शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तेह्र वर्षदेखि जनआन्दोलनका घाइते मुकेशको अवस्था उस्तै

बुधबार, ११ वैशाख २०७६, १४ : ५६
बुधबार, ११ वैशाख २०७६

बनेपा– जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् ।

जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशकी आमा मिरा कायस्थले बताइन् ।

वि.सं २०६२/६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उनको सुधार नभएको बताइन् ।

उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकेको उनको भनाइ छ । ‘असार महीनामा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ ।’, मीराले भनिन्, ‘मङ्सिरमा अप्रेशन गरे, खासै सुधार देखिएको छैन ।’ मुखले खाने र हाँस्ने जस्ता काम अहिले गर्न नसकेको उनले बताइन् ।

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उनको भनाइ छ ।

 उनको लागि स्वास्थ्य मन्त्रायलयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेशअन्तर्गत भएपछि भएको फेरबदलका कारण करीब एक वर्षभन्दा बढी समय गुज्रदा पनि उपलब्ध हुन नसकेको उनको भनाइ छ ।

मुखले पनि नखाने र हातखुट्टा पनि चल्नुपर्ने नचलेको आमा मिराले बताइन् । अहिले अक्सिजन चाही दिइरहनुपर्ने अवस्था नभएको उनको भनाइ छ । मुकेश कायस्थ प्रतिस्ठानका मोहन दुवालले उनको नाममा मस्तिष्क घातको पुनस्र्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताए ।

‘उहाँ जस्तै बिरामीको उपचारमा सहज होस् भनेर केन्द्र स्थापना गर्न माग गरिरहेका छौँ तर त्यो अगाडी बढिरहेको छैन’, उनले भने, ‘ठाउँको अभावको कारण त्यो प्रक्रिया अगाडि बढ्न नसकेको भन्ने उहाँहरुको कुरा छ ।’ पुनःस्थापना केन्द्र स्थापना गर्नैपर्छ भन्ने अभियानमा त्यसको बारेमा निरन्तर कुराकानी भइरहेको उनले बताए ।

मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले वि.सं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रुपमा अगाडि बढाइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप