शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर भिडन्तः यसरी अघि बढिन् रेणु दाहाल

गठबन्धन कार्यकर्ता भन्छन्–रेणुको जीत निश्चित
शनिबार, २१ साउन २०७४, १९ : ००
शनिबार, २१ साउन २०७४

गठबन्धन कार्यकर्ता भन्छन्–रेणुको जीत निश्चित 

चितवन– भरतपुर महानगरको वडा नं. २० को २ हजार मतगणना हुँदा लयमा पछ्याँउदै आएकी कांग्रेस–माओवादी गठबन्धनको मेयरकी उम्मेदवार रेणु दाहालले प्रतिष्पर्धी एमालेका देवी ज्ञवालीलाई ५७ मतले पछि पारेकी छिन् । 

प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रुपमा यसबारे जानकारी दिइनसके पनि झन्डै १३ सय मत गणना हुन बाँकी रहँदा रेणुले अग्रता लिएकी हुन् । उनी बिजय निकट पुगेको गठबन्धन कार्यकर्ता बताँउछन् । भरतपुरको वडा नं. २० नेपाली कांग्रेसको पकेट क्षेत्र भएका कारण कांग्रेसको भोट एमालेलाई जाने कम सम्भावना भएको कांग्रेसका स्थानीय कार्यकर्ताहरु बताउँछन् । 

यस वडाका भीमनगर, शंकरचोक, फलेनी गाउँ, दद्रयानी, चनौली, चन्द्रनगर, नयाँ बजार, टुँडिखेल क्षेत्र कांग्रेसको बलियो पकड क्षेत्र रहेको स्थानीय हरिप्रसाद पण्डितले बताए ।

वडा नं. २० मा पर्ने क्षेत्रमा एमालेको उपस्थिति पहिलेदेखि नै कमजोर रहेको छ । एमाले भन्दा माओवादीको अवस्था पनि राम्रो नभएको स्थानीयबासी पण्डित बताँउछन् । तर नेपाली कांग्रेस माओवादीको गठबन्धनका कारण यो वडामा यसअघिका निर्वाचनहरुमा यो क्षेत्रबाट नेपाली कांग्रेस बिजयी भएको थियो । कांग्रेसका शुसिल कोइराला र रामकृष्ण घिमिरेले अघिल्ला निर्वाचनमा बाजी मारेका थिए ।
 
एमालेको यो वडामा ८ सय हाराहारी मत, माओवादी केन्द्रको ५ सय हाराहारी र १५ सय माथि नेपाली कांग्रेसको मत रहेको नेपाली कांग्रेसका कार्यकर्ता समेत रहेका हरिप्रसाद पण्डित बताउँछन् । उनले भने– पार्टीले गरेको निर्णयलाई सर्वमान्य मानेर गठबन्धनको उम्मेदवारलाई भोट हालेका छौँ । अधिकांशले माथिको निर्णयलाई मान्ने भनेर भोट खसालेका छन् । अर्का स्थानीयले गठबन्धनको उम्मेदवारले जित्नेमा दुईमत नभएको बताए ।

१९ का जनताले पेले, १७ मतदाता छुटे  

वडा नं. १९ बाट रेणु दाहाललाई अघिल्लो निर्वाचनको भन्दा लाभदायक मत प्राप्त भएको छ । यो वडामा अघिल्लो चुनावको तुलनामा उनले ५ सय ६३ मत बढी ल्याएकी छिन जसले वडा नं. २० को गणना गर्दा उनले प्रतिष्पर्धी उम्मेदवारलाई टक्कर दिन सफल भएकी छिन् ।

अघिल्लो निर्वाचनमा एमालेलाई भोट दिएका गठबन्धन काँग्रेसका कार्यकर्ताले अहिले रेणुलाई भोट हालेको मतगणना स्थलमा भेटिका सर्वसाधारणहरुले बताइरहेका छन् । वडा नं. १९ मा महिला तथा जेष्ठ नागरिकको बढी भोट रेणुतिर ढल्किएको स्थानीयहरु बताँउछन् । 

यसैबीच, गठबन्धनका १७ मतदाता काठमाडौैंबाट मतदान गर्न भरतपुर आउँने क्रममा नारायणगढ–मुग्लिन सडकको पहिरोको कारण मतदान गर्नबाट बञ्चित भएका छन् । जसका कारण रेणुले १७ भोट गुमाएको स्थानीयहरुले चर्चा गरिरहेका छन् ।  

एमाले कार्यकर्ता स्तब्ध 

खेलकुद कार्यालयको कबर्ड हलमा भइरहेको मतगणनास्थल भन्दा झन्डै एक सय मिटर पर सर्वसाधारणहरु पछिल्लो अपडेट सुन्न हतारिएर बसिरहेको छन् । देवी ज्ञवाली र रेणु दाहाल बिचको मनान्तर कम हुँदै गएपछि एमाले कार्यकर्ताहरु स्तब्ध बनेका छन् ।

खाजा खाने होटल, क्यान्टिन, पसल बजारमा भेटिएका कार्यकर्ता निराश देखिएका छन् भने माओवादी केन्द्रका कार्यकर्ताहरुमा हौसला बढ्दै गएको छ । मतगणनाको परिणाम अन्तिम तिर जाँदै गर्दा मतगणना स्थलको छेउछाउमा सर्वसाधरणहरुको भीड बाक्लिँदै गएको छ । आज रातीसम्म अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत गंभिर घिमिरेले जानकारी दिए ।  

मतगणना कार्य अन्तिमतिर पुगेका कारण प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । यसअघि नै मतगणना स्थलमा ३ वटा र बाहिर २ वटा सिसी क्यामेरा जडान गरिएको छ । मतगणनास्थलको बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । गणनास्थलको एकसय मिटर परपर चारैतिर सडक रोकेर निधेशीत क्षेत्र घोषणा गरिएको छ । गणनास्थल भरतपुर कर्भडहलको नजिक अस्पतालचोकमा सयौंको संख्यामा मतदाताहरुको उपस्थिति रहेको छ । 

मतगणनास्थलमा भित्री र वाहिरी सुरक्षा व्यवस्था गरिएको छ । मतगणनास्थल भित्र कमाण्डो फोर्स राखिएको छ ।  प्रहरी नायव उपरिक्षकको कमाण्डमा १ सय ६१ नेपाल प्रहरी, ५० सशस्त्र प्रहरी मतगणनास्थलको भित्री भागमा तैनाथ छन् । यस्तै नेपाली सेनाले पनि वाहिरी भागमा गस्ति गरिरहेको छ । मतगणनास्थलमा नेपाल प्रहरीको कुकुरसमेत परिचालन गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप