बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनतामा स्थानीय तहप्रतिको विश्वास घट्दै गएको छः अध्यक्ष गुप्ता

आइतबार, २२ वैशाख २०७६, १७ : ११
आइतबार, २२ वैशाख २०७६

स्थानीय तह निर्वाचन २०७४ मा वैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा भएको थियो । प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको अध्यक्ष पदमा नरेन्द्रकुमार गुप्ताले विजय हासिल गरे । उनले नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका कुमारशङ्खर चौधरीलाई हराएका थिए । 

१. तपाईंले आफ्नो नगरपालिकामा कस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ ? 
यो नगरपालिकामा ग्रामीण क्षेत्र धेरै छन् । रामग्राम नगरपालिकाको प्रमुख समस्या भनेको बाटोको हो । यो नगरपालिकाको सदरमुकाम हाइवेबाट ९ किलोमिटर तल पर्छ । हाम्रो नगरपालिकामा ग्रामीण भेगका वडा धेरै छन् । ती वडामा बाटोको सुविधा नभएकाले बाटोलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । कच्ची सडकमा कालोपत्रे गर्ने, नयाँ सडक निर्माण गर्ने र केही सडकलाई विस्तार गर्ने काम गरिरहेका छौँ । पहिलो वर्षमा नै १४ किलोमिटर बाटो बनाइसकेका छौँ । यही कार्याकालमा सबै क्षेत्रमा सडक पुर्याउने लक्ष्य लिएका छौँ । 

२. स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनु भएको छ ?
पहिलो वर्ष खासै समन्वय हुन सकेन । त्यसको कारण सबै स्थानीय तहलाई घाटा लागेको छ । एक वर्षपछि प्रदेश सरकारको गठन भयो । प्रदेश सरकार गठन भइसकेपछि तिनले कानुन बनाउने, नियमावली निर्माण गर्ने र ती नियम कानुनलाई कार्यान्वयन गर्न नै समय लागेकाले त्यसको प्रत्यक्ष असर स्थानीय तहमा पर्यो । स्थानीय तह गठन भएको पहिलो वर्ष स्थानीय तह मात्रै थियो, प्रदेश तह थिएन ।

दोस्रो वर्ष प्र्रदेश सरकार आयो । प्रदेश सरकारले कानुन र नियम समयमै नबनाएकाले प्रदेशबाट लिने अपेक्षित लाभ लिन सकेनौँ । अब आर्थिक वर्ष २०७६÷७७ को बजेट आउनेवाला छ । त्यो बजेटमा सबै स्थानीय तहले पनि तयारी गरेका छन् । प्रदेशले पनि समपूरक बजेट छुट्याएपछि मात्र स्थानीय तहले परिचालनमा ल्याउन पाउँछ । 

यद्यपि, अहिले एउटा नराम्रो पक्ष के देखिएको छ भने प्रदेश सरकारले स्थानीय तहमा आएर सानातिना आयोजना लागू गर्ने काम गरिरहेको छ । प्रदेश स्तरका योजना प्रदेशले नै लागू गर्दा कुनै समस्या हुँदैन तर सानातिना आयोजना नै प्रदेशले सीधै स्थानीय तहमा आएर लागू गर्दा समस्या उत्पन्न भएको छ । वडा र टोलस्तरको योजना प्रदेशले लागू गर्नुले स्थानीय तह र प्रेदेश तहको सम्बन्धमा असर गर्न सक्छ । 

३. स्थानीय तहका मुख्य समस्या के–के हुन् ?
सङ्घीयताको विषयमा प्रधानमन्त्रीलगायत नेताहरुले कर्मचारी समायोजनको विषयलाई लिएर निकै ठूला ठूला कुरा गरे । तर स्थानीय तहमा कर्मचारीकै अभाव भयो । जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । तर स्थानीय सरकारमा नै कर्मचारीको अभाव छ । यो नै स्थानीय सरकारको अहिलेको जल्दोबल्दो समस्या हो । जनताले स्थानीय सरकारसँग धेरै अपेक्षा राखेका थिए ।

सिंहदरबार टोल टोल र गाउँगाउँमा आयो भनेर निकै खुशी भएका जनता सिंहदरबार र सरकार भाषणमा मात्रै गाउँगाउँमा आएपछि निराश भएका छन् । स्थानीय तहलाई सञ्चालनका लागि जसरी धेरै गाविसहरुलाई जोडेर स्थानीय सरकार बनाइयो त्यहीअनुसार अस्थायी वा करारमा लिएर भए पनि तत्कालको लागि कर्मचारीको व्यवस्था गर्नुपर्ने थियो । स्थायी कर्मचारी पछि मात्रै नियुक्त गरेर सरकारले काम अगाडि बढाउन सकेको भए जनताको विश्वास स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास घट्ने थिएन ।

त्यस्तो हुन सकेन । स्थानीय तहको अहिलेको सरकार पहिलेकै कर्मचारीले चलाइरहेका छन् । त्यसैले धेरै समस्या भइरहेको छ । पहिले पाँच करोडको योजना बन्थ्यो, अहिले १ अर्बको योजना बन्छ । पुरानै कर्मचारीले यति ठूलो योजनाको काम गर्नका लागि असम्भव हुने देखिन्छ । अहिले जनतामा स्थानीय तहप्रतिको विश्वास घट्दै गएको छ । 

४. स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ?
अहिले स्थानीय तहमा नयाँ बनेका गाउँपालिकाहरुमा लेखा हेर्ने कर्मचारी नै छैनन् । त्यहाँ भएका सामान्य कर्मचारीले हिसाबकिताब गर्न जान्दैनन् । त्यसैले पनि बेरुजुको समस्या देखिएको हो । दिनदिनै फेरिएर आउने कानुन, सुब्बा सरहका कर्मचारीको अभाव छ । नगरपालिकामा ल्याएर तालिम दिँद पनि उनीहरुले सामान्यभन्दा बढी काम गर्न सक्दैनन् । 

५. तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरूभन्दा फरक र नमुना बनाउन केकस्ता योजना अघि सार्नुभएको छ र कसरी काम भइरहेका छन् ?
यो २०५३ सालमा नै घोषणा भएको नगरपालिका हो । नगरपालिका घोषणा गर्दा सामान्यभन्दा केही पूर्वाधार नै थिएनन् । यो नगरपालिकालाई अरूभन्दा फरक रूपले चिनाउनका लागि हामीले विशेष कामहरु गर्दैछौँ । जस्तैः फोहोर व्यवस्थापन, सडक सञ्जाल र पर्यटन । 
फोहोर व्यवस्थापन हरेक शहरको समस्या हो । त्यसका लागि योजनबद्ध ढङ्गबाट अगाडि बढिरहेका छौँ । पुनः प्रयोग कसरी गर्ने भन्ने विषयमा पनि योजना बनाइरहेका छौँ । त्यसैगरी हामीलाई ९ग्न्क्ष्क्ष्ए० विश्व बैङ्कको प्रोजक्टले सहयोग गर्दैछ । 

त्यसैगरी हामीसँग दुईवटा पर्यटकीय स्थल छन्, लुम्बिनी क्षेत्र र रामग्राम स्तुप । लुम्बिनीसँग सम्बन्धित क्षेत्र हाम्रो हो । गौतम बुद्ध लुम्बिनीमा जन्मिनुएको हो । भने उहाँको अन्त्येष्टि गरेपछि अस्तु ल्याएर हाम्रो नगरपािलकाकाको ७ नम्बर वडामा राखिएको छ । यो ऐतिहासिक ठाउँ हो । यो नगरपालिकालाई बुद्ध परिपथमा ल्याएर जोड्ने काम गर्दैछौँ । ग्रेटर लुम्बिनीसँग यो नगरपालिकालाई जोड्ने लक्ष्य छ ।

यसलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउने लक्ष्य लिएका छौँ । मैले चीन र कोरिया जाँदा पनि यसको प्रचार प्रसार गरेको छु । यो नगरपािलका लुम्बिनी सँगसँगै प्रमोसन हुन्छ । लुम्बिनी आउने पर्यटक रामग्राम नगरपालिकामा पनि आउने बनाउन केकस्ता पूर्वाधारको विकास गर्नुपर्छ भन्नेमा हामी लागिरहेका छौँ । रामग्राम स्तुपमा पनि ती पर्यटक ल्याउने लक्ष्य छ । यसका साथै जीआईएस म्यापिङ, ट्र्याकिङ जस्ता कामहरु गर्दैछौँ । एउटा एडभान्स सिटीमा हुनुपर्ने सबै पूर्वाधारको विकास गर्ने लक्ष्य लिएका छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप