केन्द्रीय संस्करण

मेरी आमा सपनामा पनि मलाई बचाउन आउँछिन् : करिश्मा मानन्धर

person explore access_timeबैशाख २१, २०७६ chat_bubble_outline1

एउटा कुरा अचम्म लाग्छ– आफ्नो शरीरलाई अपर्झट कुनै चोट लाग्छ, तब आमालाई नै सम्झनुपर्छ । शरीरमा सानो चोट लाग्दा पनि मैले ‘ममी’ भनेर आवाज निकाल्छु । श्रीमान्, छोराछोरी, भगवान अरु केही सम्झना हुँदैन, आमा नै मुखमा आउँछ ।

आमामा शक्ति हुन्छ जस्तो लाग्छ । सानोमा एकपटक म अञ्जलीदिज्यूसँग सुतिरहेकी थिएँ । तन्द्रा अवस्थामा केही दृश्य देखेँ । कालो चुच्चो भएको ठूलो काग हो कि चिल हो जस्तो पक्षी आयो, थुप्रै टाउका भएको । अनि, त्यसले मलाई चिलले कुखुरा टिपेजस्तै गरी टिप्नै लागेको थियो । त्यहीबेला आमाको आवाज सुनेँ– करिश्मा उठ्–उठ् भनेको । उठेँ । ब्युझँदा त पल्लो कोठामा आगो लागेको रहेछ । धुवैंधुवाँ थियो, हामी खोकिरहेका थियौँ । हामी सास फेर्न नसक्ने अवस्थामा पुगिसकेका रहेछौँ । बाहिर निस्केर बाँच्यौँ । त्यतिबेला त्यो कालो पक्षी पनि आएको होइन, आमा त्यहाँ भएर बोलाएको पनि होइन । तर, आपत आएको रहेछ । त्यस्तोबेला मलाई बचाउन आमाकै छाया आउनुपर्यो । संसारमा कुनै पवित्र चिज छ भने त्यो आमाको माया नै हो । छोराछोरीले आमालाई गर्ने माया कति पवित्र होला, म त्यो भन्न सक्दिनँ । तर, आमाले सन्तानलाई गर्ने माया संसारका अन्य चिजजस्तो कमसल हुँदैन ।

मलाई लाग्छ, आमाभित्र ठूलो शक्ति हुन्छ, जुन शक्तिले आफ्ना सन्तानलाई प्रत्यक्ष–अप्रत्यक्ष सुरक्षा दिइरहेको हुन्छ । २९ वैशाखको भुइँचालोको दिन हामी घरमै थियौँ । मेरी छोरी कबु (कविता)ले माथिको बाथरुममा नुहाउन जान्छु भनी । मैले अनायसै भनेँ, ‘भुइँचालो आउन सक्छ है, ख्याल गर, छिटो गर ।’ त्यसपछि कोही पाहुना आयो र म तल गेटसम्म लिन झरेँ । नभन्दै भुइँचालो आयो । म कुदेर कबुलाई लिन गएँ । मैले पहिले नै भुइँचालो आउन सक्छ है भनेकी थिएँ, मलाई थाहा भएर भनेको त होइन नि ! मलाई लाग्छ, सन्तान र आमालाई कुनै खास अलौकिक शक्तिले जोडेको हुन्छ । कबु अमेरिका भएका बेला मैले फोन गरेर भन्थेँ, आफ्नो स्वास्थ्यको ख्याल गर । अनि, उसैले सोध्थी, ‘तपाईंलाई कसरी थाहा हुन्छ, म बिरामी भएकै बेला फोन गरेर हेल्थको किअर गर भन्नुहुन्छ त ?’

कबु निकै जनावर प्रेमी छ । ऊ यहाँ आउँदा घरभरि कुकुर–बिरालो थुपार्छे । कबुले एउटा भुस्याहा कुकुर ल्याएकी थिई, नाम मिली राखेकी थिई । तीन चार वर्षअघिको कुरा हो । मिलीका तीनवटा छाउरा भए । छाउरा बाहिर सडकतिर खेल्थे । मिली धेरैजसो बाहिर जान्थी । एक दिन सडकमा खेलिरहेको उसको एउटा छाउरोलाई गाडीले किचेर मार्यो । पछि मरेको छाउरानेर मिली आएर अनौठो रोएकोजस्तो आवाज निकाली, धेरैबेरसम्म । उसका अरु दुई छाउरा पनि आमाको अनौठो व्यवहारलाई हेरिरहेका थिए । मैले त्यो मरेको छाउरालाई फाल्न लगाएँ । मिलीलाई पनि गेटभित्र ल्याएर खान दिएँ । त्यस रात मिली चारै बजे मेरो कोठाको ढोकामा आएर आवाज दिइरही, खुट्टाले ढोका ढकढक्याइरही । अनि, मैले ढोका खोलेँ । मिली मेरो खुट्टामा लुटपुटिएर रोएजस्तो आवाज निकाली । मिलीले तीन–चार दिनसम्म यस्तै गरी । मलाई अचम्म लाग्यो, के गरेको होला ! मरेको छाउरा ल्याइदे भनेको होला कि, के भनेको होला ! फेरि किन छाउरो मरेकै दिनदेखि यस्तो गर्नु परेको, अरु बेला नगरेर । सायद उसले आफ्नो बच्चालाई नै सम्झेको होला । साँच्चिकै आमाको माया पाइनसक्नुको हुन्छ ।

सानोमा म आमासँग त्यति धेरै सँगै बस्न त पाइनँ । मावली हजुरआमाले मलाई हुर्काउनुभएको हो । सानोमा आमासँग कहिलेकाहीँ भेट हुन्थ्यो । त्यसैले पनि होला, म ठूली भएपछि हामी आमाछोरी साथीजस्तै हुन पुग्यौँ ।

मेरो बुवा आर्मी हुनुहुन्थ्यो, इलामको गणपति । म दुई वर्षकी हुँदा बुवा खस्नुभएको हो रे । बुवाले दुइटी बिहे गर्नुभएको हो । मेरी आमा कान्छी हुनुहुन्छ । म ललितपुरको झरासीमा जन्मेकी हुँ । मेरी आमातिर म र एउटी बहिनी मात्र हौँ । म जेठी हुँ ।

ठूली आमातिर दुई भाइ छोरा र एउटी छोरी भए । छोरी बितिसक्नुभयो । दुई छोरामध्ये पनि एउटा दाइ खसिसक्नुभयो, अहिले लालादाइ हुनुहुन्छ । उहाँको छोरा हिमाल केसी अहिले फाइट मास्टर छ । ऊ बानेश्वरको घरमा बस्छ । हाम्रो सम्बन्ध सौहार्द नै छ । सानोबुवा (बुवाको भाइ) को परिवारसँग पनि अहिले हाम्रो राम्रो सम्बन्ध छ ।

बुवा खसेपछि हामी मावलीतिर नजिक भयौँ । आमालाई दुइटी छोरी हेर्न गाह्रो हुन्छ भनेर सानैमा मलाई मावली हजुरआमाले सिन्धुपाल्चोक लैजानुभएको हो रे । हजुरआमासँग कहिले, कसरी गएँ भन्ने मलाई याद छैन । तर, हजुरआमासँग बिताएका पल अझै ताजै छन् ।

उतिबेला राणा र थापा खान्दानलाई अलि बढी मानिन्थ्यो । मेरो मावली सिन्धुपाल्चोकको थापा खान्दान हो । मेरी मावली हजुरआमा धार्मिक कुरामा रुचि राख्नुहुन्थ्यो । बिहान चारै बजे उठ्ने, आकाशको तारा हेर्दैै उठ्नुपर्छ भन्नुहुन्थ्यो । प्रायः बिहानमा उहाँले मलाई धर्मशास्त्रका कुरा र अनेक पौराणिक कथा सुनाउनुहुन्थ्यो । वास्तवमा मलाई हजुरआमाले नै हो, संस्कार सिकाएको । हजुरआमा मेरो अवचेतन मनमा गढेर बस्नुभएको छ ।

म मामाकहाँ बस्दा मेरी आमा बानेश्वरको घरमा बस्नुभयो । हाम्रो झरासी र बानेश्वरमा घर थियो । मेरी आमा कहिलेकाहीँ मलाई भेट्न सिन्धुपाल्चोक आउनुहुन्थ्यो । त्यतिबेला म आमालाई पछ्याउँथे रे । पछि–पछि हजुरआमासँगै बढी नजिकिएँ । उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो । उहाँका हर गतिविधिमा मप्रतिको माया हुन्थ्यो ।
मामाकहाँ ७–८ वर्षको उमेरसम्म बसेँ । त्यसपछि काठमाडौं आएँ ।

मावली हजुरआमा साथी फिल्मको सुटिङताका खस्नुभयो । हजुरआमाले पनि मलाई फिल्म, टेलिभिजनमा हेर्नुभयो । भेट हुँदा भन्नुहुन्थ्यो, ‘त्यो भुवन केसी अलि उत्ताउलो देखिन्छ, उसको नजिक नजाऊ है ।’
मैले त्यो फिल्म हो हजुरमुमा भनेर सम्झाउँथे । हजुरआमा रमाइली हुनुहुन्थ्यो । पछि म भेट्न जाँदा बियर लगिदिनुपथ्र्यो । उहाँले चुरोट पनि खानुहुन्थ्यो । मैले राम्रो ब्रान्डको चुरोट लगिदिँदा खुसी हुनुहुन्थ्यो । खासगरी उहाँलाई रमाइलो गर्नुपथ्र्यो ।

मेरी आमा अहिले ६२ लाग्नुभयो । हट्टाकट्टा नै हुनुहुन्छ । उहाँको स्वभावन रुने–कराउने खालको होइन । बुवा खस्दा आमा त्यस्तै २२–२३ को हुनुहुन्थ्यो, म दुई वर्षकी थिएँ भने मेरी बहिनी कोपिला त्यस्तै महिना दिनकी थिई । बुवाको निधनपछि आमालाई दुई चुनौती थियो, हामीलाई हुर्काउने र आफूलाई सम्हाल्ने ।


मेरो बुवा र आमाको उमेर त्यस्तै २५–३० वर्षकै फरक थियो । हुन त मागी विवाह नै हो रे । उतिबेला एउटी श्रीमतीमाथि पनि मागी विवाह गर्न सकिन्थ्यो रे ।

जीवन भोगेरै होला मानिसले सिक्ने । मैले कहिलेकाहीँ मेरी आमाबारे सोच्छु । लाग्छ, मेरी आमाले दुःखलाई टेकेर उठ्नुभयो, २२–२४ को रहरलाग्दो उमेरमा सिन्दुर खोसिनु सानो चोट होइन । म महसुस गर्न सक्छु, यस्तो चोटले जो–कोही नारीलाई नराम्रोसँग ढलाउँछ, गलाउँछ । सुरु–सुरुमा आमाले कस्तो महसुस गर्नुभयो, मलाई थाहा भएन । आमाको पीडा बुझ्ने मेरो उमेर पनि थिएन । तर, बुझ्ने भएदेखि नै मैले आमालाई आत्मविश्वासी देखेकी हुँ । सानो उमेरमै ठूलो दुःखलाई व्यहोरेर पनि होला, मेरी आमालाई सानातिना दुःखले छुँदैनन्, उहाँ सधैँ शक्तिशाली देखिनुहुन्छ ।

मेरी आमाको नाम कोमल हो । तर, बुवाले ‘बुल्टु’ भनेर बोलाउनुहुन्थ्यो रे । आमाले बेलाबेला बुवालाई सम्झनुहुन्छ । भन्नुहुन्छ, ‘तेरो बुवा खसेपछि म काज–किरियामा थिएँ । केही सोच्न–सम्झन सकेकी थिइनँ । त्यतिबेला तेरो बुवा आएर भनेजस्तो लाग्थ्यो– बुल्टु, चिन्ता नगर, दुई छोरी छन्, यिनलाई हुर्काऊ, सबै राम्रो हुन्छ ।’ यो कुरा बुवाअगाडि आएर भनेको हुँदै होइन, आमा आफैँले मनमा जगाएको विश्वास थियो ।
बुवा खसेपछि मेरी आमालाई केही समस्या पनि आए । बुवाको पेन्सन र सम्पत्ति दुई आमाबीच भागबन्डा गर्नुपर्ने हुन्थ्यो । जग्गाका लागि आमाले मुद्दा पनि लड्नुपर्यो । म सानै हुँदाको कुरा भएकाले यसबारे मलाई त्यति थाहा छैन ।

मेरी आमालाई बनावटी कुरा गर्न आउँदैन । मनमा लागेको बोल्नुपर्छ । भावनामा बहकिने खालको, साना–साना कुरामा आँसु खसाउने खालको हुनुहुन्न । बलियो आत्मविश्वासकी हुनुहुन्छ ।
अहिले आमा र हामी ललितपुरमा नजिकै छौँ । आमा घरमा एक्लै बस्न मन पराउनुहुन्छ । हामीसँगै बस्नु भन्दा पनि मान्नुहुन्न । मेरोमा कहिलेकाहीँ आउनुहुन्छ । हाम्रो उठ्ने, सुत्ने, खाने समय भद्रगोल देखेर भन्नुहुन्छ, ‘भाइ, तिमीहरु के भाको, यो उमेरमा पनि उठ्ने, सुत्ने, नुहाउने कुनै समय छैन !’ आमाले बोल्ने क्रममा मलाई ‘भाइ’ भन्नुहुन्छ ।
बुवाको पेन्सन आउँछ, आमालाई गुजाराको समस्या भएन । उहाँ पनि बिस्तारै मेरी मावली हजुरआमाजस्तै धार्मिक बन्दै जानुभयो । अहिले उहाँको नुहाउने, धुने, पूजा गर्ने, खाने, सुत्ने आफ्नै तालिका छ । सधैँ व्यस्त छु भन्नुहुन्छ ।
मेरी आमाले हरेक दुःख, समस्यालाई सामना गर्न मन पराउनुहुन्छ । कहिल्यै कुनै कुरामा गुनासो गर्नुहुन्न । उहाँको मुहारमा सानातिना दुःखका रेखा देखिँदैनन् । मेरी आमा साँच्चिकै पहाडजस्ती अटल देखिनुहुन्छ । अचेल भेट्दा सधैँ उहाँको मुहारमा म यस्तो देख्छु, एउटा हुन्छ नि, सानातिना दुःखले नछुने भाव ।

अचेल म आफू खुसी रहेका बेला मात्रै आमालाई भेट्छु । दुःख, अप्ठेरोमा परेका बेला भेट्दिनँ । मलाई सानातिना दुःख, समस्या आमालाई देखाउन मन लाग्दैन ।

मावलीगाउँबाट फर्केपछि म बानेश्वरको घरमा बसेँ, आमासँग । जतिबेला म त्यस्तै आठ–दश वर्षकी हुँदी हुँ । बानेश्वर बस्दा म अञ्जलीदिज्यू (अञ्जली श्रेष्ठ) सँग निकट भएँ । उहाँ हाम्रो छिमेकी हुनुहुन्थ्यो । अञ्जलीदिज्यू मेरो जीवनमा किन–किन, कसरी–कसरी आउनुभयो र आमाजत्तिकै विश्वासिली बन्नुभयो ।

अञ्जुलीदिज्यू सुब्बा हो । बिहे गरेर श्रेष्ठ हुनुभयो । उहाँ खान्दानी परिवारको हुनुहुन्थ्यो । उतिबेला उहाँको राजपरिवारका सदस्यसँग पनि चिनजान थियो । उहाँले मलाई माया गर्नुहुन्थ्यो, घरमा बोलाउनुहुन्थ्यो ।
अञ्जलीदिज्यूलाई म गडमदर मान्छु । उहाँले नै हो, फिल्म क्षेत्रमा ल्याएको । एकजना प्रकाश अधिकारी भन्ने हाम्रो छिमेकी दाइ हुनुहुन्थ्यो । हामीले सँगै फोटो सुट गरेका थियौँ । उतिबेला अहिलेजस्तो स्टुडियोमै गएर फोटो सुट गर्ने जमाना थिएन । हामीले सामान्य फोटो खिचेका थियौँ, उतिबेलाको हिरो–हिरोइन पोजमा । प्रकाश दाइलाई हिरो बन्ने रहर थियो । उहाँले फोटोहरु फिल्म डाइरेक्टर प्रकाश थापालाई देखाउनुभएछ । प्रकाश थापाले मेरोबारे सोध्नुभएछ । भन्नुभएछ, ‘यो केटी राम्री छे । तर सानी भई, न तरुनी न त बालिका नै । हिरोइन बन्ने बेला भइसकेको छैन ।’ त्यतिबेला म १४–१५ की थिएँ ।

प्रकाश अधिकारी दाइले मलाई हिरोइन बनाउन भनेर मेरो फोटो लैजानुभएको त होइन । भनौँ न, संयोगले त्यो फोटो एल्बममा मेरो पनि फोटो परेको थियो । तर, म डाइरेक्टर प्रकाश थापाको आँखामा परेँ । प्रकाश अधिकारी दाइले भन्नुभयो, ‘करिश्मा, तिमीलाई डाइरेक्टरले भेट्न मन गर्नुभएको छ ।’

अञ्जलीदिज्यू र मैले सल्लाह गर्यौँ, डाइरेक्टर प्रकाश थापालाई भेट्न जानेबारे । दिज्यूले भन्नुभयो, ‘नेपाली फिल्ममा हिरोइन हुने कुरा राम्रै कुरा हो । जाउँ एकचोटि भेट्यौँ न । प्रकाश थापा ठूलो डाइरेक्टर हुन् भन्ने पनि सुनेकी छु ।’

अनि अञ्जलीदिज्यू र म प्रकाश थापालाई भेट्न गयौँ । उहाँले एउटा ‘रोल’ छ भन्नुभयो । फर्कंदा अञ्जलीदिज्यू र मबीच कुरा भयो, ‘यो रोल त नगर्ने, हिरोइन हुन भनेर पो आको ।’ हामीलाई ‘रोल गर्ने’ भनेको अनौठो लाग्यो । पछि फेरि प्रकाश थापाले बोलाउनुभयो । स्क्रिन टेस्ट दिने भन्ने कुरा भयो । प्रकाश अधिकारी दाइ, मैले स्क्रिन टेस्ट दियौँ । मलाई लिइयो तर प्रकाश अधिकारी दाइ पर्नु भएन । उहाँको हिरो हुने सपना पूरा भएन । तर, उहाँसँग फोटो सुट गरेका कारण म फिल्म क्षेत्रमा पुगेँ । सन्तान फिल्ममा सहायक हिरोइनको नेगेटिभ रोल गर्नुपर्ने रहेछ । मलाई अभिनय के हो भन्ने नै थाहा थिएन । अञ्जलीदिज्यूले कोसिस गर, सकिन्छ भन्नुभयो । डाइरेक्टर प्रकाश थापाले पनि निकै सम्झाइबुझाइ काम गराउनुभयो । प्रकाश थापाले यसो भन, यसो गर, आँखा ठूलो पार, रिसाउ, खुसी भएजस्तो गर भनेर सिकाउनुहुन्थ्यो । मैले त्यसै गर्थें । सन्तान फिल्म हेर्ने पनि पाइनँ । अझैसम्म हेरेकी छैन । तर, फिल्म राम्रो बनेको छ भन्ने सुनेकी थिएँ ।

त्यसपछि शम्भु प्रधानको मायालु फिल्म गरेँ, मेन हिरोइन भएर । मायालुमा काम गर्दा गाह्रो भएको थियो । किनभने, म केही बुझ्ने भइसकेकी थिएँ । कथावस्तु बुझेर अभिनय गर्न गाह्रो भयो । अभिनय नजानेरै फिल्म खेल्न गाह्रो भयो । त्यसपछि अञ्जलीदिज्यूले बम्बई गएर अभिनय सिक्नुपर्छ भन्नुभयो, उतिबेला नेपालमा एक्टिङ क्लास थिएन । बम्बईमा जान पैसा चाहिन्थ्यो । राजपरिवारसँग पनि चिनजान भएकाले अञ्जलीदिज्यूले सरकारसँग कुरा गर्छु भन्नुभयो । उतिबेला राजपरिवार सदस्यलाई ‘सरकार’ भनेर सम्बोधन गरिन्थ्यो । उहाँले प्रेक्षा सरकारसँग बिन्ती चढाउनुभयो । प्रक्षा सरकारले मलाई हेरेर भन्नुभयो, ‘राम्री रहिछौ, जाऊ ।’

प्रेक्षा सरकारले हामीलाई आर्थिक सहयोग गर्नुभयो । त्यसपछि म र अञ्जलीदिज्यू बम्बई गयौँ । मैले एक्टिङ, डान्सको क्लास जोइन गरेँ । क्लास जोइन गरेको दुई–चार महिनामै मलाई हिन्दी फिल्म दंगाफसादमा अफर आयो, त्यो फिल्म गरेँ । यो सन् १९९० को कुरा हो । दंगाफसाद भारतको ठूलो ब्यानरको फिल्म थिएन । सुनील अग्निहोत्री डाइरेक्टर थिए ।

हामी बम्बईमा पेइङ गेस्टमा बस्थ्यौँ, एकजना नेपालीको घरमा । बलिउड हिरो गोविन्दाले नेपालबाट बिहे गर्नुभएको छ, उहाँको श्रीमतीतिरका आफन्तहरु बम्बईमा बस्नुहुन्थ्यो । हामी उहाँहरुकैमा बसेका हौँ । त्यतिबेला अञ्जुलीदिज्यूको अफेयर चलेको थियो, अहिलेको भिनाज्यूसँग । बिहे गरेर अमेरिका जाने कुरा थियो । उहाँले भन्नुभयो, ‘तिमी बम्बईमै एक्लै बस्न सक्छौ भने म फर्कन्छु ।’ मैले सक्छु त भनेँ । तर दुई महिनामै उहाँको न्यास्रो लागेर बोलाएँ । उहाँ फेरि मलाई लिन बम्बई आउनुभयो । त्यसपछि काठमाडौंमै फिल्महरु अलि बढी बन्न थाल्यो । अनि म काठमाडौं फर्कें ।
मेरो बिहे गरिदिएको पनि अञ्जलीदिज्यूले नै हो । उहाँले विनोद मानन्धरसँग कुरा चलाउनुभयो र हाम्रो बिहे भयो ।

अञ्जलीदिज्यू मेरा लागि बम्बई जानुभयो । मसँगै बस्नुभयो । कहिलेकाहीँ लाग्छ, उहाँले मेरा लागि यति धेरै किन गर्नुभयो ? उहाँको मप्रतिको माया, विश्वास, साथ यो सम्झेर म हैरान हुन्छु । वास्तवमा अञ्जुलीदिज्यू र मेरो सम्बन्ध सिनेमाको कथाजस्तो लाग्छ । मैले अञ्जलीदिज्यूलाई गडमदर सम्झन्छु ।

आमा आमा नै भइहाल्नुभयो । मावली हजुरआमालाई त मैले आमा नै भन्थेँ । त्यसपछि अञ्जुलीदिज्यू आमाजत्तिकै हुनुहुन्छ । यी तीन आमाहरु भनौँ, जो मेरो जीवनमा जोडिएका छन् । यी तिनैजनाले हो, मलाई यो धर्तीमा हिँड्न, हाँस्न र बाँच्न सिकाएको । हजुरआमा त हुनुहुन्न । तर, उहाँको माया मेरो साथमै छ ।

-रातोपाटी अर्काइभबाट

कमेन्ट

  1. May 4, 2019, 7:53 p.m. Asian pk
    Film banaunus k jee
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...