बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको अभिव्यक्तिले प्रदेश नम्बर २ मा तरङ्ग: केन्द्र सरकारमाथिनै लाग्यो यस्तो आरोप

मङ्गलबार, १७ वैशाख २०७६, १९ : २३
मङ्गलबार, १७ वैशाख २०७६

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रदेश नम्बर २ मा रहेको सत्तासहयात्री दल संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकार परिवर्तनको संकेत दिएपछि मधेशमा तरंग फैलिएको छ । उक्त सरकारको नेतृत्व लालबाबु राउतले गरिरहेका छन् ।

मंगलबार नेकपामा प्रवेश गरेका मधेस–तराई फोरमका नेता–कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा नेकपा कै सरकार बनाउन सकिने अभिव्यक्ति दिएपछि २ नम्बर प्रदेश तरंगित भएको हो । अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा भ्रष्टाचार र बेइमानी बढी मौलाएको भन्ने अभिव्यक्ति दिएपछि प्रदेश नम्बर २ सरकारले गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

प्रदेश नम्बर २ सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश २ का सरकार परिवर्तनको कुनै  सम्भावना नरहेको दाबी गरे ।  उनले देश नैै भ्रष्टाचार र बेइमानी गर्नेहरुको अखडामा परिणत भएकाले सर्वप्रथमतः केन्द्र सरकार नै परिवर्तन हुनुपर्ने धारणा राखे । उनले एनसेल कम्पनीसँग करोडौँको कर असुल्न नसक्ने, कमिसनखोरी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने, खुलामञ्च अतिक्रमण रोक्न नसक्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीअनुसार काम गर्न नसकेर निकम्मा सावित भैसकेको केन्द्रीय सरकारचाहिँ परिवर्तन गर्नुपर्ने चेतावनी दिए ।  

मन्त्री यादवले प्रदेश २ सरकारले भ्रष्टाचार, कमिसनखोर र अराजक सिष्टमविरुद्ध सुशासन व्यवस्था कायम गर्नका लागि भ्रष्टाचार तथा सुशासन व्यवस्था सम्बन्धी विधेयक निर्माण गर्न लागेको समेत जानकारी दिए । उनले प्रदेश सरकारसँग अहिलेसम्म पनि पूर्ण अधिकार नरहेको र संघ सरकारले समेत विभिन्न ऐन कानूनका विधेयकहरु नल्याएकोले समस्या भएको बताए । मन्त्री यादवले प्रदेश सरकारसमेत ऐन कानुनहरु निर्माण गर्ने प्रक्रियामै रहेकाले विभिन्न समस्या र जालझेलपूर्ण कुराहरु आउनु स्वभाभिकनै भएको बताए ।

त्यस्तै, प्रदेश नम्बर २ को प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेशमा नेकपा ठुलो पार्टी भएकाले अवस्था अनुकुल जे गर्दा पनि हुनसक्ने बताए । उनले सत्तारुढ फोरम नेपाल भित्र नै संघीय सरकारबाट हट्न दवाव आइरहेकाले पनि प्रचण्डले प्रदेश सत्ताको परिवर्तनको संकेत हुनसक्ने बताए । उनले नेकपाले पहल गरेमा आफुहरु पनि प्रदेश सरकारको सहयात्री हुनसक्ने, तर यसको लागि नेकपाले पहल गरेमा आफुहरु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

त्यस्तै प्रदेश नम्बर २ का सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा सत्ता परिवर्तनको कुनै सम्भावना नै नरहेको बताएको छ । राजपा नेपालका प्रवक्ता कृष्णा सिंहले नेकपाले आफ्ना प्रदेश संसद, नेता तथा कार्यकर्तालाई खुसी पार्नका लागि प्रचण्डले सत्ता परिवर्तनबारे अभिव्यक्ति दिएको हुनसक्ने बताए । उनले संघीय सरकारबाट फोरम नेपाल हट्न सक्ने तर प्रदेशमा भने फोरम र राजपाको सरकार रहने दावी गरे ।

प्रदेश सरकारले निकालेको रेडबुक अनुसार समेत राउत नेतृत्वको सरकारले काम नगरी मोनोपोली ढंगले काम गरिरहेको आरोप उनकै मातहत रहेको नीति आयोगले समेत आरोप लगाउँदै आएको छ ।   

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, गरिबी, विकास निर्माण लगायतका काममा जनतासामु सरकार रहेको अनुभुति दिलाउन नसकेको आरोप लगाउँदै आम जनताले गुनासो गर्दै आएका बेला प्रचण्डको सो अभिव्यक्तिले थप तरंगित बनाइदिएको छ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको संयुक्त सरकार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप