केन्द्रीय संस्करण
मेराे जीवन

व्याङ्ग्य मास्टर शैलेन्द्र सिम्खडाको जीवन : भोट हालेर मैले ठूलो भूल गरेँ

person explore access_timeबैशाख २१, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

काठमाडौँ– नेपाली हाँस्यव्याङ्ग्य क्षेत्रमा कलाकार शैलेन्द्र सिम्खडाको बेग्लै स्थान छ । उनी सामान्यदेखि जटिलभन्दा जटिल विषयलाई सजिलै व्याङ्ग्यमा समेट्न सक्छन् । सायद त्यसैले पनि होला देश तथा विदेशको महत्त्वपूर्ण कार्यक्रममा उनका व्याङ्ग्य प्रस्तुति रहने गर्छ ।

हाँस्यव्याङ्ग्यका माध्यमले बालकदेखि वृद्धसम्मका मनमा राज गर्न सफल उनी कविता, प्रहसन लगायतको माध्यमबाट हसाउन माहिर छन् । व्याङ्ग्यत्मक केही पुस्तकसमेत बजारमा ल्याएका उनले थुप्रै सिरियल अभिनय र लेखनसमेत गरेका छन् । यिनै कलाकार शैलेन्द्र सिम्खडासँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

चिनी खान छोड्दिएँ  
मेरो मनपर्ने खानामा नेवारी भोजका लागि तयार गरिने खानेकुरा पर्छन् । चिउरा, तरकारी, अचार, साँदेको भटमास र  मासको बारा पनि विशेष लाग्छ । धेरै गुलियो र चिल्लो खानेकुरा मन पर्दैन । रेस्टुरेन्ट धेरै जान्छु । विदेशी रेस्टुरेन्टका खानेकुरा त्यति मीठो लाग्दैन । नेपाली रेस्टुरेन्टमा म नेवारी डिक्स नै रोज्छु । मैले सबै परिकार पकाउन जानेको छु । विद्यार्थी जीवनमा बाध्यताले सिकेको थिएँ । अहिले पनि बेलाबेलामा पकाउन रहर लाग्छ । म मासुको तरकारी कटर जस्तो र कटरको तरकारी मासु जस्तो बनाउन सक्छु ।
मैले चिनी खान छोडेको दुई महिना जति भयो । म दिनमा ८ कप चिया खान्छु । चियामा चिनी कडा चाहिन्छ । कम्तीमा पनि एक कप दुई चम्चा चिनी हाल्दा दिनमा १६ चम्चा चिनी हँुदो रहेछ । यसरी खाँदा महिनामा ६ किलो चिनी खाइँदो रहेछ । यस्तो चिनी किन शरीरमा पठाउने भनेर चिनी खान छोडेको हो ।

पहिरनमा ब्रान्ड कन्सेस छैन
मनपर्ने पोसाक टिसर्ट र पाइन्ट नै हो । यी हल्का र सजिलो पनि लाग्छ । क्याप, टोपी लगाउने मेरो बानी छैन । पोसाकमा मनपर्ने कलर कालोमा हरियो मिक्स भएको हो । पहिरनमा ब्रान्ड कन्सेस छैन । आफू राम्रो देखिनु पर्यो । लगाउँदा सुहाउनु पर्यो । त्यति भए पुग्छ । वार्षिक ५०, ६० हजार पोसाकमा खर्च हुन्छ ।

नियमित ब्यडमिन्टन खेल्छु 
एक्सरसाइज समय र परिस्थित हेरेर गर्छु । २०५२ देखि बिहान नियमित एक घन्टा ब्यडमिन्टन खेल्छु । यो एक्सरसाइजका लागि खेल्न थालको हो । यसबाट नै मेरो एक्सरसाइज हुने गरेको छ । 

दैनिक अध्ययन गर्ने बानी छैन
मेरो अध्ययन सिजनल हुने गरेको छ । कुनै साता म अध्ययन धेरै गर्छु । कुनै साता गर्दैगर्दिनँ । दैनिक अध्ययन गर्ने बानी छैन । केही पहिले आएको नेपाल प्रज्ञाप्रतिष्ठानको ६० वर्ष भन्ने पुस्तक पछिल्लो समय अध्ययन गरेको किताब हो । 
इतिहास समेटिएका पुस्तकहरु मेरो रोजाइमा पर्ने गरेका छन् । बीपीको आत्मवृतान्त मेरो मन परेको पुस्तक हो । डाइमन शमशेरले इतिहासमा आधारित रहेर लेखेका सबै पुस्तक मन पर्यो ।

फुर्सद नै छैन
नेपालमा बस्ने धेरैले फुर्सद नै छैन भन्छन् । फुर्सद भएर नै मानिस खेल्न, घुम्न हिँड्न गरेका हुन् । मेरो पनि त्यस्तै हो । फुर्सदमा म एक्लै बसेर लख्न, पढ्न, आफ्नो कुरा आफै गुनगुनाउन मन पराउँछु ।

६५ जिल्ला घुमेको छु 
घुमफिरमा धेरै रुचि छ । तर सहर होइन । गाउँ र प्राकृतिक सौदर्यले भरिएका ठाउँतिर घुम्न मन लाग्छ । बेलाबेलामा परिवारसँग पनि घुम्ने गरेको छु । पूर्वमा धुम्सा, ताप्लेजुङ लगायतका ३, ४ जिल्ला घुम्न बाँकी छ । पश्चिममा कालीकोटदेखि महाकाली र सेती अञ्चल पुग्न बाँकी छ । अहिले भएको ७७ जिल्लामा ६५ जिल्ला घुमेको छु । विदेशका पनि मुख्यमुख्य राष्ट्रहरु पुगिसके होला । सानातिना देशहरु बाँकी छन् । 

भलिबल खेल्दा औँला फर्कियो
खेलकुदतिर पनि रुचि छ । म बढी क्रिकेट हेर्छु । फुटबल पनि हेर्छु । अहिले नियमित ब्याडबेन्टिन खेल्ने गरेको छु । सानामा डन्डी बियो र कबडी र भलिबल पनि खेलेको थिएँ । भलिबल खेल्दा औँला समेत फकिर्एको थियो ।

२ वटा मोबाइल
अहिले मसँग आइफोन ब्रान्डका दुईवटा मोबाइल छन् । एउटा पारिवारिक र अर्काे बाहिरी प्रयोजनका लागि चलाएको हो ।  विदेशमा धेरै साथीहरु भएकाले एउटै फोन हँुदा समस्या धेरै पटक पर्यो । त्यसैले सजिलोका लागि दुईवटा बोकेको हो । तर झन्झट भने लागि रहेको छ । फोटो खिच्न, म्यासेज पठाउन, टेलिफोन गर्न र फेसबुक चलाउन मोबाइल बढी प्रयोग हुने गरेको छ । 

साँझमा टीभी हेर्छु 
प्रायः साँझमा टीभी हेर्छु । टीभीमा राजनीतिक समाचार हेर्नेगरेको छु । त्यसपछि हेर्ने भनेको भारतीय च्यानलबाट प्रसारण हुने समाचार हुन् । आफँैले लेखेको कार्यक्रमहरु आए भने खोजी खोजी हेर्छु । कहिले काहीँ खेल पनि हेरेको हुन्छु ।

फिल्म त आधामै छोडेको छु
चलचित्र पहिले पहिले त धेरै हेर्थें । अहिले एकदम कम भएको छ । पछिल्लो समय हेरेको फिल्म नेपालीमा ‘छक्का पन्जा २’ हो ।  हिन्दीमा भारतीय टेलिभिजनबाट धेरै हेर्छु । पहिले बनेका सबै चलचित्र राम्रो लाग्थ्यो । अहिले आफूले यो लाइन बुझेकाले होला सायद केही फिल्मले मात्र आफूलाई समाउछन् । धेरै फिल्म त आधामै छोडेको छु ।

यो खान्दानी रोग हो 
मेरो सुगर केही बढी देखाउँछ । यसले गर्दा धेरै पानी खाएर पसिना बगाउने गरेको छु । मेरो बुबाआमालाई नै प्रेसर थियो । मलाई देखिएको छ । यो खान्दानी रोग हो । अहिले प्रेसरको औषधि नियमित लिने गरेको छु । रोगका कारणले अहिलेसम्म दुःख भएको छैन । 

भाषा कुनै पनि अश्लील हुँदैन 
भर्खर मैले डा. बलदेव अधिकारी नामका एक भाषाविज्ञसँग छलफल गरेको थिएँ । उहाँ मेरो मित्र र जिल्लावासी पनि हुन् । मैले ‘शिवखुलित’ भन्ने शब्दको अर्थ कहीँ नभेटाएर उहाँसँग कुरा गरेको थिएँ । उहाँले भाषा कुनै पनि अश्लील हुँदैन । भाव अश्लील हो । प्रयोग भएको भागमा अश्लील नभएपछि निर्धक्क प्रयोग गर्न सकिन्छ भनेर बुझाउनुभयो । शिवखुलितको अर्थ सत्य सकिसक्यो भन्ने लाग्दो रहेछ । 

प्रेम पर्यो
मैले प्रेम विवाह गरेको हो । गाउँमा हुर्किएको म सहर पस्दा यहाँका हरेक चिजले आकर्षण गर्यो । त्योमध्येको एक उनी पनि हुन् । उनी राम्री लागिन् । सङ्गत भयो । प्रेम पर्यो । म बाहुुनको छोरा, उनी क्षेत्रीको छोरी । हामीले अन्तरजातीय प्रेम विवाह गरेका हौँ । विवाहका कारणले घरमा पनि सङ्घर्ष गर्नु पर्यो । विवाहलगत्तै घरमा भित्रिने वातावरण नभएकाले उनीसँग सहरमै बस्न थालेँ ।

मापसे छोडेँ
पहिले पहिले मापसे गर्थें । २०५४ सालबाट जाँड, रक्सी, तमाखुलगायत केही पनि खान्नँ । पहिले कलाकारिता लाइनमा भएपछि साथीभाइको सरसङ्गतमा खानुपर्छ भन्ने भयो । जीवन पनि खासै नबुझेकाले मापसे गरियो । अहिले त्यसको महत्त्व रहेनछ भन्ने लाग्यो । अनि छोडेँ ।

गीतसङ्गीत मनपर्छ
गीतसङ्गीत मनपर्छ, सुन्छु । पहिले क्यासेट हुन्थ्यो र दैनिक सुन्थे । अहिले भिजुअल पनि हेर्न मिल्ने भएकाले कहिले काहीँ सुन्छु । रेडियो, एफएमलगायत कतैबाट बज्यो भने सुन्ने गरेको छु । दीप श्रेष्ठ र अरुणा लामा मेरो मनपर्ने गायिका हुन् । नारायण गोपालको गीतहरु पनि मनपर्छ । पछिल्लो पुस्तामा प्रमोद खरेल, शिव परियार लगायतका गीत मनपर्छ । 

भोट हालेर मैले ठूलो भूल गरेँ
जीवनमा प्रशस्तै भूल भएका छन् । पछुतो भएको भूल धेरै छन् । त्यसमा कतिपय बच्चामा गरेका भूल छन्, भने केही ठूलो भएपछि गरेका भूल छन् । व्याङ्ग्यत्मक रूपमा पछुताउनुपर्ने भूल भन्ने हो भने गत चुनावमा भोट हालेर मैले ठूलो भूल गरेँछु । किनभने काठमाडौँका सडक हेर्नुहोस् जताततै भत्किएका छन् । धारामा हेर्नुहोस् पानी आउँदैन । यी त उदाहरण मात्र हुन् । देशको अवस्था झन् झन् बिग्रँदो छ । 
 
अर्काे एक घर थियो 
अहिले बस्दै आएको सामाखुसीको घर २०५८ मा आफैँले बनाएको हो । ०४६ सालदेखि बस्दै आएको काठमाडौँमै अर्काे एक घर थियो । त्यो घर बेचेर यो बनाएको हो । सो समयको चलनअनुसार घर बनाएको थियो । अहिले वास्तुशास्त्र हेर्दा धेरै मिलेको छ । जग्गासमेत गरेर यो घरमा एक करोड ३५ लाख लागेको थियो ।

मेरो सपना 
म अहिले एक प्रकाशकको खोजीमा छु । मैले एकदमै राम्रो एउटा किताब केही पहिले निकालेको थिएँ । अहिले अर्काे निकाल्ने तरखरमा छु । मलाई कमेडीमा एउटा यस्तो कृति सिर्जना गर्न मन लागेको छ । त्यो कृति जुनसुकै भाषामा अनुवाद गरे पनि त्यतिकै चर्चित होस् । 

राशि मेरो कर्कट
राशि मेरो कर्कट हो । ग्रहदशा हेराउने, देखाउने केही गर्दिनँ । नास्तिक पनि होइन । मेरी श्रीमती असाध्यै धर्म गर्छिन् । उनले जुन मन्दिर भन्यो म त्यहीँ पुर्याउँछु । म भने बाहिरै बस्छु । भित्र पसेर ढुङ्गामै ढोग्नुपर्छ भन्ने लाग्दैन । मन्दिर मेरिटेसन हो । बाहिर बसे पनि हुन्छ भन्ने लाग्छ । 

मृत्यका लागि म ढुक्क
गीता पढेर कण्ठ बनाएर मृत्यका लागि म ढुक्कसँग बसेको छु । मृत्यु सत्य हो । यो टारेर टर्न सक्दैन । यसलाई सबैले सहज रूपमा लिनु पर्छ । सहज मृत्यु भए राम्रो हुन्छ । मृत्यसँग डराउने भन्दा पनि अगाडिको घिटघिटी अवस्थासँग डर लाग्छ । सजिलो मृत्यु होस् । यही छ चाहना ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...