केन्द्रीय संस्करण
शनिवारको कोसेली

शासकको खिल्ली उडाउने कार्टूनिस्टले ६ महिना जेल सजाय पनि भोग्नु परेको थियो !

कसरी भयो व्यंग्य चित्रकला (कार्टून) को विकास ?

person explore access_timeबैशाख २१, २०७६ chat_bubble_outline0

शासकहरु प्रशंसाको भोका हुन्छन् । उनीहरु आत्मप्रशंसा र अरुले गरेको प्रशंसामा रमाउछन् । उनीहरुका कान मीठा कुराहरु मात्रै सुन्न प्रशिक्षित, लालयित र आतुर हुन्छन् । आलोचना र रचनात्मक सुझावहरु सामान्यतः शासकहरुका लागि कर्णप्रिय हुँदैनन् । त्यसले उनीहरुलाई उत्तेजित बनाइदिन्छ, आक्रोशित बनाइदिन्छ र आलोचना गर्नेहरुप्रति उनीहरुको वक्रदृष्टिको कठोर प्रहार हुन थाल्छ ।

राजतन्त्र, लोकतन्त्र वा गणतन्त्र: यो कुनै तन्त्रको कुरा हैन, यो संस्कारसँग जोडिएको कुरा हो । ‘जन्मसिद्ध अधिकार’ वा ‘दैवी सिद्धान्त’ले जन्माएका वा जन्माउने राजतन्त्रमा मात्रै होइन, ‘सार्वभौम जनताको अधिकारको प्रयोग हुने लोकतन्त्र वा गणतन्त्रमा पनि आम रुपमा शासकहरुको मनोवृत्ति र प्रवृत्ति आलोचनालाई सहनै नसक्ने र पचाउनै नसक्ने हुन्छ । इतिहास सिद्ध कुरा नै हो कि शासकहरुको आलोचना गर्नेहरु बेलाबेलामा उनीहरुको कोपभाजनको शिकार बन्ने गरेका छन् ।

तर शासकहरुको कोपभाजन र दण्डसजायको भयले उनीहरुको आलोचना र कटाक्ष गर्ने अनि उनीहरुलाई सकारात्मक दिशातिर लाग्न उत्पेरित एवं बाध्य बनाउने क्रम संसारमा कहिल्यै रोकिएन र रोकिनेवाला पनि छैन । आलोचनात्मक चेत राख्नेहरुले सदैव सत्ताका गलत काम कारवाहीहरुका विरुद्ध खबरदारी गरिनै रहनेछन् । यसैक्रममा सत्तासीनहरुको गलत कामकारवाहीहरुका विरुद्धमा खबरदारी गरेर आम जनतालाई निरन्तर जागरुक बनाइराख्ने सन्दर्भमा सबैभन्दा सशक्त र प्रभावकारी माध्यमहरुमध्येमा एक कार्टुनकला रहँदै आएको छ ।

आउनुहोस्, हामी त्यही कार्टुनकलाका इतिहासलाई नियाल्ने कोशिश गरौं ।

कार्टुन अर्थात् व्यंग्य चित्रकलाको शुरुवात

व्यंग्यको सबैभन्दा सशक्त माध्यमहरुमध्येको एक कार्टुन पनि हो । आजभोलि संसारका लगभग सबै अखबारहरुमा कार्टुन प्रकाशित हुन्छ । आजभोलिको अखबारमा कार्टून नभएको अखबार त यस्तो लाग्छ मानौं, त्यो नूनबिनाको तरकारी नै हो ।

व्यापक अर्थमा कार्टुन भन्नाले हामीले सामान्य अर्थमा बुझ्ने गरेको व्यंग्य चित्रकलालाई मात्र बुझाउँदैन । व्यापक अर्थमा कार्टुन भनेको कुनै पनि चित्रकलाको प्रारुप भन्ने बुझिन्छ, जसले चित्रकारलाई आफूले तयार गर्ने कलाको शुरुवात गर्नुभन्दा पहिले त्यसको खाका तयार गर्न मद्दत गर्छ । अंग्रेजी भाषाको Cartoon भन्ने शब्द इटालियन भाषाको cartone बाट आएको हो, जसको अर्थ हुन्छ– pasteboard ।

तर पनि आम रुपमा कार्टुन भन्नेवित्तिकै पत्रपत्रिका वा समाचारपत्रहरुमा छापिने विनोदपूर्ण एवं व्यंग्यात्मक स्केचको तस्वीर हाम्रो आँखा अगाडि आइहाल्छ ।

संसारको पहिलो कार्टूनिस्ट को थिए ?

https://upload.wikimedia.org/wikipedia

होगार्थभन्दा पहिलेका कलाकारहरुले पनि चित्र बनाएर व्यंग्य गर्ने गर्थे । समाजमा प्रचलित कुसंस्कार, गलत प्रवृत्तिहरुको आलोचना गर्ने, खिल्ली उडाउने गर्थे । तर होगार्थले त्यसो गर्नको लागि मान्छेको मनलाई झ्वाट्टै छुने र व्यंग्य गरिएकालाई च्वास्स घोच्ने अलग्गै र मौलिक शैलीको विकास गरे ।

कार्टुनको प्रयोग गरेर सामाजिक एवं राजनीतिक व्यंग्य गर्ने कला अर्थात् आधुनिक व्यंग्य चित्रकलाको पिता अंग्रेज चित्रकार विलियम होगार्थ (१६९७–१७६४) लाई मानिन्छ । उनले नै आधुनिक कार्टून कलाको विकास गरेका थिए ।

होगार्थभन्दा पहिलेका कलाकारहरुले पनि चित्र बनाएर व्यंग्य गर्ने गर्थे । समाजमा प्रचलित कुसंस्कार, गलत प्रवृत्तिहरुको आलोचना गर्ने, खिल्ली उडाउने गर्थे । तर होगार्थले त्यसो गर्नको लागि मान्छेको मनलाई झ्वाट्टै छुने र व्यंग्य गरिएकालाई च्वास्स घोच्ने अलग्गै र मौलिक शैलीको विकास गरे । होगार्थको त्यसै शैलीले नै व्यंग्य गर्ने एउटा सशक्त कलाको रुपमा कार्टूनलाई स्थापित गराउन पुग्यो ।

होगार्थको कार्टूनहरु मानवहरुको स्वभाव र उनीहरुको चरित्रमा आधारित हुन्थ्यो । उनी आफ्ना कार्टूनहरुमा विश्व समस्याहरुमाथि तीखो व्यंग्य गर्ने गर्थे । उनी सबै प्रकारका अत्याचारहरु र भ्रष्ट निर्वाचनहरुका बारेमा पनि कार्टून बनाएर त्यस्ता अत्याचारी एवं भ्रष्टहरुको दोहोलो काट्थे ।

होगार्थको बीँडो थाम्ने काम गरेका थिए– अर्का अंग्रेज कार्टूनिस्ट थोमस रोलान्डसनले । उसको कार्टून यति लोकप्रिय थियो, त्यसको माग पूरा इंग्ल्याण्डभरि नै थियो । उनको कार्टूनमा रेखाचित्रहरुको आधारमा मान्छेको आकृतिहरुलाई विभिन्न मुद्रामा देखाइएको हुन्थ्यो ।

इंग्ल्याण्डबाट शुरु भएको यो कार्टुनको कला विस्तारै लोकप्रिय हुँदै र विकास हुँदै गयो । यसको प्रचारप्रसारको क्रममा कतिपय अखबारहरुले कार्टूनलाई अखबारमा नै प्रकाशित गर्न पनि थाले । १९ औं शताब्दीको पूर्वार्द्धसम्म आइपुग्दा त यूरोपका अनेकौं पत्रपत्रिकाहरुमा कार्टून छापिन थालिसकेको थियो । त्यसबेलाका कार्टूनहरुमा तत्कालीन घटनाहरुमाथि राय व्यक्त गरिएको एवं व्यंग्य गरिएको हुन्थ्यो । वास्तवमा, त्यो नै राजनीतिक कार्टूनहरुको श्रृंखलाको शुरुवात थियो ।

https://en.wikipedia.org

होनर डाउमीर आफ्ना कार्टूनहरुमा कसैलाई पनि छोड्दैनथे । उनले सत्तामा आएका व्यक्तिहरु तथा सरकारहरुको भ्रष्टाचारमाथि आक्रमण गर्दै कैंयौं कार्टूनहरु बनाएका थिए । उनको यही निर्भिक कार्टूनहरुकै कारण सन् १८३१ मा उनले ५०० फ्रान्क जरिवाना र ६ महिनासम्म जेल सजाय पनि भोग्नु परेको थियो । किनभने, उनले एउटा कार्टूनमा तत्कालीन राजा लुइस फिलिप (Louis Philippe) को खिल्ली उडाएका थिए ।

बेलायतबाट विकास भएको राजनीतिक कार्टुन बनाउने कलाबाट फ्रान्स पनि अछुतो रहन सकेन । त्यहाँका प्रख्यात व्यंग्य चित्रकारहरुमा होनर डाउमीर (Honoré Daumier), गुस्ताभ डोर (Gustave Doré), र गाभार्नी  (Gavarni)  ले यो कलालाई फ्रान्समा निकै विकसित गरे । तीमध्ये पनि राजनीतिक कार्टून बनाउनेमा होनर डाउमीर (१८०८–१८७९) को नाम विश्वप्रख्यात छ । उनी आफ्ना कार्टूनहरुमा कसैलाई पनि छोड्दैनथे । उनले सत्तामा आएका व्यक्तिहरु तथा सरकारहरुको भ्रष्टाचारमाथि आक्रमण गर्दै कैंयौं कार्टूनहरु बनाएका थिए । उनको यही निर्भिक कार्टूनहरुकै कारण सन् १८३१ मा उनले ५०० फ्रान्क जरिवाना र ६ महिनासम्म जेल सजाय पनि भोग्नु परेको थियो । किनभने, उनले एउटा कार्टूनमा तत्कालीन राजा लुइस फिलिप (Louis Philippe) को खिल्ली उडाएका थिए ।

तत्कालीन कमिक्स जर्नल ला क्यारिकेचर ९० मा राजा फिलिपलाई फ्रान्सेली पुनर्जागरण लेखक राबेलाइसको पुस्तकको भद्दा पात्र गारगान्टुआको रुपमा देखाइएको थियो । सो कार्टुनमा ठूलो टाउको, लुखुरे खुट्टा तर ठूलो भुँडी भएको पात्रको रुपमा राजालाई सिंहासनमा बसेको देखाइएको थियो, जसमा गरिबीको चरम मारमा परेका फ्रान्सेली जनताले भारी भरकम उपहारहरु बास्केटमा भरेर लाइन लागेर सोझै उनको खुलेको मुखमा भेट चढाइरहेका थिए । उक्त कार्टुनमा चाकरहरु राजाको तल बसेर खसेको मुद्राहरु टिपिरहेका थिए भने पर एक कुनामा चाहिँ एकजना तन्नम गरिब महिला आफ्ना बच्चालाई स्तनपान गराउन कोशिश गरिरहेको देखाइएको थियो ।(हेर्नुहोस् लेखेको शुरुको चित्र)

कार्टुन कलालाई विकसित गर्ने अन्य फ्रेन्च कलाकारहरुको नाम लिँदा हेनरी टोउलुसे लाउत्रे, जीन लुइस फरेन (जसले तत्कालीन फ्रेन्च कानूनी प्रणालीमाथि तीखो प्रहार गर्ने गर्थे) को नाम पनि आउँछ ।

१८ औं र १९ औं शताब्दीमा फ्रान्समा त्यस्ता कार्टुनहरु राखिएका धेरै नै किताब तथा पत्रपत्रिकाहरु छापिएका थिए । यसैक्रममा एकजना फ्रेन्च पत्रकार चाल्र्स फिलिपोले सन् १८३० मा तत्कालीन राजनीतिमाथि तीखो  व्यंग्य गरिएका कार्टुनहरु  छापिने व्यंग्यात्मक पत्रिका निकाल्न शुरु गरे । कार्टुन कलालाई फ्रान्सको राजनीतिक जीवनमा महत्वपूर्ण स्थान दिलाउने उनको उक्त व्यंग्यात्मक पत्रिकाको नाम  थियो– La Caricature । त्यसपछि उनले क्रमशः १८३२ मा Le Charivari  र १८४८ मा Le Journal pour Rire  नाम गरेका अरु थप दुई वटा व्यंग्य पत्रिकाहरु निकाले ।

http://paintingandframe.com

थोमस नास्टको कार्टुन कत्तिको प्रभावकारी थियो भन्ने कुरा तत्कालीन गृहयुद्ध (१८६१–१८६५) मा उनले बनाएका कार्टुनहरुले Tweed Ring नामले प्रख्यात न्यूयोर्कको प्रभावशाली तर भ्रष्ट राजनीतिक समूहलाई सरकारबाट फाल्न ठूलो भूमिका खेलेको थियो ।

उता स्वीडेन, जर्मन लगायतका युरोपीय देशहरुमा पनि कार्टुन कलाले निकै महत्व पाउँदै गयो । त्यसै गरी अमेरिकामा पनि कार्टुन कलाले निकै ठूलो महत्व राख्दथ्यो । अमेरिकामा कार्टुन कलाको कुरा गर्दा १९ औं शताब्दीका कार्टुनिस्ट थोमस नास्टको नाम विशेष उल्लेखनीय छ । त्यसबेला उनले Harper's Weekly मा बनाउने गरेका कार्टुनहरु निकै प्रभावशाली र चर्चित थिए । उनको कार्टुन कत्तिको प्रभावकारी थियो भन्ने कुरा तत्कालीन गृहयुद्ध (१८६१–१८६५) मा उनले बनाएका कार्टुनहरुले Tweed Ring नामले प्रख्यात न्यूयोर्कको प्रभावशाली तर भ्रष्ट राजनीतिक समूहलाई सरकारबाट फाल्न ठूलो भूमिका खेलेको थियो । उक्त समूहले सन् १८६९ देखि १८७२ सम्म न्यूयोर्कमा सरकार चलाएको थियो । तिनै कार्टुनिष्ट तथा चित्रकार नास्टले नै रिपब्लिकन पार्टी तथा डेमोक्रेटिक पार्टीका चुनाव चिन्हहरु हात्ती र गधा सिर्जना गरेका थिए । त्यसबेलाका अन्य प्रभावशाली कार्टुनिष्टहरुमा जोसेप केप्पलर (उनले १८७६ मा कार्टुन पत्रिका Puck Weekly स्थापना गरेका थिए), र उनका सहयोगी बर्नहार्ड गिल्लामको नाम विशेष उल्लेख्य छ ।

यसरी अहिलेको अवस्थासम्म आइपुग्नका लागि कार्टुनले लामो चरण र अवस्थाहरुलाई पार गर्नु परेको छ ।  र, यो लामो अवधिबीचमा कार्टुन कलाले निकै महत्व र लोकप्रियता कमाइसकेको छ ।

अहिलेको प्रजातान्त्रिक मुलुकहरुमा त कार्टूनलाई आलोचककै रुपमा हेरिने प्रचलन छ र त्यसलाई स्वस्थ रुपमा नै स्वीकारिने गरेको पाइन्छ । भनिन्छ, भारतका प्रख्यात नेता जवाहरलाल नेहरु त कार्टूनिस्टहरुलाई आफ्ना सच्चा समालोचककै रुपमा स्वीकार्ने गर्थे !

प्रसंगवश एउटा कुरा भनिहालौं, प्रजातन्त्रका अभ्यास गरिरहेका विश्वका कतिपय मुलुकहरुमा कार्टूनलाई स्वस्थ आलोचकको रुपमा हेरिए पनि हाम्रै देश नेपालमा चाहिँ कार्टूनकै कारण न्यायपालिकाको अपमान भएको भनेर कार्टूनिस्ट तथा कार्टून छाप्ने पत्रिकाका सम्पादकले दण्डित हुनुपरेको कालो इतिहास पनि छ । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...