यपि यो क्रमशः घट्दै जाने र निश्चित अवधिमा साइजमा आउने उपाध्यायको भनाई छ । उनी भन्छन्, ‘हामी पुरानो बैंक पनि भयौ, सबै ठाउँमा पुगेका छौ । हामी अरुले जस्तो महिना महिनामा ब्याजदर बढाइरहँदैनौ ।’

सञ्चालन खर्च र कोषको लागत बढी हुँदा आधारदर प्रभावित हुन्छ । आधारदर उच्च हुँदा ऋणको ब्याजदर स्वतः बढ्न जान्छ । कुमारी बैंक, एनसीसी बैंक लगायतको पनि उचच आधारदर रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप