शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लघुकथा : सालिक बन्ने रहर

शनिबार, १४ वैशाख २०७६, ११ : १७
शनिबार, १४ वैशाख २०७६

-विष्णुप्रसाद आचार्य

यसरी सधैँ मूर्तिवत् उभिइरहन सालिकलाई पट्यार लाग्यो । निकै बल लगाएपछि निर्जीव फोक्सामा प्राण वायु सञ्चार  भएझैँ महसुस भयो उसलाई । अब ऊ विस्तारै मान्छेको बस्तीतर्फ चलायमान भयो  ।
हिँड्दै जाँदा पहिले एक झुण्ड कलिला नानीहरूमा उसको आँखा पर्यो । तिनका अबोध वार्तलाप र व्याकरणहीन बेसुरा बोलीहरूमा उसले सारङ्गीको धुन भेट्टायो । तिनीहरूको पाक्कपुक्क परेका गालाहरूमा सुस्तरी मुसारेर गहिरो चुम्बन पनि गर्यो ।

यो रमाइलो अनुभूतिले उसको डेग फूर्तिलो तुल्यायो ।  अझै रोमाञ्चित हुँदै उसले मध्य सहरस्थित प्रौढहरूको जमघटमा आफ्नो पाइला हाल्यो । अलिक असाधारण कदको र अपरिचित मानिस देखेर स्थानीयले खासखुस गरेको उसले भेउ पायो । तर उसले आफूलाई निरन्तर सम्हालेर जनजनमा सामान्य मानिस हुनुकै अनुभूति छाड्दै गयो । अलिक अगाडि बढेपछि उसले केही मान्छेहरूले पराल, खोस्टा र झुम्राझाम्री कोचेर मानव आकृतिकै पुत्ला बनाइरहेको देख्यो । एकै छिनमा लास बोक्ने खटमा टनटनी बाँधी एकोहोरो शङ्ख र मूर्दावादको नारासहित सो पुत्लाको दाह संस्कार गरिएको पनि देख्यो ।

मान्छेको यस्तो प्रतिशोधपूर्ण आवेग देखेर उसको मन चिमोटियो । सो स्थानबाट सरासर अगाडि बढ्दै जाँदा उसले बाटामा  युद्धमा परी हातखुट्टा गुमाएका अशक्तहरू देख्यो, जवानीमै विधवा भएर सुक्सुकाइरहेका तरुनीहरूको उजाड सिउँदो देख्यो । बिजुलीको भर्याङ चढेर कुन्नि के नाम गरेको सपिङ कम्प्लेक्समा पनि छिर्यो ऊ । त्यहाँ उसले रेडपाण्डाको छाला बेच्ने तस्करदेखि कात्रो किन्दा भ्रष्टाचार गर्ने कर्मचारीसम्म देख्यो ।

यी सबै पछिल्ला परिघटनाहरूले उसलाई  हतप्रभ बनायो । सुरुमा भेटिएका अबोध बालबालिका र पछाडि क्रमशः भेटिएका प्रौढहरूको व्यावहारलाई उसले मनको तराजुमा पालैपालो जोख्यो पनि ‘मान्छेहरू उमेर छिप्पिँदै गएपछि नितान्त व्यक्तिवादी र मतलबी हुँदा रहेछन्’ उसलाई यो दिव्यज्ञान प्राप्त भएझैँ भयो । ‘कागको मासु त्यो नि कुकुरको  जुठो’सम्म खान सक्ने यो समाज उसलाई  नर्कतुल्य लाग्यो । कमसेकम वर्षको एक पटक भए पनि मान्छेहरूले फूल माला र अबिरले पूजा गर्ने र  जवान युवतीहरूले दिनहुँ आफूसँग ढेसिएर पोज पोजको तस्बिर खिच्दा अपार आनन्द आउने कुराको सम्झनाले उसलाई झन् पुलकित बनायो । ऊ नर्कतुल्य मानव बस्तीबाट हतार हतार पुनः पहिलेकै स्थानमा पुगेर मूर्तिवत् उभिन खोज्यो । तर दुर्भाग्य आफू उभिएको त्यही डोबमा कोही मान्छे यसअघि नै सालिक बनेर मुस्कुराइरहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप