केन्द्रीय संस्करण

विषयगत प्रश्नोत्तरः यी हुन् रोजगार सिर्जनाका प्रमुख क्षेत्र

person explore access_timeबैशाख १५, २०७६ chat_bubble_outline0

१.    रोजगार सिर्जनाका प्रमुख क्षेत्रहरू के के हुन् ? चर्चा गर्नुहोस् । 
कुनै काम पाएको अवस्था रोजगार हो । पेसा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी आदि जस्ता कार्य गर्नु रोजगार हो । काम दिनु वा पाएको काम गर्नुमा अर्थ छ । काम दिनु रोजगार सिर्जना हो भने यसरी सिर्जना भई पाएको काम गर्नु रोजगार गर्नु हो । रोजगार सिर्जनाको प्रमुख क्षेत्र उद्योग हो, किनकि उद्योगले धेरै जनालाई काम दिन्छ । उद्योगको लगानी संस्थागत हुने, कामकारबाही पारदर्शी हुने, गरेको लगानीले धेरै व्यक्तिलाई कामको सिर्जना हुने, उत्पादन बढ्ने, त्यही उत्पादित वस्तुको व्यापार गर्नेले पनि अरूलाई रोजगार दिएको हुन्छ । वस्तु उत्पादनदेखि वितरण हुँदै उपभोक्तासम्म पुग्दा आउने प्रत्येक चरणमा कामको सिर्जना हुन्छ । उद्योगले रोजगारमा यसरी बहुआयामिक भूमिका खेल्ने हुँदा उद्योग रोजगारको प्रमुख क्षेत्र हो । रोजगार सिर्जनाका अरू क्षेत्रहरू निम्नानुसार छन् ः 

क. कृषि ः 
कुषि उत्पादनशील क्षेत्र हो, वस्तु उत्पादन हुने, उद्योगको लागि कच्चा पदार्थको प्रमुख स्रोत हुने, धेरै जनसङ्ख्याले काम पाउने, सजिलो तथा सरल पेसा भएकाले कृषि रोजगारको एक परम्परागत क्षेत्र हो । यसलाई व्यावसायिक तथा संस्थागत गर्न सकिएमा यसबाट धेरै रोजगार सिर्जना हुने सम्भावना रहन्छ । 
ख. व्यापार 
वस्तु तथा सेवाको खरिद बिक्रीको कारोबार गर्ने पेसा व्यापार हो । यसमा मालवस्तु आयात – निर्यातको कार्य पनि पर्छ । मालवस्तु खरिददेखि बिक्रीका चरणहरूमा धेरै कार्य गर्नुपर्ने हुनाले यसबाट पनि रोजगार प्राप्त हुने गर्छ । नेपाललाई भारत र चीनको ‘ट्रान्जिट प्वाइन्ट’ बनाउन सकिएमा व्यापारबाट रोजगार बढ्ने सम्भावना पर्याप्त छ । 
ग. पर्यटन
मानिसहरूको आवतजावतका कारणले पनि रोजगार सिर्जना हुन्छ । विदेशी पर्यटकहरूको आवागमनले विदेशी मुद्रा आर्जनमा सहयोग पुग्ने, देशको अन्तर्राष्ट्रिय जगत्मा पहिचान बढ्ने, थप पर्यटक आउने हुन्छ । आन्तरिक पर्यटनले आर्थिक कारोबारको थप चलायमान हुन्छ । यसबाट प्रत्यक्ष अप्रत्यक्ष रोजगार सिर्जना हुन्छ । यातायात, होटल व्यवसाय फस्टाउनेदेखि वस्तु तथा सेवा व्यापार पनि बढ्छ । 
घ. वैदेशिक रोजगार
विदेशमा गएर कुनै पेसा, इलम, उद्योग, व्यापार, व्यवसाय, नोकरी गर्नु वैदेशिक रोजगार हो । स्वेदेशमा पर्याप्त अवसर नपाउँदा व्यक्ति अवसरका लागि विदेश जान्छ । नेपालजस्ता विकासोन्मुख देशका लागि वैदेशिक रोजगार रोजगारको प्रमुख क्षेत्र मानिन्छ तर यो अल्पकालीन हो, दीर्घकालीन रूपमा यो रोजगारको क्षेत्र होइन । स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्छ । 
ङ. जनशक्ति
एक जना उद्यम सोच राख्ने जनशक्तिले धेरै जनशक्तिलाई रोजगार दिने हुनाले जनशक्तिलाई पनि रोजगार सिर्जनाको क्षेत्र मान्न सकिन्छ । सीपयुक्त दक्ष जनशक्तिले स्वेदशमा मात्र नभई विदेशमा पनि काम पाउने मात्र होइन अरू धेरैलाई काम दिने सामर्थ राख्छ । त्यसकारण जनशक्ति विकासमार्फत रोजगार सिर्जना गर्नुपर्छ । 
२. नेपाली सेनामा के कस्ता सैनिक अदालत गठन हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । 
नेपाली सेनामा देहायबमोजिमका पाँचवटा सैनिक अदालन गठन हुने व्यवस्था सैनिक ऐन, २०६३ ले गरेको छ ः
क. जनरल सैनिक अदालत
कम्तीमा एक जना रथि, दुई जना महासेनानी वा प्रमुख सेनानी र दुई जना सेनानी दर्जाका अधिकृत रहने गरी पाँच जना अधिकृत रहेको जनरल सैनिक अदालत । यस अदालतमा उपलब्ध भएसम्म कम्तीमा एक जना अधिकृत कानुन विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ । 
ख. समरी जनरल सैनिक अदालत
कम्तीमा दुई जना सेनानी दर्जाका अधिकृत रहने गरी कम्तीमा तीन जना अधिकृत रहेको समरी जनरल सैनिक अदालत । यस अदालतमा पनि उपलब्ध भएसम्म कम्तीमा एक जना अधिकृत कानुन विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ ।
ग. डिस्ट्रिक्ट सैनिक अदालत
कम्तीमा दुई वर्ष आयुक्त पद प्राप्त गरेका मध्येबाट कम्तीमा तीन जना अधिकृत रहेको डिस्ट्रिक्ट सैनिक अदालत,
घ. समरी सैनिक अदालत
नेपाली सेनाको विभाग, फर्मेसन वा एकाइको कुनै कमान्डिङ अधिकृत रहेको एक व्यक्तिको समरी सैनिक अदालत । यस अदालतको कारबाहीमा सहयोग पु¥याउन दुई जना अधिकृत वा दुई जना पदिक वा दुवै दर्जाका एक एक जना गरी जम्मा दुई जना उपस्थित रहने व्यवस्था छ । 
ङ. सैनिक विशेष अदालत
जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर पुनरावेदन सुन्न देहायको एक सैनिक विशेष अदालत रहने व्यवस्था छ ः
(१)    न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले तोकेको उच्च अदालतको न्यायाधीश – अध्यक्ष
(२)  रक्षा मन्त्रालयका सचिव – सदस्य
(३)  प्राड विभागका प्रमुख – सदस्य
३. निजामती कर्मचारीले पालना गर्नुपर्ने व्यक्तिगत आचरणहरू के के हुन् ? लेख्नुहोस् । 
निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ अनुसार निजामती कर्मचारीले पालना गर्नुपर्ने व्यक्तिगत आचरणहरू निम्न छन् ः 
—    आपूmभन्दा माथिका कर्मचारीप्रति उचित आदरभाव देखाउनुपर्ने,
—    आपूmभन्दा मुनिका कर्मचारीप्रति उचित व्यवहार गर्नुपर्ने,
—    जुवातास खेल्ने तथा सार्वजनिक रूपमा जाँडरक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य नगर्ने, त्यस्तो व्यवहार प्रदर्शन नगर्ने,   
—    नेपाल सरकार र निजामती सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनुपर्ने,
४. शरीर वृद्धि गर्न खानुपर्ने कुनै पाँचवटा खानेकुराहरूको नाम लेख्नुहोस् । 
शरीर वृद्धि गर्न खानुपर्ने कुनै पाँचवटा खानेकुराहरूको नाम निम्न छ ः 
क. मासु,
ख. फुल, 
ग. माछा, 
घ.    दूध, दही, 
ङ. दाल, गेडागुडी ।
५. जिल्ला सुरक्षा समितिको गठन कसरी हुन्छ ? उल्लेख गर्नुहोस् ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रत्येक जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था गर्ने काममा सहयोग पु¥याउन देहायबमोजिम एक जिल्ला सुरक्षा समिति रहने व्यवस्था छ ः
(क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
(ख) नेपाली सेनाको स्थानीय प्रमुख – सदस्य
(ग) जिल्ला प्रहरी कार्यालयको प्रमुख –सदस्य
(घ) सशस्त्र प्रहरी कार्यालयको स्थानीय प्रमुख – सदस्य
(ङ) राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालयको प्रमुख – सदस्य
(च) सहायक प्रमुख जिल्ला अधिकारी –सदस्य–सचिव
प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक आवश्यकताअनुसार बोलाउन सक्ने र बैठकमा आवश्यकताअनुसार जिल्लास्थित अन्य कार्यालयका  पदाधिकारीलाई आमन्त्रण गर्न सक्ने व्यवस्था छ ।
६. लैङ्गिक सवाल भनेको के हो ? यसअन्तर्गत पर्ने विषयहरू के के हुन् ? लेख्नुहोस् । 
महिला र पुरुषका विषयमा परिवार तथा समाजमा देखिने तथा देखिएका जल्दाबल्दा सवाल जवाफहरूलाई लैङ्गिक सवाल भनिन्छ । महिला र पुरुषबीच विभेदको विषय, महिला हिंसा, शिक्षा, स्वास्थ्य, रोजगारमा महिलाको पहँुच, राज्य संयन्त्रमा महिलाको सहभागितालगायत यी र यस्तै विषयमा समाजमा छलफल तथा बहस हुने हुँदा यिनलाई लैङ्गिक सवाल भनिएको हो । नेपालमा लैङ्गिक सवालहरूलाई सम्बोधन गर्न संविधानमा महिलाको हक, राष्ट्रिय महिला आयोगको व्यवस्थादेखि कानुनी व्यवस्था र संस्थागत व्यवस्था गरिएको छ, र पनि नेपालमा लैङ्गिक सवालमा उठेका प्रश्नहरू अझै व्यवस्थित हुन सकेका छैनन् । नेपालमा महिला हिंसा, बलात्कार, चेलिबेटी बेचबिखन प्रभावकारी नियन्त्रण हुन नसकेको, राज्य प्रणाली तथा सामाजिक संरचनाका हरेक क्षेत्रमा महिलाको सक्रिय र सार्थक उपस्थिति अझै बढाउन नसकिएको अवस्था छ ।
लैङ्गिक सवालअन्तर्गत पर्ने विषयहरू 
–    महिला हिंसा,
–    महिला बेचबिखन तथा बेश्यावृत्तिमा प्रयोग,
–    महिला सशक्तीकरण र मूल प्रवाहीकरणको अवस्था,
–    समावेशीकरण, सकारात्मक विभेद, आरक्षण र महिला
–    लैङ्गिक समानता र समता,
–    महिलावाद तथा महिला समानतावादीको अवधारणा,
–    परिवारमा महिलाको अवस्था र भूमिका,
–    सार्वजनिक निकायमा महिलाको सहभागिताको अवस्था,
–    सम्पत्तिमा महिलाको अधिकार,
–    महिलाको आत्मनिर्णयको अधिकार,
–    महिलाको प्रजनन अधिकार,
–    विकासमा महिला सहभागिता,
–    तेस्रो लिङ्गी महिलाको अवस्था,
७. नेपालको संविधानले नेपालमा कृषि र भूमिसुधारसम्बन्धी के कस्तो नीति अङ्गीकार गरेको छ ? उल्लेख गर्नुहोस् । 
नेपालको संविधानको धारा ५१ (ङ) ले नेपालमा कृषि र भूमिसुधारसम्बन्धी देहायको नीति अङ्गीकार गरेको छ ः 
–    भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्ने, 
–    किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने, 
–    अनुपस्थित भू–स्वामित्वलाई निरुत्साही गर्ने, 
–    जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, 
–    किसानको हकहित संरक्षण र संवर्धन गर्ने,  
–    कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गर्ने, 
–    भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने, 
–    भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने, 
–    कृषकका लागि कृषि सामग्री, कृषिउपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने ।
–    गोरखापत्रबाट
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...