बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ‘विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग’ अन्तर्राष्ट्रिय सम्मेलन

बिहीबार, १९ वैशाख २०७६, १६ : ३७
बिहीबार, १९ वैशाख २०७६

कास्की–पोखरामा विपदमा स्वास्थ्य इञ्जीनियरिङ्ग विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन
शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरु उत्पादनको थलो भएको बताए । उनले विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रुपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ताहरु लाग्नुपर्ने भन्दै पोखरा र आसपासका क्षेत्र पनि विपदको उच्च जोखिममा पर्ने भएकाले सम्मेलनका विभिन्न निश्कर्षहरुलाई कार्यान्वयन गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन सत्रलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, ईञ्जीनियरिङ्ग अध्ययन संस्थानका पूर्व डिन प्राध्यापक डाक्टर भरतराज पहारी, संयुक्त राष्ट्र संघका लागि विपद जोखिम न्युनिकरण विज्ञ ग्यारे डे ला पोमेराइ र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणा राखेका थिए ।
सम्मेलनमा सहभागी हुन नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्याण्ड, भारत लगायत १० देशका ३०० भन्दा बढिले सहभागिता जनाएको संयोजक प्राध्यापक डाक्टर विनय कुमार मिश्रले जानकारी दिए । 
मिश्रका अनुसार नेपालका विभिन्न विश्वविद्यालय तथा संघ संस्थाहरुबाट जनस्वास्थ्य, विपद व्यवस्थापन तथा इञ्जीनियरिङ्ग क्षेत्रका विज्ञहरु, पेशाकर्मीहरु र विद्यार्थीहरुले सम्मेलनमा सहभागिता जनाउन पोखरा आएका छन् ।
करिब १५ लाखको लागतमा सम्पन्न हुने सम्मेलनका लागि पोखरा विश्वविद्यालयसँग विश्वविद्यालय अनुदान आयोग, युरोपियन युनियनको इरासमस प्लस परियोजना, स्फेरा परियोजना तथा एनआइसी एसिया बैंकले सहकार्य गरिरहेका छन् ।
सम्मेलनका तीन दिनहरुमा विपद व्यवस्थापन, वातावरण, विपदमा जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट सहर तथा भवन निर्माण, विपद व्यवस्थापनमा सुचना प्रविधिको प्रयोग, विपदमा स्वास्थ्य जोखिम र मनोविज्ञान जस्ता विभिन्न मुद्दाहरुमा केन्द्रीत रहेर ४५ वटा कार्यपत्रहरुमाथि विभिन्न दशवटा समानान्तर सत्रहरुमा छलफल हुने आयोजक समितिका सदस्य तथा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेजका निर्देशक डाक्टर डमरु प्रसाद पनेरुले बताए ।
सम्मेलनका निश्कर्षहरुले स्थानिय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप