केन्द्रीय संस्करण
अन्तरवार्ता

दलाल पूँजीवादको घोडा चढेर समाजवादको स्वर्ग जान सकिँदैन : घनश्याम भुसाल

person explore access_timeबैशाख १२, २०७६ chat_bubble_outline1

हिजो हामीले लोकतन्त्रका सन्दर्भमा केन्द्रीत रहेर मार्क्सवादी चिन्तक तथा नेकपाका नेता घनश्याम भुसालसँगको कुराकानी प्रस्तुत गरेका थियौं । प्रस्तुत छः सोही कुराकानीको पुरक भाग । कुराकानीको यो खण्ड मूलतः नेकपा पार्टीसँग सम्बन्धित सवालहरुमा केन्द्रीत छ । –रातोपाटी

पछिल्लो समय पार्टी एकताको विषयमा विवाद असहमतिका कुरा आयो निश्चित मापदण्डहरु निर्धारण नभइकन अघि बढ्दा पार्टीले कसरी गति लिन सक्ला?

हिजो हाम्रा नेताहरुले प्रज्ञाप्रतिष्ठानमा ठूलो फलामे ढोका फोरेर भयंकर कामहरु गर्यौं भन्नुभयो । नेपालका ७७ जिल्लामा पार्टीका कमिटीहरुमा अध्यक्ष र सचिव को हुन्छन् भनेर टुंग्याउने कुरा हाम्रो क्रान्तिको अबको ठूलो कार्यभार हो भन्ने जस्तो गरी उहाँहरुले पेश गर्नुभयो । यस्तो प्रचारले कार्यकर्तालाई ठूला, आधारभूत दुरगामी महत्वका विषयबाट अन्यत्रै मोड्छ, विषयान्तर गरिदिन्छ । यस्तै ससाना कुराहरुलाई अतिरञ्जना गरेर पेश गर्ने हो भने भारतीय टिभी च्यानलहरुले अति विशाल बनाएर प्रस्तुत गरेको शैलीमा मानिसलाई त्राहीमाम बनाएर मुल मुद्दाबाट चाहिँ ध्यान हटाइदिन्छ, त्यस्तै काम हुन्छ ।

वास्तवमा हामी कति संकटमा छौं भन्ने त्यसले पनि देखिन्छ । त्यो हाम्रो साँस्कृतिक र चेतनाको स्तर पनि हो । एकदमै नियमति, बाहिर प्रचार नै नगरिकन, ठूलो समाचार नै बनिबस्नु नपर्ने कुरालाई टुंगो लगाउन दश महिना लगाएर यत्रा ठूलो समाचार बनाउनु हाम्रो लोकतान्त्रिक, राजनीतिक चेतना र स्तरको कुरा हो । अर्थात् यो असाध्यै कमजोर, छिपछिपे र पछौटे साँस्कृतिक स्तरको कुरा हो भन्ने मलाई लाग्छ ।

यसले गर्दा तपाईंको प्रश्नको चासो जुन छ, म त्यसमा अलि गाह्रो देख्छु । असम्भव हैन, अलि गाह्रो छ ।

हामी कति संकटमा छौं भन्ने त्यसले पनि देखिन्छ । त्यो हाम्रो साँस्कृतिक र चेतनाको स्तर पनि हो । एकदमै नियमति, बाहिर प्रचार नै नगरिकन, ठूलो समाचार नै बनिबस्नु नपर्ने कुरालाई टुंगो लगाउन दश महिना लगाएर यत्रा ठूलो समाचार बनाउनु हाम्रो लोकतान्त्रिक, राजनीतिक चेतना र स्तरको कुरा हो । अर्थात् यो असाध्यै कमजोर, छिपछिपे र पछौटे साँस्कृतिक स्तरको कुरा हो भन्ने मलाई लाग्छ ।

हाम्रा कार्यकर्तामा पनि नेताको पछि लागेपछि पाइन्छ भन्ने छ । गएकै समयमा पनि एउटा खास नेताले मन्त्री बनाउँदो रहेछ, राजदूत बनाउँदो रहेछ, न्यायाधीश तोक्दो रहेछ, नियुक्तिहरु दिँदो रहेछ, खल्तीबाट निकाल्दै बाँड्दो रहेछ । आफ्नो घेरामा परेपछि । त्यसैलाई मैले मानिसको रगत, वीर्य, थुक, खकार परीक्षण गरेर आफ्नो गुटको हो कि हैन भनेर टुंगो लगाइँदो रहेछ भनेर पनि भनेको थिएँ । जिन्दगीलाई केले निर्धारण गर्छ भन्ने कुरा मानिसले जानेर, बुझेर र आफ्नो विवेकको स्वतन्त्रतापूर्वक प्रयोग गरेर, आफ्नो व्यक्तित्वको मूल्यको कुरा गरेर वा आदर्शको पालना गरेर केही हुनेवाला छैन, गुटमा लाग, नेताको पछि लाग, तिनको चाकरी गर, त्यसपछि मात्रै पाइन्छ भन्ने कुरा दुई तिहाई आएपछि नै वितेको १ वर्षमा हामीले धेरै राम्ररी, धेरै नराम्ररी नै व्यहोरिसकेका छौं ।

यसले गर्दाखेरि वास्तवमा हामीले गलत कुरा सिकाइरहेका छौं । तिमी सत्ताको पछाडि लाग । त्यो आफ्नो बुद्धि र स्वविवेकले हैन । चाकरी गर्ने हो, तिमी जति चाकरी गर्छौ, त्यति तिम्रो फाइदा हुँदै जान्छ भन्ने अहिलेको सत्ताले पढाइरहेको कुरा हो । तर यसमा प्रतिरोध नभएको भए अझै यो कहाँ पुगिसक्थ्यो । भनाइको अर्थ, यस्ता कुराहरुलाई रोक्न, कम गर्न वा सच्याउन प्रतिरोधले काम गर्दो रहेछ ।

त्यसो गर्दा के हो गर्ने भन्दा वितेको १०–१२ हजार वर्षको मानव इतिहासमा हाम्रा पुर्खाले आर्जेको के ज्ञान चाहिँ मलाई असाध्यै राम्रो लाग्छ भने तपाईंले प्रयत्न गर्नुभयो र सफल हुनु भएन भने के गर्ने भन्दा अझै राम्ररी प्रयत्न गर्ने । १२ हजार वर्षमा पुर्खाले आर्जेको एउटा महत्वपूर्ण शिक्षा यही रहेछ ।

यो पनि पढ्नुहोस्

'राजा र माथिल्लो वर्गको विरोध गर्दै जाँदा नेतृत्वले आफैंलाई राजा ठान्न थाले'

अहिलेको दुई तिहाई सरकार राम्रो गर्ने भनेर हामीले बनाएका हौं । हामीले भनेको जस्तो अझै भएको छैन । अब के गर्ने त भन्दा अझै बढी मेहनत गर्ने, प्रयत्नहरु गर्ने । खराब कसरी हटाउने भनेर प्रयत्नशील रहने हो । यो नै विकासको प्रक्रिया हो ।

यसको अर्थ,नाम टुंग्याउनै करिब एक वर्ष लाग्यो,अब तल तल मिहिन पाराले अघि बढ्न अझै एकाध वर्ष लाग्ने भो हैन ?

यो व्यहोर्नै पर्छ । यो हाम्रो कारणले होइन । मूलतः नेतृत्वको कारण र त्यो नेतृत्वसँग डटेर प्रश्न गर्न नसक्ने हाम्रो चेतनाको कारणले हो । अघि मैले भनिसकेको छ, नातागोता आफ्न्त र गुटका मानिसहरुलाई अलिअलि छरेर, आफ्ना चित्त बुझाएर, समाजको वा पार्टीको माथिल्लो पंक्तिलाई केही चारो छरेर दिग्भ्रमित पारेको छ ।

तर राजनीतिक नियुक्तिहरु बाँडेर क्रान्ति रोकिन्थ्यो भने इतिहास नै बन्दैनथ्यो । प्रसाद छरेर वा पञ्चायतकालीन समयमा जस्तो हण्डी खुवाएर विकासको प्रक्रिया नि क्रान्ति रोकिँदैन ।

पार्टी एकताको कुरा गर्दा दुई भिन्न पृष्ठभूमि सिद्धान्त अंगाल्दै आएका पार्टी मिलेपछि उनीहरुले अपनाउँदै आएको एक्काइसौं शताब्दीको जनवाद जनताको बहुदलीय जनवादको कार्यनीतिको औचित्य सकियो वा पूरा भयो भनेर तपाईंले भन्दै आउनु भएको यस स्थितिमा नेकपा पार्टीको अबको तत्कालीन कार्यनीति कार्यदिशा के हुनुपर्छ ?

यसमा अब बहस गर्ने नै होइन । एक हिसाबले यो कुरा हामीले औपचारिक रुपमा नै टुंग्याइसक्यौं । हामीले जनवादी क्रान्ति पूरा गर्यौं । तर यो चीन वा रुसको जस्तो पनि भएन । चीन वा रुसको क्रान्ति भन्दा फरक ढंगले यो अगाडि बढ्यो । एक ठाउँमा कम्युनिष्ट पार्टीले नेतृत्व गरेन भने एक ठाउँमा पूरै कम्युनिष्ट पार्टीले नै नेतृत्व गर्यो । नेपालमा चाहिँ धेरै वर्गहरुसँग लड्दै र उनीहरुसँग समन्वय र सहकार्य गर्दै हामीले जनवादी क्रान्ति पूरा गर्यौं । त्यसको अर्थ एकदम सपाट छ, हामी अब समाजवादतिर जाने हो ।

तर हाम्रो समाज र युरोपेली वा रुसी समाज वा हाम्रो राजनीति र चिनिया राजनीति फरक छन् । यसले गर्दा हामी कहाँ र कतातिर जाने सन्दर्भमा कुरा गर्दा चिनियाहरुले राष्ट्रिय पूँजीको विकास कम्युनिष्ट पार्टीको नियन्त्रणमा गरे । तर हामीकहाँ कम्युनिष्ट पार्टीको नियन्त्रणमा हैन, नेतृत्वमा गर्नुपर्नेछ । नियन्त्रण र नेतृत्व अलि फरक छ । हामीले कम्युनिष्ट पार्टीको नेतृत्वमा राष्ट्रिय पूँजीको विकास गर्दै जानुपर्नेछ ।

त्यसले गर्दा अबको चरण समाजवादी चरण हो । तर आजै हामीले सबैतिर समाजवाद खोज्न थाल्यौं भने हामी उग्रवादमा फस्न पुग्छौं र हाम्रो क्रान्ति असफल हुन्छ । अतः जति हामीले परिभाषित गरेको राष्ट्रिय  पूँजीको विकास गर्दै जान्छौं, त्यति समाजवाद नजिक आउँदै जान्छ । यसो हामीले भन्ने गरेको राष्ट्रिय पूँजीको विकासको अब चरण १५–२० वर्षको हुन्छ कि भन्ने मलाई लाग्छ ।

तपाईंले माथि उल्लेख गनुभएको दलाल पूँजीपति नियन्त्रणमा रहेर उनीहरुको सेवा गरेर समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सम्भव हुन्छ ?

मैले भनेको यहीँ हो । यसमा अझै छलफल नै हुँदैन हामीकहाँ । मेरो पार्टीको केन्द्रीय समितिमा छलफल भएको छैन भने तपाईंले यो प्रश्न गर्नु स्वभाविक हो ।

यस बारेमा मेरो विश्लेषण के हो भने यो समाज पूँजीवादी भयो । तर यो पूँजीवादको चरित्र औद्योगिक, उत्पादनशील र राष्ट्रिय छैन । यसको मुख्य चरित्र दलाल छ । त्यो दलाल चरित्रको पूँजीवादले गर्दा हाम्रो अर्थतन्त्र, हाम्रो आर्थिक अवस्था अनि हाम्रो विकासको चरण असाध्यै कमजोर छ । यसलाई हिँडाएर, यसलाई रुपान्तरित गरेर र नियन्त्रित गरेर यसलाई नै स्वयं राष्ट्रिय पूँजीमा रुपान्तरित गर्दै मात्रै हामी अगाडि बढ्न सक्छौं । एउटा कुरा पक्को हो, दलाल पूँजीवादको घोडा चढेर समाजवादको स्वर्ग जान सकिँदैन ।

 

 

 

 

कमेन्ट

  1. April 25, 2019, 8:29 p.m. Tilak Shrestha
    Communist Heaven: North Korea – no freedom, per capita $ 2,000 Communist Hell: South Korea – democracy, per capita $ 40,000 ‘Scientific’ socialism? Facts? Data? In which embassy proletariats are lining up for jobs? We have not even brought up the core issue ‘Integrity.’
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...