शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो नगरपालिकामा बेरुजु धेरै देखिएको छैनः मेयर थापा

मङ्गलबार, १७ वैशाख २०७६, १७ : ३०
मङ्गलबार, १७ वैशाख २०७६

प्रदेश नं ५ अन्तर्गत नवलपरासी जिल्लाको सुनवल नगरपालिकाका मेयर हुन् भीमबहादुर थापा क्षेत्री । स्थानीय तहको चुनावमा उनी नेपाली काँग्रेसबाट उम्मेदवारी दिएर विजयी भएका थिए । रातोपाटीले सुरु गरेको जनप्रतिनिधि संवादका लागि यसपटक हामीले मेयर क्षेत्रीसँग  कुराकानी गरेका छौँ :

तपाइँले आफ्नो नगरपालिकामा कस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? 
–हाम्रो नगरपालिकालाई समृद्ध र नमुना नगरपालिका बनाउनका लागि कामहरु अगाडि बढाइरहेका छन् । नमुना र समृद्ध बनाउनका पहिलो प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य पर्छन् । त्यसमा सुशासन, गुणस्तरीय सेवा र पूर्वाधार विकासमा कुरा पनि छन् । 

स्थानीय तह र प्रदेशबीचको समन्वय कसरी गरिरहनुभएको छ ?
–स्थानीय सरकार स्वायत्त सरकार हो । हामीलाई आफ्नो कानुन बनाउने अधिकार छ । हामीलाई प्रदेश सरकारसँग नजुध्ने गरेर कानुन बनाउन निर्देशन दिइएको छ ।

स्थानीय तहका मुख्य समस्या के–के हुन् ?
–स्थानीय तहमा अझै पनि स्रोत, साधनको कमी र कर्मचारी अभाव त्यसैगरी सङ्घीयता कार्यान्वयनमा भएकाले ढिलाइले गर्दा कामहरु सुचारु हुन सकिरहेको छैन । कर्मचारी समायोजनले पनि अप्ठ्यारो पारिरहेको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले गर्दा जनताको अपेक्षा निकै ठूलो छ । भएका स्रोत साधनको कमी हुँदाहुँदै स्थानीय तहलाई दिइएको अधिकार कार्यान्वयन गर्नका लागि विषयगत कर्मचारी, प्राविधिक कर्मचारीको आवश्यक छ । त्यसैले हामीले स्थानीय स्तरमा नै करारमा प्राविधिक कर्मचारी नियुक्त गरेका छौँ । सरकारले स्थानीय तहको परिकल्पना गरिसकेपछि आवश्यक स्रोत साधन, कर्मचारी जस्ता अत्यावश्यक कुराको व्यवस्था गर्नुपथ्र्यो । यस्ता आधारभूत कुरा नै नभएपछि काम गर्नका लागि कठिनाइ भइरहेको छ । 

स्थानीय तहमा बेरुजु धेरै देखिएको छ । यस्तो किन भइरहेको छ ?
–हाम्रो नगरपालिकामा बेरुजु धेरै देखिएको छैन । यद्यपि कामहरु गर्दै जाँदा आइपर्ने कठिनाइहरुका कारण बेरुजु देखिने हो । बेरुजु भनेको गलत नियत होइन । काम गर्दै जाँदा प्रक्रिया नपुगेर बेरुजु हुने गर्छ । सरकारले बनाएको नियमअनुसार प्रक्रियामा जाँदा बेरुजु हुने हो । 

तपाईंले नेतृत्व गरेको स्थानीय तहलाई अरूभन्दा फरक र नमुना बनाउन केकस्ता योजना अघि सार्नुभएको छ र कसरी काम भइरहेका छन् ?

–स्थानीय तहको गठन भइसकेपछि हामीले पहिलो बैठकले सुत्केरी भएका महिलाका लागि ‘पोषण खर्च’ शीर्षकमा खर्च दिने अभियान सुरु गरियो । बच्चा जन्मिएको ३५ दिनमा जन्मदर्ता गर्न आइसकेपछि २ हजार ‘सन्तुलित भोजन’का लागि दिन सुरु गरेका छौँ । तर त्यसमा मापदण्ड छ । जसअनुसार गर्भवती भएको अवस्थामा महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, पहिलो जन्मिसकेको बच्चालाई खोपको मात्रा पुर्याएको छ कि छैन, सन्तुलित भोजन खुवाएको छ कि छैन, ३५ दिनमा जन्म दर्ता गर्न आउँदा आर्थिक स्थिति कमजोर भएको कारण असुविधा छ कि वा हिंसामा छन् कि, जस्ता कुराहरु बुझेर सेवा र सुविधा दिने व्यवस्था गरेका छौँ । 

त्यसैगरी महिलालाई स्वावलम्बी बनाउन प्रत्येक वडामा ‘महिला उद्यम सेन्टर’ बनाएर सीपमूलक कार्यक्रम सुचारु गरिरहेका छौँ । 
त्यस्तै, युवाहरुका लागि प्राविधिक शिक्षालयबाट सीपमूलक प्राविधिक तालिमको व्यवस्था गरेका छौँ । जस्तैः हाउस वाइरिङ, इलेक्ट्रिकल ट्रेनिङ, अटोमेकानिकल ट्रेनिङ, ड्राभिङ जस्ता तालिमहरु सञ्चालन सुरु गरिरहेका छौँ । 

गत वर्ष एसईई दिएर बसेका विद्यार्थीका लागि ३ सय जनालाई नगरपालिकाले कम्प्युटर कोर्स तालिम दिएको थियो । यो वर्ष उक्त सङ्ख्यालाई बढाएर ७ सय पुर्याएका छौँ । सीप सिकाएर शिक्षा सँगसँगै प्राविधिक तालिम दिने निर्णय गरेका छौँ । 

त्यस्तै, प्रत्येक घरघरमा एक घर एक करेसाबारी, एक घर दुई रूखको अभियानलाई नीति तथा कार्यक्रममा पारेर सुरु गरेका छौँ । त्यस्तै, घरघरमा आधुनिक तरकारी खेती कार्यक्रम चलाएका छौँ । आफ्ना लागि आफैँ तरकारी उत्पादन गर्नुपर्छ भन्ने धारणाको विकास गर्नको लागि स्वस्थ्यवद्र्धक तरकारीको उत्पादन गर्ने उद्देश्य लिएर अगाडि बढिरहेका छौँ । यति हुँदाहुँदै पनि यसको कार्यान्वयनको पाटो गाह्रो छ । यो अभियान त सुरु गर्यौँ तर यसलाई नियमित अनुगमन गर्नका लागि कर्मचारीको अभाव छ । 

त्यसैगरी हामीले यस नगरपालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थललाई व्यवस्थित गर्दैछौँ । यो नगरपालिका ‘बुद्ध सर्किट’मा पर्ने भएकाले यहाँ पर्ने हरेक धार्मिक स्थल र पर्यटकीय स्थालको सुधार गर्दैछौँ ।
यसैगरी सिंचाइलाई पनि प्राथमिकतामा राखेर काम गरिहेका छौँ । ‘अटो भिलेज’ बनाउँदै छौँ । जिल्ला सहकारी सङ्घसँग सहकार्य गरेर ३ हजार मेट्रिक टनको कोल्ड स्टोर बनाउँदै छौँ । नगरपालिकाको भवन निर्माणका लागि आफ्नै भवनका लागि सबै पूर्वाधारहरु तयार गरिसकेका छौँ । टेन्डर भइसकेको छ । यो नगरपालिकामा कुनै पनि व्यवस्थित पार्क थिएन । सङ्घीय सरकारको बजेटमा नवरपरासीको बजेटमा हिल पार्क बनाउँदै छौँ । त्यसैगरी फोहोर व्यवस्थापन गर्नका लागि १३ वटै वडाबाट फोहोर एक दिन कुहिने फोहोर र अर्को दिन नकुहिने गरेर उठाउने तयारीमा छौँ । त्यसैगरी नकुहिने फोहोर प्लास्टिक को कसरी पुनः प्रयोग गर्नै भन्ने भन्ने कुराको योजनमा छौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप