बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानी वैज्ञानिकहरुले क्षुद्रग्रहमा कृत्रिम खाल्डो खने

बिहीबार, १२ वैशाख २०७६, १९ : ३५
बिहीबार, १२ वैशाख २०७६

 

जापानी वैज्ञानिकहरुले मानव इतिहासमै पहिलो पटक एस्टेरोइड अर्थात् क्षुद्रग्रहमा कृत्रिम खाल्डो (artificial crater) खन्न सफलता प्राप्त गरेका छन् । यसले हाम्रो सौर्यमण्डल कसरी बन्यो भन्नेबारे अनुसन्धान गर्ने दिशामा नयाँ ढोका खोलेको छ ।

जापानको स्पेस एजेन्सीले वैशाख १२ गते उक्त जानकारी दिएको हो ।

जापानको हायाबुसा २ नाम गरेको अन्तरिक्ष यानले पृथ्वीबाट नजिकै रहेको तथा पृथ्वीको लागि खतरनाक मानिएको र्युगु (Ryugu) नाम गरेको क्षुद्रग्रहमा विस्फोटन गरेर सो खाल्डो खन्ने सफलता प्राप्त गरेको थियो । यो कार्यमा प्राप्त सफलताले पृथ्वीमा जीवनको उत्पत्ति कसरी भएको थियो भन्नेबारेमा पनि थप अनुसन्धान गर्ने दिशामा नयाँ ढोका खोल्ने विश्वास गरिन्छ ।

जापानी अन्तरीक्ष एजेन्सी (JAXA) का हायाबुसा२ परियोजनाका म्यानेजर युइची त्सुदाले क्षुद्रग्रहको सतहबाट १७ सय मिटरमाथि रहेको सो यानले खाल्डो खन्ने सफलता प्राप्त गरेको पुष्टि गर्दै जानकारी दिएका हुन् । उनले क्षुद्रग्रहमा खाल्डो खन्न जापानले हासिल गरेको उपलब्धिलाई ठूलो सफलता भनेका छन् ।

गत फेब्रुअरी महिनामा हायाबुसा २ ले उक्त क्षुद्रग्रहको सतहमा छोएर गोली प्रहार गरी धुला संकलन गरेको थियो भने पछि अलि माथि अडिने स्थानमा रहेर विस्फोटन गरेको थियो ।

उक्त यानले पठाएको चित्रमा सो क्षुद्रग्रहमा १० मिटर व्यासको खाल्डो बनेको प्रष्टसँगै देख्न सकिन्छ ।

त्यसरी खाल्डो खनिएको क्षुद्रग्रहको भाग चट्टानले बनेको बताइएको छ ।

क्षुद्रग्रहमा ४.६ अरब वर्षपहिले सौर्यमण्डल बन्दाखेरिदेखि नै जैविक पदार्थ तथा पानी रहेको वैज्ञानिकहरु विश्वास गर्छन् ।

२७० मिलियन अमेरिकी डलर खर्च गरी यो परियोजना सन् २०१४ को डिसेम्बरमा शुरु भएको थियो । उक्त यान उक्त क्षुद्रगहबाट संकलित नमूनासहित सन् २०२० मा फर्कने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप