शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेडियोमा मेरो आवाज सुनेर बुबा रुनुभयो– गायक योगेश काजी

शुक्रबार, १३ वैशाख २०७६, १३ : २३
शुक्रबार, १३ वैशाख २०७६

गायक, सङ्गीतकार र म्युजिक एरेन्जरका रूपमा चिनिँदै आएका छन् योगेश काजी । उनी चलचित्रको पाश्र्वगायन र सङ्गीत समेत क्रियाशील छन् । सानैदेखि गीत सङ्गीतप्रति लगाव भएका उनको साङ्गीतिक प्रतिभाले फक्रने अवसर  भने ०६५ मा इमेज च्यानलले सञ्चालन गरेको गायन रियालटी सो ‘साउथ एसियन स्टार’ पछि पायो । सोमा उनी १७ हजारभन्दा बढी प्रतियोगीबाट छानिएर उत्कृष्ट ६ मा पर्न सफल भएका थिए ।

त्यसपछि सङ्गीतको प्रशिक्षणसहित व्यावसायिक रूपमा यो क्षेत्र रोजेका उनी ‘नाइके’ फिल्मको ‘नाइके हो नाइके’ गीतबाट सङ्गीत क्षेत्रमा चिनिए । त्यसपछि २०७२ को भूकम्पपछि आएको ‘दैव हो’ गीतबाट उनी चर्चामा समेत रहे । यी गति अगाडि उनले थुप्रै गीत गाए पनि नोटिसमा भने पर्न सकेका थिइनन् ।

३ सयभन्दा बढी गीत, टेलिभिजन, एफएम, सिमेन्ट, डिसहोम, चकलेट लगायतका विज्ञापनमा पाश्र्वसङ्गीत र स्वर दुवै दिएका उनले थुप्रै चलचित्रको पाश्र्वसङ्गीत पनि गरेका छन् । जति नै काम गरे पनि छायामा रहने स्वभावका उनी यतिेबला भने ऐसेलुको पात, योङ मिनिस्टर, सुनको बुलाकी, इन्टुमिन्टु लन्डनमा लगायत केही नयाँ गीत ल्याउने तरखरमा रहेका छन् । यिनै  योगेस काजीसँग रातोपाटीका दस प्रश्न ।

साङ्गीतिक क्षेत्र किन रोज्नुभयो ?

–मेरो बुबा भजन मण्डलीमा हुनु हुन्थ्यो । उहाँसँग भजनको सिलसिलामा म सानैदेखि मादल बजाउन हिँड्थे । अर्काे कुरा म हुर्किएको मुम्बईमा हो । मेरा दाइहरु भारतीय फिल्म तथा सिरियलमा काम गर्छन् । उनीहरुका कारणले मेरो यो क्षेत्रप्रति लगाव बढ्यो ।

सङ्गीतक्षेत्र कस्तो पाउनुभयो ?

– सङ्गीत एक साधना हो । यो क्षेत्रमा मैले धेरै सङ्घर्ष, दुःख गरेको छु । काठमाडौँमा बसेर सङ्गीतमा सङ्घर्ष गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो । त्यो सङ्घर्ष गरेर होला सायद अहिले सङ्गीत क्षेत्रबाट स्थापित छु । यसैबाट म, मेरो परिवार सबै चलेको छ । केही पहिले म जापान गएको थिएँ । तर ४ महिनामै फर्किएँ । जापानको भन्दा बढी आम्दानी नेपालमै गर्न सक्छु भनेर फर्किएको हुँ ।

पहिलो आम्दानी के गर्नुभयो ?

– त्यस्तै २०६२–०६३ मा होला । पोखरामा रहँदा त्यहाँका एक साथीको गीत कम्पोज गरेको थिए । रेस्टुरेन्टमा बसेर कम्पोज गरेको गीतको पारिश्रमिक उसले १ हजार दिएको थियो । त्यो पैसा मैले फ्रेममा सजाएर अहिले पनि अफिसमा राखेको छु ।

म्युजिक भिडियो अभिनय पनि गर्नुभएको छ नि ?

– धेरै त होइन, केही अभिनय गरेको छु । यसको पनि एउटा कथा छ । एक समय मैले चितवनको एक कार्यक्रममा स्टेज पर्पmर्मेन्स दिएको थिएँ । सो समय मैले आफैले गाएको फिल्म ‘नाइके’को नाइके हो नाइके’ गीत स्टेजमा लाइफ पर्फर्मेन्स गरेको थिएँ । दर्शकको वान्स मोरका कारण सो गीत दुई पल्ट गाएको समेत थिएँ ।

कार्यक्रम सकेर बाहिर निस्किएपछि केही दर्शकले मलाई तपाईंले त गीत ओरिजिनल गायकले झँै गाउनुभयो भनेर भने । सो समय मैले यो गीत म आफैले गाएको हो भनेर बुझाएँ । त्यहाँबाट फर्किएपछि मलाई लाग्यो, गायकले गीत गाएर मात्र पुग्दैन । अनुहार पनि चिनाउनुपर्दाे रहेछ भनेर । त्यसैले पनि भिडियो खेल्न थालेँ ।

गायक गायिकाका लागि दैनिक रियाज कति आवश्यक ?

– भोक लागेर खाना खाए जस्तै, लुगा मैलो भएर धोए जस्तै र शरीर फोहोर भएर नुहाए जस्तै हो, गायकका लागि रियाज । त्यसैले रियाज अनिवार्य छ ।

तपाईंलाई यो क्षेत्रमा ल्याउने आमाबुबाको इच्छा थियो त ?

– बुबा सङ्गीतमा भए पनि उहाँको इच्छा मलाई लाहुरे बनाउने थियो । उहाँ मेरो नियमित आम्दानी हुने काम होस् । कहिलै दुःख नपरोस् भनेर सोच्नुहुन्थ्यो ।

आमाको पनि त्यही इच्छा थियो । अहिले पनि छ । म भने उहाँहरुको सो इच्छा लत्याएर सङ्गीत रोजेँ । म सङ्गीतमा लागेको बुबाले रेडियो, एफएमबाट गीत बज्न थालेपछि हो । जब मेरो गीत रेडियो बज्यो । रेडियोमा मेरो आवाज सुनेर बुबा रुनु भएछ । पैसा कमाएको भन्दा पनि उहाँ गाउँमा मेरो नामबाट फलानो गायकको बुबा भनेर चिनिनु भएकोमा धेरै खुसी हुनुहुन्थ्यो ।

गायकसँग युवतीहरु धेरै नजिक हुन्छन्, भनिन्छ नि हो ?

– यो स्वाभाविक कुरा हो । पुरुष भए महिला र महिला भए पुरुष आकर्षित हुन नौलो कुरो होइन । मेरा पनि केटी साथी धेरै छन् । म एकदमै फ्र्याङ छु । सबैसँग सजिलै घुलमिल हुन सक्छु । सायद त्यसैले होला । तर मेरो कोहीसँग नाजायज सम्बन्ध छैन । प्रेम प्रस्ताव राख्ने, सेकेरेट सम्बन्ध बनाउ भन्ने पनि छन् । तर म परिवारप्रति इमानदार छु । 

सङ्गीतबाट के मिल्छ ?

–पहिलो कुरा आत्मसन्तुष्टि मिल्दो रहेछ । त्यसपछि नाम, दाम र  परिवार चलेको छ । योबाहेक अन्य केही गराँै भनेर एक समय रेस्टुरेन्ट पनि चलाएको थिएँ । तर राम्रो भएन ।

ठगिनु भएको पनि होला ?

– धेरै पटक ठगिएको छु । काम लगाएर पैसा नदिने धेरै छन् । लिन बाँकी सबै पैसा उठाउने हो भने काठमाडौँको कुनै कुनामा घडेरी किन्न पुग्छ । कतिपय फिल्मकर्मीले काम सकिएपछि पैसा दिनुपर्छ भनेर अनफ्रेन्डसमेत गरेका छन् ।

कोसँग गीत गाउने इच्छा छ ?

– धेरै गायिकासँग गीतमा एकसाथ स्वर भरेको छु । गायिका विष्णु माझीसँग गीत गाउने इच्छा छ । पूरा हुन्छ कि हुँदैन, यसै भन्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप