केन्द्रीय संस्करण

महामहिम प्रचण्डलाई चिठी

person explore access_timeबैशाख २३, २०७६ chat_bubble_outline1
कमल रिजाल

रातोपाटी

महामहिम पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू ! नमस्कार । सञ्चारकर्मीको नाताले सानो टिप्पणी गर्दैछु स्वीकार्नुहोला । 

पङ्क्तिकार तपाईंको कट्टर समर्थक होइन, थिएन विगतमा । प्रचण्डपथका कारण केही आफन्त गुमेका छन्, केही परिवार विस्थापित भएका छन् यसका । दुईवटा भाइ नेपाल आर्मीमा थिए । गल्ती थियो भने ती अभागिनी आमाको थियो, जसले जन्म दिएर कर्म दिन सकिनन्, गल्ती थियो भने यो अभागी दाजुको थियो, जसले उनीहरूलाई हुँदोखाँदोको जागिरबाट छुटाउन सकेन तर शान्ति प्रक्रियामा आएपछि तपाईंले मुलुकी राजनीतिमा निर्वाह गर्नुभएको भूमिकाले भने केही आशा जगाएको थियो ।

अनेक आरोह अवरोह पार गर्दै नेकपा एकीकरण गर्नुभयो, निर्वाचन गराउनुभयो । तपाईंकै समर्थनका कारण मुलुकमा कम्युनिस्ट शासन स्थापित छ । दुई तिहाइको सरकार छ । तथापि पछिल्लो अवस्थामा पुनः तपाईंप्रतिको विश्वास डगमगाएको छ । हुनसक्छ अरूलाई पनि यस्तै भएको होला । यसले जनतालाई खासै फरक नपर्ला । ज्यादै भए थप एक दुई थोप आँसु चुहिएलान् । फरक पर्ने तपाईंहरू जस्तै शासन प्रणाली बदल्ने कसम खानेलाई हो । एउटा कलमजीवीको ब्रह्मले देखेको कुरा राख्ने अनुमति चाहन्छु । विश्वास छ अन्यथा मान्नुहुने छैन । 

हामी त्यस्ता मूर्ख प्राणी हौँ, जसको कुरा कसैले सुन्दैन तैपनि गुनासो गर्न छाड्दैनौँ तर प्रचण्डज्यू ! तपाईंका कुरा बिक्छन्, कुरा सुन्छन्, सुन्न कर लाग्छ । तपाईं आफै ‘मौन सम्मति लक्षणम्’को अवस्थामा रहनुहुन्छ भने बोल्ने कसले, सुन्ने कसले ?  

प्रचण्डज्यू ! तपाईं परिवर्तनको कुरा गर्नुहुन्छ तर के साँच्चै परिवर्तन भएकै ठान्नुभएको छ मुलुकमा ? के भन्नुहुन्छ ? होइन भने किन बोल्नुहुन्न कम्युनिस्ट शासनको नाममा आएको विकृतिप्रति ।  सर्वप्रथम हालै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको नीति र कार्यक्रमकै कुरा गरौँ । हामीले टीभीमा देखेका हौँ, अखबारमा पढेका हौँ, तपाईं प्र्रत्यक्षदर्शी हुनुहुन्छ । राष्ट्रपतिलाई जुन तामझामका साथ संसदमा सवारी चलाइयो, उनले जुन किसिमले मेरो सरकारको कुरा गरिन्, के यसमा अलिकति पनि सामन्ती राजतन्त्रको झलक पाउनुभएन ? के उनले दर्जनौँ पटक मेरो सरकारको पुनरावृत्ति गरिरहँदा राजतन्त्रको गन्ध आएन ? कसरी सुनेर बस्नुभयो, सुँघेर बस्नुभयो ? प्रधानमन्त्री केपी शर्मा ओलीले अन्यत्रको कुरा गरेर राष्ट्रपतिको भनाइको बचाउ गरे । उनले गर्ने नै भए, आफैले पेश गरेको कार्यपत्र जो थियो । नेकपाभित्रका केहीले बाहेक सबैले ओलीकै बोलीमा लोली मिलाए । सुनिन्छ ती केही अपवाद पनि बाँकी छैनन् रे अब, सरकारले निषेधाज्ञ जारी गरिसकेको छ रे तर तपार्इंले त बोल्नुपर्छ नि । तपाईं जस्ताले मैले पढ्दा त्यस्तो थिएन भन्ने जस्ता सपाट उत्तर दिएर पन्छिन मिल्छ ? कि तपाईंलाई पनि पदकै भोक जागिरहेको छ ? 

जे लेखेर दिइएको थियो राष्ट्रपतिले त्यही पढिन् । उनलाई बाहिर जाने अधिकार छैन र मिल्दैन पनि । हुन सक्छ अवस्थाले पनि काम गरेको पो थियो कि । उनलाई राष्ट्रपति पद पति मदन भण्डारीको नामले जुरेको हो, त्यो पनि अकाल कालको ग्रास हुनुपर्दा । उनको काम पढ्नु हो, पढिदिइन्, पढिदिन्छिन् उनको के जान्छ र ! यसै पनि अरूको कुरा सुन्ने फुर्सद नै कहाँ हुन्छ उनलाई । दुई हातले नमस्कार फर्काउनसम्म भ्याउँदिनन् उनी । एउटै हात उठाएर कर्मकाण्ड पूरा गरिदिन्छिन् । सायद फुर्सद भएर होला जनताले पन्छाएका निरङ्कुशका प्रतिनिधिहरू दुई हात जोडेर नमस्कार गर्छन् । जनतासित हात मिलाउन र त्यस्तै परे अङ्कमालै गर्नसमेत हिचकिचाउँदैनन् तर जनताकी छोरी राष्ट्रपतिले नमस्कारसम्म गर्न पनि भ्याउन छाडिसकेकी छन् । 

उनलाई घण्टौँ अघिदेखि बाटो खाली गरिदिनुपर्छ जनताले । विस्तारै अकाशै खाली गरिदिनुपर्ने अवस्था आइसकेको छ । नेपाली आमाहरू काखमा नानी र पीठमा भारी बोकी चुल्ठोको भरमा तमोरमा खेलिरहेका छन्, अरूणसँग पौँठेजोरी गरिरहेका छन् तर नेपालका आमालाई विमान चार्टर गरी यात्रा गर्नुपर्छ, त्यो पनि डेड करोडभन्दा बढीको मूल्यमा । कसले भन्ने, कसले सुन्ने । भन्ने पाउन जति मुस्किल हुन्छ सुन्ने पाउन झन् बढी मुस्किल ।  विरोध गर्ने गर्छन्, गरिरहेका छन् न उनी सुन्छिन्, न अरूले सुनाउँछन् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ क्या मज्जा ।  

हालै एक दिन एउटा नवनिर्मित भवन उद्घाटन गरेर फर्कंदै थिइन् उनी । झण्डै आधाघण्टा अघिबाट सहिद गेटदेखि निवाससम्मको बाटो खाली गरिदिनुपरेको थियो उनलाई । एनएसी अगाडि फुटपाथमा केही नेपाली आमाहरू फलफूल बेच्दै थिए । पुलिस भाइहरूले त्यसलाई पनि देख्न सकेनन् । गाडीमा फलफूलका टोकरी हालेर लगे । विचरी नेपाली आमाहरू रुँदै कोठातिर लागिन् । सायद त्यस दिन उनीहरूका नानीहरू भोकै रहे होलान् । केहीबेरपछि तामझामका साथ सवारी भयो गरिब देशका धनी राष्ट्रपतिको । कतिले नाक खुम्च्याए, कतिले धारे हात लगाए, कतिले महारानीको सवारी भयो भन्ने व्यङ्ग्य कस्न पनि भ्याए ।  राष्ट्रपति महोदय देखे नदेखे गरी चिल्लो कारमा हुइँकिइन् । हतारमा थिइन्, त्यो पनि कालो सिसाभित्र सायद देखिनन् पनि होला । राष्ट्रपति निवासतिर लागिन्, पङ्क्तिकार आँसु थाम्न नसकी कुनातिर लाग्यो । यसबारे अघि पनि गुनासो राखिसकेको छ कतै यसले तर खोइ कसैले सुनेका होइनन् । हामी त्यस्ता मूर्ख प्राणी हौँ, जसको कुरा कसैले सुन्दैन तैपनि गुनासो गर्न छाड्दैनौँ तर प्रचण्डज्यू ! तपाईंका कुरा बिक्छन्, कुरा सुन्छन्, सुन्न कर लाग्छ । तपाईं आफै ‘मौन सम्मति लक्षणम्’को अवस्थामा रहनुहुन्छ भने बोल्ने कसले, सुन्ने कसले ?  

महामहिम प्रचण्डज्यू ! तपाईं वनको बाघलेभन्दा मनको बाघले खाएको जस्तो देखिन थाल्नुभएको छ हिजोआज । किन डराउनुहुन्छ ? कोसित डराउनुहुन्छ ?  न केही लिएर आउनुभएको थियो न लिएर जानुहुन्छ । पछिल्लो अवस्थामा नियतिले पनि तपाईंमाथि बढी नै क्रुर खेल खेलिरहेको छ । यस्तो अवस्थामा पनि नबोले कहिले बोल्ने ? ...दरबारदेखि ....दरबारसम्म राजतन्त्रको भूत नाच्न थाल्दा पनि नबोले कहिले बोल्ने ? केही समयअघि ज्यान मार्ने धम्की आएको कुरा गर्नुभएको थियो । हाल आएर पुनः जङ्गल पस्न सक्छु भन्न थाल्नुभएको छ । यसलाई जनताले कसरी बुझ्ने ? धम्की हो कि आग्रह प्रष्ट पार्नुपर्छ तपाईंले । अघिल्लै युद्धको घाउ ओभाउन सकेकोे छैन फेरि जङ्गल पस्ने ? भन्न थालिसकेका छन् तपाईंकै एकताकाका कतिपय सहयात्रीहरू । एक्लो भएर त्यसो भन्नुभएको हो भने त्यो पनि तपाईंकै कमजोरी हो ।  कुनै समयको जिउँदो बाघ यति चाँडै एक्लो भए होलान् भनेर कसरी पत्याउने । तपाईं पुष्पकमल हो, पुष्पकमल नै रहनुपर्छ, जसले हिलोमा उम्रेर पनि दुनियाँलाई सुगन्ध बाँड्ने गर्छ । कसैले तपाईंलाई ज्यान मार्ने धम्की दिएको भने क्षणिक आक्रोशको उपज मात्र हो, जसको तपाईंले डटेर सामना गर्नुपर्छ । यसो भन्यो, त्यसो गर्छुु भनेर जग हसाइको काम नगर्नुस् । यसले तपााईंको उचाइ घटाउनेबाहेक केही गर्दैन ।  

प्रचण्डज्यू ! तपाईं त्यस्तो स्थानमा हुनुहुन्छ, जुुन स्थान सितिमिति कसैले पाउन सक्दैन । तपाईंलाई समस्याबाट भाग्न सुहाउन्न । परिआए पदबाट मात्र होइन बलिवेदीमै चड्न परे पनि पछि पर्नुहुँदैन । उचाइ बढाउने भनेकै यस्तै कामले हो, जुन कुरामा तपाईं आफै भलिभाँती परिचित हुनुहुन्छ । एउटा सञ्चारकर्मीको नाताले देखेको कुरा भनेको हुँ । यसलाई आलोचकको भन्दा पनि हितैषीको आँखाले हेर्नुहुनेछ भन्ने आशा गरेको छु । आगे तपाईंको मर्जी । 
 

कमेन्ट

  1. May 6, 2019, 7:19 p.m. Jagadish oli
    प्रचण्ड सङ्ग हामी नेपाली जनताले जुन अपेक्षा गरेका थियौ त्यो बिस्तारै मर्दै गएको छ। गरिब देशलाइ कसरि नम्बर वान बनाउछु भनेर अगाडि बढ्नुभएको थियो आज त्यो आश मर्दै छ। अझै पनि अवसर छ निस्वार्थ ले जनताको हितमा काम गरिदिनुहोस।हैन भने छोडिदिनुहोस यस्ता नभएका आश्वासन दिन।।।।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...