केन्द्रीय संस्करण

हिन्दू धर्मको संरचना

person explore access_timeबैशाख १४, २०७६ chat_bubble_outline0

शामी परम्परामा पनि ईश्वर त हुन्छ ऊ स्वयम् पृथ्वीमा अवतरित हुँदैन, उसले आफ्नो दूत पैगम्बर पठाउँछ । पैगम्बरबाटै ईश्वरीय इच्छा वा धर्मादेश प्राप्त हुन्छ । हिन्दू धर्ममा ईश्वर टाढै कतै अदृश्य बस्छ र सृष्ठिलाई सन्चालित गर्छ । यसमा कुनै पैगम्बर तथा ईश्वरपुत्र हुँदैन । पछिगएर अवतारका कुरा आएका छन् । अवतारअघि नै एकेश्वरलाई त्रिमूर्तिमा परिवर्तन गरेको पाइन्छ । यसअनुसार अवतार व्रह्मा विष्णु र शिवमध्ये कुनै एकको हुन्छ । अवतारले सम्पूर्ण व्रह्मको प्रतिनिधित्व गर्दैन । यहाँनिर हिन्दूधर्मको संस्थापन समस्यामूलक छ । यो कुनै एक पैगम्बरद्वारा स्थापित धर्म होइन । यसको कुनै एक पैगम्बर छैन । यसका त अनेकौँ ऋषिमुनि र अवतारहरु छन् । शङ्करजस्ता ऐतिहासिक चरित्र छन् । अनेकानेक सन्त र धर्माधिकारीहरु छन् । अपौरुषेय मानिने अति प्राचीन वेदहरु छन् । स्मृतिहरु र पुराण ग्रन्थहरु छन् । गीतासहितको महाभारत छ । यी ग्रन्थहरु पनि वेदभन्दा कम आधिकारिक मान्यताका छैनन् । विगत १५०० देखि २००० सम्मको हिन्दू धर्ममा यी स्मृति र पुराणग्रन्थहरुले वेदले भन्दा पनि बढी आधिकारिकता पाइआएको पनि देखिन्छ ।             

डा सर्वपल्ली राधाकृष्णन् ‘ऐन आइडियलिस्ट भ्यू अफ लाइफ’ नामक आफ्नो पुस्तकमा लेख्छन्, “हिन्दु धर्म कुनै संस्थापित धर्म होइन । यसको उद्भव कुनै ऐतिहासिक घटनाहरुका बीच खोज्न पनि सकिँदैन । जीवका लागि आत्माको अन्तर्यात्रालाई नै जीवनपद्धति मान्नु यस धर्मको प्रमुख विशिष्टता हो । यस पार्थिव शरीरमा नै आत्मालाई जान्नु, धारण गर्नु र आत्मलीन हुनु, अस्पष्टतामा भौँतारिएजस्तो मानसिकतालाई स्पष्ट आध्यात्मिकतामा बदल्नु, सन्तोष र दुःखभोगको स्वतन्त्र स्थितिलाई शान्ति र स्वतन्त्रताका स्थितिमा ढाल्नु, रोग र मृत्युका आघातहरु सहँदै अनित्य शरीरमा भागवत जीवनलाई खोज्नु र त्यसलाई अविर्भाव गराउनु नै हिन्दु धर्मको सनातन लक्ष रहिआएको छ ।” हिन्दु धर्मका बारेमा सरदर यस्तै कुरा अन्य विद्वानहरुले पनि भनेका छन् । यी कुराहरुबाट हिन्दु धर्म प्राचीन पैगन परम्परासित मिल्दोजुल्दो पनि देखिन्छ । यसमा संस्थाबद्ध धर्मका लक्षणको पनि कमी छैन ।

एस.जी. सरदेसाइका अनुसार हिन्दु दर्शन धर्म होइन भन्नु गलत छ किनभने यसमा ईश्वरको धारणा छ । पूजाअर्चनाका विभिन्न रुपहरु छन् । प्रायश्चित्त विधान छ । धार्मिक अनुष्ठान गराउने पुरेतहरु छन् । यस दर्शनमा धर्मका आवश्यक सवै उपादानहरु विद्यमान छन् ।

 ‘हिन्दु धर्म एक जीवनपद्धति हो, एक दर्शन हो, धर्म होइन’ भन्ने तर्कको तीव्र प्रतिकार गर्दै एस.जी. सरदेसाइ ‘प्राचीन भारतमा प्रगति एवम् रुढि’ नामक आफ्नो पुस्तकमा हिन्दु धर्मका जटिल संरचनालाई चिरफार गर्छन् । उनका अनुसार हिन्दु दर्शन धर्म होइन भन्नु गलत छ किनभने यसमा ईश्वरको धारणा छ । पूजाअर्चनाका विभिन्न रुपहरु छन् । प्रायश्चित्त विधान छ । धार्मिक अनुष्ठान गराउने पुरेतहरु छन् । यस दर्शनमा धर्मका आवश्यक सवै उपादानहरु विद्यमान छन् ।

निश्चय पनि हिन्दु धर्म विशृङ्खलित, बहुकेन्द्रीय, परिवर्तनशील र वहुरुपी छ । यो धर्म कहिल्यै ‘जन्मेको’ थिएन र पनि ‘अववर्धित’  भएर आयो । यथार्थमा हिन्दू र हिन्दू धर्मजस्ता शब्दहरु पनि आठौं तथा नवौं शताब्दीतिर मुस्लिम आक्रमणकारीहरुले गढेका हुन् । ऋग्वेददेखि शङ्करसम्मका पच्चीस सय वर्षको समय खण्डमा यो शब्द प्रयोगमा थिएन । हिन्दू धर्म अववर्धित भएर आयो यसैले आजसम्म उपलब्ध व्राह्मण ग्रन्थहरु, उपनिषद्, त्यसपछिका स्मृतिग्रन्थहरु, पुराणहरु, महाभारत गीता  आदिभन्दा आजको हिन्दू धर्म फरक हुनु पनि स्वाभाविक थियो । यी ग्रन्थ र आजको हिन्दू धर्मबीच कति ठुलो अन्तर भेटिन्छ भने कुनै वैदिक ऋषि पुनः जन्मेर यहाँ आइपुगे भने तिनले यस धर्मलाई आफ्नो परम्परागत धर्म भनेर स्वीकार्दैनन् ।

यो यस्तो छ र पनि वेद, स्मृति पुराणहरु र वर्तमान हिन्दू धर्मका बीच निरन्तरता छैन भन्न त्यति मिल्दैन । यहाँ परम्परावाद र गतिरोध लगभग जडताका स्थितिमा छ भन्ने नीरद सी. चौधरीको आलोचनालाई यस तथ्यले खारेज गर्छ । के कुरा स्वीकार गर्नै पर्ने देखिन्छ भने वैदिक धर्म र पछिको हिन्दू धर्मका बीच कहिल्यै कुनै स्पष्ट अवरोध रहेन । जटिल जातिव्यवस्थाको जनक मानिने चातुर्वण्र्य व्यवस्था वैदिक युगमा पनि सरदर विद्यमान थियो । पछि आएर हिन्दू पूजापद्धतिमा मूर्तिपूजाले प्रमुख स्थान लियो र पनि यज्ञको चलन हराएन । आज पनि कति अनुष्ठानहरु भइरहेका छन् ।

उपनिषत् कालमा यज्ञको सर्वोच्च सत्तामा पहिलेको तुलनामा गिरावट आयो । तर पनि पछिल्लो समय ऋग्वैदिक कालका तुलनामा यज्ञ गर्ने अनुष्ठानिक रीतिहरुको विस्तार भयो र महत्वभावमा पनि वृद्धि भयो । ऋग्वेदकालीन ऋषिहरु र उपनिषद्कालीन ऋषिहरुका बीच मुख्य विवाद के थियो भने ऋग्वेदकालीन ऋषिहरु केवल राम्रो स्वास्थ्य, स्वादिष्ठ भोजन, दुधालु गाइहरु र अरु सांसारिक वस्तुहरुको चाहनाका अतिरिक्त बढीमा स्वर्ग–यात्राको चिन्ता गर्थे । यसका विपरीत उपनिषत्कालीन ऋषिहरुका विचारमा जीवनको एकमात्र उद्देश्य व्रह्मको अनन्ततालाई जान्नु थियो र आत्मा पनि व्रह्मकै अंश थियो । जव आत्मा व्रह्ममा एकाकार हुन्छ तव मुक्ति पाइन्छ भन्ने मान्यता थियो । संसारमा आवागमनको चक्रबाट आत्मालाई मुक्त गराउनुलाई मोक्ष भनिन्थ्यो । उपनिषद्हरुमा मोक्षप्रतिका साधनकारुपमा यज्ञलाई होइन, साधना र तपस्यालाई अघि सारिन्थ्यो । यज्ञपक्षमा स्वर्गको सांसारिक र क्षणभङ्गुर आनन्दप्रप्तिको भरोसा दिइन्थ्यो । यस कुरालाई लिएर वैदिक यज्ञका पक्षधर पूर्वमीमांसा र उपनिषत्हरुका रहस्यात्मक भाववाद अर्थात् वेदान्तका पक्षधर उत्तरमीमांसाका नायकहरुका बीच शताब्दियौंसम्म व्यापक सैद्धान्तिक युद्ध चलिरह्यो ।

स्मृतिहरु, पुराणहरु र महाभारतमा वर्णित धर्म जसलाई आज हामी हिन्दूधर्म भन्छौं, यसमा समय क्रममा अवतारका रुपमा ईश्वरहरु धर्तीमा उत्रन्छन् । जस्तै कृष्ण विष्णुका अवतार मानिन्छन् । यहाँ गीताको भक्ति पनि छ ।

स्मृतिहरु, पुराणहरु र महाभारतमा वर्णित धर्म जसलाई आज हामी हिन्दूधर्म भन्छौं, यसमा समय क्रममा अवतारका रुपमा ईश्वरहरु धर्तीमा उत्रन्छन् । जस्तै कृष्ण विष्णुका अवतार मानिन्छन् । यहाँ गीताको भक्ति पनि छ । भक्तिलाई प्रेम, लगन, निष्ठा र प्रार्थनाको सरल मार्ग मानिन्छ । खास गरेर महिलाहरु, वैश्यहरु र शूद्रहरुका लागि मोक्ष सुलभ गराउन यो मार्ग उपयुक्त मानिन्छ । उता उपनिषत्हरुमा यस्ता कुरालाई निषेध गरिएका छन् । उपनिषत्हरुमा मोक्षका निमित्त एक मात्र मार्ग बताइएको छ साधना एवम् ज्ञानमार्ग । महिला तथा शूद्रहरुका लागि यो मार्ग कालो अक्षर भैंसी बराबर भनेजस्तै दुर्बोध छ । यता भक्ति जागरणमा मूर्तिपूजा प्रवल हुँदैआएको पाइन्छ ।

हिन्दू धर्म विश्वका अन्य तमाम धर्मभन्दा बेग्लै एक स्वयंसञ्चालित धर्म मानिन्छ ।  चर्चजस्तो कुनै सङ्गठित पद्धति हिन्दू धर्मसँग छैन । यससँग कुनै संस्थाबद्ध धर्मतन्त्र छैन । हिन्दू धर्मसँग नियन्त्रण र नियमन गर्ने कुनै सर्वोच्च सत्ता छैन । यति हुँदा पनि हिन्दू धर्म कसरी युगौंदेखि निरन्तर विकासमान र सतत क्रियाशील रहिआएको छ ?

पहिलो कुरा त के छ भने हिन्दू धर्म जतिसुकै विशृङ्खलित र विकेन्द्रित किन नदेखियोस् यससित एउटा धर्मतन्त्रीय आधार छ । आदि शंकराचार्यले पनि एक होइन चार चार मठहरुको स्थापना गरेका थिए । हिन्दू धर्मसँग मन्दिरहरु, मठहरु, र धार्मिक अनुष्ठान गराउने पुरोहितहरुको पनि कहिल्यै कुनै अभाव रहेन ।

हिन्दू धर्म जुन समाजद्वारा अपनाइन्छ यो समाज एकरुपी छैन, वहुरुपी छ । यसको संरचना विषम छ । यसका अनेकौं पत्रहरु छन् । चार वर्णको जातिव्यवस्था सयौं जातिहरुमा पुनर्विभाजित छ । हिन्दू धर्मका मूल्य मान्यताहरु र उपासनापद्धतिहरु स्त्रीपुरुष एवम्   समाजका विभिन्न वर्णका लागि फरक फरक तथा सापेक्ष छ । कतिसम्म भने यस धर्ममा समाजका वर्चस्वशाली वर्ग, राजा, पुरोहितवर्ग तथा व्राह्मणहरुलाई विशेषाधिकार समेत प्राप्त छ । यहाँ धर्मप्रतिको विश्वास, कर्मकाण्ड, सामाजिक प्रक्रियाहरु र सांस्कृतिक क्रियाकलापहरुसँग अविच्छिन्न बनिआएको छ । धर्म एक सामाजिक उपक्रम पनि हो, यसैले त्यसको नियमनमाथि सामाजिक नियन्त्रण कायम छ । परिवारभित्रको धर्माचरणमाथि परिवारको प्रमुख, समाजको धर्माचरणमाथि धर्माचार्य र निम्न वर्णका धर्माचरणमाथि माथिल्लो वर्णले नियन्त्रित र नियमित गर्छ । यसमा पनि महिलाको धर्माचरण पूरै पुरुषको अनुशरणमा छ । त्यसको उत्तरदायित्व नै पुरुषमाथि छ । यसरी हेर्दा हिन्दू धर्म  कुनै बाहिरी नियन्त्रण र नियमनविना आ सन्चालित रहिआएको छ भन्न मिल्दैन । यथार्थमा हिन्दू धर्माचरण सामाजिकीकरण प्रक्रियाको अविभाज्य हिस्सा रहिआएको छ । यसै कारण पनि यसको नियमनमा शक्तिका सहाराको त्यति आवश्यकता परेन । तथापि आवश्यक पर्दाका समय पुरुषसत्ता र बाहुनक्षेत्री समाजले शक्तिको प्रयोग गरेको पनि छ ।

धर्म एक सामाजिक उपक्रम पनि हो, यसैले त्यसको नियमनमाथि सामाजिक नियन्त्रण कायम छ । परिवारभित्रको धर्माचरणमाथि परिवारको प्रमुख, समाजको धर्माचरणमाथि धर्माचार्य र निम्न वर्णका धर्माचरणमाथि माथिल्लो वर्णले नियन्त्रित र नियमित गर्छ । यसमा पनि महिलाको धर्माचरण पूरै पुरुषको अनुशरणमा छ ।

हिन्दू धर्ममा अनेकौं मत मतान्तर र पन्थ सम्प्रदायहरु छन् । तिनका अनुयायीहरुको सङ्ख्या र साहित्य विराट छ । यसका अतिरिक्त आवादीको एउटा ठुलो हिस्सा यस्तो पनि छ जो आपूmलाई कुनै मत पन्थ वा सम्प्रदायभित्र राख्दैन, तर पनि कुनै न कुनै हिन्दू जाति वा वंशको हुनुका नाताले आपूmलाई आधिकारिक हिन्दू भन्छ ।  उसका चुल्हा चौका, खानपान, चाडपर्ब, जन्म, उपनयन, विवाह र मृत्यूपरान्तका कामकाज हिन्दू रीतिसिवाज अनुसार चल्छ । इृश्वर, परमेश्वर, भगवान् प्रभु भन्ने भावनामा डुबेर जो कुनै पनि देवीदेवताको पूजाआजा, भजन कीर्तन गर्छन् तिनको पनि धर्म हिन्दू नै हो । तिनीहरुकोमा पनि नवरात्रमा नवदुर्गाको पूजा हुन्छ । साथै सोह्र सरात्, विजया दशमी, दपिावली, रामनवमी, जन्माष्टमी, दशहरा, विभिन्न सङ्क्रान्ति, ठुलो एकादशी, कार्तिक पुर्णिमा, बसन्त पन्चमी, शिवरात्री जस्ता विभिन्न चाडपर्ब र व्रत मनाइन्छ । विभिन्न देवदेवताका पूजा गरिन्छन् । यसका अतिरिक्त विभिन्न मत, पन्थ र सम्प्रदायका अनुयायी पनि छन् ।

समाज शास्त्रीय दृष्टिले हिन्दूधर्मावलम्वीहरुलाई विभिन्न समूहमा विभाजित गरेर पनि अध्ययन गर्न सकिन्छ, जस्तै

१)सवै देव देवताहरु मान्ने तर कुनै पन्थ र मतविशेष नमान्ने हिन्दू ।

२)सवै देवी देवतालाई सम्मान गर्ने तर कुनै देवी देवतालाई आफ्नो इष्टदेव नमान्ने हिन्दू ।

३) सवै दवदेवताको सम्मान गर्दै कुनै खास पन्थ वा मतको अनुयायी, जस्तै शैव, वैष्णव, शाक्त ।

४) कुनै लोकदेवतालाई इष्ट मान्दै हिन्दू धर्मलाई मान्ने जस्तै रामभक्त, कृष्णप्रणामी ।

५)कुनै देवीदेवता नमान्ने तर हिन्दू धर्म मान्ने, जस्तै कबीरपन्थी, आर्यसमाजी ।

६) कुनै देवीदेवता नमान्ने तर आफुलाई हिन्दू ठान्ने जन्मजात ।

स्वाभाविक रुपमै प्हिलो समूहका हिन्दूहरुको सङ्ख्या सर्वाधिक छ । पछिल्लो समूहका थोरै छन् । कति जाति, जनजाति, आदिवासी समूह मूलतः प्रकृतिपूजक पनि छन् । यिनका लोकदेवता, र उपासना अनुष्ठानका रीतिरिबाज फरक छन् । अहिले आएर तिनीहरुलाई पनि हिन्दू अन्तर्गत मान्न थालिएको छ । कति समुदाय यस्ता पनि छन् जो आफुलाई हिन्दू समुदायबाट अलग्गै राख्न रुचाउँछन् तिनलाई पनि हिन्दू आचार्यहरु हिन्दूमै गणना गर्छन् । जस्तै धर्मान्तरित बौद्ध, जैन, र सिख समुदाय । हिन्दू आचार्यहरु यी सवै हिन्दू नै हुन् भन्ने दाबी गर्छन् । यो दाबी बिलकुल निराधार पनि छैन । किन भने यी समुदायहरुसँग हिन्दूहरुको जातिसम्बन्ध र सांस्कृतिक आचार व्यवहार पूर्णतः विच्छिन्न भएको छैन ।

दुनियाँमा कुनै यस्तो धर्म भेटिँदैन जसले असङ्ख्य देवी देवताका पूजाको माध्यमबाट ईश्वरको एकतामा अगाध विश्वास पैदा गर्नमा सफलता पाएको होस् जस्तो कि हिन्दू धर्म । यस धर्ममा एकातिर चिन्तनका आधारमा एक मात्र ईश्वरमा विश्वास गर्ने सर्वोच्च स्थितिप्राप्त व्राह्मण पुरोहित थिए भने अर्कातिर गाउँबस्तीहरुमा असङ्ख्य देवीदेवतामा विश्वास गर्ने गरीव जनसमुदायहरु थिए । यति मात्र होइन, लोकसमूह र आदिवासी जनसमुदायका पनि आआफ्ना देवदेवताहरुमा आस्था थियो । यसको तात्पर्य के हो भने सुदूर अतीत देखि आजसम्म हिन्दू धर्मभित्र एकताका अतिरिक्त अनेकौँ विभिन्नताहरु प्नि रहिआएका छन् ।

पिछडिएका अनकण्टार गाउँमा बस्ने हिन्दू धर्मी निरक्षर किसान समेत पनि ईश्वर एउटै छ तर अनेकौँ रुपमा आराधना गर्न सकिन्छ भन्नेमा विश्वास गर्थे । यस विश्वासमा उनीहरुको आफ्नो आस्थाको रुप पनि सम्मिलित हुन्थ्यो । अनेकमा एकको यो अवधारणा शहरदेखि गाउँबस्तीका कुनाकुनासम्म विद्यमान थियो ।

पिछडिएका अनकण्टार गाउँमा बस्ने हिन्दू धर्मी निरक्षर किसान समेत पनि ईश्वर एउटै छ तर अनेकौँ रुपमा आराधना गर्न सकिन्छ भन्नेमा विश्वास गर्थे । यस विश्वासमा उनीहरुको आफ्नो आस्थाको रुप पनि सम्मिलित हुन्थ्यो । अनेकमा एकको यो अवधारणा शहरदेखि गाउँबस्तीका कुनाकुनासम्म विद्यमान थियो । गीताले यसलाई ’विभक्तमा अविभक्त‘ नाम दिएको छ । अनेकमा एकको यो भाव अनेकौँ भजन, कीर्तन, कथा, पूजा, उत्सव आदिका माध्यमबाट व्यक्त गरिन्थ्यो । यो संश्लेषण केवल सतही मात्र थिएन, लाखौँ करोडौँ जनको चेतना र आस्थामा भिजेको अनुभूति थियो ।

यी क्रियाव्यापारको विश्लेशण कसरी गर्ने ? यसको विश्लेशण गर्नका लागि सयौंं समुदाय र तिनका देवताहरु र लोकदेवताहरुलाई हिन्दू संघमा समाविष्ट गर्नु पर्ने हुन सक्छ जसको शिखरमा सवैभन्दा कुशाग्र बुद्धिमान् र चिन्तनशील पुरोहित व्राह्मणहरु अवस्थित रहन्छन् । जातिनियमहरुमा जो सामुदायिक जीवनबाट सगोत्रीय विवाहका रुपमा आएका थिए कुनै पनि किसिमको बन्धन खुकुलिनु असह्य थियो । देवताहरु र तिनका पूजा पद्धतिमा उन्मुक्तताको अनुमति थियो । लोकदेवगण, शिखरस्थ हिन्दू एकेश्वरवादी ईश्वरीयताकै ’रुप‘ भएका थिए । यसरी हिन्दू धर्मका अभिरक्षकहरुले अनेकौं समुदायलाई हिन्दू धर्म संघमा ल्याएर अनेकतामा एकता र लचिलोपनबाट समस्याहरुको समाधान जुटाएका थिए ।

एकेश्वरबादबाट वहुदेववाद र सर्वेश्वरवादको यस संश्लशण प्रक्रियालाई एक कुशल शिल्पविधानका रुपमा व्यक्त गरिएको थियो । हिन्दूहरुको त्रिदेव अर्थात् व्रह्मा विष्णु महेशमध्येका अन्तिम देव महेशका विशेषताहरु आदिम समुदायहरुबाट टिपिएका थिए । परवर्ती हिन्दू युगका शिव शङ्गर प्राचीन वेदमा वर्णित रुद्रभन्दा धेरै फरक थिए । यसका अतिरिक्त पिछडिएका समुदायहरुका असङ्ख्य गणचिन्हसूचक देवताहरुलाई हिन्दू देताहरुका अधीनस्थ देवताका रुपमा स्वीकार गरिएको थियो । हिन्दू पुराणपरम्परामा विष्णुको सवारी गरुड छ, गशेशको मूसा छ, रामका सेवक हनूमान छन् यमको सवारी भैँसी छ, शिवको सवारी नन्दी छ र कृष्णका साथमा गाइहरु छन् । यसरी अन्य विभिन्न देवीदेवताका पनि आआफ्ना वाहन छन् । यस्तै यस परम्परामा विभिन्न भागवत् अवतारहरु छन् जस्तै मत्स्य, कच्छप, वराह । प्रकृति पूजकहरुका लागि पनि यहाँ खुल्ला क्षितिज छ ।

हिन्दू धर्मको संरचनासँग जातिआधारित समाज व्यवस्थाको गहिरो सम्बन्ध छ । हिन्दू धर्म एक मात्र यस्तो धर्म हो जसमा अलग अलग किसिमका सामाजिक संरचनाहरु छन् । अरु धर्मले जस्तै यसले पनि दासत्व, सामन्तवाद र पूँजीवादलाई आफ्नो अनुकूल बनाएको छ । तर जातिको अस्तित्व भने यहाँ सधैँ यथावत् रहिआएको छ । हिन्दू धर्मको यो अहम् सवाल हो । यो धर्म जतीयतासँग अभिन्न रुपमा गाँसिएको छ ।

जसरी हामी कतिपय धर्मको चर्चा गर्दा तिनको संस्थाबद्ध धर्मतन्त्र विना कल्पना गर्न सक्दैनौं ठीक त्यस्तै हिन्दू धर्मलाई पनि जातिविना कल्पना गर्न सकिँदैन । जहिलेबाट हिन्दू धर्मतन्त्र अस्त्विमा छ तहिलेबाट जातजाति पनि विद्यमान छन् । प्रचलित अन्तर्जातीय विवाहहरुको परिणाम स्वरुप जातिव्यवस्था समाप्त हुँदै गयो भने हजारौं वर्षबाट विकसित हिन्दू धर्मतन्त्र पनि छिन्नभिन्न हुने छ र कुनै अर्कै रुपमा रुपान्तरित हुने छ । यसको आजको पहिचान रहने छैन । आज पनि समाजमा हामी के देख्छौं भने अन्तर्जातीय विवाह गरेका दम्पति पारस्परिक अर्थमा त्यति धार्मिक हुँदैनन् र तिनीहरुमाथि सामाजिक नियन्त्रण पनि अपेक्षाकृत कम प्रभावी हुन्छ । यद्यपि शुरुमा तिनीहरुले रुक्खो तिखो सामाजिक प्रतिवादको सामना गर्नु पर्ने पनि हुनसक्छ ।

जातिको अनिवार्य तात्पर्य सजातीय विवाह रहिआएको पाइन्छ । सजातीय विवाह विना कुनै जाति कायम रहिरहन सक्दैन । यसबाट के निष्कर्ष निस्कन्छ भने प्रत्येक हिन्दू हिन्दूका रुपमा जन्म लिन्छ । यदि जन्मतः उसको कुनै जाति छैन भने उ हिन्दू हुन सक्दैन ।

जातिको अनिवार्य तात्पर्य सजातीय विवाह रहिआएको पाइन्छ । सजातीय विवाह विना कुनै जाति कायम रहिरहन सक्दैन । यसबाट के निष्कर्ष निस्कन्छ भने प्रत्येक हिन्दू हिन्दूका रुपमा जन्म लिन्छ । यदि जन्मतः उसको कुनै जाति छैन भने उ हिन्दू हुन सक्दैन । जवसम्म कुनै निश्चित जातिमा जन्मेको प्रमाणित हुँदैन तवसम्म कुनै जातिसँग उसको नाता सम्बन्ध कायम हुन सक्दैन ।

अति प्राचीन कालमा बेग्लै व्यवस्था रहेको हुन सक्छ, जेहोस् विगत २०००वर्षबाट प्रचलित परम्परामा हिन्दू धर्ममा व्यक्तिका रुपमा प्रवेशका लागि कुनै प्रावधान छैन । हिन्दू धर्ममा व्यक्तिले प्रवेश नपाउनुको कारण जाति हो । जवसम्म निश्चित कुनै जातिसँग सम्बद्ध छैन हिन्दू हुन सक्दैन । कुनै निश्चित जातिमा जन्म नलिई त्यस जातिका रुपमा व्यक्तिलाई समाजले स्वीकृति दिन कसरी सक्नु ?

सरदेसाई भन्छन्, हिन्दू दर्शन एक धर्म नभएर जीवन पद्धति हो भनिन्छ यथार्थमा यो जीवन पद्धति अरु केही होइन जातीय व्यवस्था हो । यहाँ जातिको अर्थ हो, पूरै समाजका बीच बनेका हजारौं खण्डविभाजन । जहाँ जन्मका आधारमा पैदा भएको असमानताका खाडलहरु भर्नै सकिँदैन । किन भने यसलाई धर्मको स्वीकृति प्राप्त छ । 

राजाराम भादू लिखित तथा राजकमल प्रकाशनद्वरा प्रकाशित ‘धर्मसत्ता और प्रतिरोध की संस्कृति’ पुस्तकबाट । हिन्दीबाट नेपाली अनुवादः शारदारमण नेपाल

Photo:http://www.johntyman.com

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...