केन्द्रीय संस्करण
रातोपाटी टिप्पणी

किन पटक पटक बौरिइरहन्छ राजतन्त्रको काँचोवायु ?

person explore access_timeबैशाख २१, २०७६ chat_bubble_outline1

 पन्चतन्त्रमा दृष्टान्तबोधक कथाहरु धेरै छन् । कथाका आधारमा बालबालिकालाई जीवन र जगत्को शिक्षा दिने मनसायले नै विष्णु शर्माले ती कथा रचना गरेका थिए् । सवैभन्दा पुराना र संसारभरि फैलिएका कथा मानिन्छन् पन्चतन्त्रका कथा । नेपाली जनजीवनमा पनि पन्चतन्त्रका कथा सुदूर अतीतदेखि अद्यावधि चलनचल्तीमा छन् । कति निरक्षर हजुरआमाहरुले आफ्ना नाति नातिनालाई सुनाउने कथामा पनि पन्चतन्त्र भेटिन्छ । (त्यतिसम्म लोकप्रसिद्ध कथाहरु हाम्रा लोकतन्त्रका महान् नेताजनहरुले सुन्न गुन्न न भ्याउनुले वहाँहरुको जन्मसिद्ध शासकीय व्यस्ततालाई सङ्केत गर्छ भने यसमा ‘उदेक’ मान्न मात्र सकिन्छ ।)

पन्चतन्त्रमा एउटा नक्कली शृगाल अर्थात् स्यालको कथा छ । शहरतिरको भागाभागमा अचानक धोवीको रङ्गपात्रमा डुबेर निस्केपछि स्याललाई राजा हुने रहर जाग्छ । जङ्गलभित्रको कुनै अग्लो ढिस्कामा उभिएर ऊ आफू राजा भएको घोषणा पनि गर्छ । जङ्गलका जनावरहरु अलिदिन भ्रममा पनि पर्छन् । एक दिन राजगद्दीमा विराजमान रहेको बेला अचानक ‘नीलवर्ण शृगाल राजा’ले त्यतै कुनै भेगमा सगोत्री साथी स्यालहरु कराएको सुन्छ । गद्दीनसीन स्यालका शुद्धिबुद्धि हराउँछन् । आफ्नो तत्कालीन हैसियत भुसुक्क बिर्सन्छ । ऊ गद्दीमाथि नै उभिएर स्यालहुइयाँको सङ्गीतमय लबजमा चिच्याइदिन्छ । अनि जनावरहरुका अगाडि उसको खैरियत रहँदैन ।


आमजनताले जननिर्वाचित भनिएका शासकहरुमा जनताको सेवकको रुप पटक्कै भेट्दैनन्, देख्दैनन्, देख्छन् त खालि ‘राजतन्त्रको काँचोवायु’ मात्रै ! हिजो परिवर्तनका लागि जेलनेल, सास्ती भोगेका नेताहरुमा जनतासँग भुइँतहमै जोडिएर बस्न सक्ने शासकको छवि खोज्छन् आमजनता, तर उनीहरुको बोली, व्यवहार र आचरणमा चाहिँ उही कुहिगन्धे राजतन्त्रकै झलक र प्रतिविम्ब देखापर्छ  ।


त्यस्तै पन्चतन्त्रमा एउटा बाघको छाला ओढ्ने अवसर पाएको गधाको कथा छ । कुनै धूर्त किसानले आफ्नो गधालाई अरुको खेतबारी चराउन कतैबाट एक थान बाघको छालाको जोहो गर्छ र त्यो छाला ओढाएर गधालाई अरुका खेतमा बाली चर्न छोडिदिन्छ । बाली चरिरहेका गधालाई बाघ ठानेर किसानहरु आपसमा तर्क गर्छन् र पनि डरको कारण त्यसको नजिक पर्दैनन् । विचित्रको संसारमा घाँस खाने बाघ पनि जन्मेछ कि जस्तो लाग्छ सोझा सिधा किसानहरुलाई । यसरी केहीदिन गधाले किसानका खेतबारी चर्छ । एक दिन त्यस गधाले पनि नजिकै कतै अर्को गधा कराएको कर्कश आवाज सुन्छ । उ पनि आफ्नो परम्परागत शैलीमा उन्मुक्त भएर ‘गर्दभ–राग’ छोड्छ । किसानहरुका अगाडि बाघका छालाको रहस्य खुल्छ । अनि गधा दण्डित हुन्छ । गधालाई नक्कली बाघ बनाउने धूर्त अरु बढी दण्डित हुन्छ ।

कथाहरु दृष्टान्त हुन् । पुराना दृष्टान्त कथाहरु धेरैजसो तत्कालीन परिवेशका स्पष्टीकरण हुन् । राजतन्त्रका विविध रुप पार गरेर जनताको वलिदानपूर्ण आन्दोलनहरुका तागतबाट लोकतान्त्रिक गणतन्त्र नामक व्यवस्था र त्यसका लागि एक थान संविधान पनि बनेर लागू भइसक्यो भनिएको नेपालमा सत्तासीन ठुलाबडाहरुका कामकारवाही, आनीबानी आचरण र व्यवहारमा पन्चतन्त्र कथाका तिनै पात्रमा परिणत भएर जनतालाई किन लज्जित बनाउँछन् ? जनजीवनमा यो यथार्थ गम्भीर चिन्ताको विषय बन्नु स्वाभाविक छ ।

प्रसङ्गहरु खोतल्दै जाने हो भने थुप्रै छन् । ती प्रसंगहरुमा आमजनताले जननिर्वाचित भनिएका शासकहरुमा जनताको सेवकको रुप पटक्कै भेट्दैनन्, देख्दैनन्, देख्छन् त खालि ‘राजतन्त्रको काँचोवायु’ मात्रै ! हिजो परिवर्तनका लागि जेलनेल, सास्ती भोगेका नेताहरुमा जनतासँग भुइँतहमै जोडिएर बस्न सक्ने शासकको छवि खोज्छन् आमजनता, तर उनीहरुको बोली, व्यवहार र आचरणमा चाहिँ उही कुहिगन्धे राजतन्त्रकै झलक र प्रतिविम्ब देखापर्छ  ।  यस्ता प्रसंगले जनतालाई निराश बनाउँछ, आक्रोशित बनाउँछ । हो, पदीय दायित्व र मर्यादाअनुरुप केही औपचारिकता र केही सुविधाहरु निर्वाह गर्नु जरुरी हुन्छ, त्यो कुरामा आपत्ति हुँदैन, हुनुपनि हुँदैन आम जनतालाई । तर मर्यादा र औपचारिकता निर्वाह पनि उन्नत संस्कृति र आचरणलाई बोक्ने र प्रतिविम्बन हुनेखालको हुनुपर्छ र छैन भने त्यो दिशातार्फ मोड्ने काम शासकहरुबाट हुनु जरुरी छ । यो कुरा शासनसत्तामा बसेकाहरुले जतिचाँडो बुझ्न सक्यो, उत्तिनै राम्रो ।

शासनसत्तामा बसेकाहरुले राजतन्त्रको काँचोवायुलाई बौराएको सबैभन्दा पछिल्लो प्रसंग चाहिँ अहिले हिजोको सदनमा राष्ट्रपतिका सम्बोधन पनि हो । लोकतान्त्रिक गणतन्त्रका सम्माननीय ‘आलङ्कारिक’ राष्ट्रपति महोदयले नेपाल सरकारको प्रस्तुत आर्थिक वर्षको लागि निर्मित नीति तथा कार्यक्रम सम्मानित सदनमा वाचन गर्दा २१ पटक ‘मेरो सरकार’ भनेको सुनियो । ‘नेपाल सरकार’लाई राष्ट्रपतिले मेरो सरकार भन्नु पदीय नैतिकता, लोकतान्त्रिक मर्यादा र सम्विधानको पालनाका दृष्टिले उचित थियो र ? जनजीवनमा आज यो एक गम्भीर चर्चाको विषय बनेको छ ।


राजतन्त्रमा राजाहरु यसरी नै बोल्थे । नेपालका श्री ५ हरु यसरी नै बोल्थे । राणा कालमा श्री ३ हरु पनि मुलुकलाई आफ्नै बिर्ता ठान्थे र निर्लज्जताका साथ ‘मेरो’ भन्थे । जनताले  रैती र दुनियाँकै तहमा रहनु परेका ती दिनहरुमा सत्तासीन श्री ३ पनि ‘स्वयम् सरकार’ थियो । दुनियाँले पनि ‘सरकार’ भनेरै सम्बोधन गर्थे ।


राजतन्त्रमा राजाहरु यसरी नै बोल्थे । नेपालका श्री ५ हरु यसरी नै बोल्थे । राणा कालमा श्री ३ हरु पनि मुलुकलाई आफ्नै बिर्ता ठान्थे र निर्लज्जताका साथ ‘मेरो’ भन्थे । जनताले  रैती र दुनियाँकै तहमा रहनु परेका ती दिनहरुमा सत्तासीन श्री ३ पनि ‘स्वयम् सरकार’ थियो । दुनियाँले पनि ‘सरकार’ भनेरै सम्बोधन गर्थे । इतिहासकारहरु पनि ‘चन्द्रशमशेर सरकार’ हुँदा, ‘जुद्धशमशेर सरकार’ हुँदा भनेर लेख्थे । त्यस कालखण्डमा फौजीबल र शासकीय सत्ताको बलमा जनतालाई शोषण, उत्पीडन र दण्डको जाँतोमा पिसेर श्री ३ सर्वेसर्वा नै हुन्थ्यो ।  राणशासनपछिका शाही शासनको ‘सक्रिय’ तथा ‘सम्वैधानिक राजतन्त्र’मा पनि सम्विधानमा ‘श्री ५ को सरकार’ जस्ता शव्दसंयोजनहरु जीवितै थिए । राजाले सदनमा सम्बोधन गर्दा ‘मेरो सरकार’ भनेको सुनिन्थ्यो ।  आज मुलुकमा राणाशासन छैन, शाही शासन पनि छैन । जननिर्वाचित प्रतिनिधिहरुको शासन छ । जननिर्वाचित प्रतिनिधिहरुले हामी त प्रतिनिधि मात्र हौं, देश र सरकार त जनताको हो भन्ने यथार्थ भुसुक्कै बिर्सेर, (आफु कसरी के आधारबाट त्यहाँ छु भन्ने सामान्य ज्ञान पनि बिर्सेर) राणा र शाहहरुकै शासकीय व्याकरण अपनाएका हुन् भने यो सार्वभौम नेपाली जनताको अपमान हो । यस्तो हुँदा लज्जाबोध गर्न सक्ने विनीत शासकहरु जनतासँग क्षमायाचना गर्छन् । अन्यथा  जनता र जनसरकारमाथिका यस्ता अपमानजनक शव्दसंयोजनलार्ई शासकवर्गमा आएको विचलन तथा  ‘सांस्कृतिक महापतनको टीठलाग्दो दृष्टान्त’ भन्नु पर्ने हुन्छ ।

   लोकतन्त्रमा शासनमा पुगेकाहरुको सामन्ती शैलीको सम्भ्रान्तता भ्रान्ति हो र विगतका जनक्रान्तिहरुमाथिको असह्य ब्यङ्ग्य पनि हो । त्योभन्दा पनि जनबलको आधारमा शासनसत्तामा पुगेकाहरुमा आफ्नो दायित्व र हैसियतलाई भुल्दै र कुल्चँदै देखापरेको ‘साँस्कृतिक पतन’को दृष्टान्त पनि हो ।  यसलाई सामान्य रुपमा लिन मिल्दैन । साँच्चै नै सत्तासीनहरु आफूलाई जनताका सेवक ठान्छन्, मान्छन् भने त्यसअनुरुपको व्यवहार र आचरणमा आफूलाई ढाल्नु अनि राणकालीन एवं राजतन्त्रकालीन सामन्ती संस्कृतिबाट आफूलाई अविलम्ब मुक्त गर्नु जरुरी छ ।

कमेन्ट

  1. May 11, 2019, 9:16 a.m. Jivan Limbu
    Excellent writing, really people of Nepal suffering the political pollution. As writer says politician and public servants are thinking, speaking and doing like they are owner of Nepal.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...