केन्द्रीय संस्करण
कथा

पेमासँगको एक साँझ

person explore access_timeबैशाख १४, २०७६ chat_bubble_outline0
सौगात पोखरेल

रातोपाटी

रहर बन्दकी राखेर जिन्दगी घिसारिरहेको बेला हिमालको काखमा बसेर पनि मान्छेहरु मोटा चामलको सपना देखिरहेका हुन्छन् । पहिले ढिँडो र गुन्द्रुक खाएकै हुन् । तर तिनै मुखले अहिले थकाली किचनमा ढिँडो मगाउनेहरुको भीड बढेको छ । त्यसो त सबै भाइकी एउटै श्रीमती बनेर जिन्दगी काट्ने डोल्माको सपना अर्को जुनीमा बिहे नगरी बस्ने छ । बैंसालु उमेर गुम्बामा बिताएकी पेमालाई अर्को जिन्दगी मिल्यो भने माइली छोराछोरी नभएर जन्मने रहर छ । 

बाबुआमाको पुण्य कमाउने चाहनामा जन्मिएकी पेमाको बाल्यकाल भेडा, च्याङग्रा र चौँरीहरुसँग बित्यो । कलमले कखरा लेख्ने हातले लठ्ठी समात्न पार्यो । उसो त उनीले कलम नसमातेकी पनी होइनन् ।

कहिलेकाहीँ उनको दाइ आलु रोप्न जाँदा, फापर काट्न जाँदा, स्याउ टिप्न जाँदा पेमा दाइको सट्टा स्कुल पनि गएकी छीन् ।  जब उनको कपालसँगै उमेर बढ्दै गयो तब पेमाले घरसँगको दुरी पनि घटाउन सकिनन् । बरु सुरुभयो गुम्बाको यात्रा, बुद्धम् शरणम गच्छामीको लयमा जिन्दगीले धेरै वर्ष फन्को मार्यो ।              

पेमा एघार वर्षको उमेरमा भिक्षु बनिन् । जतिबेला उनलाई भिक्षु किन बनियो भन्ने पनि थाह थिएन ।  झुमाहरुसँगको कुराकानीपछि बल्ल थाह भयो पेमालाई गुम्बा जानुका कारण भनेको आफ्नो बाबुआमाको माइली सन्तान भएर जन्मनु थियो ।   

उनलाई गुम्बा जानुका कारण त थाह भयो तर गुम्बा  कसका लागि बसेको हो भन्ने कारण चाहिँ अहिले पनि थाह भएन । पेमाले त्यो थाह पाउन थुप्रै पटक माला जप्नुपरेको छ ।

उनलाई धेरै कुरा नजानेको कहिल्यै चिन्ता लागेन बरु यात्रामा कतै छुटिएछ कि झैँ लाग्यो । उनको गुम्बा यात्रासँगै उनीसँग थुप्रै चिज छुटेका छन् । गुम्बा यात्रामा बालापन गाउँमा नै छुटेका छ । जन्मदिने बाआमा, सँगै हुर्किएका दाजुभाइ, दीदीबहिनी, सँगै खाइखेलेका  साथीभाइ पनि त छुटेका छन् ।

जिन्दगी हिसाब किताब गरेर चल्दैन । फेरि पनि उनको जिन्दगीमा धेरै कुरा जोडिएका पनि छन् । नयाँ साथीभाइ सङ्गत मिलेको छ । गुरुको शिक्षा मिलेको छ । ध्यानको ज्ञान  मिलेको छ । बैंसको हुरीले मन मडारिएर आउँदा पनि नियन्त्रणमा  राखेकी छन् । बैंसको हुरी चल्दा पनि बोधीचित्त गनेर बसेकी पेमालाई हिउँको चिसोले पोखरासम्म ल्याइपु-यायो ।

जहाँ म थोत्रो स्टोभलाई दम दिएर जिन्दगीलाई घिसारिरहेको थिएँ । उनी उसैगरी घिस्रिरहेकी थिइन् । हाम्रो मित्रता कहिले पानी घिसार्दा कहिले भाँडा घिसार्दा ठोक्किएर बनेको थियो । कहिलेकाहीँ जिन्दगीबाट बिरक्त लाग्दा जोगी बनिदिऊँझैँ पो लाग्छ त पेमा हामीलाई तिमीलाई चाहिँ बिरक्त लाग्दा के भइदिऊ झैँ लाग्छ भन्दा पेमा भन्थी– ‘मलाई चाहिँ मान्छे हुन मन लाग्छ  ।’ 

म भन्छु– ‘मान्छे नै त हौ यार तिमी नि ?’     

उ भन्थी– ‘मान्छे हुनु भनेको आफ्नै मनको मालिक हुनु हो ।’                   

म भन्छु– ‘तिमी पनि आफ्नै मनको मालिक त हौं ?’                        

उ भन्थी– ‘म पँखेटा काटिएकी चरी हुँ । मेरो जिन्दगीको नियन्त्रक म होइन ।’

म भन्छु– ‘यो अली दार्शनिक कुरा भो म बुझ्दिनँ, रमाइलो कुरा गर न यार ? छुटिने बेला ।’

उ भन्थी– ‘यो जुनिमा त्यस्तै अर्को जुनीमा चाहिँ कुरा मात्र होइन रमाइलै गर्न पर्छ ।’           

 म भन्छु– ‘रमाइलो गर्न अर्कै जुनी कुर्न पर्ने केछ रमाइलो त मान्ने हो नि ।’

उ भन्थी– ‘जिन्दगी मानेर चल्दैन नि तिमीलाई भोक लाको छ ।  अघाएको छु भन्ने  मानेर बाँच्न त सकिन्न नि ?’

म भन्छु– ‘तिमीलाई नसकिने भो रहरका कुरा गरौँ, अर्को जुनी पाइहालियो भने तिमीलाई के हुने रहर छ ?’

ऊ भन्थी– ‘धेरै केही छैन । अर्को जुनीमा माइला छोरा वा छोरी नभए हुन्छ ?’       

म भन्छु– ‘बिहे गर्ने रहर छ क्या हो ?’

ऊ भन्थी– ‘बिहे मात्र ?’

म भन्छु– ‘लौ लौ यो जुनीमा कुरा गर अर्को जुनीमा  काम ?’     

ऊ भन्थी– ‘तिम्रो आशीर्वाद लागोस्, घोर्ले छोरो लिएर तिमीलाई भेट्न आउला, अर्को जुनीमा भोली म गुम्बा फर्कंदैछु । यो जिम्बु राख अलिकति  छ । भोलि भेट नहुन नि सक्छ ।’

जिम्बु समाउन के ल्याएको थिएँ, कुकरको सिठ्ठीले बोलायो । त्यो साँझदेखि बेखबर छे पेमा, जसरी सरकार बेपत्ता छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...