केन्द्रीय संस्करण

धार्मिक तथा पर्यटकीय गन्तव्य : ताप्लेजुङको पाथीभरा

person explore access_timeबैशाख २६, २०७६ chat_bubble_outline0

विश्वको तेस्रो अग्लो हिमाल कञ्चन्जङ्घाको काखमा पाथीभराको सङ्गमलाई गुराँसले सजाउँदा डाँफे चरीले सुनमा सुगन्ध थप्छ । प्राकृतिक चाञ्चल्यतामा रमेको भक्ति मन अनि आस्थाकी देवीको दर्शन र भक्तिसँग पाथीभराको गन्तव्यमा मनमोहक कला छ ।

अलिकति लेकको यात्रा, उकालो बाटोको पैदल यात्रा । हाँसेको हिमालले पस्केको शीतलता । आडैको कञ्चनजङ्घामा पर्यटकलाई डाकिरहँदा व्यवस्थापनको प्रबन्धगत अभाव छ  । सुविधाको व्यवस्थापनसँग पर्यटकीय गन्तव्यको बेवास्था छ । हिन्दू धर्मावलम्बीको मात्र नभई किराँत, बौद्ध, शैव आदि धर्मावलम्बीको आ–आफ्नै श्रद्धाभाव गाँसिन्छ । पाथीभरालाई लिम्बू भाषामा ‘मुक्तुबुङ’ अर्थात् ‘मुक्तुको अर्थ शक्ति वा बल तथा बुङको अर्थ ‘बोट’ अथवा ‘शक्तिको स्रोत’का रूपमा चिनिन्छ । नेपालको प्रदेश नम्बर १ अन्तर्गत छिमेकी देश चीन र भारतलाई छुने जिल्ला ताप्लेजुङको आस्थाको केन्द्र हो– पाथीभरा । कान्छीथानदेखि नै ध्वजापताका, धागाको डोरोले सजिएको मन्दिरको विशाल परिवेशले भक्तिभावनालाई परिजागृत गर्छ । असत्य मन भयले काँप्छ । शक्तिको केन्द्र र इच्छापूर्ति गर्ने मनोवाञ्छित फलदायिनी देवीको आस्थालाई इलाम, झापाको दुहागढी लगायतका स्थानले शाखा विस्तार गरेका छन् । 

बलिप्रथाको इतिहासलाई रक्तकालिकाको नामबाट प्रसारित गरिए पनि देवीले मनोविकारको बलि चाहेकी हुन् ः विज्ञ र बौद्धिकजनका मतमतान्तर पाइन्छन् । मानिसमा हुने पासविक कुप्रवृत्ति, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजन्य षड्शत्रुको नास नगरी बलि दिइनुको सार्थकता नहोला नै मानिसले आपूmभित्रको अज्ञानताको बलि अर्पण गर्न सक्नुको सार्थकतामा देवीशक्तिको उपासना बढी सार्थक बन्ला । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारबाट १९.४ किलोमिटर उत्तर–पूर्वमा रहेको पाथीभरा मन्दिर धार्मिक, पर्यटकीय तथा पर्यावरणीय संरक्षणको गन्तव्य हो । लेकाली सल्ला, गुराँस, धुपीजस्ता वृक्ष वनस्पति तथा हिम चितुवा, रेड पाण्डा, हरियो लाम्पुच्छ«े, लेकाली भालु, मृग, डाँफे, मुनालको सौन्दर्यताले प्राकृतिक धरोहरलाई जीवन्त राखेका छन् । सिकारी भोटे कागको धोद्रो आवाजलाई सुन्दा लाग्छ– पाथीभरा माताको भजन र यात्रुको स्वागतगान हो । 
 

   सौन्दर्यताको जैविक परिवेश हो– पाथीभराको पर्यावरण । सांस्कृतिक, धार्मिक, पर्यटकीय या त जैविक विविधताको गन्तव्य हो । प्रकृतिको मनोरम आँचलमा भक्तको भक्ति सागर उर्लिन्छ । कतै जलधाराको पावन शालीनता त कतै प्राकृतिक चाञ्चल्यमा सायद दैवी शक्तिका पीठहरू सौम्य लाग्छन् । मनकामना, दक्षिणकाली, भद्रकाली, गोरखकाली जस्तै नेपालका प्रसिद्धी कमाएका देवीका शक्तिपीठहरूसँगै धेरैले नाम सुन्नमा आएको तर कमै भक्त पुग्न सफल रहेको नेपालको सुदुरपूर्वी ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरसँग राम्ररी नातो गाँस्नै सकेको छैन ।

डाँडाकाँडा र हरियालीसँग लुकामारी गर्ने भक्तको भावनामा सायदै देवीको कृपाले बल दिँदो हो । मान्छेको मन र त्यो स्थानको अदृश्य शक्तिका किंवन्तीभन्दा बढी विश्वासको अक्षतापाति अनमोल बन्दो हो । असुविधाका जटिलतालाई विज्ञानको चमत्कारले पल्टाइरहँदा अलिअलि यात्राको कहर नघटेको होइन । हिजो घनघोर जङ्गलमा बाघ–भालुको भयसँगै उकालो बाटोमा पैदल यात्राको लामो थकाइको गन्तव्य आज सुविधाको विकास सँगसँगै छोटिएको लाग्छ ।

ओढारमा बस्नुपर्ने, बिछ्याउना र खानासामल बोकेर गहु्रँगो भारीको बोझसँग पानीको अभावको चटारो आज कथाभैmँ लाग्छ । भनौँ, सानो भड्डुमा पहराबाट रसाएको तप्पतप्प चुहिने पानी थाप्दै भात पकाएर गुन्द्रुक उमाली टन्न खाने अनि सातु र मकैको स्वादमा उकालोमा स्वाँस्वाँ गर्दै लट्ठीको सहायता लिइरहनुपर्ने जटिलता आज परिवर्तित छ । जङ्गलको अप्ठ्यारो बाटोभित्रको यात्रा जहाँ एक्लै दोक्लै हिँड्नै भयप्रद हुन्थ्यो । प्रविधिले सहजता प्रदान गर्दै गर्दा हेलिकप्टरमा सरर जाने सुविधाले अलिकति पैसा हुनेलाई सुविधा दिएकै छ । पाटीको निर्माण, ओढ्ने ओछ्याउने सुविधा, बिजुली, पानीको धारोको व्यवस्थासँगै बिस्तारै सामान्य हिसाबमा हिँडेर पुग्न दुई घण्टाको बाटो बाँकी रहने मास्लो फेदीमा नै होटल, लजको समेत सुविधा बढ्दै गएका छन् । यद्यपि डाँडैमा बस्न चाहँदा खानाको प्रबन्ध भने गर्नैपर्ने हुन्छ ।
 

   मोटर बाटोको सुविधाले दर्शनार्थीका अभिलासासँग सामान्यीकरण भइरहेकै छन् । अब केबुलकारको सुविधा विकास हुने प्रावधानका बारेमा ताप्लेजुङ जिल्लाका प्रतिनिधि सभाका सांसद योगेश भट्टराईको अठोटले उल्लास बढाएको छ । सुरक्षा र सहयोगार्थ अस्थायी प्रहरी तैनाथ रहिरहन्छ । समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको ः फक्ताङलुङ, याङवरक, सिरिजङ्गा गाउँपालिका तथा फुङ्लिङ नगरपालिकाको सङ्गम स्थलमा अवस्थित पाथीभरामा मूलतः दसैँको नौरथा तथा चैत मौसमको छेक पारेर दर्शनार्थीको घुइँचो बढ्छ । भक्तजनको घुइँचोलाई ख्याल गर्दै चैत, वैशाख, असोज र कात्तिक महिनामा स्वयंसेवकहरू परिचालित गरिएको हुन्छ ।

यात्रुलाई सहयोग गर्ने, गन्तव्यमा पु¥याउनेदेखि बासको व्यवस्थापनका पक्षमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति सक्रिय सचेत रहन्छ । यो समयमा दस जना स्वयंसेवकले लाइनमा लगाएर दर्शनार्थीलाई सहजीकरण गरिरहेका हुन्छन् । होटल, जल व्यवस्थापन तथा यातायातको सुविधाले भक्तजन बाक्लिएकै देखिन्छन् । धार्मिक तथा पर्यटकीय विकासका कोणबाट चियाउँदा हरेक प्रतिकूल मौसममा त्यहाँको वातावरणका कारणले हवाइ सुविधामा समस्या आइरहने कुरालाई केलाउँदा सुकेटार एयरपोर्टको विकल्पलाई द्रुत मार्गबाट निवारण गर्नु आवश्यक रहेकै देखिन्छ । 

वर्षमा करिब ५ महिना पनि राम्ररी हवाइसेवा सञ्चालन नहुने अनि मौसम बदलीले अप्ठ्यारो पारिरहने समस्याले ताप्लेजुङका सुन्दर गन्तव्यको प्रचार छायामा नै छन् । सररर फेदीसम्म पुगेर लगभग ५ किलोमिटर पैदल यात्राको आनन्द लिनैपर्ने अवस्थासम्मको परिस्थितिमा भक्तको घुइँचो वर्षात् र जाडोभन्दा अगावै दसैँ तिहारको छेक पारेर भीड बढिरहन्छ । मूलतः वर्षात् र अति जाडोको मौसम बाहेकका असोज, कात्तिक, मङ्सिर तथा फागुन १५ पछि, चैत, वैशाख, जेठमा भक्तजनको चहलपहल बढ्छ । प्राकृतिक छटाको घटामा रम्नेका लागि वर्षात्कै मौसममा पनि ओढ्ने रेनकोट या त अन्य सर्जामसँग आनन्द लिन सक्ने सुविधामा आवश्यक सहजीकरण हुँदै गएको पनि पाइन्छ । शरद ऋतुको स्वच्छतामा हाँसेको हिमलहरमा पाथीभरा माताको आस्था बढी धपेटीमय बन्छ । मङ्सिरदेखि माघसम्म हिउँको सेताम्मे आनन्दले पुलकित मनमा देवीको मन्त्रोच्चारण अझ गहन बनिदिन्छ । रामनवमी, चैते दसैँ, वैशाखपूर्णिमा मूलतः बडादसैँको नौरथालाई देवी दर्शनको उत्तम समयले रोमाञ्चकता दिन्छ । 
  

 अन्न भरिएको पाथी जसरी देखिने धार्मिक तथा यहाँको एउटा रहस्यलाई हेर्दा– माघे सङ्क्रान्तिमा पाथीभरा देवी मकर स्नान गर्न तमोर नदीमा नौमती बाजागाजासहित झर्ने गरेको घटनालाई ग्रामीण बुज्रुकहरू अभैm बताउँछन् । भन्नेहरू उक्त दिनको प्रभातकालीन रात्रिमा नौमती बाजाको आवाज सुन्ने गरेको कुरा सुनाउँछन् । परापूर्व कालमा भेडी गोठालाले उँभौलीको समयमा भेडा चराउँदै जाँदा अहिलेको पाथीभरा मन्दिरको स्थानमा भेडा पुर्याएका थिए । बिहान उठेर हेर्दा भेडा हराएका र खोज्दै जाँदा दुई युवतीहरू अघि लागेको देखिएको र पछ्याउँदै जाँदा एउटा ओढारमा अलप भएको भन्ने पनि सुनिन्छ । यसपछि गोठालामध्ये कसैलाई सपनामा देवीले ‘मेरो स्थानमा तिमीहरू आएका छौँ । तिमीहरूले मेरो पूजा गर । अरूलाई समेत प्रचार गर ।’ भन्ने अह्राएको कथा सुन्न पाइन्छ । त्यसपश्चात् भेडामध्येको सबैभन्दा ठूलो थुँबाको बलि दिएको र पूजा गर्दा देवीले आफ्नो सुन्दर स्थानको दर्शन पनि दिएको कथा सुन्न पाइन्छ । भक्तको सहजताका लागि अप्ठ्यारो स्थानमा देवीको पूजा आराधना गर्नुपर्ने भएका कारण केही कालपछि देवीले एकजना साधुलाई भक्तजन बढ्न थालेको तथा पूजा अर्चनामा अप्ठ्यारो भएकाले माथि डाँडैमा पूजा गर्न अह्राएकाले डाँडामा देवीको पूजा अर्चना गर्न थालिएको भन्ने बुझिन्छ । 
 
    अति जाडो मौसम तथा जङ्गली पूmल फुल्ने समय विशेष गरेर फागुन चैततिर लेक लाग्ने समस्या यदाकदा भएकाले भक्तजनहरू मकैको सातु, भुटेको मकै भटमास, मिस्री, अदुवा जस्ता खाद्य पदार्थको सेवन गर्छन् । आजभोलि मानव बस्ती बसेको, केही वन क्षेत्र मासिएकाले पनि पहिलाको तुलनामा लेक लाग्ने समस्या पहिलाको तुलनामा न्यूनीकरण भएकै महसुस हुन्छ । पाथीभरा परिसरमा सेवा सुविधा बढ्दै जाँदा हाल व्यापारिक केन्द्र मात्र बढेनन् वातावरणीय दोहन, फोहोरको डङ्गुर बाक्लिँदै छन् । मानवीय हेल्चेक््रयाइँलाई बेलैमा नसुधारे आजको प्राकृतिक सुन्दरता बिस्तारै कुरूप बन्ने भय पाथीभरा मन्दिरको परिसरमा नभएका होइनन् । भक्तजनले पनि फोहोरजन्य, प्लास्टिकजन्य नकुहिने पदार्थलाई व्यवस्थित गर्न निश्चित स्थानमा लगेर मात्र जम्मा गर्नु वाञ्छनीय हुन्छ । ठाउँठाउँमा फोहोरका टोकरीका साथमा सफाइका सूचना बोर्डले सभ्य भक्तजनको सभ्यता झल्काउने वातावरण तय हुनु दीर्घकालीन सङ्कट क्षतिबाट जोगिने आधार बन्नुपर्छ । यस्ता सुरम्य स्थललाई कमाइ खाने भाँडो बनाई आस्थामा प्रहार हुनुहुन्न । त्यो स्वच्छतामा रमेको शक्तिको उपहासले मानवीय असल चरित्रलाई सम्बोधन गर्नै सक्दैन । सिँगारिएको प्रकृति र आस्थाकी देवीको शक्तिमा आफ्नै गरिमा सुसज्जित छ । चन्द्र–शङ्ख अङ्कित प्राकृतिक शिलाचित्रलाई हामी कान्छीथान माथिको बाटोमा नियाल्न सक्छौँ । 

यात्रा गर्दैगर्दा हरिया डाँडासँग, वन वृक्षसँग दुई चार तस्बिर कैद गर्छन् । डाँडाबाट ताप्लेजुङको मनोरमता, तेह्रथुमको धमिलो दृश्य, रातमा दार्जेलिङको बत्ती बलेको हो कि भैmँ लाग्छ । धनकुटासम्मका दृश्यलाई कञ्चन्जङ्घा हिमशृङ्खला, ल्होत्से, मकालुबाट नियाल्न सकिने आसपासको पाथीभरा मन्दिरसँग पर्यटन विकासको गन्तव्य गाँसिन्छ । अगाडि कुम्भकर्णको शीतलतासँगै राता, सेता गरी करिब २६ प्रजातिका गुराँस, ३ सय जति प्रजातिका सुनाखरी, महŒवपूर्ण जडीबुटीसँग वृक्ष वनस्पतिको अनेकता छ । बिख्मा, पाखनबेत, पाँचऔँले, खानक्पा, बूढीओखती, टिमुरलगायतका ओखती भण्डार ताप्लेजुङ र पाथीभराको गन्तव्यमा निजी गरिमा छ ।

चाप, काउलो, कटुस, लौठसल्लो या त ठिङ्ग्रे लगायतका दजनौँ प्रजातिका पृथक वनस्पतिका आडमा रेडपाण्डाले निगालोको टुसा चपाउँछ । भालु र मृग भागदौड मच्चाउँछन् । पारिस्थितिक पद्धतिमा स्वच्छता छ । हिमाली चरीहरू लाग्छ– पाथीभराका रैथाने भक्त हुन्, जसको उल्लास र चपलता मनमोहक बन्छ । धार्मिक आस्थामा पर्यटकीय गन्तव्य अनि सांस्कृतिक धरोहरमा पर्यावरणीय सौन्दर्यसँग जैविक, वानस्पतिक विविधताले ताप्लेजुङको समृद्धिमा आधार प्रदान गर्छ ।

प्रख्यात अलैँची, अम्लिसो, चिरैतोसँग चौँरी गाईको छुर्पी, मीठो जिम्बु झानेको दालको स्वादभित्र लक्ष्मीकृपाको सम्भाव्यता पर्दामा समेटिन सकेकै छैन । प्रशोधन र बजार व्यवस्थापनार्थ आर्थिक समृद्धिका पाटा छायामै छँदा किसानले कामअनुसारको दाम पाएनन् । सुविधा व्यवस्थापनसँग पैसा कमाउने भाँडो बनाइने लोभीपापी सोचले पाथीभरा नमुछियोस् । आस्था नबेचियोस् । वास्तवमा राजनीति गर्ने थलो बनेमा आस्थाको अवमूल्यन हुन्छ । सुविधाका नामले त्यहाँको पर्यावरणीय संरचना, वन्यजन्तु, जडीबुटीको दोहन हुनुहुन्न । प्रयोग र उचित व्यवस्थापन गरी राज्यले लाभ लिनुपर्छ तर त्यो आस्थामा आघात पार्ने दृष्टिगोचरबाट सचेत रहनैपर्छ । धर्म, आस्था, परम्परामा व्यापार र लुटतन्त्रको हावाले नछोओस् । 
 

   वि.सं. २०६३ सालबाट पाथीभरा म्याराथुन, भजन उत्सवसहितको देवी आराधना स्वरूप पाथीभरा महोत्सवका रूपमा मनाइने परम्पराले आज त्यहाँको सिर्जनात्मक तथा पर्यटकीय विकासका वैज्ञानिक कार्य प्रशंसायोग्य छन् । मन्दिर व्यवस्थापन, भेटी सङ्कलन, संरक्षण, विकास निर्माणको व्यवस्थित विकासका जनचासो सराहनीय लाग्छ ।

विविध व्यक्तिगत प्रयासदेखि ताप्लेजुङमा स्थापित सञ्चारका आधारहरू तमोर एप्mएम्, ताप्लेजुङ एप्mएम् तथा फक्ताङलुङजस्ता एप्mएम्हरूले पाथीभराको विशेष प्रचारमा भूमिका निर्वाह गरिरहेकै छन् । ताप्लेजुङले धार्मिक आधारबाट पाथीभरा मन्दिरको गन्तव्य, भेषभूषा, कला, भाषा र संस्कृति संरक्षण, फुङ्फुङे झरना, कञ्चन्जङ्घाको पर्यटकीय केन्द्र, व्यापारिक नाका ओलाङचुङगोलाको चीन व्यापारको पाटो लगायतका अनेकौँ सम्भावनाबाट अघि बढ्नु आवश्यक छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...