शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ को  नाम र राजधानीबारे आयो यस्तो सुझाव, अब दुई तिहाइले टुंगो लगाइने

बिहीबार, १९ वैशाख २०७६, १३ : ३८
बिहीबार, १९ वैशाख २०७६

 जनकपुर– प्रदेश नम्बर २ को नाम, राजधानी र भाषाका विषयमा टुङ्गो लगाउन गठित संवाद तथा सुझाव आयोगले प्रदेश सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोगका संयोजक हरिवंश झाले मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएका हुन् । 

आयोगले ८ वटै जिल्लामा पुगेर राजनीतिक दल, नागरिक समाज, संघसंस्था प्रतिनिधिसंग छलफल तथा संवाद गरी प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन तयार पार्न आयोगले ८ सय भन्दा बढी प्रतिनिधिसँग छलफल गरेको जनाएको छ ।

६ महिनाको लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतलाई बुझाएको आयोगले जनाएको छ । आयोग गठन भएको ४५ दिन भित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन समय सीमा दिइएको भएपनि ४५ दिनमा काम नसकिएपछि आयोगले थपिएको समयमा प्रतिवेदन तयार पारेको थियो ।

हस्तान्तरण गरिएको प्रतिवेदन सार्वजनिक नगरिएपनि प्रतिवेदनमा प्रदेशको नामाकरणको बारे मधेश, मिथिला, मिथिला–भोजपुरा, मध्यमधेश, जानकी प्रदेश मध्येबाट एउटा राख्न सुझाव आएको नीति आयोगको उपाध्यक्ष समेत रहेका संयोजक झाले जानकारी दिए । 

त्यस्तै राजधानीको सवालमा जनकपुर, विरगन्ज, बर्दिवास, लाहान, राजविराज, गौर, लालबन्दी लागयतका नामहरु सुझावको रुपमा आएको उनले जनाए ।

प्रदेशको नाम, राजधानी र भाषा टुङ्गो लगाउन २०७५ साल कात्तिक ११ गते प्रदेश दुईको मन्त्रिपरिषद बैठकले डा.हरिवंश झाको संयोजकत्वमा ३ सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको थियो ।

यसैवीच मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानीबारे प्रदेश बैठकमा विधेयक पेस गर्ने बताएका छन् । उनले अब त्यसका लागि चाँडै प्रकृया अघि बढ्ने पनि बताए । ‘प्रदेशसभामा दुई तिहाईको मतले नै प्रदेश र राजधानीको नाम टुङ्गो लाग्नेछ । दुई तिहाई मतले जे चाहन्छ, त्यहि हुन्छ’ मुख्यमन्त्री राउतले रातोपाटीलाई बताए । 

संवाद तथा सुझाव आयोगको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले आयोगले बुझाएको प्रतिवेदनको अध्ययन गरेर मन्त्रिपरिषद बैठकबाट प्रदेशसभाको समितिमा पठाइने बताए ।

६ महिना लगाएर तयार पारिएको प्रतिवेदन ६३ पृष्ठको छ । तर, प्रतिवेदनमा उल्लेखित बुँदाहरु खुलाइएको छैन् । आयोगलाई प्रतिवेदन तयार गर्न ३० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको थियो । सोमध्ये १७ लाख रुपैयाँ खर्चेर ६२ पृष्ठको प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ ।

यो पनि.....

प्रदेश २ को नामकरणः आयोगको प्रतिवेदन नै बुझ्न मान्दैनन् मुख्यमन्त्री राउत

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप