शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शम्शेरबहादुर खत्री: जसको टाउको गिँडेर शासकहरुले गाउँ घुमाए

बुधबार, ११ वैशाख २०७६, १६ : ०१
बुधबार, ११ वैशाख २०७६

बुटवल– प्रजातन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा धेरैले रगतको खोला बगाए । तीमध्ये गुल्मीका एक व्यक्तिलाई अत्यन्तै निकृष्ट र क्रुर ढंगले तत्कालीन शासकहरुले मारेको इतिहास वर्तमान पुस्ताले बिर्सनै लागेका छन् । यद्यपि, सो घटनाले बेला बेलामा इतिहासको स्मरण गराउने गरेको छ । ती पात्र हुन् सहिद शम्शेरबहादुर खत्री ।

उनको घर थियो गुल्मीको मरभुङ्गको द्वागास । जसलाई तत्कालीन गुल्मीका बडाहाकिम चन्द्रमान थकालीको नेतृत्वमा रहेको प्रशासनले २०१९ साल जेठ १५ गते गुल्मी कै अमरपुरमा हत्या गरेको थियो  । उनको हत्या अमानवीय ढंगले भएको थियो ।

त्यो घटना स्मरण गर्दा पनि आङ जिरिङ हुन्छ । उनलाई पहिला गोली ठोकियो । त्यसपछि खुकुरीले गर्धन  गिँडियो । त्यसपछि प्रहरीले टुप्पीमा समातेर उनको टाउको झुण्ड्याउँदै गाउँ–गाउँ र सदमुकाम तम्घास बजार परिक्रमा गराएका थिए । शासकहरुले उनको टाउको  हालको जिल्ला प्रशासन कार्यालय अगाडिको लाकुरी मञ्चमा ल्याएर कोणसभा समेत गरेका थिए ।

उक्त कोणसभामा शम्शेरको टाउको झुन्डयाउँदै शासकहरुले भनेका थिए, ‘पञ्चायतका विरुद्ध लाग्नेहरु सबैको हालत यस्तै हुनेछ, होशियार....’ त्यतिबेलाका प्रत्यक्षदर्शी तम्घासका पुराना समाजसेवी नन्दराम भुसाल भन्छन, ‘म त्यतिबेला ११ बर्षको थिए । त्यतिबेला शम्शेरबहादुरको टाउको रेलबहादुर थापा भन्ने पुलिसका सिपाहीलाई झुण्ड्याउन लगाइएको थियो । अमरपुरको चोरकाटेमा काँग्रेस कै कार्यकर्ता रहेका कवि दलबहादुर महतलाई शम्शेरबहादुरको टाउको बोकाएर ल्याइएको थियो । 

उनको  टुप्पी समातेर  टाउको झुण्ड्याउँदै  देख्यौं पञ्चायत  विरुद्ध लाग्यौं भने यसको जस्तै  हालत तिमीहरुको  पनि हुने छ, होशियार..., होशिायर भनिएको थियो ।’ उनले विगतको स्मरण गरे,  ‘त्यतिबेला बडाहाकिम चन्द्रमान थकाली थिए । हामी त्यसबेला प्रहरी चौकीलाई ठाना भन्थ्यौं, त्यसका ठानेदार गुञ्जबहादुर थापा थिए । पञ्चायतका अन्य नेताहरु पनि धेरै थिए । सारा मानिहरुलाई भेला गराएर त्यसो गरिएको थियो । हामी धेरै समयसम्म त्रासमा बाँचेका थियौं ।’ वि.सं. १९७९ सालमा जम्मिएका शम्शेरबहादुर त्यतिबेला ४० बर्षका थिए । भरभुङ्गमा जन्मिएका उनको परिवार त्यसपूर्व नै धुर्कोटमा बसाईसराई  गरिसकेका थिए ।

२००७ सालको प्रजातन्त्र स्थापनादेखि नेपाली काँग्रेसको राजनीतिमा लागेका खत्री २०१५ सालको निर्वाचनमा पनि सक्रिय थिए । २०१६ सालमा गुल्मी जिल्लामा पञ्चायत अफिसरका रुपमा विकास निर्माणमा समेत सहभागि भएका थिए ।

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेर प्रजातन्त्र खोसेपछि २०१८ सालमा नेपाली काँग्रेसले सुरु गरेको सशस्त्र क्रान्तिको बेला खत्री तत्कालीन एउटै जिल्ला गुल्मी–अर्घाखाँची र पाल्पाको कमाण्डर थिए । भारतबाट मेट्रिक पास गरेका उनी त्यहीबेला नै नेपाली काँग्रेसमा आबद्ध थिए । मरभुङ्गबाट धुर्कोट बसाईसराई गरेका खत्रीकी श्रीमती तिलकुमारी खत्रीको उमेर त्यति बेला ३६ बर्षको थियो छोरा गोपालबहादुरको उमेर १९ बर्ष र छोरी मनमाया  (विवाहपछि महत) को उमेर ५ बर्षको थियो । खत्रीका छोरा थिए ।

खत्रीको हत्यापछि पनि परिवारका सदस्यहरुमा त्रास सिर्जना गरियो । घर घेराउदेखि बर्षौसम्म जग्गा कब्जा गरी अनेक प्रकारको धरकपड सहुनुपर्यो । त्यसका बाबजुद पनि  श्रीमती तिलकुमारीले छोराछोरी हुर्काउँदै घर धानेकी थिइन् ।  

शहिद शम्शेरबहादुरको शालिक सदरमुकाम तम्घासमा स्थापना गरि बर्षको एकचोटी नेपाली काँग्रेस पार्टीले माल्र्याणपण गरेर सम्मान प्रकट गर्ने गरेको छ तर सबैका शहिद हुन् भन्ने  मानसिकता नबनेकोले अन्य दल र सकारी निकायले भने खासै वास्ता गरेको देखिँदैन ।

नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठसँग आजको लोकतन्त्र दिवस कसरी मनाउनु भयो ? भनेर जिज्ञासा राख्दा उनले यो दिवस कुनै पार्टी विशेषको नभएको बताउँदै सरकारले मनाउनुपर्ने बताए । 
सत्तारुढ दल नेकपाले पनि कुनै कार्यक्रम गरेन । सरकारी निकायले के गर्यो त ? भनेर जिज्ञासा राख्दा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पनि लोकतन्त्र दिवस मनाउनेबारे कुनै परिपत्र नआएकोले कार्यक्रम नराखिएको बताए ।

लोकतन्त्र दिवसको अवसरमा शहिद शम्शेरबहादुरका नाती तथा धुर्कोट गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीले स्मरण गर्दै भने, ‘मेरा हजुरबुवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र वलिदानीको राज्यको माथिल्लो निकायबाट कदर हुन अझै सकेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप