शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपमहानगरको निर्णयले गौतमबुद्ध विमानस्थलको निर्माणकार्य प्रभावित हुने खतरा

बुधबार, ११ वैशाख २०७६, १५ : ०५
बुधबार, ११ वैशाख २०७६

बुटवल – बुटवल उपमहानगरपालिकाले गरेका दुई फरक निर्णयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य प्रभावित हुने खतरा देखिएको छ । 

उपमहानगरपालिकाले विमानस्थलमा नदीजन्य पदार्थको निकासी गर्ने सम्झौता गरेको कम्पनीलाई निकासीमा रोक लगाएको हो । जसका कारण पदार्थको अभावमा राष्ट्रिय गौरवको आयोजनासमेत रहेको विमानस्थलको निर्माण कार्य प्रभावित बन्ने अवस्था आइपरेको हो । 

उपमहानगरपालिकाले विमानस्थल आयोजनाका लागि नदीजन्य पदार्थ आपूर्तिको जिम्मा पाएको स्वसाम कन्सट्रक्सन कम्पनीलाई २०७५ चैत ८ गते स्वीकृती दिएको थियो ।  त्यो बेला भएको सम्झौता अनुसार  १७ हजार ७ सय २६ घनमिटर लैजानका लागि औषत मूल्य  ६ रुपयाँ ७८ पैसा तिर्नुपर्ने सहमति भएको थियो । जसअनुसार स्वसाम कन्सट्रक्सन कम्पनीले  राजस्व पनि बुझाएको थियो । 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्र सिग्देलले सो सम्झौता गरेको भएपनि उपमहानगरपालिकामा नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा चक्रपाणि शर्मा आएपश्चात् नदीजन्य पदार्थ निकासीमा रोक लगाइएको हो । 

 नगरपालिकाले बैशाख ९ गते दिएको पत्रमा १५ रुपयाँ ४१ पैसाको दरले थप राजस्व बुझाउन भनिएको छ । तर, कम्पनीले नियमविपरित थप रकम बुझाउन नसक्ने जवाफ दिएसँगै नदीजन्य पदार्थ निकासीमा रोक लगाइदिएको हो । 

विमानस्थलको मुख्य संरचना निर्माण भइरहेको अवस्थामा उपमहानगरपालिकाले नै आयोजनाको लागि पनि नदीजन्य पदार्थ निकासीमा रोक लगाउँदा समस्या भएको आयोजनाको भनाइ छ।

पेरिमिटर सडक, इन्ट्री, एक्जिट प्वाइन्ट लगायत धेरै संरचना बनाउन बाँकी रहेको बताउँदै प्रमुख इन्जिनियर प्रवेश अधिकारीले आवश्यक सहयोगका लागि उपमहानगरपालिकालाई पत्राचार गरेर आग्रह गरिएको जानकारी दिए। 
उनले नियमित ढुवानी नभए केही दिनमै निर्माण सामग्रीको अभाव हुने भन्दै यही विवादले ढिलाई भए वर्षायाम सुरु हुने र थप समस्या निम्तन सक्ने बताए । 


यता, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आयोजनाका लागि नदीजन्य पदार्थको निकासी सम्बन्धमा पुरानो निणर्य भन्दा पनि पछिल्लो बजार मूल्यलाई औषत आधार मानेर   बोर्डले निणय गरेको रातोपाटीलाई जानकारी दिए । 
 उनले भने, ‘नयाँ निणर्यको पत्रचार गरिएको छ त्यही अनुसार नै काम हुन्छ । त्यसमा उहाँहरु आउनुपर्छ ।’

स्वसामा कम्पनीका सुनिल रायमाझीले आफूले नगरपालिकालाई पहिला नै सम्झौता गरी रकम बुझाएको भन्दै नगरपालिकाले अहिले बिवाद निकालेर काममा अवरोध गर्न नहुने धारणा राखे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप