शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : हुरीमा उभिएको पीपल

शनिबार, १४ वैशाख २०७६, ११ : १२
शनिबार, १४ वैशाख २०७६

 –लक्ष्मण सिटौला

सहनशीलतामा म 
हुरीमा उभिएको पीपल हुँ 
आँसुमा म 
वर्षाले ओकलेको झरी जस्तै हुँ 
पीडितमा म 
अनन्त प्रहार सहने अचानो हुँ 
वेदनामा म 
इन्द्रेणी आँसु हुँ
रोदनमा म 
झरीको झ्याउँकिरी हुँ 
जो जङ्गलको एकान्तबाट कुरकुराउँछ । 
एउटा प्रध्वनि हुँ म आलापको आदिमता
शान्तिमा म मादी  दरौदीबाट बहने 
चिसो पवन हुँ ।

ध्वनिमा म धवल प्रसून हुँ 
जो बिहानीको सूर्य मुस्कानको 
प्रदीप्तिमा उत्फुल्लिन्छु  
मान्छेमा म बुद्धको छाया हुँ 
जो सदा परहितमा नै जित देखिरहन्छु । 
स्वरमा म 
नदीसँगै गुन्जिने किनाराको आवाज हुँ 
जोसँग नदी छैन मात्रै किनार छ । 
शान्तिमा म लुम्बिनी हुँ 
आवाजमा म
पङ्ख पुकारा हुँ 
जो पहराबाट लहरिँदै आउने प्रतिध्वनि 
न्यानोमा म बिहानको कलिलो किरण हुँ 
जो हरेक कोपिलालाई ढोग्छ सबेरै 
आनन्दमा म 
झर्नाको झङ्कार हुँ सङ्गीतको सीतार हुँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप