केन्द्रीय संस्करण

कविता : प्यारी आमा

person explore access_timeबैशाख २२, २०७६ chat_bubble_outline0

अच्युतशाली घिमिरे

जन्मदिने आमाभन्दा ठूलो हुन्न कोही
हँसाइदिन्छिन् सन्तानलाई आफू रोई रोई
पूज्य हुन्छिन् जन्मभूमि, जन्मदिने माता
जोडी साइनो रगतले बसाउँछिन् नाता ।

ताते ताते डोर्याउँछिन् जिन्दगीको बाटो
देशप्रेम सिकाउँछिन् धरतीको माटो
मान्नुपर्छ आमालाई पुज्ने भगवान
बाडिदिने गुणहरू सर्व विद्वान् ।

मिठो चोखो खुवाउँछिन् आफू भोकै बसी
निर्मल निश्चल माया उनको किन लाउनु कसी
पाउँदा सन्तान काखभरी साह्रै ठुली हुन्छिन्
पीडा, दर्द, व्यथाहरु सारा भुलिदिन्छन् ।

रुन्चे मुख लाए मैले खुशी पार्नलाई
खेल खेल्छिन् झेल गर्छिन् आफै हार्नलाई
घोट्छिन् आफ्ना हड्डीहरु छाक जोर्नलाई
उनको मेरो सम्बन्धको नाता कोर्नलाई ।

सधै मेरै सुसारमा दिन बित्छ उनको
हँसिलो त्यो मुहारमा चमक छ जुनको
आफू लाउँछिन् टालटुल कठै आमा मेरी
मलाई भने सुहाउने नाना फेरी फेरी ।

मेरै लागि बाच्छिन् आमा मेरै लागि हास्छिन्
थुँगा थुँगा मातृत्वको अनि माला गास्छिन्
फूल फुल्छ फूलबारीमा मन जाग्दैन
पिटे पनि आमादेखि मन भाग्दैन ।

हुर्काइन् मलाई करेसामा गोडमेल गरी
समय सारा खर्ची ममा आफू ओझेल परी
यो अटुट नातादेखि कसको डाहा लाग्छ ?
छुटाउन खोजेदेखि झन् चाहा जाग्छ ।

हुर्काई बढाई सर्वथाले देखाइन् मलाई सृष्टि
सत् असन् छुट्याइदिने उनै मेरी दृष्टि
कल्पिएरै रुन्छिन् मलाई चोट लाग्दाखेरी
ढुकढुकीमै राख्छिन् मलाई अँगालोमा बेरी ।

दिई उपहार एकताको तिम्रो मुख हेर्छु
गहभरी आँसु झार्ने तिम्रो दुःख फेर्छु
बिसाई आफ्ना दुःखहरू दियौ अभिभारा
स्वप्न तिम्रा विपना माझ जोड्नेछु म सारा ।

सेवा गरौँ जननीको भव सागर तर्न
शास्त्र भन्छ पर्दैन रे चारधाम गर्न
नमन गरे जननीको लाग्छ ठूलो गुन
बजिराख्छ हृदयमा कोमलताको धुन ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...