बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आमाले मलाई गर्भैमा तुहाउन मान्नुभएन

शनिबार, २१ वैशाख २०७६, ११ : १८
शनिबार, २१ वैशाख २०७६

आमा आकाशभन्दा फराकिलो, पृथ्वीभन्दा ठूलो लाग्छ मलाई । सम्पूर्ण ब्रह्माण्ड नै कुनै मानिसमा अट्न सक्छ भने आमामै अट्न सक्छ । किनभने, एउटा सन्तानका लागि आमा बितेर गएपछिको रिक्तता संसारका कुनै कुराले पूरा गर्न सक्दैन । आमाको ठाउँ कसैले लिन सक्दैन । मैले त भोगिसकेको छु, महसुस गरिसकेको छु, अहिले मेरी आमा यो धर्तीमा हुनुहुन्न ।

साँचो अर्थमा प्रत्येक मानिसका लागि पहिलो गुरु नै आमा हुन् । आमा अत्यन्त श्रद्धेय शब्द हो । मैले जीवनमा सर्वाधिक श्रद्धा आमालाई गरेँ, अझै गरिरहेछु ।

सानोमा मैले बिराम गर्दा, बाहिर खेलेर अबेला फर्कंदा आमाले मलाई ढाडमा मुठीले पिट्नुहुन्थ्यो । बेलैमा घर फर्कनुपर्छ भन्नुहुन्थ्यो । हामी छोराहरु नफर्केसम्म खाना नखाई बस्नुहुन्थ्यो । उहाँले बिहान र साँझ सबेरै सन्तानलाई देख्न चाहनुहुन्थ्यो । आमाको त्यो पिटाइ मलाई कुनै सजायजस्तो लाग्दैनथ्यो, एउटा विशेष मायाजस्तै लाग्थ्यो । जब म ठूलो भएँ, फिल्म क्षेत्रमा लागेँ, कामले कहिलेकाहीँ ढिला घर फर्कन्थेँ, आमाले उसैगरी पर्खनुहुन्थ्यो । मेरो विवाह भयो, मेरा पनि छोराछोरी भए, तर आमाले मलाई खाना खान पर्खन छाड्नुभएन, यो क्रम उहाँ बाचुन्जेल नै रह्यो । आमाको यो विशेष मायाले मलाई सधैँ जितिरह्यो र म हारिरहेँ । जुन मायासँग हामी सधैँ हार्न पुग्छौँ, जुन मायाको मन्दिरछेउ हामी सधैँ झुक्न पुग्छौँ, त्योजस्तो पवित्र माया संसारमा अरु हुँदैन ।

मेरी आमा मेरा लागि सधैँ पवित्र माया हुनुहुन्छ, मन्दिर हुनुहुन्छ, गुरु हुनुहुन्छ, सबथोक हुनुहुन्छ । आज उहाँ यो धर्तीमा नभए पनि उहाँको माया साथमै छ ।

उहाँको निधनपछि आजको दिनसम्म पनि म उहाँलाई असाध्यै सम्झन्छु । मेरा लागि मेरी आमाले गुरुको भूमिमा पनि निर्वाह गर्नुभयो । साथीको भूमिका पनि निभाउनुभयो ।

हामी तीन भाइ हौँ, म सबैभन्दा कान्छो । मभन्दा अघिका दुई दिदीहरु जीवित रहनुभएन । त्यसैले मेरी आमाले मेरा लागि दिदीबहिनीको भूमिका पनि निभाउनुभयो । मेरी आमा मेरा लागि दिदीबहिनी पनि हुनुहुन्छ ।
मलाई तुहाउन मान्नुभएन

मभन्दा अघिका दुई छोरी गर्भैमा मरेका थिए रे । जब म आमाको गर्भमा थिएँ, यो गर्भलाई जन्म दिने कि नदिने भनेर मेरो परिवारमा दुविधा परेछ । घरका ज्येष्ठ सदस्यहरु यो निष्कर्षमा पुग्नुभएछ— यसअघिका दुई सन्तान राम्रो भएन, अबको सन्तान पनि राम्रो नहोला, अशुभ होला । त्यसैले अब सन्तान जन्माउनु उचित हुँदैन ।

त्यतिबेला अभोर्सनको विधि आइसकेको थियो वा अवैध र अवैज्ञानिक ढंगले गर्भ तुहाउने गरिन्थ्यो, मलाई थाहा भएन । जेहोस्, यसरी मलाई गर्भमै तुहाउनेसम्मको कुरा भएछ । गर्भ तुहाउनु भनेको एक किसिमको हत्या नै हो । यो कुरा मेरी आमाका लागि स्वीकार्य भएन । र, मैले यो संसार देख्न पाएँ ।

मलाई कलाकार बनाउन पनि मेरी आमाको ठूलो भूमिका छ । उहाँले रामायण–महाभारत पढ्न नदिएको भए, म अर्कै ढंगले खेल्थेँ हुँला र सिर्जनशील हुँदिनँथेँ हुँला । मेरो अवचेतन मनमा रामायण र महाभारतका पात्रको प्रभाव पर्दैनथ्यो होला ।

मलाई जन्म दिन पनि मेरी आमाले परिवारमा विद्रोह गर्नुपरेछ । भन्नुभएछ, ‘यो गर्भको बच्चा अरु दुई शिशुजस्तो मरेकै जन्मेछ भने पनि मलाई स्वीकार्य छ, यो गर्भलाई जन्म दिँदा मै मरेँ भने पनि मलाई स्वीकार्य छ । तर, यो गर्भ तुहाउने काममा मैले स्वीकृति दिन्नँ ।’

मेरी आमाको यस्तो अडानमा घरका ज्येष्ठ सदस्यहरु केही बोल्न सक्नुभएन छ । आमाको यो बलियो निर्णयले म यो संसारमा प्रवेश गर्न पाएँ । जब मैले सानोमा आमाकै मुखबाट गर्भैदेखि उहाँको ऋणी हुनुपर्ने कुरा सुनेँ, उहाँप्रति मेरो अगाध स्नेह भरिएर आयो, जो अझै उस्तै छ, झन्झन् ताजा र पवित्र बन्दै छ ।

मेरो जन्म ०१० सालको हो । आज ६२औँ वसन्त पार गर्दै छु, जीवनको गतिमा बगिरहेको छु, यो सुन्दर र उज्यालो जीवन जिइरहेको छु, पलपल आमाप्रति नतमस्तक रहेर । हरेक आमाले सन्तान जन्माउँछन्, यो सृष्टिको नियम नै भनौँ । तर, मेरी आमाले त मलाई जन्म दिने निर्णय लिनुपर्यो, यो कुराले मलाई जीवनमा धेरै नै सोचमग्न बनायो र आमाप्रति श्रद्धा बढाइरह्यो । त्यसैले मैले बैठक कक्ष आमाका तस्बिरले भरेको छु । ताकि मेरो मन थोरै समय पनि आमादेखि टाढा भइनजाओस् ।

पारिवारिक पृष्ठभूमि

मेरी आमाको नाम बोधकुमारी हो, माइती–पुख्र्यौली जाजरकोटका । मेरा पूर्वज कर्णाली सिंजा प्रदेशका राजखान्दान हुन्, पृथ्वीनारायण शाहसँग युद्ध लडेर हारेका हुन्, सरेन्डर गरेका होइनन् । हामी लडेर हार्छौं, तर आत्मसमर्पण गर्दैनौँ । कर्णाली सिंजा प्रदेश वा जुम्लाका भनौँ अन्तिम राजा सुभान शाहीलाई हराउन पृथ्वीनारायण शाहका छोरा बहादुर शाहलाई हम्मे परेको थियो । युद्ध हारेपछि सुभान शाही तिब्बतमा शरण लिए । हामी त्यहीँका सन्तान हौँ । तर, यस मानेमा हामीले आफूलाई राजखान्दानको भनेर कहिल्यै सोचेनौँ, अहिले यहाँले सोध्नुभएर मात्रै यो कुरा गर्दै छु ।

जुम्लाबाट हाम्रा पुर्खा रुकुम बसाइँ सर्यो । रुकुमबाट मेरो हजुरबुवा काठमाडौं आउनुभएको हो । मेरी आमा पनि काठमाडौंमै हुर्कनुभएको हो, खिचापोखरीमा ।

मेरो हजुरबा नेपाली सेनामा हुनुहुन्थ्यो, कर्णेलसम्म हुनुभयो । हजुरबाले काठमाडौं आएर जग्गा–जमिन जोड्नुभयो— ज्ञानेश्वर, कपन, बाँसबारीलगायत क्षेत्रमा ।

मेरा हजुरबाको चार छोरा भए । म जान्नेसुन्ने हुँदा मेरो बुवा बेग्लै बस्नुहुन्थ्यो, हजुरबा–हजुरआमालाई पनि मैले देख्न पाइनँ ।

पछि छोराहरुलाई अंशबन्डा गर्दा, हामीलाई पढाउँदा हाम्रो जग्गा–जमिन घट्दै गयो । कति अर्काले खाइदिए पनि, यतातिर नजाउँ, कसैको नाम लिनुपर्छ, लामो कुरा गर्नुपर्छ ।

हामी तीन दाजुभाइ हौँ– जेठादाजु खड्कविक्रम शाह, माइलादाजु ललितविक्रम शाह र म । जेठोदाजु प्राज्ञिक हुनुहुन्थ्यो, उहाँ अहिले यो धर्तीमा हुनुहुन्न, उहाँले यस धर्ती छाड्नुको कथा यो देशको इतिहास र मेरी आमासँग पनि जोडिएको छ, यसको चर्चा पछि गरौँ ।

मेरो माइला दाजु ललितविक्रम शाह लामो समय नेपाल सरकारको जागिर खानुभयो । उड्डयन प्राविधिकरणको महानिर्देशक हुनुभयो । त्यसपछि इकाउका निर्देशक हुनुभयो । अहिले रिटायर्ड जीवनमा हुनुहुन्छ । उहाँ मभन्दा १० वर्षजति जेठो हुनुहुन्छ ।

मेरो बुवाको अनौठो सोख थियो, घोडा रेसमा बाजी थाप्ने, एक किसिमको जुवा नै भनौँ । मेरो बुवाले कलकत्तामा पढ्नुभएको हो, प्रवीणता तहसम्म । कलकत्तामै हो, उहाँले घोडदौडमा बाजी थाप्ने ।

बुवा त घुमफिर गरिरहनुहुन्थ्यो । त्यसैले हामीलाई आमाले नै हुर्काउनुभयो भनौँ । म काठमाडौंको सानो गौचरन ज्ञानेश्वरमा जन्मेको हुँ । त्यतिबेला ज्ञानेश्वरको सानो गौचरन एउटा गाउँ थियो । हाम्रो जीविका कृषि नै थियो । मेरो बुवा साधारण कृषक हुनुहुन्थ्यो । कुनै जागिर थिएन । बढी घुमफिर गर्नुहुन्थ्यो । मेरा काकाहरु राजनीतिमा हुनुहुन्थ्यो । मेरा काका महेन्द्रविक्रम शाह नेपाली कांग्रेसको फाउन्डर मेम्बर हो ।

कलकत्तामा मातृका कोइराला र मेरा काकाको पार्टी मिलेर नेपाली कांग्रेसको जन्म भएको हो । उहाँ लामो समय राजनीतिमा सक्रिय रहनुभयो । मेरो पिताजी दाजुहरुलाई यदाकदा सघाउनुहुन्थ्यो ।
आमाले भएको जग्गामा खेती गर्नुहुन्थ्यो । बारी खन्नुहुन्थ्यो, खासगरी तरकारी लगाउनुहुन्थ्यो । उखु, फलफूल, धान पनि लगाउनुहुन्थ्यो । बाख्रा पाल्नुहुन्थ्यो ।

हाम्रो मुख्य उब्जाउ तरकारी हुन्थ्यो । तरकारी बिक्थ्यो, मानिसहरु किन्न आउँथे । होलसेलमै बिक्थ्यो, कतै बेच्न लैजानुपर्दैनथ्यो । मानिसहरु बारीमै आएर किनेर लैजान्थे ।

आमाले दिएको रामायण र महाभारत पढेपछि

मेरी आमा साधारण लेखपढ गर्न जान्ने हुनुहुन्थ्यो । धार्मिक, आध्यात्मिक कुरामा उहाँको विशेष रुचि । घरमा हार्मोनियम बजाउनुहुन्थ्यो, भजन गाउनुहुन्थ्यो । यसले पनि संगीतप्रति मेरो झुकाव आफैँ बढ्दै गयो ।
म दश वर्षको उमेरदेखि स्कुल पढेँ, एकैचोटि पाँच कक्षामा भर्ना भएर । मैले घरमै अक्षर चिन्न, शब्द फोर्न र सामान्य गणित सिकेको हुँ, आमाले नै सिकाउनुभएको । स्कुल गइसकेपछि भने आमाले घरमा एउटा मास्टर बोलाउनुभयो, मलाई पढाउन । उहाँको नाम प्रह्लादबहादुर भण्डारी हो । मेरो जीवनमा उहाँको पनि ठूलो देन छ, उहाँले एसएलसी पास नहुन्जेलसम्म मलाई पढाउनुभयो । उहाँ पेसागत रुपमै मास्टर हुनुहुन्थ्यो, सिफलको स्कुलमा पढाउनुहुन्थ्यो ।

योभन्दा अघि मलाई अक्षर चिनाएको आमाले नै हो । सिलोटमा बालुवा–धुलो राखेर औँलाले अक्षर कोर्न सिकाउनुभयो । स्तोत्रहरु सिकाउनुभयो— सरस्वरी वन्दना, गणेश स्तोत्र, दुर्गा कवच, सामान्य गणित ।
शब्द फोर्न जान्ने भइसकेपछि आमाले मलाई दुइटा पुस्तक दिनुभयो— रामायण र महाभारत । जसलाई मैले पटकपटक पढेँ ।

यी ग्रन्थमा मैले जीवनका यति धेरै उतारचढाव पाएँ, संवेदनशीलता पाएँ । जो अहिले म गहिरो गरी बुझ्न सक्छु । तर, त्यतिबेला ती शास्त्रका घटना अनौठा लाग्थे, तर मलाई कताकता छुन्थे । त्यतिबेला मैले यी शास्त्रमा सायद नाटकै–नाटक देख्थेँ, मानिसको जीवनसँग जोडिएका घटना पाउँथे, अहिले मलाई यस्तै अनुभव हुन्छ ।

आमाले बटुलिदिएका खेलौना

मेरी आमा बारीमा काम गर्न जाँदा मलाई लिएर जानुहुन्थ्यो । दाजुहरु र मेरो उमेर धेरै नै फरक भएकाले उहाँहरुसँगै पढ्न, खेल्न मलाई त्यति जुरेन ।

म कान्छो छोरा भएकाले मैले आमाको दुःख अलि बढी नजिकबाट नियाल्न पाएँ । आमाले खेतबारीमा काम गर्नुहुन्थ्यो । म नजिकै बसेर खेलिरहेको हुन्थेँ । बारीमा थुप्रै शिशाका बोतल भेटिन्थे । आमाले त्यस्ता बोतल बटुलिदिनुहुन्थ्यो, छोरो खेलोस् भनेर । म ती बोतललाई पात्र बनाउँथे र नाटक मञ्चन गरेर खेल्थेँ । ममा रामायण र महाभारतको प्रभाव थियो । त्यसैले ती बोतललाई राजारानी, राजकुमारी बनाउँथे । राम–सीता, लक्ष्मण, लव–कुश, कृष्ण बनाउँथे । बच्चा बेला न हो, मनमा जे आयो, त्यही पात्र बनाउँथे र आफैँ मुखले संवाद बोल्थेँ । चेसे खेले जस्तो एउटालाई यताबाट उता सार्ने, अनि आफैँ मुखले बोल्ने । अर्कोलाई सार्ने र अर्को पात्र बनेर बोल्ने ।

मेरो बालपनको अधिकांश समय आमाले काम गरिरहेको ठाउँमा यसरी नै खेलेर बित्यो ।

यो म सात–आठ वर्ष हुँदाको र स्कुल जानुभन्दा अगाडिको कुरा हो ।

जसरी म शिशीहरुलाई पात्र बनाएर नाटक खेल्थेँ, त्यो मेरो चेतन मनको उपज थिएन, त्यत्तिकै खेल्थेँ । आज लाग्छ, अवचेतन मनले मेरो भविष्य देखाइरहेको रहेछ र म त्यसरी सानैदेखि नाटक बनाएर खेलेको रहेछु ।

गज्जबको संयोग भनौँ, यही नै पछि मेरो जीवन भइदियो, जीवनको लक्ष्य भइदियो । त्यसैले मलाई कलाकार बनाउन पनि मेरी आमाको ठूलो भूमिका छ । उहाँले रामायण–महाभारत पढ्न नदिएको भए, म अर्कै ढंगले खेल्थेँ हुँला र सिर्जनशील हुँदिनँथेँ हुँला । मेरो अवचेतन मनमा रामायण र महाभारतका पात्रको प्रभाव पर्दैनथ्यो होला ।

मलाईभन्दा पहिले मेरी आमालाई थाहा थियो कि म कलाकारिता क्षेत्रमा लाग्दै छु । उहाँले म सानै हुँदा कहिलेकाहीँ भन्नु पनि हुन्थ्यो, यो छोरो कलाकार बन्छ कि जस्तो गर्दै छ ।

कलाकार भनेको के हो भन्ने मेरी आमालाई राम्ररी थाहा थियो । उहाँले हिन्दी सिनेमा हेर्नुहुन्थ्यो, दिलीप कुमारको अभिनय मन पराउनुहुन्थ्यो । आमाले भन्नुहुन्थ्यो कि कलाकार बन्न पनि केही न केही ईश्वरीय वरदान चाहिन्छ ।
उहाँलाई सिनेमाबारे कुनै भ्रम थिएन । यो मानिसहरुले गर्ने काम हो, अभिनय हो, नाटक हो, सबै नक्कली कुरा हुन् भन्ने उहाँलाई राम्ररी थाहा थियो ।

सात–आठ वर्षमै पाँच पैसामा नाटक देखायौँ

सात–आठ वर्षको हुँदाको कुरा, म स्कुल भर्ना भइसकेको थिइनँ । त्यतिबेला मैले चौरमा टोलका केटाहरुलाई बटुलेर नाटक मञ्चन गरेर खेल्न थालेँ । कसैलाई सिपाही बनाउँथे, कसैलाई राजा, कसैलाई चोर । मैले सिकाएको भूमिकाअनुसार नै साथीहरुले गर्थे । यसरी खेल्न रमाइलो पनि हुन्थ्यो ।

अझ रमाइलो कुरा त हामीले पाँच पैसा उठाएर नाटक देखाउन थाल्यौँ । टोलका केटाकेटी हाम्रो नाटक हेर्न आउँथे । कहिलेकाहीँ केटाकेटीका अभिभावक पनि आउँथे । चौरमा केटाकेटी खेलेको नाटक न हो, खासै कथावस्तु त हुँदैनथ्यो । तर, मैले रामायण, महाभारतमा पढेका कुरालाई आफ्नै ढंगले मनलागी नाटक बनाउँथे ।

यसरी नजाँनिदो ढंगबाटै सानैदेखि म अभिनयमा लागिसकेको थिएँ । यसो हुनुमा पनि मेरी आमाकै भूमिका छ ।

मेरा दाजुहरु आफ्नो जमानाका निपुण खेलाडी हुनुहुन्थ्यो । उहाँहरु फुटबल, क्रिकेट, हकी खेल्नुहुन्थ्यो । आमाले दाजुहरुलाई सहयोग गर्नुहुन्थ्यो, कुनै रोकटोक गर्नुहुँदैनथ्यो । मेरो कलामा झुकाव थियो, आमाले मलाई पनि सहयोग गर्नुभयो, कहिल्यै यसो नगर भन्नुभएन ।

पछि म नेपाल टेलिभिजनको महाप्रबन्धक भएँ । त्यतिबेला टिभीमा आउने धार्मिक कार्यक्रम, सामाजिक कार्यक्रम गर्न मलाई सुझाव दिनुहुन्थ्यो ।
उहाँले आफ्नो उमेरका खासगरी ६० काटेका वृद्धवृद्धालाई हुने खालका कार्यक्रम गर्न सुझाव दिनुहुन्थ्यो । शास्त्रका देवताबारेको सिनेमा हेरेर आफूले पढेअनुसार, बुझेअनुसारको छ वा छैन भनेर जाँच्नुहुन्थ्यो ।

तैँले खेलेको सिनेमामा तँ नभए हुन्थ्यो

अहिलेसम्म मैले आठवटा फिल्म निर्देशक गरेको छु । झन्डै तीन सय जति फिल्ममा अभिनय गरेको छु ।

मैले पहिलोपटक अभिनय गरेको फिल्म परिवर्तन हो । परिवर्तन मेरी आमाले पनि हेर्नुभयो । फिल्म हेरिसकेपछि भन्नुभएको थियो, ‘तैँले खेलेको सिनेमामा तेरो भूमिका भए पनि हुने, नभए पनि हुने खालको छ । यसरी तँ कलाकारमा दर्ज हुन सक्दैनस् ।’

पहिलो फिल्म परिवर्तनमा खेल्दा मैले सात सय रुपैयाँ पारिश्रमिक पाएको थिएँ । पूरै आमालाई दिएँ । उहाँ निकै खुसी हुनुभएको थियो । ‘यो बहुत महत्त्वपूर्ण कमाइ हो छोरा’ भनेको पनि मलाई याद छ । आमाले त्यो पैसा खर्च नगरी मेरै लागि राखिदिनुभयो ।

मेरी आमाले मैले खेलेका र पछि निर्देशन गरेका सिनेमा हेरेर मलाई सुझाव दिनुहुन्थ्यो ।

उहाँले पछि मैले सुधार्दै मेहनत गर्दै आएको महसुस गर्नुभएको थियो । कतिमा राम्रो गरिस् भन्नुभयो ।

मेरी आमाले नेपाली धेरै कलाकारलाई चिन्नुहुन्थ्यो र थुप्रै नेपाली कलाकारले मेरी आमालाई पनि चिन्नुहुन्थ्यो, चिन्नुहुुन्छ । उहाँले धेरै कलाकारलाई माया गर्नुहुन्थ्यो । कति कलाकार मेरी आमालाई भेट्न आउनुहुन्थ्यो ।

१२ वर्षमै नाटक निर्देशन गरेँ

जब म १० वर्षको उमेरमा कक्षा ५ मा भर्ना भएँ, त्यसपछि त मलाई नाटकबारे ज्ञान हुन थाल्यो । स्कुलमा नाटकबारे चर्चा हुन्थ्यो । स्कुलमा कलाप्रति झुकाव भएका थुप्रै विद्यार्थी थिए । म पनि उनीहरुको संगतमा पुगिहालेँ ।

स्कुलमा भीमवरसिंह थापा, रुद्रराज पाण्डे मेरा गुरु हुनुहुन्थ्यो । उहाँहरुले मलाई नाटकमा खेलाउन थाल्नुभयो । वर्षमा एकपटक स्कुलमा नाटक पनि देखाइन्थ्यो ।
०२२ सालमा त मैले निर्देशक गरेको, मेरो साथी दीपक उपाध्यायले लेखेको ‘गरिबको आँसु’ नाटकले उपत्यकाव्यापी पुरस्कार नै जित्यो । यो नाटक राष्ट्रिय नाचघरमा मञ्चन भएको थियो । पछि मैले यो नाटक दार्जिलिङमा पनि देखाएँ ।

मैले निर्देशन गरेको नाटकले पुरस्कार पाएको खबरले आमा निकै खुसी हुनुभएको थियो । मैले आफ्ना हरेक जित र हारबारे पहिले आमालाई सुनाउँथे । आमाले जितमा स्याबासी र हारमा सान्त्वना दिनुहुन्थ्यो ।
स्कुलमा सानासाना दुःखद घटना होस् या सुखद, दुवै आमालाई सुनाउँथे । आमाबाट पाएको स्याबासी र सान्त्वनाले मलाई अर्कैै ऊर्जा मिल्थ्यो ।

दुःखद घटना नदोहोरियोस् भन्नका लागि आमाले मलाई केही कुरा सम्झाउनुहुन्थ्यो । दुःखद घटना आमालाई सुनाएपछि मेरो मन हलुंगो हुन्थ्यो । सुखद घटना दोहोरियोस् भनेर पनि सम्झाई–बुझाइ गर्नुहुन्थ्यो ।
मेरी आमा साना दुःखमा आत्तिइहाल्ने वा सानो सुखमा मात्तिने स्वभावकी हुनुहुन्नथ्यो । जहिले पनि मैले उहाँलाई स्थिर स्वभावकी पाउँथे, भरलाग्दी पाउँथे । मलाई संसारमा सबैभन्दा बढी विश्वास मेरी आमामाथि नै थियो ।


नयाँ लुगामा आमाको चोलो लगाएँ

हामी तीन छोरालाई पढाउन, हुर्काउन आमाले निकै दुःख गर्नुभएको मैले नजिकबाट नियालेको छु । आफ्नो हातको सुनका चुरा बेच्नुभयो । तरकारी उत्पादन गरेर त बेच्नुभयो नै ।
मैले त लुगा नभएर आमाको चोली पनि लगाएको छु । सात–आठ वर्षकै हुँदाको कुरा हो, एकपटक मैले आमालाई भनेँ, ‘आमा, मलाई नयाँ लुगा चाहियो ।’

मेरा सबै लुगा पुराना भइसकेका थिए । मलाई नयाँ लुगा लगाउने चाहना भएर आमालाई भनेँ । आमाले मलाई आफ्नो नयाँ चोलो दिनुभयो । ‘घरमा भएको नयाँ लुगा यही हो, यही लगा’ भन्नुभयो र मलाई लगाइदिनु पनि भयो । म पनि खुसी हुँदै लगाएँ । नैनसुतको चोलो थियो, नीलो रंगको, तुना बाँध्ने ।

त्यति बेला दौरा–भोटोको जमाना थियो । आमाको चोलो पनि दौरा–भोटोजस्तै त हो । मैले लगाएर खेल्न गएँ । धेरै दिन त्यो चोलो लगाएँ । छोराको नयाँ लुगा लगाउने चाहना पूरा होस् भनेर आमाले त्यसो गरेको हुनुपर्छ । त्यो सानो उमेरमा नयाँ लुगा लगाउने मेरो चाहनालाई आमाले जसरी पूरा गरिदिनुभयो, अहिले सम्झँदा लाग्छ, त्यो अद्भुत थियो । उहाँले छैन बाबु, पछि किनिदिउँला पनि भन्न सक्नुहुन्थ्यो । त्यसो भन्दा म दुःखी हुन्थे होला । उहाँले मलाई दुःखी बनाउन चाहनुभएन र आफ्नो चोलो दिनुभयो ।

कतै चोलो लगाएकी बुढीआमा देखेँ भने मैले त्यही बालपन सम्झन्छु र आमाप्रतिको मेरो श्रद्धा अरु बढी बढेर आउँछ ।
मेरी आमाले मलाई मनमा लाग्ने गरी सिकाएको एउटै कुरा छ, आफूले आफैँलाई कहिल्यै नढाँट्नु । उहाँले बारम्बार भन्नुहुन्थ्यो कि मान्छेले आफूलाई ढाँट्नुहुँदैन, अरुलाई ढाँट्न सकिएला तर आफैँलाई ढाँट्न त सकिँदैन । त्यसैले आफैँलाई ढाँट्ने काम गर्नुहुँदैन । आमाले विभिन्न प्रसंगमा यो भनिरहनुहुन्थ्यो । यो उहाँ बाँच्दासम्म नै भनिरहनुभयो । सानैदेखि सुनेकाले पनि मलाई यो कुरा अलि बढी नै मनमा लाग्यो ।

जेठो छोरा गुमाएको खबर सुनेको…
उहाँको शनिबार देहान्त भयो, मैले उहाँलाई बुधबारको दिन भेटेको थिएँ । बुवा खसेको आठ वर्षपछि आमा खस्नुभएको हो ।

मेरा जेठादाजु खड्गविक्रम शाह प्राज्ञिक व्यक्ति हुनुहुनुहुन्थ्यो । उहाँ ०५८ जेठ १९ मा राजदरबार हत्याकाण्डमा पर्नुभयो । दरबार हत्याकाण्डको मेरो परिवारसँग गहिरो सम्बन्ध छ । जुन घटनाले मदेखि पहिले मेरा दाजू–भाउज्यूलाई, त्यसपछि आमालाई खोस्यो ।

मेरा जेठादाजुको राजा वीरेन्द्रकी दिदी शारदा शाहसँग विवाह भएको थियो । दरबार हत्याकाण्डमा मेरा दाजु–भाउज्यू पनि पर्नुभयो । यो समाचार मेरी आमालाई कसैले सुनाइदियो, जेठ २० गते । यो समाचार सुन्दाबित्तिकै मेरी आमाले प्राण त्याग गर्नुभयो, समाचार सुनेपछि ३० सेकेन्ड पनि रहनुभएन ।

-रातोपाटी अर्काइभबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नीर शाह
नीर शाह
लेखकबाट थप