शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इण्डोनेशियाको बालीमा नेपाली चित्रकलाको प्रदर्शनी

बुधबार, ११ वैशाख २०७६, १८ : ४०
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला ४ नेपाली कलाकारका कला सिर्जना प्रदर्शन भैरहेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ राखिएको प्रदर्शनीमा श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका साथमा १७ जना नेपाली कलाकार र तीन जना इण्डोनेशियन कलाकारहरु गरी  कुल २१ जना कलाकारहरुको तीन दर्जनभन्दा बढी कला सिर्जनाहरु एकसाथ प्रदर्शन भएका छन् । 

काठमाडौंको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरी तथा इण्डोनेशियाको विना ग्यालरीको संयुक्त आयोजनामा नेपाल तथा इण्डोनेशियाका कलाकारहरुको संयुक्त चित्रकला प्रदर्शनी भैरहेको हो । ‘टुगेदर’ शीर्षकमा सञ्चालन भैरहेको उक्त चित्रकला प्रदर्शनीमा प्रत्यक्ष सहभागी नेपालका कलाकारहरु मध्ये कलाकार श्यामसुन्दर यादवले पाँच थान आधुनिक मिथिला कला प्रदर्शन गरेका छन् भने कलाकार विभुषण ताम्राकारले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतलभित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति प्रदर्शन गरिरहेका छन् । यसैगरी कलाकार जया शर्माले गणेशको डिजिटल आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने पाँचवटा चित्र प्रदर्शनीमा राखेकी छिन् । कलाकार अनिता भट्टराईले दुईवटा प्रिन्ट कलामार्फत बुद्ध र हरिततारालाई प्रतिबिम्बित गरेकी छिन् । 

यसबाहेक कलाकार प्रकाश मानन्धरको भक्तपुर दरबार, कान्छाकाजी भसिमाको बौद्ध भिक्षुको चित्रले प्रदर्शनी अवलोकन गर्न पुगेकाहरुबाट प्रसंसा बटुलिरहेको छ । राकेश श्रेष्ठको कम्पोजिशन, प्रितम थापाको सगरमाथा, मञ्जु खड्काको तासको पत्तामा नारी बेदना, ज्योति खड्काको नारी सौन्दर्य, रसना बज्राचार्यको बाल मुहार, सुन्दर श्रेष्ठको गणेशलाई पौवामा उतार्नुअघि कोरिएको रेखा चित्र, विपना महर्जनको बुद्ध प्रिन्ट कला, किशोर नकर्मीको आधुनिक शैलीको बुद्ध, रेणु यादवको लोक मिथिला, रोशन प्रधानको टुँडालमा मानव आकृति, कविता प्रधानको छ्वाली कलाले पनि स्थानिय कला पारखीहरुको मन जितिरहेको छ । स्थानीय कलाकारहरुमा एन्टोनियस खोले इण्डोनेशियाको आदिवासी कला प्रदर्शन गरेका छन् भने केतुत जया र मेद सोमादिताले इण्डोनेशिया झल्कने आधुनिक कला प्रदर्शनीमा राखेका छन् । 

नेपालमा लोक, परम्परागत र आधुनिक कलाले अहिले स्थान एवं चर्चा पाइरहेको बताउँदै आयोजक यादवले ती तीनै किसिमको कलालाई उबुदको आरमामा प्रदर्शन गरिएको बताए । मिथिला, पौवा जस्ता परम्परागत र लोक एवं डिजिटल र क्रियटिभ आर्ट जस्ता आधुनिक कलालाई प्रदर्शनीमा राखिएको उनले बताए । 

केही समययता मिथिला येँ ग्यालरी देश–विदेशका कलाकारहरुलाई एकत्रित गरी देश तथा विदेशका विभिन्न स्थानमा प्रदर्शनी एवं कला कार्यशालाको आयोजना गरिरहेकोछ । मिथिला येँले भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा केही समयअघि नेपाल, भारत, बंगालादेश, फ्रान्स, मेक्सिको, श्रीलंकालगायतका देशका कलाकारहरुसंग कार्यशाला एवं कला प्रदर्शनीको संयुक्त आयोजना गरेको थियो भने हालै सिरहाको सुखीपुरमा नेपाललगायत मलेशिया, जापान र थाइल्याण्डका कलाकारहरुलाई सहभागी गराई दुई दिने कार्यशाला सम्पन्न गरेको थियो । यसरी स्वदेशी र विदेशी कलाकारहरुबीच सामञ्जस्य गरी कला कार्यशाला र प्रदर्शनी गर्दा नेपाली कला र कलाकारलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने मिथिला येँका सञ्चालक यादव बताउँछन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप