मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्लान इन्टरनेशनल सहयोगमा १२ विद्यालय निर्माण, ३ हजार ३ सय ४८ विद्यार्थी लाभान्वित

शनिबार, २१ साउन २०७४, १६ : ०२
शनिबार, २१ साउन २०७४

काठमाडौं– बालबालिकाको क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय संस्था प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्माण भएको काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयको नयॉ भवनको आज उद्घाटन गरिएको छ । 

भूकम्पपछिको पुनर्निर्माणका क्रममा अस्ट्रेलिया सरकारको वैदेशिक मामिला तथा व्यापार विभागको आर्थिक सहायतामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा निर्मित विद्यालय भवनको उपप्रधान एवंम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शनिवार आयोजित कार्यक्रममा उद्घाटन गरे ।

उद्घाटन समारोहमा सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेत, प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्पेन कोपेन्स, नेपालस्थित अस्ट्रेलियाली राजदूत पिटर बड लगायतको उपस्थिति थियो । सुरक्षित विद्यालय भवन परियोजना अन्तर्गत गोकर्ण माध्यमिक विद्यालयका लागि भूकम्प प्रतिरोधी ६ कोठासहितको भवन निर्माण गरिएको हो । नवनिर्मित भवनका कक्षाकोठाहरु अपाङ्गतामैत्री बनेका छन् ।

सुरक्षित वातावरणमा गुणस्तरिय शिक्षा प्रदानमा सहयोग गर्ने हेतुले निर्माण गरिएको विद्यालय भवनबाट चालू शैक्षिक सत्रमा ४ सय ६० विद्यार्थी लाभान्वित भएका छन् । परियोजनाकै सहयोगमा नवनिर्मित भवनमा कम्प्युटर ल्याव निर्माण गरिएको छ । त्यस्तै, कक्षाकोठाका लागि फर्निचर, शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । 

गोकर्ण माध्यमिक विद्यालयसहित यसै परियोजना अन्तर्गत भूकम्प प्रभावित ६ जिल्लामा गरी १२ वटा विद्यालय निर्माण भएका छन् । दोलखाको नवीन मावि, भिमेश्वर बहिरा प्रावि र सित्का मावि, सिन्धुपाल्चोकको इन्द्रेश्वरी उच्चमावि, सिपा तिनधारा मावि र हिरादेवी निमावि, मकवानपुरको शान्ति बहिरा तथा सुस्त श्रवण विद्यालय र गीतावोरा निमावि, सिन्धुलीको नवज्योति निमावि र गौरीशंकर उच्चमावि र ललितपुरको मगरगाउँ उच्च माविले यसै शैक्षिक सत्रबाट नयाँ भवन पाएका छन् । यसबाट ३ हजार ३ सय ४८ विद्यार्थीलाई भूकम्प प्रतिरोधी कक्षाकोठा प्राप्त भएको छ ।

भूकम्प प्रतिरोधी संरचना, अपाङ्गता भएका विद्यार्थीका लागि सहज हुने गरी कक्षा कोठा, शौचालय र खेलमैदान निर्माण गरिनु नवनिर्मित विद्यालयहरुको विशेषता हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप