बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई बसन्तपुरमा १ घण्टा पछ्याउँदाका रोचक दृश्य (फोटो/भिडियो)

बिहीबार, १२ वैशाख २०७६, १७ : ०३
बिहीबार, १२ वैशाख २०७६

काठमाडौं–बिहीबार काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा अरु दिनको भन्दा बढी चहलपहल थियो । सुरक्षाकर्मीहरुको बाक्लो तैनाथी थियो । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरणमा पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा स्मृति सभाको आयोजना गरेको थियो ।

 सो कार्यक्रमको प्रमुख वक्ता रहेका थिए प्रधानमन्त्री केपी शर्मा ओली । साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि थिइन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली पनि थिए । 

सो स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको अब बाँकी रहेको २० महिनाको अवधिमा पुरातात्विक सम्पदा बाहेक भूकम्पले क्षति पुर्याएका अन्य भौतिक संरचनाको पुनर्निर्माण सम्पन्न हुने उल्लेख गरे । धरहरा, काष्ठमण्डप, रानीपोखरीको पुनर्निर्माण सुरु भइसकेको बताउँदै परम्परागत सम्पदा निर्माण गर्दा विवाद सिर्जना नगर्न पनि सुझाव दिए । 

कार्यक्रममा बोलेपछि प्रधानमन्त्री ओली बसन्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको अवस्थाको अवलोकनका लागि निस्किए । सुरुमा उनी  भर्खरै पुनर्निर्माण सुरु भएको काष्ठमण्डपतर्फ अघि बढे । उनलाई प्राधिकरणका सिइओ ज्ञवाली तथा काष्ठमण्डप पुनर्निर्माण समितिका पदाधिकारीहरुले पुनर्निर्माणको अवस्थाबारे जानकारी गराए । 

प्रधानमन्त्री पत्नी राधिकालाई सगरमाथा चढेको अनुभूति 
काष्ठमण्डप पुनर्निर्माणका क्रममा ४ वटा मुख्य थाम राखिएको छ । निर्माणका लागि खट पनि बाँधिएको छ । अवलोकनका क्रममा प्रधानमन्त्री ओली खटको भर्याङ चढेर माथि जान लागे । सुरक्षाकर्मीको तथा अन्य पदाधिकारी पनि उनी सँगै माथि गए ।

प्रधानमन्त्री ओलीले माथि पुगेर सञ्चारकर्मी तर्फ हात हल्लाए । पछि प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि खटको भ¥याङ चढेर माथि जान लागिन् । तर प्रधानमन्त्री ओली जति छिटो भ¥याङ चढेर माथि पुगेका थिए उनी भने छिटो माथि जान सकिनन् । उनले भ¥याङ चढ्दै माथि जाँदा हाँस्दै भनिन्–‘सगरमाथा चढेजस्तै अनुभव भयो ।’


झन्डै १० मिनेट काष्ठमण्डपको अवलोकन गरेपछि प्रधानमन्त्रीले त्यहाँ राखिएको पुस्तिकामा आफ्ना धारणा लेखे । 
 

पुस्तिकामा उनले यस्तो लेखे–
‘आज वैशाख १२ गते । २०७२ सालको विनाशकारी महाभूकम्पको चार वर्ष पूरा भएको दिन । आज भूकम्प स्मृति दिवस र पुनर्निर्माण कार्यको अवलोकनको सन्र्दभमा यस ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण कार्यको समेत अवलोकन गर्ने अवसर मिल्यो । पुनर्निर्माण समिति अर्थात यसको नेतृत्व र समग्र टीमको उत्साह र आत्म विश्वास हेर्दा खुसी लाग्यो । प्रगति सन्तोषजनक छ । लगभग आगामी १८ महिना जतिमा निर्माण कार्य सम्पन्न गर्ने अठोट सुन्दा खुसी लाग्यो । पाँचौ शताब्दीको काष्ठमाण्डप आज पनि प्रयोग हुन सक्ने अवस्थामा रहेको र उपयोग भएको पाँउदा आश्चर्य मिश्रित खुसी लाग्यो । हाम्रा पूर्खाहरु महान छन्, हाम्रा सम्पदा अमूल्य छन् । सवै मिलेर संरक्षण गरौं । धन्यवाद ।

काष्ठमण्डपको अवलोकन गरेपछि प्रधानमन्त्री ओली सो मन्दिर निर्माणका लागि काष्ठकलाको काम भइरहेको पहिलेको महानगरीय अपराध महाशाखाको प्राङ्गणमा पुगे । त्यहाँ उनले काष्ठमण्डपका लागि प्रयोग हुने काठको समेत अवलोकन गरे । 


 

मन्दिर उद्घाटन, पुजारीलाई हजार रुपैयाँ दक्षिणा 
प्रधानमन्त्री ओलीले हनुमानढोका दरबार क्षेत्रमा रहेको एउटा शिव मन्दिरको पनि उद्घाटन गरे । स्वस्ती वाचन सहितको उद्घाटन कार्यक्रमा उनले मन्दिरको ढोकामा राखिएको रिबन काटे र मन्दिरमा पूजा गरे । तलेजु भवानीको दायाँ बायाँ रहेको शिव मन्दिरको हालै पुनर्निर्माण सकिएको थियो ।

 मन्दिरका पुजारी वासुदेव पाण्डेयले सुरुमा प्रधानमन्त्री ओलीलाई टीका र माला लगाइदिए । त्यसपछि प्रधानमन्त्री पत्नी राधिका शाक्य र पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई टीका लगाइदिए । प्रधानमन्त्री राधिका शाक्यले पूजारीलाई एक हजार दक्षिणा दिइन् । प्राधिकरणका सिइओ ज्ञवालीले १ सय रुपैयाँ दिए । 

शिव मन्दिरको उद्घाटन पनि प्रधानमन्त्री ओलीले हनुमान ढोका भित्रको परिसरको अवलोकन गरेर फर्किए । हनुमानढोका दरबार चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेको छ । 

हेर्नुहोस् भिडियोः 

थप फोटो हेर्नुहोस्

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप