केन्द्रीय संस्करण

‘जले विष्णु स्थले विष्णुः’नेकपाका नेता कामरेड विष्णु !

person explore access_timeबैशाख २१, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

 वर्षौंअघिको कुरा हो । त्यसताका अहिलेको जस्तो हवाइयात्रा प्रचलनमा आएको थिएन । समुद्रपार मुलुकहरुको यात्रा गर्नुपर्दा पानीजहाजबाट गरिन्थ्यो । 

एक पटक एक जना नाम चलेको भारतेली स्वामीबाबा आफ्ना दुई जना चेलाका साथ बेलायत यात्रामा निस्केका थिए । मध्य दिनको समय थियो । यात्रीहरु आफआफ्नासँग जुटेर गफ गरिरहेका थिए । यसै बीच  स्वामीबाबालाई पिसाव लाग्यो । जहाजमा शौचालयहरु त थिए, स्वामीबाबालाई थाहा थिएन । यो उनको पहिलो समुद्रयात्रा थियो । बाबा उठेर फटाफट जहाजको एक बार्दली छेउ पुगे र लगौंटी खोलेर समुद्रमाथि नै पिशाव गर्न थाले । त्यहाँ स्वामीबाबाको  यो यस्तो निर्लज्ज व्यवहार देख्नेजति सवै यात्रीहरुले आफैं लज्जित बनेर आँखा निहुराए ।

यो सबै देखिबसेका स्वामीबाबाका चेलामध्ये एकले नजिकै गएर स्वामीबाबासँग सोधे, “पानीमा दिसापिशाव गर्नु हुँदैन भन्ने हाम्रो धर्मपरम्परा होइन र गुरुजी ?”'

निर्लज्जताको लँगौटी सम्हाल्न खोज्दै स्वामीबाबाले भने, “यहाँ दिसापिसाव गर्न हुने ठाउँचाहिँ कहाँ छ त ? वेदले त विश्वव्रह्माण्डलाई नै ईश्वरको शरीर भनेको छ । पुराणले जल, स्थल, पहाड, आगो जताततै विष्णु छन् यो जगत् संसार विष्णुमय छ भनेको छ । जहाँ पिशाव गरे पनि पर्ने त विष्णुमाथि नै हो । ‘जले विष्णुस्थले विष्णुः विष्णुः पर्वतमस्तके, ज्वालमालाकुले विष्णुः सर्वं विष्णुमयं जगत्’ यो मेरो पिसाप गराइ पनि हाम्रो शास्त्रको ‘सिर्जनशील विकास’ हो !” भन्दै स्वामीबाबा मुक्तकण्ठले हाँसे । स्वामीबाबाको निर्लज्जता र  आफ्नो स्वार्थको रक्षामा शास्त्रको दुरुपयोग गर्ने चतुर्‍याइँ देखेर कति यात्रीले ओठ लेब्र्‍याए भने कतिले आपसमा मुखामुख गरे ।

यो घटनाकथा मैले वर्षौंअघि बनारसमा एकजना बुढा गुरुबाट सुनेको थिएँ । स्वामीबाबाको नाम त बिर्से‌,  बुढा गुरुले गर्नुभएको ती बाबाको विकासकथा भने आज पनि सम्झिरहेको छु ।

बुढा गुरुका अनुसार “ती बाबा बनारसकै देहातका मध्यमवर्गीय किसान परिवारमा जन्मे हुर्केका थिए । लघुकौमुदी र अमरकोश पढेका थिए । सनातनी समाजमा हुर्केका तिनी प्रत्येक कदममा सत्यव्रती बन्नुपर्छ, आगोमा, पानीमा र बाटो घाटो तगारो कतै पनि फोहर फाल्न हुँदैन भन्नेमा दृढ थिए । यति मात्र होइन तिनी कसैबाट दान लिन हुँदैन, आफ्नै पसिनाको आर्जनमा भर पर्नुपर्छ भन्नेमा पनि त्यत्तिकै दृढ थिए । गाउँसमाजमा सेवाभावी इमानदार व्यक्तिका रुपमा उनको नाम थियो ।

यसैबीच केही भ्रमणशील जोगीसन्यासीहरुसँग तिनको संङ्गत भयो । एक दिन तिनी सन्यासी बनेर घरबाट निस्के । सन्यासी जीवनमा तिनी झन् असल थिए । झन् समर्पणशील थिए । उनको समय पूरैजसो समाजसेवामा बित्थ्यो । समयक्रममा उनी शहर पसे । विभिन्न शहरमा जमेर बसेका मठाधीश, मण्डलाधीश, पीठाधीश महन्तहरुसँग तिनको सङंगत हुन गयो । ती वैभवशाली महन्तहरुको विलासी जीवन नजिकैबाट देखे, सुँघे । समय समयमा आयोजित हुने स्वादिष्ट परिकारसहितका भण्डाराहरुमा सम्मिलित हुन थाले । उनमा पनि सुखसयलको सपना जाग्दैगयो । लोभले जरा हाल्दैगयो ।  तिनी पनि एक दिन एउटा गाँठवाल मठको महन्त बन्नपुगे । अनि आफ्नो स्वार्थ अनुकूल हुने गरी शास्त्रहरुमाथि पनि मनोमानी व्याख्या गर्न थाले । उनी बाटो बिराएका जोगी थिए । यस्तै जोगीलाई शङ्कराचार्यले ‘भुँडी भर्नका लागि विविध भेष धारण गर्नेहरु’ (उदरनिमित्तं वहुकृत भेषः) भनेका हुन् । हामीले जीवनमा यस्ता ढोँगी जोगीहरुबाट पनि नकारात्मक शिक्षा लिनुपर्छ ।”

    सादा पोसाक र विनम्र बोली व्यवहारका भेटिने नेकपाका महामन्त्री कामरेड विष्णु पौडेल मध्मवर्गीय सामान्य जीवनबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गरेर बुटवलमा सुकुम्वासीले पाउने जग्गा छोराका माध्यमबाट उपलब्ध गर्दै, बेच्दै, उत्तरोत्तर  उकासिँदै, शहरमा भव्य घरहरु बनाउँदै, बस्दै आएर हाल बालुवाटारको जग्गाकाण्डमा समेत मुछिनुभएको चर्चा सार्वजनिक भएपछि मैले वर्षौंअघि सुनेको जोगीबाबाको उल्लिखित प्रसङ्ग झलक्क सम्झें । जहाजको बार्दलीछेउमा उभिएर समुद्रमाथि पिसाप गरिरहेका ती बाबाको लज्जातीत मुद्रा, गतिविधि र तर्क सम्झें । त्याग तपस्याको बाटो छोडेर लोभलालसाको बाटोतिर लागेपछि मानवजीवनमा यस्ता घटना पनि स्वाभाविकै हुँदारहेछन् । धन्य छ सङ्गतको फल र लोभलालसाको करामत !

Photo: https://scontent.fktm8-1.fna.fbcdn.net

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...