केन्द्रीय संस्करण

शब्दहरुमाथि पनि यो कठोर लाठीचार्ज किन ?

person explore access_timeबैशाख १८, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

‘ती दिन थिए, गए
यी दिन आएका छन्

पहिले तिनले धपाए
अहिले यिनले चपाएका छन् ।’

हामी जनताका लागि त लिसो पासो, पासो लिसो नै हो । मानौं भोका कागका अगाडि बेल पाकेको छ । लोकतान्त्रिक गणतन्त्र नामको विकासे बेल ।

बेल पौष्टिक हुन्छ । यो औषधीय गुणयुक्त फल पनि हो । वैद्यहरु बालबेलबाट पनि प्रभावकारी औषधि बनाउँछन् । स्वादप्रेमीहरु पाकेको बेलबाट स्वादिष्ट मुरब्बा बनाउँछन् । बेलको अति गुणकारी र स्वादिलो शर्बत पनि बन्छ । बेलले पौरखी जनताका हातमा पर्न पाए यसका हितकारी उपयोगहरु अनेकौं हुन सक्छन् । त्यसरी सदुपयोग हुन पाएको भए समस्या थिएन । जब सत्तासीनहरु जनतालाई कुहिराको काग बनाएर पाकेका बेलका कुरा गर्छन्, समस्या गम्भीर बन्छ ।

यी त भए शब्दका लाक्षणिक समस्या । म अहिले यहाँ शब्दहरुका अभिधात्मक समस्याहरुको पनि कुरा उठाउँदैछु । मुलुकमा नयाँ पुराना दरवार र दरवारी संस्कृति त आज पनि छ तर दरबारिया सामन्त महासामन्तहरुकै सत्ताचाहिँ शास्त्रीय रुपमा  छैन । अहिले मुलुकमा स्वयम्भू शासकहरु छैनन् । जननिर्वाचित शासकहरु र तिनले बनाएको शासकीय व्यवस्था छ । त्यो व्यवस्था सांस्कृतिक दृष्टिले परम्परागत सामन्त महासामन्तहरुको व्यवस्थाभन्दा तात्त्विक रुपमा फरक देखिन भने सकेको छैन ।

आज पनि शासकहरु जनतासँग हेलमेल गर्न डराउँछन् । जनतासँगै सार्वजनिक गाडीहरुमा यात्रा गर्न सक्दैनन् । सत्ताका दरबारहरुबाट सडकमा निस्कनुपर्दा बहुपत्रे सुरक्षा घेरामा घेरिएर निस्कन्छन् । अलि ठूला भनाउँदा शासकीय पदासीनहरु सडकमा सवारीमा निस्कँदा त घण्टौं अगाडिदेखि सडकले कर्फ्युजस्तै सन्नाटा समेत बेहोर्नुपर्छ । जनताका जीविकामुखी अनिवार्य आवागमन पनि कठोरताका साथ रोकिन्छन् । सवारीका तामझाम राणाकाल र पन्चायतकालका भन्दा अझ धेरै महँगा छन् । त्यसताका रिसल्ला र घोडा हुन्थे, अहिले करोडौं मूल्यका महँगा कारचढीहरुको लश्कर हुन्छ । सुरक्षाकर्मीहरु र तिनका गाडीहरु हुन्छन् । साइरनको भयङ्कर आवाज हुन्छ । यसरी सवारीमा लाखौं, करोडौं सरकारी रकम फुकिन्छन् ।

हिजोका शासकहरु बरु खसीका मासुका कवाफसँग भुजा ज्युनार गर्थे । आजका शासकहरु मार्सी भातसँगै जनताका भाग्यभविष्यलाई नै कबाफ बनाएर हसुर्न पनि पछि पर्दैनन् । विभिन्न परिबन्द मिलाएर सरकारी ढुकुटीमाथि लामो हात गर्नेदेखि लिएर तमाम चाल ढाल र रवाफमा आजका शासकहरु हिजोका भन्दा बढी नै रोबिला देखिन्छन् । तर पनि हिजो कजिएका दरबारिया शब्दहरु आजका दरबारिया शासकहरुका प्रयोगमा छैनन्, विस्थापित छन् किन ? यो पनि बिचरा शब्दहरुमाथिको ठाडोे अन्याय भएन र ? जस्तै मौसुफ, ज्यूनार, बाहुली, बाहुलीनिसान, हुकुम, बक्सिस, नजर लगायतका दर्जनभन्दा बढी शब्दहरुमाथि आज यो अस्वाभाविक लाठीचार्जको व्यवहार किन ? विस्थापनको अन्याय किन ? आजका सत्तासीनहरुबाट हिजोका दरबारियाहरुको शासकीय बानीबेहोर अर्थात् संस्कृति हूबहूजस्तै अङ्गीकार गरिन मिलेको छ भने शब्दहरुलाई चाहिँ अङ्गीकार गर्न नमिलेको किन ? यसो गर्नुको औचित्य के छ ? शब्दहरु त संस्कार संस्कृतिका सम्प्रेषक भरिया मात्रै न हुन् ।

‘लोकतान्त्रिक गणतन्त्र’का आजका नेता, उपनेता, निमित्त नेताहरुले पुराना सामन्ती संस्कृतिबोधक शब्दहरु प्रयोग नगरेर ‘लोकतान्त्रिक’ नयाँ संस्कृति बोधक शव्दहरु प्रयोग गर्नै चाहेका हुन् भने त्यो पनि ठीक छ । लोकसेवाआयोग त पन्चायतकालमा पनि थियो । ‘लोकतान्त्रिक गणतन्त्र’ आएपछि बाँकी ठूला सडकहरुका सन्दर्भमा चलेका राजमार्ग नाम हटाएर लोकमार्ग बनाए । ठिकै छ । यति गरेपछि शब्दप्रयोगका क्षेत्रमा लोकतान्त्रिक कर्तव्य सवै पूरा भयो त ?

हो, परिवर्तनको सार्थकता नहुने होइन हुन्छ । शब्दले मनमस्तिष्क छुन्छ र मान्छेलाई सावधान पनि बनाउँछ । गर्नु नै छ भने राजमार्गबाट राज हटाएर लोकमार्ग बनाएजस्तै निम्न लिखित शब्दहरुबाट पनि राज हटाएर लोक नजोड्ने किन ? जोड्न त सकिन्छ नि हैन र ? जस्तै:

राजनीति = लोकनीति । राजनेता = लोकनेता । राजनीतिज्ञ  =लोकनीतिज्ञ । राजनीतिकरण = लोकनीतिकरण । राजनैतिक = लोकनैतिक । राजनीतिशास्त्र = लोकनीतिशाास्त्र । राजपत्र = लोकपत्र । राजकाज = लोककाज । राजस्व = लोकस्व । राजस्वविभाग = लोकस्वविभाग । राज्यकोष = लोक्यकोष । राजकर्मचारी = लोककर्मचारी  । राजदूत =लोकदूत । राजसत्ता =लोकसत्ता । राज्यमन्त्री =लोक्यमन्त्री । राज्यसत्ता = लोक्यसत्ता । राज्यव्यवस्था = लोक्य व्यवस्था । राज्यसभा=लोक्यसभा । राजकीय =लोककीय । राजकाजसम्बन्धी=लोककाजसम्बन्धी । राजकुलो=लोककुलो । राजकर्मचारी=लोककर्मचारी । आदि ।

शब्दले मानिसमा अर्थगत प्रभाव नदिने होइन, दिन्छ । कति शाही खानदानकाहरु ‘राजा’ सम्बोधनबाट दङ्ग पर्छन् । मुसुक्क हाँस्छन् । मानौं राजा सम्बोधन मात्रले पनि तिनका शरीरमा रगतको प्रवाह नै मक्ख पर्दै दगुर्छ । एक छिन तिनले आफूलाई राजा ठान्छन् । छिमेकी मुलुकका प्रधानमन्त्री मोदीले ‘मलाई प्रधामन्त्री नभन प्रधान सेवक भन’ भन्नुको अभिप्राय शब्दपरक भावप्रक्षेपण नै हो ।

हामी राष्ट्रपति भन्छौं । पति मालिक वाचक शव्द हो । यो सामन्तवादी गन्धको शव्द हो । जस्तै भूमिपति, भूपति, गृहपति । जायापति । दम्पति । पति शब्दले मालिक्याइँको भाव दिन्छ । हामीलाई चाहिएको सेवाभाव हो । जनसेवकभाव हो । सहजता हो । विनम्रता हो । मालिक्याइँ होइन । ठीक त्यस्तै राजनेता भनिँदा अभिमान चढ्ने शीर्षहरुमा जननेता भनिँदा अलि जनमुखी सोचसमझ उम्रन्थ्यो कि ? राजस्वभन्दा खाउँखाउँ पचाउँपचाउँ लाग्नेलाई लोकस्व भन्दा खान पचाउन अलि लाज पनि लाग्थ्यो कि ?अहिले जनसाधारणले राजनीतिको अर्थ फट्याइँ भन्ने बुझ्ने गरेका छन् । कसैले कसैलाई ‘एः मसँग राजनीति गर्छस् ?’ भन्यो भने ‘मसँग फट्याइँ गर्छस् ?’ भनेको हुन्छ । यसरी ‘राजनीति’ शब्द ‘अर्थापकषर्’को फोहोरमा जाक्किएका बेला राजनीतिका ठाउँमा लोकनीति शब्द प्रयोग गरियो भने त्यसबाट श्रोतामा अलि उदात्त भाव पनि पलाउला कि ?

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...