बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पका चार वर्ष : कछुवा गतिमा पुनर्निर्माण, समस्या अनेक

बिहीबार, १२ वैशाख २०७६, ११ : ११
बिहीबार, १२ वैशाख २०७६

भक्तपुर –विनाशकारी भूकम्प गएको बिहीबार चार वर्ष पूरा भएको छ । टहरामा कठ्याङ्ग्रिदो जाडो, गर्मी, हुरीबतास झेल्दै धेरै पीडितहरुले चार वर्ष कटाएका छन् । यो बीचमा पनि पुनर्निर्माणले गति नलिँदा पीडितले अझैं कति यसैगरी दैनिकी गुजार्नु पर्ने हो टुंगो छैन। 

भक्तपुर जिल्लामा ०७२ वैशाख १२ गते आएको भूकम्पबाट प्रभावित लाभग्राहीको संख्या २८ हजार ३ सय ८ छ ।  

जसमध्ये २४ हजार ३ सय ४७ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही ७ हजार ८ सय ६३ रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरले जनाएको छ । तेस्रो किस्ता लिनेको संख्या ७ हजार २ सय ५ रहेको कार्यालयको तथ्यांकमा देखिन्छ । 

पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून रहेको छ । पहिलो किस्ता र तेस्रो लिएकालाई हेर्ने हो भने भक्तपुरमा १७ हजार १ सय ४२ लाभग्राही बीचमा नै हराएका छन् ।

भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिकामध्ये सबैभन्दा धेरै लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ९ सय ३७ जना छन् ।

उक्त नगरपालिकामा ९ हजार ७ सय १२ पहिलो, ३ हजार ८६ दोस्रो र २ हजार ८ ४१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।  

जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिकामा ७ हजार ४ सय १६ लाभग्राही रहेका छन् । नगरपालिकामा ६ हजार ९ सय ६९ पहिलो, २ हजार ४ सय ९९ दोस्रो र २ हजार ३ सय १९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । 

त्यसैगरी भक्तपुर नगरपालिकामा ७ हजार ६ सय २२ लाभग्राही रहेका छन् । नगरपालिकामा ५ हजार ६ सय ७ पहिलो, १ हजार ६ सय १७ दोस्रो र १ हजार ४ सय ३१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । 

मध्यपुरथिमी नगरपालिकामा २ हजार ३ सय ३३ लाभग्राही छन् । जसमध्य २ हजार ५९ लाभग्राहीले पहिलो किस्ता, ६ सय ६१ले दोस्रो र ६ सय १३ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम लिएका जिल्ला आयोजना कार्यान्वयन इकाईले जानकारी दिएको छ । 


 

समस्या अनेक 
भक्तपुरमा जग्गा विवाद र स्वामित्वसम्बन्धी समस्याले गर्दा निजी आवास निर्माणले गति लिन नसकको कार्यालयले जनाएको छ । 

भूकम्प गएको एक वर्षपछि नै घर बनाउने गरेपनि भक्तपुर नगरभित्र रहेका केही बस्ती विश्वसम्पदा सूचीभित्र रहेको क्षेत्रमा पर्छ । त्यसैले नक्सा पास गर्न नै लामो समय लागेको स्थानीयहरुको गुनासो छ । 

वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट नक्सा पास हुने भएपनि विश्व सम्पदा सूचीमा परेका क्षेत्रका घरधनीले भने पुरात्वविभागबाट समेत नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान छ । 

सुरुका वर्षमा दक्ष श्रमिक, र निमार्ण सामाग्रीको मुल्य बढ्दा समस्या भएपछि धेरै लाभग्राहीले चाहेको समयमा घर बनाउन सकेनन् ।

भक्तपुर र मध्यपुरथिमी नगरभित्र कम क्षेत्रफल रहेको जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवास निमार्ण हुन नसकेको हो । सूर्यविनायक नगरपालिका र चाँगुनारायणमा गुठी र मोहीको समस्याले गर्दा समस्या भएको छ । 

जग्गा एकीकरण, हरित क्षेत्रमा बसोबास, तोकिएको मापदण्ड स्वीकृत नक्सा अनुसार घर नबनाउनु पनि अर्को समस्या देखिन्छ । 

सम्पदा पुनर्निर्माणमा तालमेल मिलेन
२०७२ सालमा आएको भुकम्पका कारणले देशभर ७ सय ४३ वटा सम्पदाहरुमा क्षति पुगेको सरकारी तथ्यांक रहेको छ । 

भक्तपुरमा ७३ वटा सम्पादहरुमा क्षति पुगेको विवरण छ । जिल्लाका केही सम्पदाहरु विश्व सम्पदा सूचीमा सूचीकृत छन् । जसले गर्दा  पुनर्निर्माण गर्न पुरानै स्वरुपमा ल्याउनु पर्नेहुन्छ । जसका लागि कंक्रिट जन्य सामाग्रीको प्रयोग गर्न पाइँदैन ।

मल्लकालीन सम्पदाहरुको निर्माण त्यही अनुसार गर्नुपर्ने भएकाले पनि समय लागेको पुरातत्त्व विभाग अन्तर्गतको स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डा भक्तपुरका प्रमुख मोहन सिह लामाको भनाई छ । 
पुरातत्त्व विभाग र स्थानीय सरकारबीच कतिपय विषयमा तालमेल नहुँदा सम्पादन पुनर्निर्माणमा ढिलाई भइरहेको देखिन्छ । 

भक्तपुरमा हालसम्म २८ वटा सम्पदाको पुनर्निमार्ण सकिएको कार्यालयले जानकारी दिएको छ । 

भक्तपुरमा निजी आवासमात्रै होइन, पुरात्त्वतिक महत्त्वका मन्दिर, शतल, पाटी, देवालय लगायत अन्य संरचनाको पूनर्निर्माणले पनि गति लिन सकिरहेको छैन । आवश्यक निर्माण सामाग्री र दक्ष कामदार जुटाउनै समस्या भएकाले ढिलाई भइरहेको सरोकारवालाहरुको भनाई छ । 

याे पनि...

पटक–पटक तर्साउन छाडेन भूकम्पले, ४ वर्षमा ४० हजार परकम्प (भिडियो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप