शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उस्तै छन् सहिद परिवारका कथा र व्यथा

बुधबार, ११ वैशाख २०७६, १७ : ४१
बुधबार, ११ वैशाख २०७६

बुबा पहिलेबाटै कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । कम्युनिस्ट नेताहरूसँग सधैँ बुबाको उठबस हुने हुँदा नेताहरू हाम्रो घरमा बाक्लै आउने जाने गर्थे । पार्टीको काम सँगसँगै बुबा सप्तरी जिल्लाको गाविस उपाध्यक्ष पनि हुनुहुन्थ्यो ।

कुरो २०६२÷ ६३ को जनआन्दोलनको हो । सहर, बजार, गाउँ जताततै आन्दोलन चर्किरहेको थियो । कम्युनिस्ट कार्यकर्ता भएको हुनाले स्वाभाविक रूपमा बुबा पनि त्यो आन्दोलनमा सरिक हुनुहुन्थ्यो । त्यो दिन आफ्नै काममा जान्छु भनेर बुबा घरबाट निस्किनुभएको थियो । तर आन्दोलनमा जानुभएको रहेछ । फोन आएपछि मात्र थाहा भयो । सप्तरीको त्यो प्रचण्ड गर्मीमा पनि बुबालाई गर्मी भएको थिएन ।

वैशाख २३ गते मसाल जुलुस चलिरहेको थियो । जुलुसमा पुलिसले धरपकड गरेछ । बुबालाई पुलिसले समातेर बुटले छातीमा हिर्काएछन् र त्यत्तिकै छाडेछन् । चोट सहन नसकेर बुबा अरूको पसलमा छिर्नुभएछ । मलाई फोन आयो । अत्तालिँदै बुबा भएको ठाउँमा गएँ । म पुग्दा बुबा छटपटाइ रहनुभएको थियो । सबै मिलेर हस्पिटल लग्यौँ  । डाक्टरले भनेपछि थाहा पाएँ, बुबालाई त हृदयाघात भएको रहेछ । औषधि गरेपछि बुबालाई जनरल वार्डमा सारियो । एकछिनपछि फेरि बुबालाई हृदयाघात भयो । त्यसपछि बुबा हामीमाझ रहनुभएन । त्यतिबेला बुबाको उमेर पचास वर्षको थियो ।

घरपरिवारको हर्ताकर्ता नै बुबा हुनुहुन्थ्यो । हामी सबै उहाँमा आश्रित थियौँ । म २३ वर्षको भइसकेको थिएँ त्यतिबेला तर रोजगारविहीन । त्यतिबेला हाम्रो सानो पसल थियो । दिउँसो पसलमा बस्ने र साँझ बिहान घरको काम गर्थे ।

लिडरसिप भन्ने कुरा जहाँ पनि हुन्छ, देश होस वा घर । बुबा हाम्रो लिडर हुनुहुन्थ्यो । उहाँ नै नभएपछि हामी बिल्कुल टुहुरा भयौँ । सबै कुरा बुबाले सम्हालेको हुनाले हामीलाई कुनै समस्या थिएन । एक्कासि अभिभावकविहिन हुँदा भन्छन् नि ‘पहाडले थिचेको जस्तो’ हो त्यस्तै भयो हामीलाई ।

सरकारले हेर्ने, रोजगारी, शिक्षा दिने सबै भन्थ्यो । ती सबै कुरा मात्र भए । नगदका रूपमा दस लाख दिएको थियो । हामी हिन्दू संस्कारका मान्छे, जन्मदेखि मृत्युसम्म अनेक संस्कार र संस्कृतिको नाममा अनेक कर्म गर्नुपर्छ । मृत्यु संस्कार गर्दैमा तीन लाख त्यही सकियो । बाँकी सात लाख बँचेको थियो । यो महँगीमा त्यति पैसाले केही गर्न पनि सकिएन । केही गर्न नसकिए पनि थोरै राहत त भयो तर त्यसले मेरो बुबाको भूमिका पूरा गर्न सकिन्छ र ?

बुबा नरहे पनि देशमा लोकतन्त्र आयो । यो खुसीको कुरा हो । निरपेक्ष लोकतन्त्रको केही अर्थ छैन, जबसम्म त्यो जनतासम्म पुग्न सक्दैन । यो त नेपालका लागि मात्र आएजस्तो भएको छ । हामी जस्तो भुइँ मान्छेको जीवनमा जबसम्म परिवर्तन गर्न सकिँदैन, त्यो लोकतन्त्रको कुनै महत्त्व छैन । हिजो हाम्रो बुबालाई मार्न आदेश दिने मानिस सत्तामा पुगेर फेरि हामीमाथि शासन गर्दै छन् । हामी बिहान बेलुका खानका लागि सङ्घर्ष गर्दै छौँ भने भन्नुहोस् लोकतन्त्र कसलाई आयो ?

बुबा कम्युनिस्ट कार्यकर्ता भएकाले अलिअलि ममा पनि राजनीतिक चेतना छिरेको थियो । जब बुबाले देख्ने सपनाको कुरा आउँछ मलाई धेरै नराम्रो लाग्छ । गणतन्त्र आयो, संविधान बन्यो । चुनाव पनि भयो । यी त प्रक्रिया मात्र हुन् । हो यो सानो उपलब्धि पक्कै होइन तर यो व्यवस्थाको प्रतिफल हामी जस्ता श्रमिकसँग जोडिनुपर्ने हो । तर विडम्बना यी सबै नेता र उनका नजिकका भन्दा पर पुग्नै सकेको छैन । बुबाको सपना पूरा भयो भनुँ कि भएन भनुँ मैले ?

जनआन्दोलनका सहिद दशनकुमार यादवका २ वटी श्रीमती । 

बुबा लोकतान्त्रिक आन्दोलनमा सहिद हुनुभयो, दाजु जनयुद्धमा । बुबालाई भन्दा दाजुलाई पहिले गुमाएका थियौँ, यही गणतन्त्रको लागि । २०५९ सालमा दाजु सहिद हुनुभयो । एकपछि अर्काे हुँदै देशको व्यवस्था परिवर्तनका लागि हामीले आफ्ना प्यारा मान्छे गुमाएका छौँ । गणतन्त्र हामीलाई जति महँगो अरू कसलाई भएको होला ? तर विडम्बना गणतन्त्रले हाम्रो जीवनलाई छोएन वा भनुँ नेताहरूले गणतन्त्र आफूभन्दा पर पुग्नै दिएनन् ।

मेरो दाइको नाम विनोदकुमार यादव हो । ०५९ सालमा सेनाद्वारा मारिनुभयो । पछि थाहा पाएँ, पार्टीकै मानिसले प्रशासनमा सुराकी गरिदिएका रहेछन् । मेरो दाइलाई कस्टडीमा राखेर चरम यातनापछि मारियो । उहाँका हातखुट्टा सबै भाँचिदिएका थिए । ब्यारेकमा उहाँलाई नै खाल्डो खन्न लगाई त्यही खाल्डोमा दाइलाई राखी प्रहरीले गोली हानेको थियो । यी कुरा सम्झिँदा मेरो आङ सिरिङ्ग हुन्छ । राज्य पनि यति निर्दयी हुन सक्दो रहेछ ।

त्यही निर्दयी र क्रुर राज्यका विरुद्ध सबै लडेका हौँ । केही राहत पाइन्छ कि भनेर पछि हामी प्रधानमन्त्रीलाई पनि भेट्न गएका थियौँ । भेटमा निकै सहृदयी देखिने कर्मचारीतन्त्र निकै खराब भइसकेको रहेछ ।  राहत पाउनुभन्दा आफ्नै खर्च ज्यादा भयो । हामी आजित भइसकेका थियौँ । सत्तामा पुगेका मानिसहरू सहिदको नाम सुन्ने वित्तिकै ‘इरिटेड’ हुदा रहेछ । तर विडम्बना देश चलाउने नै उनीहरू हुन् । यो देशमा हामी जनता निरिह छौँ ।

परिवर्तन भयो, उपलब्धि हासिल गयौँ त भन्छाँै तर सार्थक परिवर्तन हुन सकेन । कागजमा लेखेको अक्षरले देश बन्ने भए हामी कहिल्यै गरिब हुँदैनथ्यौँ ।

म अहिले बुबाको नामबाट एउटा संस्था चलाएर बसेको छु । सामाजिक क्षेत्रमा सक्रिय भएको छु । जति नै निराशाका बीच पनि जीवन बाँच्नै मन लाग्ने रहेछ । कमसे कम सबैलाई रोजगारी र शिक्षा मात्र भैदिए पनि सहिदको बलिदानको केही कदर हुन्थ्यो कि जस्तो लाग्छ । हरेक पुस्ता आन्दोलन गरेर मात्रै खेर जान्छ कि भन्ने पीर लाग्छ । अब त विकासको बाटो हिँडोस् देश यही कामना छ ।

(०६२/०६३ को जनआन्दोलनका सहिद दशनकुमार यादवका छोरा सरोजकुमार यादवसँग रातोपाटीका लागि सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप