शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पलेँटीमा धुनसहित ब्यूँतियो छन्द

आइतबार, १५ वैशाख २०७६, १३ : ४३
आइतबार, १५ वैशाख २०७६

काठमाडौं – छन्द कविताले पछिल्लो समय सान्दर्भिकता गुमाउँदै गएको चर्चा चलिरहेकै बेला त्यसलाई गलत ठहर गर्नेगरि नयाँ पुस्ताबाटै यसको प्रखर अभिव्यक्ति प्रकट भएको छ ।

आधुनिक नेपाली संगीतको पुनः उत्खनन् र चर्चा गर्ने उद्देश्यका साथ डेढ दशकअघि सुरु भएको ‘पलेँटी श्रृंखला’ मा शुक्रबार भूषिता वशिष्ठको छन्द वाचनलाई पलेँटी संयोजक आभाषले टिमको सहयोग सहित धुनबाट सिँगारेका थिए ।

लयात्मक माधुर्य र लालित्य समेटेको नेपाली छन्द कवितालाई यस विधाको अभ्यास गर्ने पारिवारिक विरासत बोकेकी भूषिताले गाएर सुनाएकी थिइन् । कार्यक्रमको प्रारम्भमै भूषिताले उनको हुर्काइमा आमा, बुवा र फुपुले घरमा प्रयोग गर्ने छन्द कविता कसरि मिसिन पुगेको थियो भन्ने जानकारी दिएकी थिइन् । लगत्तै एकपछि अर्को विभिन्न छन्द अनि रसमा तयार भएका लयात्मक कविताहरु सुनाउँदै गर्दा भूषिताले कुनै बखत नेपाली साहित्यको मेरुदण्ड नै मानिने छन्दको पुनर्जागरण संकेत दिँदै गइन् ।

शार्दूलविक्रिडित छन्दमा पंजगन्नाथ उपाध्यायको ‘गुण रत्नमाला’ बाट सुरु गरेकी भूषिताले त्यसै छन्दमा आदिकवि भानुभक्त आचार्यले तयार पारेका ‘बधु शिक्षा’ पनि सुनाइन् । उनले सग्धरा, तोटक, हरि गीता, स्रग्विणि, मन्दाक्रान्ता, भूजंगप्रयात, रथयोद्धासमेत गरेर नौवटा फरक छन्द छनौट गरेकी थिइन् । त्यसलाई फरक–फरक रसहरु समेतले अथ्र्याउँदै १७ वटा रचनाहरु प्रस्तुत गरिएको थियो ।

अदिकवि र महाकविबाहेक उनले कवि शिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भिमनिधि तिवारी र बालकृष्ण समका चर्चित शब्दहरुलाई लयका साथ सुनाएकी थिइन् । पत्रकारिता र हालसालै रंगमञ्चमा समेत आफूलाई उभ्याएर चर्चित भएकी भूषिताको यो नयाँ परिचयबाट पनि श्रोता दर्शक मुग्ध हुन पुगे ।

छन्दमा आधारित पलेँटीको यो प्रस्तुति शनिबार पनि आयोजना भएको थियो भने आइतबार पनि हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप