केन्द्रीय संस्करण

जनजीवनका बाटो छेक्ने सत्ताका पर्खालहरु

सम्माननीय राष्ट्रपतिको महिमामण्डित गरिमामय सवारीमा यस पटक आकाशचारीहरुको पनि मानमर्दन भएछ

person explore access_timeबैशाख १४, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

“राष्टपतिको एक उडानले नागरिकका २०० उडान अस्तव्यस्त । दिनभरी नै उडान प्रभावित ।” शुक्रबार राजधानीबाट प्रकाशित एउटा खबरकागतको मुख्य खबरको ठुला—अक्षरे शीर्षक थियो यो । शीर्षक पढ्दै मैले महाभारतका एक जब्बर पात्र भीमसेन सम्भेmँ । भीमसेनका पाखुरामा हजार हात्तीको जति बल थियो । उनले सालको बडेमानको रुख उखेलेर हल्लाउँदै झम्टेपटि विपक्षतिरका हजारौं योद्धाहरुको भागाभाग हुन्थ्यो । त्यस्तै अर्जुन एक नम्बरका धनुर्धारी थिए । बुद्धिमान त्यत्तिकै थिए । रणक्षेत्रमा अर्जुनको रथ देखेपछि विपक्षतिरका हजारौं योद्धाहरु भागाभाग हुन्थे । तिनीहरुका दिनभरीका युद्धयोजना अस्तव्यस्त हुन्थ्यो । रामायणका हनुमान त्यस्तै थिए । द्रोणाचल पहाड उठाएर काँधमा बोक्दै आकाशमार्गबाट हनुमान लंङ्कातिर लाग्दा रावणको पुष्पक विमान आत्तिएको थियो । हजारौं हजार लङ्ंकालीहरु भगाभाग गरेका थिए ।

यी अतीतका घटना थिए । महाकाव्यका कुरा थिए ।

वर्तमानमा हाम्रा राष्टपति महोदयले आफु उड्दा २०० वटा अरु विमानका उडानलाई दिनभरी नै अस्तव्यस्त बनाइदिनुभएछ । आजको युगमा यो चानचुने कुरा भएन । महाभारत र रामायणको जस्तै अजङ्ंगको कुरा भयो यो । सम्माननीय राष्टपतिकोे महिमामण्डित गरिमामय सवारीमा सडकका हजारौं हजार गाडीचढी र लाखौं लिखुरे खुट्टेयात्रीहरुको अस्तव्यस्तता त भइआएकै थियो, हुन्थ्यो नै । यस पटक आकाशचारीहरुको पनि मानमर्दन भएछ ।


यी यस्ता ऐतिहासिक घटनाहरु कुनै खास कालखण्डमा कुनै खास समृद्ध मुलुकको विशिष्ट लोकतान्त्रिक राज्यव्यवस्थामा त्यहाँका निवासी भाग्यमानी नागरिकहरुले मात्र देख्न सुन्न र बेहार्न समेत पाउँछन् । यसको लागि हामी नेपाली आबाल बृद्ध सबैले छाती फुलाएर गौरब महसुस गर्नुपर्छ । हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्र कति छिटै हुर्केर ढकमक्क फुलेछ ।


यी यस्ता ऐतिहासिक घटनाहरु कुनै खास कालखण्डमा कुनै खास समृद्ध मुलुकको विशिष्ट लोकतान्त्रिक राज्यव्यवस्थामा त्यहाँका निवासी भाग्यमानी नागरिकहरुले मात्र देख्न सुन्न र बेहार्न समेत पाउँछन् । यसको लागि हामी नेपाली आबाल बृद्ध सबैले छाती फुलाएर गौरब महसुस गर्नुपर्छ । हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्र कति छिटै हुर्केर ढकमक्क फुलेछ । बास्नाले हामी अकिन्चन नेपाली जनता ०७२को भूकम्पले भत्काएका र हुरीले उडाएका छाप्रा–छाप्रामा विभिन्न तडपनका बीच पनि आह्लादित छौं । मखमेल छौं ।

हाम्रा महामहिमहरुको घरायसी वा राजकीय कुनै पनि सवारी र उडानमा धर्ती आकाश जताततै मुलुकको भव्य अतिभव्य आर्थिक, सांस्कृतिक विकासका जाज्ज्वल्यमान उपलब्धिहरुप्रतिको गौरवज्ञापनकै लागि पनि अभूतपूर्व सुखसमृद्धिको शान त प्रदर्शित हुनैपर्छ नि हैन र ? यति पनि नभए के गणतन्त्र ? के लोकतन्त्र ? के सुख ? के समृद्धि ?

पुराणकालमा त महिमाशाली व्यक्तित्वहरुको सत्तासौभाग्यविभूषित शासकीय सवारीहरुमा अझ माथिको आकाशबाट नन्दनबनमा फुलेका पूmलहरुको पुष्पवृष्टि समेत पनि हुन्थ्यो । यो काम त्यति वेलाका एकथरी देवताहरु गर्थे । अहिलेको यति बेलाका  ती देवताहरु शायद आफ्नो परम्परागत नन्दनवागको फुलखेती छोडेर पहेँलो पदार्थवृष्टिको योजनामा यूरोप अमेरिकातिर लागेका हुनसक्छन् । शरीर जता भए पनि तिनको ध्यान त्यतै पुगेको पनि हुनसक्छ ।

हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा राजकीय भव्यताको कुरा गर्दैछौं । सुखसमृद्धिको कुरा गर्दैछौं । समृद्धहरुको यात्रा, राजकीय यात्राको कुरा गर्दैछौं ।

आफु आधा पेट ढिँडो खाएर भुँडे साहूजीका भकारीको धान कुटिखेलो गर्ने सिकुटे गरीबका आँखामा चामल परिचित रहेजस्तै शोषित पीडित जनजीवनका आँखामा हिजो पनि सत्तासीनहरुको सुखसमृद्धि र तामझामका सवारीहरु अपरिचित कुरा थिएनन् ।

राजधानीमा दरबारहरु हिजो पनि थिए । विलास महलहरु हिजो पनि थिए । सत्तासीनहरु, दरबारियाहरु, महलवासीहरु जो थिए ती हिजो पनि समृद्ध थिए । समृद्धिले सुख किन्न सक्थे । जीवन विलासवैभवले लदाबदी थियो । आठपहरियाहरुले तिनका आभ्यन्तरिक सुखसयलहरु देख्थे । रिसल्ला दौडाएर व्यवस्थित गरिने तिनका सवारी र राजकीय सवारीहरुमा तिनका चिल्ला गाला, रसिला अनुहार र खाइलाग्दा पाैँजापुट्ठा सडकका दुनियाँदारले पनि देख्थे । आफु आधा पेट ढिँडो खाएर भुँडे साहूजीका भकारीको धान कुटिखेलो गर्ने सिकुटे गरीबका आँखामा चामल परिचित रहेजस्तै शोषित पीडित जनजीवनका आँखामा हिजो पनि  सत्तासीनहरुको सुखसमृद्धि र तामझामका सवारीहरु अपरिचित कुरा थिएनन् ।

एउटा कुरा भने अपरिचित लाग्न थालेको छ । हिजो शव्द र कर्ममा एकरुपता थियो । शासकहरुका लागि छुट्टै शव्दविधान र कार्यविधान थिए । सवारी भन्ने बित्तिकै राजामहाराजाको सवारी भन्ने बुझिन्थ्यो । राजा महाराजाहरु स्वयम्भू शासक हुन्, दमनकर्ता हुन्, हामी जनताका मर्म व्यथा बुझ्ने हाम्रा प्रतिनिधि होइनन् भन्ने बुझिन्थ्यो । दुनियाँदारले सडक छोडेर होसियारीसाथ पाखा लाग्नुपर्छ भन्ने बुझिन्थ्यो । एक किसिमले पचाउन सजिलो थियो ।

जनताकै मतदानको भर्‍याङ् चढेर सत्तासीन भए पनि जन आकाङ्क्षा र जनसंस्कृतिलाई भसक्कै बिर्सेर पुरानै सामन्ती शासकीय संस्कृति बोक्दै हुइँकिएको नेपालको अहिलेको सरकारलाई कम्युनिष्टहरुको सरकार भन्ने कि नभन्ने ? यसमा अहिले कति बुद्धिजीवीहरुलाई पनि अलमल छ । हामी जनतालाई अलमल छैन । हामीलाई थाहा छ सिद्धान्तधारी कम्युनिष्टहरुको सरकार यस्तो हुँदैन, नामधारी कमनिष्टहरुको सरकार यस्तै हुन्छ । यस्तो सरकारले यस्तै तामझामका काम मात्र गर्न सक्छ । बाँकी गरीब जनताका पक्षमा पनि काम गर्छु त भन्छ, एकाध काम गर्न खोजेजस्तो पनि गर्छ तर गर्न सक्दैन । डाडू पन्यू बोकेर सरकारकै विधाता बन्न पुगेका भ्रष्टहरु, किसिम किसिमका पूँजीपतिहरु, दलालहरु, माफियाहरु, बिचौलियाहरु, वाहुवलीहरु अन्यायी अत्याचारीहरु, आदि इत्यादिहरुले आफुले लाए अह्राएका कामबाट दायाँबायाँ गर्न सरकारलाई फुर्सतै दिँदैनन् । सरकार ६ घण्टा सुत्छ बाँकी १८ घण्टा तिनकै काममा व्यस्त रहन्छ । कहिले त ६ घण्टा पनि सुत्दैन । सडक र कार्यालयहरु सुत्छन् सरकार विभिन्न बजारमा जागा रहन्छ ।


जनताकै मतदानको भर्‍याङ् चढेर सत्तासीन भए पनि जन आकाङ्क्षा र जनसंस्कृतिलाई भसक्कै बिर्सेर पुरानै सामन्ती शासकीय संस्कृति बोक्दै हुइँकिएको नेपालको अहिलेको सरकारलाई कम्युनिष्टहरुको सरकार भन्ने कि नभन्ने ?


लोकतान्त्रिक गणतन्त्रको सुखसमृद्धियात्रामा अघि बढेको कम्युनिष्ट नामधारी दलको यतिसम्मको जागा नेतृत्वमा चलेको समाजवादोन्मुख सरकारले आफ्ना महामहिमहरुको राजकीय यात्रामा आफूले गर्न सक्ने यति तामझाम र क्षमताप्रदर्शन पनि नगरे कहिले गर्ने ?

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...