शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय मौलिकतासहितको नयाँ पाठ्यक्रम बनाउँदै बुटवल

मङ्गलबार, १० वैशाख २०७६, १८ : ५०
मङ्गलबार, १० वैशाख २०७६

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यस क्षेत्रका पुरातात्विक, प्रागऐतिहासिक तथा साँस्कृतिक क्षेत्रहरु समेटेर स्थानीय पाठ्यक्रम बनाउन लागेको छ । आगामी आर्थिक वर्षदेखि लागू गर्नेगरि पाठ्यक्रम बनाउन लागिएको हो ।

नेपालको संविधानद्वारा प्रदत्त अधिकारको आधारमा शिक्षाले स्थानीय सरोकारवालाहरूसँग सहकार्य गर्दै उनीहरूकै चाहना र सहभागितामा स्थानीय पुरातात्विक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलहरू तथा सेरोफेरोमा रहेका महत्वपूर्ण स्थल एवं वस्तुहरूको जानकारी बिना शिक्षा अधुरो रहने यथार्थलाई आत्मसात गर्दै बुटवलले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको प्रमुख सुवेदीले जानकारी दिए ।

विद्यालय तह सम्म्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत ब्यवस्था गरिएअनुरुप बुटवलले स्थानीय पाठ्यक्रम बनाउन लागेको हो । बुटवल उप–महानगरपालिकाले गत मंसिर १९ गते यहाँका शिक्षाविद्हरु सम्मिलित ६ सदस्यीय कार्यदल गठन गर्दै पाठ्यक्रमको  प्रारूप बनाउन पुस २ गतेदेखि काम सुरु गर्न कार्यादेश दिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

कार्यदलले कक्षा १ देखि ८ सम्ममा लागू हुने गरि १ सय पूर्णाङ्कको पाठ्यक्रम बनाइरहेको छ । कक्षा १ देखि ८ सम्म फरक–फरक पाठ्यभारको यो स्थानीय पाठ्यक्रमको नाम ‘हाम्रो बुटवल’ प्रस्ताव गर्दै कार्यदलले प्रारुपका बारेमा  सुझाव संकलनसमेत गरेको छ ।

यस्ता आए सुझाव

यस क्षेत्रको पुरातात्विक, ऐतिहासिक र सांस्कृति पक्षलाई समेटेर नैतिक शिक्षामा जोड दिनेगरि पाठ्यक्रम बनाउन सुझाव दिएका छन् । ऐतिहासिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक, वातावरणीय, धर्म र नैतिक पक्षलाई समेटेर बनाइएको पाठ्यक्रमको प्रारुप उपमहानगरमा प्रस्तुत गरिएको कार्यदलका संयोजक बुद्धिसागर भट्टराईले जानकारी दिए ।

स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी विकास गर्ने स्थानीय पाठ्यक्रम बनाउन नगर प्रमुखले सुझाव दिए ।  त्यसरी तयार पारिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्नुपर्ने सुझाव दिएका छन् ।

स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिइएको छ । स्थानीय सीप, व्यवसाय, पेसा, स्रोतसाधनको महत्व र आवश्यकता पहिचान गर्दै तिनको विकास गर्न पाठ्यक्रम बनाउन लागिएको बुटवलका शिक्षा महाशाखाका प्रमुख तथा कार्यदलका सदस्य सचिव मित्रमणि खनालले बताए ।
कार्यदलले कक्षा १ देखि ३ सम्म ४ पाठ्यभार, कक्षा ४ र ५ मा ४ पाठ्यभार र कक्षा ६–८ मा मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय ५ पाठ्यभार र १०० पूर्णाङ्क रहेको स्थानीय पाठ्यक्रमको प्रारुप प्रस्तुत गरेको छ ।

बुद्धबलीको सभ्यतादेखि योग र प्राकृत्तिक चिकित्सालाई प्राथमिकता

धार्मिक सांस्कृतिक विविधता भित्रको एकता बुटवल उपमहानगरपालिका भित्रको सौन्दर्यलाई प्राथमिकताका साथ पाठ्यक्रममा उठाइएको छ । जितगढी, नुवाकोट किल्ला, हिलपार्क, पिसपार्क, मणिमुकुन्द उद्यानलगायतका सुन्दर पर्यटकीय स्थानहरूलाई पाठ्यक्रममा स्थान दिइएको कार्यदलका सदस्य राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।

रामापिथेकस मानवावशेष प्रागैतिहासिक तथ्य, नैतिक शिक्षा हाम्रा परम्परागत मूल्य र मान्यताहरूलाई पाठ्यक्रममा समावेश गर्दै आन्तरिक वा वाह्य पर्यटकहरूलाई पथप्रदर्शन गर्न सक्नेगरी पाठ्यकमको व्यवस्थापन गर्ने जमर्को गरिएको कार्यदलले बताएको छ । पर्यटकीय स्थलहरू, संस्कृति, धर्म, संघसंस्थाहरू, योग, प्राकृतिक चिकित्सा तथा जडिबुटीलाई पाठ्यक्रममा स्थान दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप