शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एउटी आमा जसले पात गाँसेर हरिवंशलाई हुर्काइन्

शनिबार, २१ वैशाख २०७६, ११ : २४
शनिबार, २१ वैशाख २०७६

आमाबारे कतै पढ्न पाएको थिएँ । रसियामा भूकम्प गएछ । भूकम्पले घर भत्केर आमा र बच्चा पुरिएछन् । बच्चा बाँचेछ, आमा मरिछन् । बच्चा कसरी बाँचेछ भन्देखिन्– पुरिएको ठाउँमा हात चलाउन मिल्दो रैछ, बच्चालाई आमाले काखमा लिएकी रहिछन्, बच्चाले भोक लाग्यो भन्दो रैछ, आमाले आफ्नो हातको औँला टोकेर बच्चालाई रगत चुसाउँदी रैछन् । यसो गर्दागर्दै शरीरको रगत सकिएछ र आमा मरिछन् । पछि उद्धार टोलीले जिउँदै बच्चा उद्धार गरेपछि यो कुरा थाहा भएछ ।

आमाको परिभाषा कसैले दिइरहनुपर्दैन । जन्म दिने आमा देशभन्दा पनि ठूली हुन्छिन् । मान्छेहरू देशमा दुःख पर्यो भने शरणार्थी भएर अर्काको देशमा भागेर जान्छन् । हामीले शरणार्थी शिविरमा देखेका पनि छौँ, देश छाडेर आएकाले hari bansa aacharya 2परिवार सँगै ल्याएका हुन्छन् । सकेसम्म परिवार छोड्न चाहँदैन मान्छेले । परिवारभित्र पनि अन्य सदस्यसँग आमाको तुलना हुनै सक्दैन । आमा एउटी मात्र हुन्छिन् । बच्चाहरू थुप्रै हुन सक्छन् । श्रीमतीहरू थुप्रै हुन सक्छन् । आमासरहको माया–ममता थुप्रैबाट पाउन सकिएला । तर, सबैकी आमा एउटी हुन्छिन् । संसारमा एकपटक मात्र पाइने कुरा हो, आमा । दुइटा हुनै सक्दैनन् । एउटा शरीर छुट्टिएर दुइटा बन्छ, त्यो नै आमा र सन्तान हो । आमा र बाबु दुवै पूज्यनीय छन् । तर, बाबुले गर्भधारण गर्न सक्दैनन् । आमाले जन्म दिन्छिन् र काख पनि दिन्छिन् । आमाको काखमा शिशुका लागि सबै कुरा हुन्छ । एउटा बालक देशको माटोमा मात्रै जन्मेर हुँदैन, उसलाई आमाको काख चाहिन्छ । आमाको काख पायो भने बालकले सर्वस्व पाउँछ । त्यसैले बालकका लागि आमाको काख देशभन्दा पनि ठूलो हुन्छ ।

कुखुरालाई नै हेर्नुस्, साना चल्ला भएका बेला माउले मान्छेमाथि नै आक्रमण गर्छे । किनभने ऊ आमा हो, उसलाई आफ्ना साना चल्लाको माया छ । त्यस्तै, भर्खरै आमा भएका बेला पोथी कुकुरले पनि मान्छेलाई छाउराछेउ पुग्नै दिन्नँ । सीधै टोक्न आउँछे, अरु बेला नटोक्नेले पनि । किन ? ऊ आमा भएकी छे । उसलाई सन्तानको माया छ, हरहालतमा उसलाई आफ्ना सन्तान हुर्काउनुछ । त्यस्तै, अरु बेला केही नगर्ने गैंडाले पनि बच्चा भएका बेला मानिसलाई आक्रमण गर्छ । चितवनमा घुम्न जाँदा मैले यो थाहा पाएका हुँ । मानिसहरू भन्थे, गैँडाले बच्चा पाएको छ, नजिक जानु हुँदैन । बचेरा भएका बेला पनि कागले पनि ठुंग्छ । जुनसुकै पोथी प्राणीले साना सन्तानलाई असाध्यै माया गर्छ ।

पछि मेरी आमालाई पेटको क्यान्सर भयो । आमालाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई लाग्यो होला, अब म बाँच्दिनँ भन्ने । म हस्पिटलमा आमालाई भेट्न जान्थेँ, भित्र जान दिइँदैनथ्यो । पछि थाह पाएँ, उहाँले छोरालाई नल्याउनु भन्नुभएको रहेछ । मर्छु भन्ने भइसकेपछि कलिलो छोराको मुख हेर्न नसकेर होला । हेरेपछि रुन मन लाग्ला, सानो छोरासँग रोएर के गर्ने ? सायद मेरी आमा एक्लै रुनुभयो होला ।


कसैको भाग्य धेरै ठूलो हुन्छ भनौँ, जसले लामो समय आमाको माया पाउँछन् । र, आमा बूढी हुँदा हेरचाह गरेर आमाको काखको ऋण तिर्छन् । तर मेरो भाग्य नै त्यस्तो, १३ वर्षको हुँदा मैले आमालाई गुमाएँ ।
स्मृतिमा मेरी आमा चहकै खुल्नुहुन्छ । कतिपय सम्झना भने धुमिल–धुमिल छन् ।

म ६ वर्षको हुँदा मेरो बुवा खस्नुभएको हो । हामी गुरु–पुरोहितका सन्तान हौँ । मेरो बुवाको पेसा नै कर्मकाण्ड गर्ने थियो । बुवाले थापा खलकका घर–घरमा गएर पूजापाठ गरिदिनुहुन्थ्यो । आमा पनि बुवासँगै गएर पूजाका लागि आवश्यक सहयोग गरिदिनुहुन्थ्यो, पूजा गरिदिएबापत बुवाले पाएका सामग्री बोकेर फर्कनुहुन्थ्यो ।

बुवाको देहान्तपछि आमाले हामीलाई हुर्काउन अर्काको घर–घर चहार्नुभयो । अर्काको घरमा गएर पूजापाठका लागि पात गाँसिदिनुहुन्थ्यो । पूजापाठका सामग्री तयार गर्न सघाउनुहुन्थ्यो । त्यसपछि जे दिन्छन्, ती सामान लिएर फर्कनुहुन्थ्यो । आमाले हामीलाई असाध्यै दुःख गरेर हुर्काउनुभएको हो । मेरा पाँचजना दिदीहरू हुनुहुन्थ्यो । दुईजनाको विवाह बुवाले नै गरिदिन पाउनुभयो । तीन दिदीहरूको बिहे हुन बाँकी थियो, आमाले दुःख–सुखले दिदीहरूको बिहे गरिदिनुभयो ।

आमा अर्काको घरमा पूजापाठका लागि सघाउन जाँदा कहिलेकाहीँ मलाई पनि लैजानुहुन्थ्यो । गुहेश्वरीको कुण्डमा आ–आफ्नो संस्कारअनुसार जाँड–रक्सी, कुखुराको अन्डा पनि चढाइन्छ । एकचोटि आमा र म गुहेश्वरीको बाटो भएर aamaहिँडेका थियौँ । आमाले कुण्डमा हात हाल्नुभयो, हातमा एउटा अन्डा आयो । माछामासु त के हाम्रो घरमा लसुन–प्याज पनि चल्दैनथ्यो । त्यो जाँडरक्सी, जल, अनेक प्रसाद कुहिएको ठाउँबाट निकालेको अन्डा आमाले मलाई खान दिनुभयो । मैले खान मानिनँ । तर, आमाले जबर्जस्ती मेरो मुखमा कोचिदिनुभयो । त्यो कस्तो–कस्तो गन्ध आएको अन्डा मैले खाएँ । पछि मैले सोधें, ‘आमा, अन्डा मेरो मुखमा किन कोचिदिनुभयो ?’ आमाले भन्नुभयो, ‘कुण्डमा हात हाल्दा हातमा जे आउँछ, त्यो खानुपर्छ, खायो भने भाग्यमानी भइन्छ भन्छन् । त्यो अन्डा त तेरो भाग्यले गर्दा आएको हो ।’ जाँडरक्सी, माछामासु खाँदै नखाने कुलघरकी आमाले मलाई अन्डा खान दिनुभयो– छोरो ठूलो मान्छे बन्ला भनेर । आखिर एउटी आमाको आफ्ना सन्तानप्रतिको मोह न हो ।

पिता होमञ्जय आचार्य र माता गणेशकुमारी

मेरो व्रतबन्ध आठ वर्षमा भएको । त्यतिबेला व्रतबन्ध भएपछि हरेक बिहान नुहाउनुपथ्र्यो । जातका हिसाबले पनि ननुहाईकन खान पाइँदैनथ्यो । इनारको पानीले नुहाउनुपथ्र्यो । इनारको पानी जाडोमा अलि तातो हुन्थ्यो, गर्मीमा निकै चिसो । आमाले मलाई चिसो लाग्छ भनेर जाडोमा पनि गर्मीमा पनि बिहानै पानी तताइदिनुहुन्थ्यो, दाउरा बालेर । अनि, मलाई पूजाकोठामा

गायत्री मन्त्र जप्न लगाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, मन्त्र जप गर्दा भगवानले शक्ति दिन्छन् । अनि, चण्डीपाठ गर्न लगाउनुहुन्थ्यो । चण्डीपाठ गर्न मलाई असाध्यै गाह्रो लाग्थ्यो । चण्डीपाठ गर्न लगाएर आमाले मलाई सजाय नै दिएजस्तो लाग्थ्यो ।

अहिले महसुस हुन्छ– त्यसले मलाई निकै फाइदा पुर्याएको छ, मेरो बोली स्पष्ट भयो । संस्कृतपाठ जिब्रोको अभ्यास पनि रहेछ, मैले प्रस्टसँग शब्द उच्चारण गर्न सक्ने भएँ । अर्को त्यसरी पाठ गर्दा एकाग्रता पनि आउँदो रहेछ । अहिले ध्यान, प्राणायामको चलन बढेको छ । पूजापाठ गर्दा पनि मानिसमा एक प्रकारको ध्यान अर्थात् एकाग्रता हुन्छ । उति बेला मन नलागी–नलागी पाठ गर्थें । त्यसले कता–कता मेरो एकाग्रता बढेको अहिले मलाई महसुस हुन्छ । मान्छेले मेरो अभिनय हेरेर जति चञ्चल स्वभावको ठान्छन्, म उति नै एकाग्र पनि छु । स्क्रिप्ट लेख्न, प्रहसन, अभिनय गर्न एकाग्रता चाहिन्छ । आज जेमा सफल छु, त्यसमा मेरी आमाको ठूलो भूमिका छ । मलाई एकाग्र हुन मेरी आमाले नै सिकाएकी हुन् ।

म सानोमा चञ्चले स्वभावको थिएँ, डुल्दै हिँड्थेँ । आमाले पढ् भन्नुहुन्थ्यो । नपढेको भनेर कहिलेकाहीँ पिट्नु पनि हुन्थ्यो । त्यति नै बेला त आमाले पिट्दा दुःख लाग्थ्यो । पछि महसुस गर्दै गएँ, त्यो पिटाइमा पनि गहिरो माया रहेछ ।
काभ्रेको संखु भन्ने ठाउँमा हाम्रो खेतबारी थियो, अहिले पनि छ । त्यो जग्गा मोहीलाई दिएका थियौँ । बेलाबेला आमा खेती लिन, खेती हेर्न त्यहाँ पुग्नुहुन्थ्यो । काठमाडौं गैरीधारामा हाम्रो घर । घरबाट त्यहाँ पुग्न झन्डै ६ घन्टाजति लाग्थ्यो । आधीबाटोसम्म लहरी भन्ने जान्थ्यो, ट्रयाक्टरजस्तै सामान बोक्ने गाडी । त्यसपछि हिँड्नुपथ्र्यो । म पनि आमासँगै धेरैपटक गएको थिएँ ।

हाम्रो १५–१६ जना मोही थिए, जग्गा धेरै भएर भने होइन । मोहीका चार–पाँचजना छोरा हुँदा रहेछन्, छोराहरूले पनि बाँडेर खेती गर्दा रहेछन्, यसो हुँदाहुँदै पछि १५–१६ जना मोही भएका थिए । ऊ बेला चार भागमा एक भाग मोहीको जग्गा हुन्थ्यो । म ठूलो भएपछि तीन भागमा एक भाग उनीहरूलाई दुई भाग हामीलाई बनाएर छुट्यायौँ । त्यहाँ हाम्रो घर थियो, घर पनि मोहीलाई दियौँ ।

पछि मेरी आमालाई पेटको क्यान्सर भयो । आमालाई वीर अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई लाग्यो होला, अब म बाँच्दिनँ भन्ने । म हस्पिटलमा आमालाई भेट्न जान्थेँ, भित्र जान दिइँदैनथ्यो । पछि थाह पाएँ, उहाँले छोरालाई नल्याउनु भन्नुभएको रहेछ । मर्छु भन्ने भइसकेपछि कलिलो छोराको मुख हेर्न नसकेर होला । हेरेपछि रुन मन लाग्ला, सानो छोरासँग रोएर के गर्ने ? सायद मेरी आमा एक्लै रुनुभयो होला ।

आमा खसेको १२–१३ दिनसम्म त मलाई धेरै पीडाको अनुभव हुन दिइएन । थुप्रै मान्छे आउँथे, सहानभूति दिन्थेँ । पछि बिस्तारै मान्छेहरू कम आउन थाले, अनि आमाको अभाव बढी नै खड्किन थाल्यो । आमा सम्झेर रुन्थेँ ।
मलाई ठूलो मान्छे बनाउने मेरी आमाको सपना थियो । अहिले मलाई धेरै नेपालीले माया गर्छन्, चिन्छन् । लाग्छ, यो ख्याति मेरी आमाले देख्न पाउनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला !

बिहान उठ्दा सधैँ म आमाबुवालाई सम्झन्छु । दिवंगत श्रीमती मीरालाई सम्झन्छु । उनीहरूलाई मैले देवताको रुपमा सम्झन थालेको छ । सबैलाई सम्झेर आँखा बन्द गरेर प्रार्थना गर्छु– मलाई जिउने, राम्रो काम गर्ने शक्ति दिनुस् । धेरैले मन्दिरमा गएर प्रार्थना गर्छन्, मैले त्यति विधि त्यस्तो गर्दिनँ । फेरि पनि म नास्तिक होइन । तर, मेरा लागि भगवान भनेका बाबुआमा, दिवंगत श्रीमती नै हुन् ।

प्रकृतिको नियम नै हो– खासगरी सन्तानको भन्दा अघि नै आमाबुवाको इहलीला समाप्त हुन्छ । समय क्रमसँगै सन्तान पनि आमाबाबु बन्छन् । समय क्रमसँगै मेरो पनि घरबार भयो । मलाई लाग्छ कि आमाले आफ्नो माया–ममता कुनै माध्यमबाट मेरी श्रीमतीलाई दिएर जानुभयो । श्रीमतीको माया पनि कता–कता आमाको जस्तै लाग्दो रहेछ । रहँदाबस्दा श्रीमती पनि अभिभावकजस्तै, आमाको अर्को रुपजस्तै लाग्दिरहिछन् । जब बाबुआमा गुमाइन्छ, श्रीमानको अभिभावक श्रीमती र श्रीमतीको अभिभावक श्रीमान हुन पुगिँदो रहेछ । श्रीमतीले बालबच्चालाई गरेको माया–हेरचाह देख्दा, बालबच्चाले आमा भनेर बोलाएको सुन्दा पनि श्रीमतीमा आमाको रुप देख्न थालिँदो रहेछ । यस्तो भावना बिस्तारै–बिस्तारै पलाउँदै जाँदो रहेछ । तर अर्को दुर्भाग्य, यस्तै भावना पलाइरहेका बेला मैले श्रीमती पनि गुमाएँ ।

कतिले आमालाई अवहेलना गरेको पनि मैले देखेको छु । कतिले आफ्ना बाबुआमालाई वृद्धाश्रममा पठाएको पनि सुन्न पाइन्छ । बाबुआमालाई घृणा, अवहेलना गर्ने त मान्छे नै होइनन्, उनीहरूलाई पशुसँग पनि तुलना गर्न सकिँदैन । किनभने, पशुसँग विवेक हुँदैन, जे गरोस् । मान्छेले त सोच्न सक्छ ।

हाम्रै समाजमा सासूआमालाई असाध्यै माया गर्ने बुहारीहरू पनि भेटिन्छन्, सासूलाई देखिनसहने पनि छन् । त्यस्तै, सासूले बुहारीलाई हेला गर्ने पनि छन् । परिवार मिलेको त राम्रो छ । जुन घरमा सासूबुहारी मिल्दैनन्, उनीहरूलाई चेतना आवश्यक छ । घरमा सासूबुहारी मिल्छन् भने घरै सुन्दर हुन्छ । मिल्दैनन् भने छोराहरूलाई पनि अप्ठेरो हुन्छ, श्रीमतीको कुरा सुन्ने कि आमाको भन्ने ? कतिपय छोरा श्रीमतीको कुरा सुनेर आमालाई हेला गर्ने पनि हुन्छन्, कतिपय आमाको कुरा सुनेर श्रीमतीलाई हेला गर्ने पनि होलान् । यो सबै चेतनाको अभाव हो ।

रातोपाटी अर्काइभबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिवंश आचार्य
हरिवंश आचार्य
लेखकबाट थप