शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी चीन प्रस्थान गर्दा जे देखियो (फोटोफिचर)

बुधबार, ११ वैशाख २०७६, १४ : ०१
बुधबार, ११ वैशाख २०७६

काठमाडौं– राष्ट्रपति विद्या भण्डारी चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चीनको बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन बुधबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको विमानबाट चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति भण्डारीले चीनको राजकीय भ्रमणको क्रममा चिनियाँ समकक्षी सि जिन पीङसँग भेटवार्ता गर्नु हुनेछ । त्यसैगरी सन् २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको राजकीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरुसहित ४३ सदस्य रहेका छन । राष्ट्रपति भण्डारी चीनको राजकीय भ्रमण पूरा गरी आगामी बैशाख १९ गते बिहीबार स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

गणतन्त्र स्थापनापछि पहिलोपटक उत्तरी छिमेकी देश चीनले राष्ट्रपतिलाई आफ्नो देशमा स्वागत गर्न लागेको हो । 

यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव दुई पटक चीनको भ्रमणमा गएपनि उनले राजकीय सम्मान भने पाएका थिएनन् । जबकि दक्षिणी छिमेकी देश भारतले भने रामवरण यादव राष्ट्रपति बनेलगत्तै उनलाई राजकीय सम्मानका साथ स्वागत गरेको थियो । तर चीनले भने राजकीय सम्मानका साथ स्वागत गर्न १० वर्ष लगाएको छ । 

उनी पहिलो दिन राष्ट्रपति सि जिनपिङको सहर सान्सी प्रान्तमा बस्नेछिन् । उनी भोलिमात्रै बेइजिङ पुग्नेछिन् । 

राष्ट्रपति भण्डारीले बीआरआईको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । बीआरआईमा राष्ट्रपति भण्डारीले नेपालको भूमिका र महत्वका क्षेत्रबारे प्रष्ट पार्नेछिन् । यद्यपि नेपालले बीआरआईमा आफ्नो योजना पहिले नै पेश गरिसकेको छ । 

सम्मेलनमा पूर्वाधार विकास, सडक तथा रेल सञ्जाल, आर्थिक विकास तथा सहायता, पर्यटनक्षेत्रको विकास आदिबारे छलफल हुनेछ । 

त्यसैगरी राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने राउन्ड टेबल छलफलमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् ।

तस्विर: कृष्ण खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप