केन्द्रीय संस्करण

हामी समाजवादी कित्तामा कि पुँजीवादमा ? (भिडियोसहित)

person explore access_timeबैशाख २३, २०७६ chat_bubble_outline0

यस्तो छ अध्यक्ष प्रचण्डको सम्बोधनको मूल अंश ।

‘मैले अस्ति घनश्यामजीलाई भनेको थिएँ– आजको कार्यक्रम धेरै महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि बोलाउनु होला । त्यस कार्यक्रममा कार्ल मार्क्सको योगदान, मार्क्सवादका शिक्षा र नेपाली समाजमा यसको प्रयोगबारे गम्भीर बहस हुन जरुरी छ । तर कमरेडहरूले प्रधानमन्त्री र माधव कमरेड आउन नसकेको जानकारी दिनुभयो । सचिवालयका २ जना स्थायी समितिका धेरै र केन्द्रीय समितिका अधिकांश नेता हुनुहुन्छ ।

मभन्दा अघि झलनाथ कमरेडले धेरै गम्भीर ढङ्गले आफ्ना कुरा राख्नुभएको छ । उहाँले माक्र्सवादको आलोकमा वर्गसङ्घर्षको अनुभव, मार्क्सवादका शिक्षा, भौतिकवाद, द्वन्द्ववाद लगायतका विषयमा आफ्नो प्रवचनात्मक मन्तव्य राख्नुभएको छ । यसका साथै उहाँले विश्वभरिका क्रान्ति र प्रतिक्रान्तिका अनुभव, रुसी क्रान्ति, चिनियाँ क्रान्ति र प्रतिक्रान्तिबारे पनि गहन विचार राख्नुभएको छ । उहाँले गहन र राम्रो भाषण गर्नुभएको छ । यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।

कार्ल मार्क्सकै योगदानका कारण वैज्ञानिक समाजवादको विकास भयो, श्रमजीवीका लागि नयाँ युगको सूत्रपात भयो । विश्वमा ठूलाठूला क्रान्ति भए । हामी कार्ल मार्क्स जन्मिएको २००औँ वर्ष मनाउँदैछौँ । मानव जातिको इतिहासमा कार्ल मार्क्सको निकै ठूलो योगदान रहेको छ । मानव जातिले कार्ल मार्क्सलाई हजार वर्षयताकै महान् व्यक्ति, महान् दार्शनिक ठान्छ, जसका विचारले संसारलाई नै प्रभावित गर्यो । आजसम्म त्यसको वैज्ञानिक खण्डन कसैले गर्न सकेको छैन । सर्वहारा वर्गले मात्र होइन, उहाँलाई पुँजीवादी शिविर र दुनियाँले मानेको छ ।

हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो । कसिलो हात मिलाइन्थ्यो । हृदयदेखि भावना जागृत हुन्थ्यो । आफ्नोपनको अनुभूति हुन्थ्यो । हामीले जतिसुकै ठूला दुःखकष्ट र चुनौती बिर्सन्थ्यौँ । तर अहिले किन त्यस्तो हुँदैन ? हिजो जङ्गलमा सुतियो । तर जङ्गलको अनुभूति भएन । हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन । तर अहिले काठमाडौँमा लाखौँको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ । अहिले के विचित्र भइराखेको छ ?

मार्क्सका सिद्धान्त सार्वभौम छन् । वैज्ञानिक समाजवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, उत्पादन सम्बन्ध सम्बन्धी मार्क्सको खोज र व्याख्यालाई कसैले वैज्ञानिक रूपले खण्डन गर्न सकेको छैन । तर २ सय वर्षको अवधिमा सर्वहारा वर्गले धेरै ठूला उतारचढाव बेहोर्यो । यसका बारेमा तपाईंहरुलाई धेरैथोरै जानकारी छ । विश्व सर्वहारा वर्गले धेरै ठूला घुम्ती र मोडहरु छिचोलेर यहाँसम्म आइपुगेको छ ।

हामी सुरुमा थोरै मानिस थियौँ । सत्ता प्रतिक्रियावादी वर्गको हातमा थियो । सङ्गठन सानो थियो, जनआधार पनि सानै सङ्ख्यामा थियो । तर हामी अति धेरै आत्मविश्वासी थियौँ । जनताप्रति समर्पित थियौँ । २००६ सालमा पार्टी स्थापना गर्दा होस् वा रुस चीनको बहसमा नेपालको अन्तरविरोधको कुरा होस्, झापा विद्रोहको बेला होस् वा जनयुद्धको बेला, हामी निकै सङ्कल्पबद्ध थियौँ ।

झापा विद्रोह वा केन्द्रीय न्युक्लियस हुँदा पनि हामी सङ्कल्पबद्ध थियौँ । त्यो बेला हामीमा निकै ठूलो ऊर्जा थियो । थोरै युवाहरूले पञ्चायती कालारात्रि उल्ट्याउन लागेका थियौँ । वर्गसङ्घर्ष गर्ने हो, हतियार उठाउने हो भन्ने आत्मविश्वास थियो । त्यसमा ठूलो सङ्कल्प थियो । हामी निकै ठूलो विचित्र सपना देख्थ्यौँ । घरको सबै बेचेर, गोरु भैँसी बेचेर पार्टीलाई बुझाइन्थ्यो । रातभरि मिटिङ गर्थ्यौँ । हामी हप्तौँ सुत्दैनथ्यौँ । रातभरि सङ्गठन र सङ्घर्षको काम गर्थ्यौँ । त्यसमा छुट्टै ऊर्जा र गौरव थियो ।

हामी थोरै पूर्णकालीन कार्यकर्ता थियौँ । हामी दलित बस्तीमा जाँदा गौरवको अनुभूति हुन्थ्यो । अन्तरजातीय विवाह गराउँदा गौरव हुन्थ्यो । झुपडीमा जाँद बेग्लै आनन्द आउँथ्यो । असीम त्यागको अनुभूति हुन्थ्यो । अहिले हामी लाखौँ कार्यकर्ता छौँ । ठूलो शक्ति पनि छौँ । तर हिजोको निष्ठा कता छ, हामी कता छौँ ? अहिले सोच्दा विचित्र लाग्छ । हिजो थोरै हुँदा दुनियाँ बदल्छौँ भन्ने मनोबल अहिले कता पुग्यो ? यति ठूलो पार्टी हुँदा पनि हामी किन एक्लो महशुस गर्दैछौँ ?

हिजो पश्चिमको साथी पूर्व जाँदा हार्दिकता हुन्थ्यो । कसिलो हात मिलाइन्थ्यो । हृदयदेखि भावना जागृत हुन्थ्यो । आफ्नोपनको अनुभूति हुन्थ्यो । हामीले जतिसुकै ठूला दुःखकष्ट र चुनौती बिर्सन्थ्यौँ । तर अहिले किन त्यस्तो हुँदैन ? हिजो जङ्गलमा सुतियो । तर जङ्गलको अनुभूति भएन । हामी जङ्गलमा भएजस्तो अनुभूति पनि भएन । तर अहिले काठमाडौँमा लाखौँको बीचमा हुँदा एक्लै भएको महशुस हुन थालेको छ । अहिले के विचित्र भइराखेको छ ?

हामी ६, ७ लाख कार्यकर्ता उठ्ने हो भने त हामीले दलाल नोकरशाही पुँजीवाद परास्त गर्न सक्छौँ । तर हामी हिम्मत हार्दैछौँ । किन एक्ला भएका छौँ ? हामी समूहमा भएर पनि किन कमजोर हुँदैछौँ ? हामीले सङ्कल्प र समीक्षा गर्ने यही हो । हामीले मार्क्सबाट सिक्ने यहीँनेर हो । कार्ल मार्क्सले जिन्दगीभर सङ्घर्ष गर्नुभयो । त्यहाँ गाडी थिएन, घर थिएन । जिन्दगीभर दुःखकष्टको जिन्दगी बिताउनुभयो । हामीसँग अहिले घर छ, गाडी छ । तर कता हरायौँ, हाम्रो ऊर्जा र सङ्कल्प कहाँ गयो ? हाम्रो गल्ती यहीँनेर छ । समीक्षा यहीँ गर्नुपर्छ ।

हाम्रो आदर्श के हो ? हिजो जेल बस्दा आत्मसमर्पणका लागि २ शब्द नलेख्ने, तर आज कता गयौँ ? किन यति छिटै गलेका छौँ ? यसको खोजी गर्नुपर्छ । तर खोजी कल्पनामा होइन, यथार्थमा उभिएर गर्नुपर्छ । हाम्रो वस्तुगत धरातलमा उभिएर गर्नुपर्छ । मैले एकतापछि केही गम्भीर कुरा सोचेको छु । नेपालमा ठूलो बहस र छलफलको आवश्यकता छ । बहस र छलफलविना विचारको विकास गर्न सकिँदैन । हामीले एउटा सांस्कृतिक क्रान्तिको घोषणा गर्नुपर्छ । नयाँ बहसको आवश्यकता छ, एउटा अभियानको घोषणा गर्न जरुरी छ ।

मेरो आलोचना होस्, म सधैँ तयार छु । म आलोचनालाई स्वागत गर्छु । तर यथार्थमा उभिएको हुनुपर्छ । भ्रामक होइन, यथार्थ आलोचना होस् । म सधैँ श्रमजीवी वर्गको पार्टी बनाउन सङ्कल्पबद्ध छु, त्यसका लाग आलोचना सुन्न र सच्चिन तयार छु । लेनिनले साम्राज्यवादी युगमा सर्वहारा वर्गको एक मात्र हतियार सङ्गठन हो, सर्वहारा वर्गसँग सङ्गठन चाहिन्छ भन्नुभएको छ । हामीलाई एउटा परिष्कृत र परिमार्जित पार्टी चाहिएको छ । हामीलाई क्रान्ति र प्रतिक्रिान्तिका अनुभवसहितको विचार चाहिएको छ, कार्यशैली चाहिएको छ, सङ्गठन चाहिएको छ । समाजवादको यात्रामा अघि बढ्ने पार्टी चाहिएको छ ।

महान बहसबाट मात्र सही विचार आउँछ । सही विचार वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट आउँछ । सही विचार विद्वानले मात्र ल्याउने होइन । मार्क्सले नगरेको भए सर्वहारा विचारको विकास अरू कसैले गर्थ्यो । त्यो कुरा मार्क्सले नै भन्नुभएको छ । वस्तुगत परिस्थितिले त्यो अवस्था आयो, मार्क्सवादको विकास भयो । तर मार्क्सजस्तो विलक्षण प्रतिभाको विद्वान् र दार्शनिक नभएको भए मार्क्सवाद जन्मन अझै धेरै समय लाग्न सक्थ्यो । हाम्रो सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ । हामी २१औँ शताब्दीमा छौँ । यो पार्टीले २१ शताब्दीको विचार र सङ्गठनात्मक सिद्धान्त दिन सक्नुपर्छ । हामीले यो कार्यभार पूरा गर्नैपर्छ, हामीले पार्टीमाथि, जनतामाथि भरोसा गर्नैपर्छ ।

मार्क्सवाद कुनै जमेको पोखरीको पानीजस्तो होइन । मार्क्सवादले वैज्ञानिक प्रयोग मान्छ । खुरुखुरु सूत्रले यो हुँदैन, बहस र प्रयोगमा जानुपर्छ । मार्क्सले आफ्नै जीवनमा त्यो प्रयोग गर्नुभएको छ । कम्युनिस्ट अन्तर्राष्ट्रिय बनाउने र भत्काउने, पार्टी बनाउने र बिघटन गर्ने प्रयोग उहाँले नै गर्नुभयो । तर हामीकहाँ नयाँ प्रयोग गर्दा अस्थिरको आरोप लाग्छ । हामीले समयअनुसार कदम चाल्नुपर्छ । परिस्थितिअनुसार कदम चाल्ने नेता अस्थिर होइन, गतिशील हो । हामीले पोखरीको पानी भत्काउनुपर्छ । मलाई त्यो पोखरी भत्काएर गड्गडाउने खोलो बनाउन मन लाग्छ ।

मैले विश्वका कम्युनिस्ट आन्दोलन जति पढेँ, क्रान्ति र प्रतिक्रान्तिका अनुभव जति पढेँ, बुझेँ, त्यहाँबाट सिकेको त्यही हो । म सानो समूहको महासचिव थिएँ । मैले त्यही पार्टी भत्काएँ । मलाई मेरै पार्टी भत्काउन मन लाग्यो । सानो नाङ्लो पसल थापेर हुँदैन भन्ने लाग्यो । मैले पार्टी भत्काउन थालेँ । नयाँ पार्टी बनाउने कोशिस गरेँ । मैले नै ध्रुवीकरणको प्रक्रिया सुरु गरेको थिएँ ।

हामीले ध्रुवीकरणको सोच त्यतिमै सीमित राखेका थिएनौँ । म र मदन भण्डारीबीच पार्टी एकताबारे कुरा गर्ने सल्लाह भयो । तर त्यो दिन आएन । बीचमै मदन भण्डारीको अवसान भयो । तर पर्खिंदै गएर हामी यहाँ आयौँ । अहिले २ शक्तिशाली पार्टीबीच एकता भएको छ । मदन भण्डारीको अवसानपछि हामी २ वटा प्रयोगमा गयौँ । शान्तिपूर्ण राजनीतिलाई जनतासँग जोड्ने मदन भण्डारीको प्रयोग थियो । अर्को प्रयोग मेरो नेतृत्वमा जनयुद्ध भयो ।

केही वर्ष त एकले अर्कालाई निषेध गर्न नखोजेको होइन । केही वर्ष सत्रुतापूर्ण सङ्घर्ष पनि भयो । तर यो वैज्ञानिक सावित भएन । परिस्थितिले दुवै कम्युनिट पार्टी मिल्नु नै राम्रो बनायो । जनताले पनि हामीलाई मिल्न आदेश दिए । हाम्रो बीचमा धेरै अन्तरक्रिया र बहसहरु भए । जनयुद्धकै बेला पनि हाम्रो बीचमा ठूलो बहस सुरु भएको थियो । हामीमा नयाँ परिस्थिति पैदा भयो । हामीले एकताका लागि गहन छलफल र बहस गर्यौँ ।

विश्वमा क्रान्तिका २ मोडेल छन् । विश्वमा धेरै सशस्त्र सङ्घर्ष पराजित भएका छन्, तिनले कुनै पनि प्रणाली परिवर्तन गर्न सकेनन् । विश्वमा केही सफल क्रान्ति छन्, जसले पूरै सत्ता उल्ट्यायो । विश्वमा २ मोडल र परिणाम मात्र छन् । मलाई पछिल्लो समय के महशुस भयो भने सशस्त्र क्रान्तिबाट जाँदा हामीले पनि उपलब्धि रक्षा गर्न नसक्ने परिस्थितिमा जान्छौँ । त्यही विश्लेषणका कारण पूरै सत्ता कब्जा गर्ने भने पनि हामीले शान्ति र लोकतन्त्रको बाटो लियौँ । प्राप्त उपलब्धिको रक्षा गर्ने बाटो रोज्यौँ ।

सानो बहसको नजिता पनि सानै हुन्छ । तर ठूलो बहसले ठूलै परिणाम दिन्छ । सानो पोखरीमा पौडी खेल्ने कि ठूलो पोखरीमा ? ठूलो बहसले मात्र ठूलो परिणाम दिन्छ ।

यो पनि आफैँमा जोखिम थियो । त्यहाँ सजिलो थिएन । युद्धका जोखिम जति थिए, प्राप्त उपलब्धि जोगाउन शान्ति र लोकतन्त्रको मार्ग हिँडाउनु पनि त्यत्तिकै जोखिम थियो । त्यसका लागि बलियो नीति र नेतृत्व चाहिन्थ्यो । वैज्ञानिक विचार र कुशल नेतृत्वका कारण सफल भयो । हामीले पूरै युटर्न गर्न सकेका कारण यहाँ आयौँ । आन्दोलनमा सर्वस्वीकार्य नेतृत्व नभई यो सम्भव हुने कुरा होइन ।

पार्टी एकता ठूलो काम हो, ऐतिहासिक काम हो, असाधारण काम हो । २ अलग बाटोमा हिँडेका पार्टी एक ठाउँमा ल्याउनु सामान्य कुरा होइन । मार्क्सवादका शिक्षालाई ठीक ढङ्गले नबुझी यो सम्भव थिएन । हामीले यो ठूलो प्रयोग गर्यौँ । हामी त्यसमा सफल भयौँ । एकताको प्रस्तावकका नाताले ममा गर्व छ, एमाले र माओवादीका रूपमा हामीले चुनावी प्रतिस्पर्धा पनि गर्यौँ, हामीले जित्यौँ पनि, हार्यौँ पनि । हामी दुवै पार्टीमा जित र हारको अनुभव भयो । त्यसले एक ठाउँमा आउन बल मिल्यो । हामीमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनबाट अगाडि बेढेर संविधान दिने, समाजवादको यात्रामा अघि बढ्ने कुरा सामान्य कुरा होइन ।

नेकपा एमालेको नवौँ महाधिवेशन र एकीकृत नेकपा माओवादीको हेटौँडा महाधिवेशनबाट पनि समाजवादी क्रान्तिमा जाने निष्कर्ष निस्कियो, पार्टी एकताको आधार त्यो पनि हो । त्यो वैचारिक आधारले नै हामीलाई नजिक ल्यायो । संविधानका अन्तरवस्तु र समाजवादको अवधारणामा समान सोच भएकाले नै हामीलाई यहाँ ल्यायो । नेताहरुको चाहनाले मात्र पनि भएको होइन । तर यसमा नेताहरुको आँट पनि छ । हामीले फेरि पनि पुराना पार्टीहरु भत्काएका छौँ । एमालेका रूपमा र माओवादीका रूपमा जमेको पोखरी हामीले भत्काएका छौँ । गड्गडाएर अघि बढ्ने मान्यताबाट यो एकता भएको हो ।

सानो बहसको नजिता पनि सानै हुन्छ । तर ठूलो बहसले ठूलै परिणाम दिन्छ । सानो पोखरीमा पौडी खेल्ने कि ठूलो पोखरीमा ? ठूलो बहसले मात्र ठूलो परिणाम दिन्छ । हामी समाजवादमा जानुछ, त्यसका लागि महान् विचार, ठूलो सङ्गठन चाहिन्छ । त्यही सङ्कल्पका साथ एकता गरिएको हो । कतिपय साथीहरुले वैचारिक बहस नगरेर एकता गर्न हुँदैन भन्नुभएको थियो । तर हामीले हिजोकै मान्यतामा बहस गरेको भए एकता हुने थिएन । हामीले शान्तिपूर्ण रूपमा समाजवादमा जाने सङ्कल्पका आधारमा एकता गरेका हौँ । बाँकी कुरा बहस हुँदै जान्छ, निष्कर्षमा पुग्दै जान्छ ।

राम्रै काममा जानुछ भने हाम फाल्नुपर्छ । मूल कुरा ठीक लागेपछि हामफाल्नु नै राम्रो हो, त्यहीँबाट नै सबै कुराको छिनोफानो हुन्छ । सबै कुरा बन्दै जान्छ । हामीले एकदमै ठीक गरेका छौँ । हामीले अस्तिसम्म आउँदा एकता टुङ्ग्याएका छौँ । फलामे ढोका फोरेका छौँ । बाँकी काम १, २ दिनमा टुङ्ग्याउँछौँ । जनसङ्गठन र कार्यविभाजनको काम छिटै टुङ्गिन्छ । त्यसपछि हामी हामी तुरुन्तै अधिवेशनमा जान्छौँ ।

अब युद्ध स्तरमा अधिवेशन हुन्छ । त्यो बहसमा जानु पनि हो । हामीमा धेरै कन्फ्युजन छैन । विचारमा अहिले एउटा कुरा नै मुख्य हो । हामी समाजवादी कित्तामा कि पुँजीवादमा ? हाम्रो बहस यहीँनेर हो । अरू धेरै कुरा छैन । अहिले नै समाजवादको आधार बनेको छैन । पुँजीको विकासविना अहिल्यै समाजवाद बन्दैन । त्यसका लागि हामीले सङ्घर्ष गर्नुछ । हामीले उत्पादक शक्तिको विकास गर्ने, राष्ट्रिय पुँजीको विकास गर्नेतिर जानुपर्छ । हामीले विकास र रोजगारी सिर्जना गर्नुपर्छ । त्यसले मात्रै समाजवादको जग बसाल्न सकिन्छ ।

पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन । दलाल नोकशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन । चीनले हामी अझै समाजवादको प्रारम्भमा छौँ भनिरहेको छ । समाजवादका लागि सचेत धक्का चाहिन्छ । हामीले त्यसकै लागि काम गर्नुपर्छ । हामीमा विचार र सङ्गठनमा गति चाहिन्छ, विकास चाहिन्छ, राष्ट्रिय पुँजीको विकास चाहिन्छ । पार्टीमा कमरेडली व्यवहार चाहिन्छ । त्यता लैजानुछ । हामीले कमरेड बनाउँछौँ । कम्युनिस्ट पार्टीमा बदमास थोरै हुन्छन् । तर हामीमा समस्या छ । त्यसको समाधान खोज्नुपर्छ ।

अब हामीले महान् बहस सुरु गर्नुपर्छ । सम्पूर्ण करेडहरू यो बहसमा जानुपर्छ । हामीले महान विचार निर्माण गर्नुछ, समाजवादी संस्कृति निर्माण गर्नुछ । हामी दुनियाँमा सबैभन्दा आक्रमक छौँ । नयाँ विचार, नयाँ कार्यदिशा दिने हामीले नै हो । अहिले नै अरूबाट आशा गरेर हुँदैन । हामीले गर्न सकेनौँ भने दुनियाँमा ५० वर्ष अर्को क्रान्ति हुँदैन । विश्वलाई नयाँ विचार र कार्यदिशा दिने रणनीतिक उद्देश्यसहित पार्टी एकता गरिएको हो । सरकार कब्जा गर्न र प्रधानमन्त्री हुन एकता गरिएको होइन ।

हामीले संसारभरिका श्रमजीवीलाई नयाँ सन्देश दिन एकता गरिएको हो । पार्टी एकता महान चिज हो । तर यो आरामसाथ अघि बढ्दैन । पार्टी एकता महान विवाद, महान सङ्घर्षको सुरुवात पनि हो । यो सजिलो कुरा पनि होइन । हामीले नयाँ सङ्कल्प गर्नैपर्छ । त्यसका लागि तयार हुन म सबै कमरेडहरूलाई अपिल गर्न चाहन्छु । म फेरि एक पटक सम्पूर्ण त्याग गरेर सङ्घर्षमा होमिन तयार छु । मलाई कुनै कठिनाइ छैन । तर म एक्लै हिँडेर मात्र पनि हुँदैन । त्यसका लागि तपाईंहरुको साथ चाहिन्छ ।

(कार्ल मार्क्सको २००औँ जन्म जयन्तीका अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले गर्नुभएको सम्बोधनको सम्पादित अंश ।)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...