केन्द्रीय संस्करण
सन्दर्भ : लोकतन्त्र दिवस

‘अझै नि लोकतन्त्र आ’को छैन है’

person explore access_timeबैशाख ११, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

देशमा जति पनि परिवर्तन आएका छन्, ती परिवर्तनमा साङ्गीतिक अभियानको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । जनतालाई जागरण गराउँदै परिवर्तनका लागि अग्रसर हुन प्रेरणाको बिजारोपण गर्ने काम अग्रगामी गीतसङ्गीतले नै गरेका छन् । त्यसपछि नेतृत्व राजनीतिक दल तथा त्यसका नेताले गरेको देखिन्छ ।

पञ्चायत राज्यसत्ताको विरुद्धमा जनतामा जागरण जगाउन बनेका र हरेक अग्रगामी परिवर्तका लागि भएका जनआन्दोलनमा ‘थिम’ सङ्गीत जस्तै बनेको ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ...’ जस्ता थुप्रै गीत सङ्गीतले परिवर्तकारी आन्दोलनलाई अग्रगति प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य निर्विवाद छ । इतिहास साक्षी छ, पञ्चायतविरुद्ध, राजतन्त्रविरुद्ध तथा गणतान्त्रिक आन्दोलनहरूमा आम जनतालाई परिवर्तनका पक्षमा उद्वेलित पार्न र मैदानमा उत्रन हौस्याएर अहम् भूमिका खेल्दै आएको छ ।

जनताकै दुःख र पीडा समेटेर उनीहरुलाई सचेत गराउँदै  बेलाबेलामा आन्दोलनमा होमिन उत्प्रेरणा जगाउने खालका गीतसङ्गीत निर्माण गर्ने केही व्यक्ति छन् । तीमध्ये हुन्– रायन श्रेष्ठ, रामकृष्ण दुलाल र रामेश श्रेष्ठ ।

जनतामा भिज्न नसके उनीहरुको दुःख र पीडा गीतसङ्गीतमा आउँदैन र यो नबुझी परिवर्तन ल्याउन सकिन्न भन्दै सुविधा सम्पन्न जागिर, आलेसान जीवनस्तरसमेत त्यागेर जनता माझ रमाउने पुगेका यी तीन व्यक्ति जनताको गायक भनेर पनि चिनिन्छन् ।

पञ्चायतविरुद्धको आन्दोलनदेखि ०६२–६३ को गणतन्त्रिक जनआन्दोलनसम्मका साक्षी यी व्यक्ति आज देशले १३औँ लोकतन्त्र दिवस मनाइरहँदा जनताले अझै लोकतन्त्रको अनुभूति गर्न नपाएको बताउँछन् । यी तीन व्यक्ति अर्थात रायन, रामेश र रामकृष्णसँग हामीले राखेको एउटै ३ प्रश्नमा उनीहरुको विचार उनीहरुकै शब्दमा ।

अब ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ जस्ता गीत गाउनुपर्दैन होला हैन ?

रायन श्रेष्ठ–यस्ता गीतको आवश्यकता सधैँ पर्छ । अहिले लोकतन्त्र आएको छ । त्यो भन्दैमा यो गीतको आवश्यकता नपर्ने भन्ने होइन । अहिलेको अवस्थाभन्दा अगाडि जानलाई पनि यस्ता गीतको आवश्यकता पर्ने गर्छ । पहिले यो गीतले आन्दोलनमा उठ भन्यो होला । अहिले देश विकास, समृद्धिका लागि उठ भन्नुपर्छ । अहिलेको जुन अवस्था छ । त्योभन्दा पनि अगाडि जान जाग्रित गर्नुपर्ने हुन्छ । यो कालजयी गीत पनि हो । यसको आवश्यकता सधैँ परिरहन्छ ।

रामकृष्ण दुलाल– लोकतन्त्र आउँदैमा यस्ता गीतको औचित्य सकिने वा सिर्जना नहुने होइन । यस्ता गीत हरेक समय बन्नुपर्छ र गाइराख्नुपर्छ । यस्ता गीत सङ्गीतले जाँगर गराउनुका साथै सम्बन्धित पक्षलाई खबरदारी पनि गर्ने गर्छ ।

रामेश श्रेष्ठ–जनताले खोजेको परिवर्तन अझै आइसकेको छैन । यस्ता गीत सिर्जना नहुने भन्ने होइन । हामीले बनाएका भन्दा अझ कडा खालका गीतसङ्गीत अहिले आवश्यक छन्, बन्न थालेका पनि छन् । केही पहिले आएको एक दुई गीत त्यसको उदाहरण हो । ती गीत बाहिर आएपछि हङ्गामा भएका छन् ।

अहिले पनि तल्लो वर्ग, खराब अवस्थामा बाँचिरहेका वर्ग बीचमा, अरूको हेपाइ र पेलाइमा बसिरहेका वर्गका मानिसले अहिले गीत बनाउन थालिएको छ । सङ्गीत समेत आफै भरेर उनीहरूले नै गाउन थालेका छन् । त्यो हामीले बनाएको भन्दा पनि अझ तगडा छ ।

अहिले तल्लो वर्गमा चेतना पुगेको त छ । राजनीति पुगेको त छ । अहिले सचेत हुँदै गएकाले आफ्नो भाग्य आफैले कोर्ने छन् । हामीले पनि कुरा बुझेका छौँ । हामीले चलाएको अभियान अहिले आएर बनेका सशक्त गीतले सार्थक हुँदैछ । 

लोकतन्त्रको पूर्ण अनुभूति गर्न पाहिएको छ त ?

रायन श्रेष्ठ– लोकतन्त्र अनुभूति गर्ने कुरा आ–आफ्नो ढङ्गबाट हुँदो रहेछ । हामीले जुन सपना देखेर चेतनामूलक साङ्गीतिक अभियान चलाएका थियौँ । हाम्रो अभियान बेलाबेलामा सार्थक सिद्ध भएका छन् । पहिले पञ्चायत थियो । त्यो ढाल्नका लागि अभियान चलाएका थियौँ । पञ्चायत ढलेर प्रजातन्त्र आयो । फेरिन जनताको माग पूरा भएन ।

त्यसपछि पनि अभियान अगाडि बढिरह्यो, राजसंस्था ढलेर गणतन्त्र ल्याउनका निम्ति । अहिले लोकतन्त्र आएको छ । यसमा पनि केही नपुगेको जस्तो भइरहेको छ । त्यसैले हाम्रो अभियान निरन्तर भइरहन्छ । लोकतन्त्रमा हामीले जे अनुभूति गर्न पाइन्छ भनेर सोचका थियौँ त्यो पूर्ण पाउन अझै समय लाग्छ । तर पहिलेको भन्दा धेरै अनुभूति भने भएको आभाष छ ।

रामकृष्ण दुलाल–अहिले लोकतन्त्रको पूर्ण अनुभूति गर्न पाइको कहाँ छ र ? जनताले लोकतन्त्र आएपछि पाउने हरेक कुरा पाउन सकिरहेको छैन । जनताले अहिलेसम्म लोकतन्त्र महसुस गर्न पाएका छैनन् । हामीले जनताको चेतना र सम्बन्धित पक्षको खबरदारीका लागि चलाएको अभियान सार्थक भएको छैन । यो सार्थका हुने बाटोमा बिस्तारै हिँडेको छ । निरासा नै गरिहाल्नु पर्ने अवस्था भने अहिले बनिसकेको छैन ।

रामेश श्रेष्ठ (रायन) – लोकतन्त्र आएपछि देशमा त्यस्तो के फरक आएको छ र ?  लोकतन्त्र त आयो, लोकका लागि आएको जस्तो कहिल्यै लागेको छैन । लोकको अवस्था झन् झन् दिन प्रतिदिन खराब बन्दै छ । अहिले पनि देशको अवस्था नाजुक छ । सारा नेपाली भन्दै बिहारीलाई नागरिकता बाँडिएको छ ।

देश रहने हो वा होइन भन्ने अन्योल छ । सत्तामा बस्ने साथीहरूको यसतर्फ ध्यान गएको देखिँदैन । उनीहरू आफै लुट्ने र लुट्ने मानिसको वरिपरि घुमिरहेका छन् । नेपालको स्थिति झन् कालीलाग्दो बन्दै छ । यो सबै बुझेर नबुझेझैँ गरेको हो कि के हो भन्नै सकिन्न ।

लोकतन्त्र त आयो तर हामी जस्ता जनताका लागि आएको छैन । केही व्यक्ति छन् ती व्यक्तिका लागि हिजो पनि परिवार्तन आएको थियो, आज पनि आएको छ । उनीहरु पालैपालो देशमा राज गरिरहेका छन् । सर्वसाधारणले लोकतन्त्रको महसुस कहिल्यै गर्न पाएका छैनन् ।

लोकतन्त्र पूर्ण रूपमा अनुभूति गर्न के गर्नुपर्ला ?

रायन श्रेष्ठ–हाम्रो यो सांस्कृतिक अभियान निरन्तर हुनुपर्छ । जनजागरणका पनि विभिन्न तह हँुदो रहेछ । अहिलेभन्दा अगाडि जाने जुन विकासका क्रमहरू छन्, तिनमा पनि सधैँ सचेत बनाउनुपर्दाे रहेछ । समृद्धि, प्रगति र अगाडि बढ्नका निम्ति अभियान आवश्यक परिरहन्छ । मानसिक रूपमा, शारीरिक रूपमा आवश्यक सुधारका लागि यो अभियानलाई अझै निरन्तरता दिनुपर्छ ।

रामकृष्ण दुलाल–लोकतन्त्रको पूर्ण अनुभूति भनेको जनताको समस्या समाधान नै हो । तत्कालै सम्भव छैन । बिस्तारै हँुदै जान्छ । जनताको मानसिक, शारीरिक, आर्थिकलगायतका सबै पक्ष सुधार हुनु पर्यो । त्यसका लागि हाम्रो गीतसङ्गीतको अभियान अझै जारी रहेको छ ।

रामेश श्रेष्ठ–अब जनता मालिक बन्नुपर्यो । संविधानमा जनता सार्वभौमसत्ता भनेर लेखिएको त छ । तर सत्तामा बस्ने साथीहरु जो हिजो हामीसँग सडकमा थिए । जो चुनावको बेला मात्र जनता मालिक भन्छन् । तर चुनाव सकिएपछि जनता दास, नोकर भन्ने गरेका छन् ।

जनतालाई सधैँ गरिब अवस्थामा राख्न चाहन्छन् । जनतालाई गरिब अवस्थामा राख्न पाइयो भने हामीले कजाउन सकिन्छ भन्ने सोच उनीहरुमा हाबी भएको छ । धनी भयो भने हामीलाई टेर्दैन् भनेर शोषक वर्गले सधैँ त्यही विचार र त्यही चरित्र देखाइ रहेका छन् । काम पनि त्यस्तै गरिरहेका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...